Successfully Copied

भेज परिकार

विधि : थोरै–थोरै पानीको मात्रा मिलाउँदै फापरको पीठोलाई मुछेपछि ३० मिनेट छोडिदिने । त्यतिन्जेल स्टफिङका लागि पनिर किमा तयार गर्ने ।

शालिकराम भट्टराई

सेफ, आनन्द पशुपति बाइ पिक हस्पिटालिटी, तिलगंगा

फापर पनिर मःमः

सामग्री : फापरको पीठो ५० ग्राम, पनिर ४० ग्राम, प्याज १० ग्राम, घिउ १० ग्राम, मःमः मसला र नुन स्वादअनुसार ।

विधि : थोरै–थोरै पानीको मात्रा मिलाउँदै फापरको पीठोलाई मुछेपछि ३० मिनेट छोडिदिने । त्यतिन्जेल स्टफिङका लागि पनिर किमा तयार गर्ने । पनिर किमाका लागि प्याजलाई मसिनो गरी काट्ने । एउटा कराहीमा घिउ राखेर प्याजलाई गोल्डेन ब्राउन कलर नआउन्जेल भुट्ने । त्यसमा मःमः मसला, मरिचको धूलो र नुन राखेर केही समय चलाउने । त्यसपछि एउटा भाँडामा निकाल्ने अनि सेलाउन दिने । कोरेसोमा कोरेको पनिरमा उक्त मसला मिसाएर मोल्ने । अघि मुछेको पीठोको स–साना डल्ला बनाएर बेल्ने । मःमःको सेप दिँदै त्यसभित्र पनिर किमा भर्ने र १० मिनेट स्टिम गर्ने । यो स्वस्थकर खाना कोलेस्टेरोल फ्रि, मधुमेहका बिरामीलाई पनि उपयुक्त मानिन्छ ।

चुकन्दरको हलुवा

सामग्री : एउटा मध्यम आकारको चुकन्दर, दूध २ सय मिलिलिटर, खुवा ८० ग्राम, चिनी २० ग्राम, काजु ५ देखि ७ वटा, सुकमेलको धूलो एक चिम्टी र घिउ २० ग्राम (१ चम्चा)

विधि : चुकन्दरलाई सफा पानीमा पखालेर कोरेसोमा कोर्ने । ननस्टिक प्यानमा तातेको घिउमा चुकन्दर हालेर तीन मिनेटसम्म भुट्ने । त्यसमा दूध राखेर ५ देखि ७ मिनेट पकाउने । त्यसपछि खुवा, सुकमेलको धूलो, चिनी, काजु हालेर राम्ररी चलाउने । अब यो स्वस्थ र नौलो स्वादको परिकार सर्भ गर्नका लागि तयार भयो । सर्भ सर्दा सिसाको बाउलमा माथिबाट दुई वटा काजु राखेर गार्निस गर्दा आकर्षक र खाऊँ–खाऊँ लाग्दो देखिन्छ । डेजर्टका रूपमा यसलाई खान सकिन्छ ।

नवरथा भेज थाली

सामग्री : बास्मती चामल १० ग्राम, मौसमी तरकारी ३० ग्राम, मिक्स दाल १० ग्राम, मिडियम साइजको आलु एउटा, होममेड मुलाको अचार, गुन्द्रुकको अचार, लौकाको हलुवा, तितेकरेला, सुख्खा तरकारी, साग, मोही, घिउ र पापड ।

विधि : यो नवरथा भेज थालीका लागि नेपाली खाना थालीकै सामग्री समावेश छन् । भात पकाउने र तात्तातो भातलाई गोलो बाउलमा राखेर चरेसको थालको बीचमा घोप्ट्याउने । तरकारीलाई सोथे गरेर उक्त थालको एक छेउमा राख्ने, त्यसैगरी होममेड मुलाको अचार, गुन्द्रुक साँधेको, सलाद, तितेकरेलाको तरकारी सबैलाई थालको छेउछेउमा राख्दै जाने । भातको बीचमा सानो प्वाल बनाएर शुद्ध घिउ हालिदिने, साइडमा दाल, मोही र पापड सर्भ गर्न सकिन्छ । यो नवरथा थालीमा नौ प्रकारका खानेकुरा समावेश छन् जुन स्वास्थ्यवर्द्धक, पोषणयुक्त र स्वादिष्ट छन् । सबै खाना शुद्ध घिउबाट बनाइएको यो थालीका हरेक परिकार लोभलाग्दा र आकर्षक देखिएका छन् ।

स्मुदी

सामग्री : दही २०० मिलिलिटर, मौसमी फलफूल १०० ग्राम, मह–१ चम्चा ।

विधि : मिक्सचरलाई सफासँग धोएर त्यसमा दहीसँगै मौसमी फलफूल र मह मिसाएर ग्रान्ड गर्ने । अब यसलाई गिलासमा खन्याएर माथिबाट फ्रेस फ्रुट्स र पुदिनाका पातले गार्निस गर्ने । यो गर्मीका लागि स्वस्थ पेय पदार्थ हो ।

 Image