Successfully Copied

तीन वर्षको अवधिमा करिब एक सय २० मूर्ति फर्काइएको छ ।

तीन वर्षको अवधिमा करिब एक सय २० मूर्ति फर्काइएको छ । यो म एक्लैले गरेकी होइन हाम्रो सामूहिक पहलमा सरकार, सम्बन्धित निकाय र सरोकारवालाको उत्तिकै योगदान छ ।


अलिशा सिजापति (सञ्चारकर्मी तथा अभियन्ता, नेपाल सम्पदा पुनर्स्थापना अभियान)
सञ्चारकर्मी तथा सामाजिक अभियन्ता अलिशा सिजापतिले लेखेका अनगन्ती लेख–रचनाले नेपालबाट चोरी भएका, उपहारस्वरूप वा किनबेचद्वारा विदेश पुगेका देवीदेवताका मूर्ति फर्काउने काममा ठूलो वकालत गरे । फलस्वरूप तीन वर्षभित्र पुरातत्व विभाग, परराष्ट्र मन्त्रालय, विभिन्न कूटनीतिक निकायलगायतको पहलमा एक सय २० देवीदेवताका मूर्ति नेपाल फर्काइएको छ । दि हिमालयन टाइम्स, काठमान्डु पोस्ट हुँदै नेपाली टाइम्ससम्मको पत्रकारिता अनुभवमा सेन्ट्रल युरोपियन युनिभर्सिटी पढेकी अलिशाले एउटा पत्रकारले समाज सुसूचित गर्ने मात्र नभएर कलमको शक्तिले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने अनुभूत गरेकी छिन् । हजुरआमा खेमकुमारी सिजापतिका सांस्कृतिक, ऐतिहासिक तथा पुरातत्वका कथा उनी सानो हुँदाको ‘बेड टाइम स्टोरी’ थिए । उनी तिनै कथा सुनेर हुर्किएकी हुन् । २०१५ सालको मदन पुरस्कार विजेता हजुरबुबा गंगाविक्रम सिजापति र हजुरआमाको प्रेरणाले नै आफू लेखक बन्न पाएकोमा उनी गर्व महसुस गर्छिन् ।
के काममा व्यस्त हुनुहुन्छ ?
भर्खरै सम्पदा पुनर्स्थापनाकै विषयमा राष्ट्रिय कन्फरेन्स गर्‍यौं । यसका लागि निकै व्यस्त थिएँ । अब यसैको रिभ्युमा समय बितिरहेको छ ।
पत्रकारिता गर्दागर्दै पुरातात्विक सम्पदा संरक्षणमा कसरी चासो बढ्यो ?
द हिमालयन टाइम्समा अटो मोबाइल्सबाट लेख्न सुरु गरेकी म काठमान्डु पोस्टमा आएपछि फिचर डिपार्टमेन्टमा काम गर्न थालें । कल्चरल हेरिटेजका विषयमा लेखें । म म्युजियम स्टडी र हिस्ट्रीबीचको विषय खोज्दै थिएँ । अस्ट्रियामा मास्टर्स इन कल्चरल हेरिटेज पढ्ने मौका पाएँ । मेरो पढाइले यसप्रतिको रुचि र मोह अझै बढाउँदै लग्यो । एक दिन फिल्म साउथ एसियाले ५ दिनका लागि कन्सल्ट्यान्ट खोजेकाले त्यहाँ काम गर्न पुगेपछि कनकमणि दीक्षितसँग भेट भयो । उहाँसँग रुचिको विषय सेयर गर्दा मूर्ति चोरीको चर्चा चल्यो । सन् २०२० जनवरीमा नेपाली टाइम्समा आबद्ध भएपछि प्रकाशित मेरो पहिलो स्टोरी थियो ‘रेप्लिकेटिङ नेपाल्स स्टोलन गड्स’, यो निकै चासोको विषय बन्यो । पछि मास्टर्सको थेसिस पनि यही विषयमा गरें । जति बुझ्यो, पढ्यो उत्ति गहिरो र चाखलाग्दो मात्रै नभएर हिजोको इतिहास र भोलिको भविष्य जोड्ने विषय भएकाले यतातिर रुचि र चासो बढ्यो ।
नेपाल सम्पदा पुनर्स्थापना अभियान कस्तो पहल हो ?
सम्पदा संरक्षण र पुनर्स्थापनामा रिसर्च, इन्भेन्ट्री, पुरातात्विक विभाग, मन्त्रालय तथा सरकारसँग मिलेर काम गर्ने, हेरिटेज डिप्लोमेसीको प्रचार गर्ने, चोरिएका देवीदेवता कम्युनिटीमै फिर्ता र पुनर्स्थापना गर्ने अभियानको काम हो । हाम्रो कामको सकारात्मक परिणाम आइरहेको ठानेका छौं ।
तपाईंको पहलमा हालसम्म कति मूर्ति फर्किए ?
तीन वर्षको अवधिमा करिब एक सय २० मूर्ति फर्काइएको छ । यो म एक्लैले गरेकी होइन हाम्रो सामूहिक पहलमा सरकार, सम्बन्धित निकाय र सरोकारवालाको उत्तिकै योगदान छ ।

त्यसका लागि के–कस्ता चुनौती सामना गर्नुपर्‍यो ?
ब्युरोक्रेटिक समस्या सामना गर्नुपरेको अनुभव छ । यसको उदाहरण, हाम्रो तलेजु भवानीको नेकलेसको कहानी ज्वलन्त छ, जुन अझैसम्म आर्ट इन्स्टिच्युट अफ सिकागोमा छ । यो फिर्ताका लागि नेपालको पहल सक्किइसकेको छ तर अमेरिकन सरकारले पठाउने प्रक्रियामा छ भनेको निकै समय भइसक्यो । अहिलेसम्म काम पूरा हुन सकेको छैन ।
मूर्ति कसरी चोरी हुँदा रहेछन् ?
सन् १९५० देखि हाम्रो देश खुल्यो, पर्यटक आउन थाले । ५० देखि ८९ सम्म नेपालमा मूर्ति चोरीको बिगबिगी बढेको पाइन्छ । यसै पनि हाम्रो देश गरिब, त्यसमाथि काठमाडौं खुल्ला संग्रहालय । कतिले चोरेर लगे, कतिले बेचे, कतिले उपहार पाए–लगे । यसरी हाम्रा देवीदेवता विदेशी मुलुकका घर र संग्रहालयहरूमा पुगे ।
नेपाल सम्पदा पुनर्स्थापना अभियानले जसरी पुरातात्विक सामग्री फिर्ता ल्याउने काम गरिरहेको छ, यो त सरकारको जिम्मेवारी होइन र ?
हो । सरकारले नै गर्नुपर्ने हो ।
अनि तपाईंहरू किन अगुवा बन्नुभएको त ?
सरकारले यो विषयलाई बेवास्ता गरेकाले, गम्भीर रूपमा नलिएकाले हामी तात्तिनुपरेको हो ।
यस्ता काममा सरकार र सम्बन्धित निकायलाई घचघच्याउन कत्तिको कठिन छ ?
वर्षमा कतिवटा मन्त्री फेरिन्छन् ? तपाईं नै भन्नुस् । हरेक वर्ष कथा सुनाएर मात्र बस्नुपर्ने बाध्यता छ, काम हुने कहिले ?
यसरी फिर्ता ल्याइएका मूर्ति पुनर्स्थापना र त्यसपछि यिनको संरक्षण गर्न के–कस्ता काम गरिँदैछ ?
फर्काइसकिएका देवीदेवताका मूर्ति अब पुनः चोरी हुने सम्भावना कमै छ, किनभने ती राखिएका हरेक स्थानमा प्रशस्त सिसी क्यामेरा फिट गरिएको छ । स्थानीयहरू पनि अब यो विषयमा चनाखो भइसकेका छन् । तलितपुरमा त मेयर आफैं यो विषयप्रति अत्यन्त गम्भीर हुनुहुन्छ ।
अन्य देशको तुलनामा नेपाल ‘हेरिटेज डिप्लोमेसी’ मा नेपाल कत्तिको अगाडि छ ?
भर्खरै सुरु हुँदैछ । बेबी–स्टेप मै छ भन्छु म त । यो देशका लिडरहरूले बुझ्नै चाहेनन्, बुझेकै छैनन् ।
हेरिटेज संरक्षण तथा प्रवर्द्धनमा अबका दिनमा हामीले चाल्नुपर्ने कदम के हो ?
पहिलो कुरा त सरकार र नेतृत्व नै यसमा सक्रिय हुनुपर्छ । मन्त्रालयले पनि संस्कृतिमा बढी लगानी गर्नुपर्छ । हाम्रो देशमा कला, संस्कृति हेर्नकै लागि विशेषगरी पर्यटक आउने हुन् । संस्कृति छैन भने पर्यटन हुँदैन, पर्यटन छैन भने उड्डयनको के काम ? तसर्थ यो कुरा बुझेर संस्कृति संवर्द्धन तथा प्रबर्द्धनलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्छ भन्ने लाग्छ ।

 Image