Successfully Copied

दिदी र बहिनीबीच टीका

तिहार विशेष गरी दिदीबहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ ।

तिहार विशेष गरी दिदीबहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ । तर, पछिल्लो समय दिदी र बहिनीबीचमा पनि टीका लगाउने ट्रेन्ड बढ्दो छ । घरमा दाजुभाइ नहुनेले टीकाबाट वञ्चित हुन नपर्ने मान्यताका साथ यो संस्कृतिको विकास भएको हुनसक्छ । यसलाई सकारात्मक र नकारात्मक दुईवटै कोणबाट विश्लेषण गर्न थालिएको छ । संस्कृतिविद् जगमान गुरुङले भने यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘दाजुभाइ छैनन् भनेर खाली बस्नुभन्दा दिदी र बहिनीबीच टीका लगाएर संस्कृतिको विकास गर्नु राम्रो हो ।’ यो अंकको नारीमा तिहारमा दिदी–बहिनीले टीका लगाएर मनाएको कुरालाई यहाँ प्रस्तुत गरिएको छ । 

तीन दिदीबहिनी, घरमा दाजुभाइ थिएनन् । तिहारमा टीका लगाउन मोडलद्वय प्रिज्मा र प्रिन्सी खतिवडा नातेदार दाजुभाइ खोजिरहन्थे । कहिले को त कहिले को ? टीका लगाउन निश्चित दाजुभाइ पनि भएनन् । दाजुभाइ खोज्ने र टीका लगाउने क्रम तब रोकियो, जब एक तिहारमा टीकाको सबै तयारी सकेर बस्दा पनि ती नातेदार दाइ आइदिएनन् । त्यो तिहार उनीहरूको पर्खाइमा नै बित्यो । प्रिज्माले भनिन्, ‘टीका लगाउन सबै तयारी पूरा गरेर पर्खेका थियौं तर दाइ आउनुभएन ।’ त्यो घटनापछि तिहारमा दाजुभाइ खोज्ने झन्झटबाट उनीहरू मुक्त हुन चाहन्थे । दाजुभाइ नभएका कारण उनीहरूलाई धेरैले रानीपोखरी गएर टीका लगाउन पनि सुझाए । खोजेको दाजुभाइ र कहिल्यै नदेखेको नचिनेको मानिसलाई कसरी दाइ मान्ने भनेर उनीहरू रानीपोखरी पुगेर टीका लगाउने आँट गर्न सकेनन् । प्रिज्माले भनिन्, ‘कहिल्यै नदेखेको र नभेटेको मानिसलाई टीका लगाउन हामीलाई सहज लागेन ।’ उनीहरूको पीडा बुझेर घरबाटै दिदीबहिनीबीच टीका लगाई तिहार मनाउन सुझाए । घरपरिवारको सुझावपछि उनीहरूले दिदीबहिनीबीच टीका लगाउने निर्णय गरे । नातेदार र खोजेको दाइभन्दा दिदी र बहिनीबीचमै टीका लगाउन उनीहरूले उचित ठाने । दाइले धोका दिएको अर्को सालबाट उनीहरूले दिदी र बहिनीबीच टीका लगाउन थालेको धेरै वर्ष भइसकेको छ । यसले तिहार मनाउन धेरै सहज भएको प्रिज्माले बताइन् । यसबाट उनीहरूलाई तिहारमा दाजुभाइ खोज्ने झन्झटबाट पनि मुक्ति मिलेको छ । तिहारमा आफूहरूबीच टीका लगाउन थालेपछि दाजुभाइको अभाव पनि महसुस गरेका छैनन् । तिहारमा दाजुभाइ नै चाहिन्छ भन्ने परम्परा पनि तोडिएको उनले बताइन् । बाहिरका व्यक्तिहरूलाई खोजेर टीका लगाएर रक्षा हुन्छ भन्ने भ्रम मात्रै रहेको उनको प्रतिक्रिया छ । यसरी दिदी र बहिनीबीच टीका लगाउँदा धेरैबाट उनीहरूले आलोचना पनि सुन्नुपर्‍यो । संस्कृति विपरीत टीका लगाएको भन्दै धेरैले उनीहरूलाई खिसी गरे । तर त्यसको प्रवाह उनीहरूले कहिल्यै गरेनन् । तिहारको परम्पराअनुसार दिदी र बहिनीले नै एक अर्काको रक्षा गर्न सक्ने उनीहरूको भनाइ छ । 

दन्त चिकित्सक हेमा झाले पनि दिदी र बहिनीबीच टीका लगाउन थालेको २७ वर्ष भइसक्यो । उनीहरूले बच्चैदेखि दिदी र बहिनी मिलेर टीका लगाउन थालेका हुन् । परराष्ट्रमा कार्यरत बुवाको बसाइ प्रायः विदेशमै हुन्थ्यो । यसकारण परिवारका अन्य सदस्यहरू पनि अधिकांश समय विदेशमा हुन्थे । पाँच दिदीबहिनी रहेका उनको परिवारमा दाजुभाइ छैनन् । विदेशमा टीका लगाउन आफन्त दाजुभाइ खोज्न सम्भव थिएन । यसकारण आपसमा टीका लगाएर तिहार मनाउन थालेको उनको भनाइ छ । ‘विदेशमा दाजुभाइ खोज्न त गाह्रो नै थियो’ हेमाले भनिन्, ‘यसकारण दिदी र बहिनीबीच टीका लगाउन सुरु गरेका हौं ।’ तिहारमा दिदी र बहिनीबीच टीका लगाउँदा उनीहरूको हरेक चाड पूर्ण भएको उनले बताइन् । दिदी र बहिनीबीच टीका लगाउने क्रम केही वर्षदेखि भने रोकिएको छ । तीन दिदी र बहिनी विदेश गएपछि उनीहरूले तिहारको टीका भिडियोमार्फत (भर्चुअल्ली) गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झा र हेमा मात्रै यहाँ छन् । उनीहरूले बहिनीहरू यहाँ नभएपछि दुई जनाले मात्र टीका लगाएका छैनन् । दुई दिदी–बहिनीबीच लगाउँदा बहिनीहरू मिस हुने भएकाले टीका नलगाएको हेमा बताउँछिन् । उनले भनिन्, ‘तीन जना विदेशमा छन्, दुई जनाले मात्रै मनाउन मन लाग्दैन । त्यसकारण भिडियोमार्फत नै टीका लगाउँछौं ।’ उनका अनुसार तिहारमा दाजुभाइ नै चाहिन्छ भनेको भए सायद उनीहरूले कहिल्यै तिहार मनाउन पाउने थिएनन् । दिदी र बहिनीबीचको टीका लगाउने संस्कृतिलाई गलत रूपमा व्याख्या गर्न नहुने उनको धारणा छ । घरमा दाजुभाइ नहुँदा निराश हुनुभन्दा दिदी र बहिनीबीच उत्सव मनाएर चाडपर्वको मज्जा लिनु आवश्यक रहेको उनको भनाइ छ । 

तिहारमा टीका लगाउन दाजुभाइ नै चाहिन्छ भन्ने परम्परा तोड्नका लागि दिदी र बहिनीबीच लगाउने चलन सुरु गरे पत्रकार निर्मला शर्माका छोरीहरूले । एलिना र मेलिनाले विगत १५ वर्षदेखि नै आपसमा तिहारको टीका लगाउँदै आएका छन् । घरमा दिदीबहिनी छन् तर टीका लगाउन दाजुभाइ खोज्ने चलन अन्त्य गर्नका लागि पनि दिदी र बहिनीबीच टीका सुरु गरेको निर्मलाले बताइन् । परिवारले छोरीहरूबीच टीका लगाउन प्रोत्साहन गरे पनि केही समय उनीहरूले असहज महसुस गरे । उनका अनुसार सबैले दाजुभाइलाई टीका लगाइदिन्छन् हामी किन दिदीबहिनीले टीका लगाउने भनेर छोरीहरूले प्रश्न गर्थे । केही समय छोरीहरूले तिहारमा एकापसमा टीका लगाएनन् । जब उनीहरू बुझ्ने भए तब उनीहरूले आफैं टीका लगाउन सुरु गरे । दिदी र बहिनीबीचको टीकाले घरमा उनीहरू आलोचित पनि भए । आफन्त दाजुभाइ छन् भने दिदीबहिनीले किन टीका लगाउने भन्ने कुरा पनि भयो । तर उनीहरूले टीका लगाउन दाजुभाइको आवश्यकता महसुस गरेनन् । तिहारमा टीका लगाउन दाजुभाइ नै चाहिन्छ भन्ने मान्यताले समाजमा छोरा चाहिन्छ भन्ने मान्यतालाई प्रश्रय दिएको निर्मला बताउँछिन् । दाहसंस्कारदेखि किरिया गर्ने काम छोरीहरूले गर्न थालेपछि अब छोरा नै चाहिन्छ भन्ने मान्यता समाजमा हट्दै जानुपर्ने उनको भनाइ छ । छोरीहरूलाई पनि दाजुभाइ नै चाहिन्छ भन्ने महसुस गराउन नहुने उनले बताइन् । छोरीले गर्न नहुने भनिएका काममा छोरीहरूले फड्को मार्न थालिसके । त्यसकारण छोराको महसुस गर्न नहुने उनको धारणा छ । यसका साथै परम्परागत संस्कृति पनि परिमार्जन गर्दै लानुपर्ने उनले बताइन् ।

घरकी जेठी छोरी हुन्, नायिका सञ्चिता लुईंटेल । उनका दुई बहिनीको जिम्मेवारी उनले नै लिइरहिन् । बहिनीहरूका लागि दाजु र दिदी उनै थिइन् । उनका लागि पनि भाइसरह दुई बहिनी थिए । उनीहरूले दाजुभाइ दिदीबहिनी दुवैको भूमिका निर्वाह गरिरहे । यसकारण घरमा दाजुभाइ छैनन् भन्ने महसुस उनीहरूलाई भएन । तीज, दसैं, तिहारजस्ता चाडपर्व उनीहरूले आपसमा उत्साहका साथ मनाइरहे । तिहारमा दाजुभाइको अभाव उनीहरूले महसुस गरेनन् । तिहारमा दिदीबहिनीको निधार सप्तरंगी टीकाले भरिरह्यो । सञ्चिता भन्छिन्, ‘हामीलाई कहिल्यै दाजुभाइको महसुस भएन, हामीले तिहारको टीका दिदीबहिनीबीच आपसमा लगाइरह्यौं ।’ दिदीबहिनी मात्रै हुनेहरूले तिहारमा खल्लो महसुस गर्न नहुने उनी सुझाव दिन्छिन् । आफूसँग जे छ त्यसमा रमाउन सक्नुपर्ने उनको धारणा छ । 

 

मोडेल तथा अभिनेतृ लक्ष्मी बर्देवाका तीन दिदीबहिनीले पनि एक–अर्कासँग टीका लगाई उपहार साटासाट गर्छन् । उनीहरूले यसरी तिहार मनाउन थालेको धेरै वर्ष भइसक्यो । यी तीन दिदीबहिनीले पनि एकताका आफन्त दाइ कुरिरहे । टीकाको सम्पूर्ण तयारी सकेर बसेका उनीहरूका लागि टीका लगाउन दाइ आइदिएनन् । दाइ नआएपछि लक्ष्मीकी माइली बहिनी रुन थालिन् । दाजुभाइ नभएर टीका लगाउन नपाई बहिनी रोएपछि लक्ष्मीको मन कुँडियो । टीका लगाउने तयारीमा रहेका उनीहरूले त्यसपछि दिदी र बहिनी मिलेर टीका लगाउन थाले । लक्ष्मीले भनिन्, ‘टीकाको सबै तयारी भैसकेको थियो । दाइ नआएपछि दिदी र बहिनीबीच टीका लगायौं ।’ दाजुभाइ खोज्न नपरेपछि तिहार कहिल्यै खल्लो नभएको उनले बताइन् । उनले भनिन्, ‘दाजुभाइ कुर्न नपरेपछि आफ्नै तरिकाले टीका लगाउन पाउँदा आनन्द महसुस भयो ।’ दिदी र बहिनीबीच टीका लगाउने यो चलनप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया पाए । तिहारमा दाजुभाइ नहुनेले निराश भएर बस्न नहुने उनले बताइन् । दिदी र बहिनीबीचको टीकालाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘समयानुसार संस्कृति पनि परिवर्तन गर्दै लानुपर्छ ।’ दाजुभाइ नहुनेहरूका लागि तिहार केही होइन भन्नु राम्रो नभएको उनले बताइन् । तिहारमा टीका लगाउँदा दिदी र बहिनीबीच माया अझ बढ्ने उनको भनाइ छ । उनका अनुसार दाजु र भाइ पनि हामी नै हौं भन्ने आत्मविश्वास पनि आउँछ ।

पछिल्लो समय तिहारमा दिदी र बहिनीबीचको टीका लगाउने ट्रेन्ड बढ्दै जानुमा सकारात्मक रूपमा लिनुपर्ने संस्कृतिविद् जगमान गुरुङ बताउँछन् । उनका अनुसार दाजुभाइ छैनन् भनेर खाली बस्नुभन्दा दिदी र बहिनीबीच टीका लगाएर संस्कृतिको विकास गर्नु राम्रो हो । 

 Image