‘महिला शिक्षामा जोड दिनुपर्छ’

उपासना घिमिरे

भाद्र २, २०७८ काठमाडौंस्थित ओमबहालमा ६० वर्षअघि आमा सूर्यदेवी र बुवा कनकमान शाक्यकी माहिली छोरीका रूपमा कुशुम शाक्यको जन्म भएको हो । पञ्चायती व्यवस्थाविरुद्धको कांग्रेस आन्दोलनमा लागेको भन्दै त्यसताका सेनाले कनकमानको घर घेर्न थालेपछि तीन महिनाकी छोरी कुशुमलाई छाडी उनी भारत पलायन भएका थिए । परम्परागत शाक्य परिवारकी उनीलाई आमाले धेरै दुःख गरी हुर्काइन् । हजुरबुवाले घरमै लेखपढ गर्न सिकाएको उनी ‘नोस्टाल्जिक’ हुँदै सुनाउँछिन् । जीवनमा सफलता हात पार्न पढाइ मुख्य र पहिलो प्राथमिकता रहेको उनको धारणा छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख भइसकेकी प्रा.डा.कुशुम हाल त्रिविकै मानविकी तथा समाजशास्त्र संकायकी डीन हुन् । उनीसँग समसामयिक विषयमा उपासना घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

शिक्षाको सुरुवात कसरी भयो ?

बुवा शिक्षित हुनुहुन्थ्यो । तर, म तीन महिनाकी छँदा राजनीतिक कारण उहाँले देश छाड्नुपर्‍यो । आमा अशिक्षित, बुवा घरमा नभए पनि हजुरबुवाको वात्सल्यमा हुर्किएँ । सुन–चाँदीका भाँडा र गरगहना बनाउने हजुरबुवाको राणाहरूसँग सम्पर्क भएकै कारण उहाँहरूले पढ्न–लेख्न जान्नुभएको थियो । माहिला हजुरबुवाले ज्यासलमै राखेर लेखपढ गर्न सिकाउनु भयो । एउटा सिलोटमा मैले नेपाली, अंग्रेजी र हिसाब सिकेकी हुँ । घरबाटै मेरो शिक्षाको सुरुवात भयो । बुवा नेपाल फर्किएपछि मात्रै मेरो औपचारिक शिक्षा कक्षा ६ देखि १० सम्म प्याफलस्थित कान्ति ईश्वरी माविबाट भएको हो । पद्मकन्याबाट आई.ए. पढें । पहिले पढाइ ठीकठीकै भएकाले विज्ञान विषय पढ्ने रहर हुँदाहुँदै पनि हिसाब र अर्थशास्त्र विषय लिएर पढें ।

कलेज जीवनमा राजनीतिमा लाग्नुभएको थियो ?

बी.ए. पढ्दै गर्दा पढाइप्रति पहिलेको भन्दा अलि बढी आत्मविश्वास बढ्यो । ०३६ सालको कुरा हो, त्यतिबेला स्थानीय विद्यार्थी पनि राजनीतिमा आउनुपर्छ भनेपछि बी.ए. पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियनमा समेत सक्रिय भएँ । ०३६ को विद्यार्थी युनियनको चुनावमा कोषाध्यक्ष पदमा मैले सबैभन्दा धेरै मत ल्याएर जितेकी थिएँ । दुई वर्ष सक्रिय राजनीतिमा लागेकी मलाई पढाइ नै मेरो प्राथमिकता हो भन्ने कुरा स्ट्राइक गर्‍यो । त्यसपछि मास्टर्स लेबलमा कीर्तिपुर पढ्न जाँदा पनि मलाई राजनीतिमा आउन धेरै कर गरे पनि बाहिरबाटै सहयोग गर्छु भनेर पढाइ नै सिध्याउने अठोट गरें । बी.ए. पढ्दै गर्दा राष्ट्र बैंकबाट अवार्ड पाएकी थिएँ, त्यसलाई मास्टर्स लेबलमा पनि कायम राख्नुपर्छ भन्ने थियो । त्यसैले पढाइमा बढी फोकस हुन थालें, महिलामा टप भएर छात्रवृत्ति पनि पाएँ ।

आफ्नो करिअरको सुरुवातका बारेमा बताइदिनुस् न ?

मास्टर्स सकिनासाथ पद्मकन्या क्याम्पसबाट पढाउने अफर आयो । सुरुमा त्यहाँ जाँदा उनलाई यति धेरै क्वालिफिकेसन भएको मानिस किन पढाउन आएको योजना आयोग वा अन्य क्षेत्र (आइएनजिओ) मा काम गर भन्थे, क्याम्पसका शिक्षकले । ढोकाबाट छिर्न पनि दिएनन् तर म हेर्छु भन्दै पढाउन थालें । सुरुमा ठूलो हलमा २०० भन्दा बढीलाई पढाउँदा त कस्तो–कस्तो महसुस भए पनि बिस्तारै बानी पर्दै गयो । यति धेरै विद्यार्थीलाई नियन्त्रण गरी पढाउनु लिडरसीप नै हो जस्तो लाग्यो । मैले नेदरल्यान्डबाट पपुलेसनमा पोस्ट ग्रयाजुएट्स र लगत्तै अस्ट्रेलियाबाट पनि डिग्री लिएँ । पिएचडी भने आफ्नै विभागबाट गरें ।

शिक्षण पेसामा आकर्षित हुनुको कारण ?

मास्टर्स गरेपछि मेरो विवाह भयो । मेरा श्रीमान् शुभरत्न शाक्यकै कारण म यो पेसामा लागेकी हुँ । उहाँ पनि जुलोजी पढाउनुहुन्छ । सुरुमा इच्छा नलागे पनि पढाउनमा मान–प्रतिष्ठा भएकाले पनि यसमा आकर्षित भएँ । पद्मकन्यामा ६ वर्ष पढाएँ । पछि नेदरल्यान्डको इन्स्टिच्युट अफ सोसियल स्टडिजबाट पिजी (पोस्ट ग्रयाजुएट) गरेर आएपछि त्रि.वि.मा पढाउन थालें ।

पढाउँदाको केही अनुभव छन् ?

एकपटक एकजना विद्यार्थी आउन ढिला भएकाले कक्षामा छिर्न डराएर डिपार्टमेन्ट हेडलाई भन्न लगाएर कक्षामा आएकी थिइन् । शिक्षकमा अनुशासन र मेहनत भएमा विद्यार्थीलाई पनि त्यस्तै बनाउन सकिन्छ । आफूले शत प्रतिशत विद्यार्थीलाई आदर गरेमा विद्यार्थीले पनि आफूलाई त्यत्तिकै आदर गर्छन् ।

मानविकी तथा समाजशास्त्र संकायमा पहिलो डीन हुँदा कस्तो महसुस भयो ?

मैले काम गरेको अनुभवकै आधारमा मलाई डीन बनाइएको हो । यो मेरा लागि ठूलो अवसर हो । जिम्मेवारी थपिएको छ, खुसी छु ।

डीन भएको एक वर्षको कार्यकालमा के–के काम गर्नुभयो ?

एमफिल–पिएचडी कार्यक्रमलाई व्यवस्थित गरें । त्यो भन्दा अघि सबै विषयमा एमफिल थिएन । सन्तुलन थिएन । लकडाउनका कारण कतिपय काम अझै चाहेर पनि पूरा हुन सकेका छैनन् । यसैगरी मास्टर्स डिग्रीको अनलाइन एडमिसन कल गरियो । परीक्षा भने फाइनल हुन सकेको छैन, इन्टरनल परीक्षा भने भइरहेका छन् । अर्थशास्त्र केन्द्रीय विभागको प्रमुख हुँदा भुइँचालोले भत्काएको भवनलाई पुनर्संरचना गर्ने काम गरें । त्यो तीन तल्ले भवन निर्माणाधीन छ ।

कोरोना महामारीमा महिलालाई कस्तो असर पारेको छ ?

महिलालाई आर्थिकसँगै अरु कामको बोझ पनि थपियो । सबै सदस्य घरमा बस्दा अन्य सदस्यले महिलालाई काममा नसघाउँदा कामको बोझ बढ्यो । दुःखका साथ भन्नुपर्छ, गाह्रो, अप्ठ्यारो सबै महिलालाई नै भयो । बाटोमा पसल थापेर बस्ने महिला पनि धेरै छन् । काम नभएपछि कसरी खाने, के खाने भन्ने भयो । बालबालिका नपढेर बिग्रिएपनि आमालाई नै दोष दिन्छन् । सबैको जिम्मा महिलाले नै लिनुपर्छ ।

महिलालाई आर्थिक रूपमा कसरी सबल बनाउन सकिन्छ ?

महिला सबल हुनैपर्छ । महिला शिक्षामा जोड दिनुपर्छ । फर्मल शिक्षा र जागिरमा सहभागी हुनुपर्‍यो । आफ्नो गच्छेअनुसारको काम गर्नुपर्‍यो । लोन लिएर कति महिलाले आफ्नो जीवन धान्नका लागि पसल गरेका छन् । ती महिलालाई अहिलेको कठिन अवस्थामा ब्याजमुक्त गराउनुपर्छ । एक्टिभ पार्टिसिपेसन गराउनुपर्छ । परिवर्तन भइरहेको छ । लोन, ऋण मार्केटदेखि लिएर सबै क्षेत्रमा सहभागी गराउनुपर्छ ।

महिलालाई घर, जग्गा खरिद गर्दा सहभागी गराइन्छ ? यसले महिला सक्षम भएको देखाइएको छ, वास्तविकता यस्तो छ त ?

यसमा पुरुषले महिलालाई फकाएको हो । घरजग्गा खरिद गर्ने २५ प्रतिशत महिलाको संख्या पुगेको छ । सरकारी कर छलेको हो । नियमअनुसार किन्न पाए तर बेचबिखन गर्दा निर्णय गर्न महिलाले पाएनन् । त्यसलाई समेटेर महिला कति सक्षम रहेछन् भनेर पोलिसी बनाउन भने भएन ।

महिला उच्च तहमा पुग्ने आधारभूत आवश्यकता के–के हुन् ?

आत्मादेखि नै आफू आत्मविश्वासी भएर अगाडि बढ्नुपर्छ । कसैले तिमी बन, जाऊ भनेर घचेटेर हुँदैन । म गर्न सक्छु भनेर आत्मनिर्भर भई गर्नुपर्‍यो । आफ्नो क्षेत्रमा इमान्दार भई काम गर्नुपर्छ । लिडरसीपमा हुनुपर्ने गुणका साथै शिक्षा पनि हुनुपर्छ ।

महिला भएकै कारण काम गर्दा कठिनाइ भोग्नुपर्‍यो ?

त्यस्तो अनुभव मैले गर्नु परेन । आफूसँग ज्ञान र निर्धक्क काम गर्ने क्षमता छ भने यस्ता कुराले असर गर्दैन । महिला भएर यस्तो सुविधा, पोस्ट पायो भन्ने कुरा मलाई मन पर्दैन । कोटा सिस्टम निश्चित अवधि, समयका लागि ठीक छ तर प्रतिस्पर्धी हुनुपर्छ ।

बजेट बनाउँदा लैंगिक विषयलाई प्राथमिकता दिनु कत्तिको उचित हो ?

जायज छ । महिला स्वास्थ्य, मातृ स्वास्थ्य, छात्रवृत्तिसम्बन्धी कुरा समावेश हुनुपर्छ ।

सफलता कसरी हात पार्ने ? सफलताको श्रेय कसलाई दिनुहुन्छ ?

कुनै पनि एउटा कुरा गरेपछि त्यसमा नै केन्द्रित हुनुपर्छ । मान्छेले जहाँ काम गर्छ, त्यहाँ शत प्रतिशत दिनुपर्छ । यसले सफलता हात पर्छ । घुमाउरो भएर दश ठाउँमा काम गर्नु हुँदैन । एकचित्त भएर एक मनले काम गर्नुपर्छ । मेरो सफलताको श्रेय बुवाआमा र मेरा श्रीमान् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>