‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

भगवती चौधरी (मन्त्री, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालय)
तीन दशकभन्दा बढी समयसम्म सुनसरी क्षेत्र नं. ३ कांग्रेसको गढ थियो, त्यसमा पनि विजयकुमार गच्छदार जस्तो ‘हेभी वेट’ नेताका अगाडि चुनावी लडाइँमा होमिन कमैले आँट गर्थे । भगवती चौधरीलाई पार्टीका सहकर्मी, शुभचिन्तकहरूले समानुपातिक कोटाबाट जानुस् भनेर सुझाव दिएका थिए । तर उनले मानिनन्, चुनावै लड्ने निधो गरिन् ।०७९ को चुनावमा उनी एमालेका तर्फबाट भारी मतान्तरका साथ विजयी भइन् ।
त्यसअघि २०६८ भदौ १२ (करिब ६ महिना) मा वन तथा भू–संरक्षण राज्यमन्त्री भएकी उनले त्यसपछि छोटो समयका लागि महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हालिन् । दुई महिनाअघि मात्रै उनी पुनः सोही मन्त्रालयको नेतृत्वमा फर्किएकी छन् ।
प्रस्तुति: उपासना घिमिरे र लक्ष्मी भण्डारी
२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यप्राप्त गरी राजनीतिमा आबद्ध । २०५८ सालमा सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा प्रवेश । २०६४ माएमाले सुनसरी जिल्ला कमिटी सदस्य,०६४ मै संविधानसभा सदस्य मनोनीत, ०७० माअञ्चल समन्वय कमिटी सदस्य । एमालेको नवौं र २०७८ को चितवनमा सम्पन्न १० औंमहाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीयविभागको उप–प्रमुख । अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिव । त्यसपछि सुनसरी सह–इन्चार्ज । २०७० को दोस्रो संविधानसभामा सुनसरी क्षेत्र नं. ३ बाट पराजित । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सुनसरी–३ बाट पराजित ।
ठेगाना: दुहवी नगरपालिका–२, सुनसरी ।
जन्ममिति: २०२८ वैशाख २ गते ।
जन्मस्थानः साविकऔराबीगाविस, हाल गढी गाउँपालिका ।
बाबु: विरणलाल चौधरी ।
आमा: लिटियादेवीथरुनीचौधरी ।
पारिवारिक विवरण: श्रीमान् स्व. दिनेशकुमार चौधरी र एक छोरा ।
शिक्षा: स्नातकोत्तर (समाजशास्त्र र व्यवस्थापन), पीएचडी अध्ययनजारी ।
जटिल अवस्थामा मन्त्रालय सम्हाल्न आइपुग्नुभयो, कत्तिको सहज र सकस महसुस गर्नुभएको छ ?
जनमतका आधारमा बहुमत पुर्याउन गठबन्धनमा जानैपर्ने संवैधानिक व्यवस्थाका कारण अहिलेको सरकार सोही अवस्थामा छ, सायद यसैलाई यहाँले सकस छ कि भन्ने इंगित गर्न खोज्नुभएको होला । तर म मन्त्रालय छिरेको पहिलो दिनदेखि नै हरेक काम ‘फास्ट ट्रयाक’ मै लैजाने प्रयास गरिरहेकी छु । नीतिगत अप्ठ्यारालाई साधारण बनाउने र परिणाममुखी काम गर्नेमा केन्द्रिकृत छु । मन्त्रालय जाँदा पहिलेका कामको ब्रिफिङ लिएर बस्ने काम गरिन, तत्काल नीति तथा योजना कार्यान्वयनमा लैजाने क्रमलाई तीव्र रूपमा अघि बढाएकी छु । ज्येष्ठ नागरिकका मुद्दा संसद्बाटै टेबल भइसकेका छन् । ७ सय ५३ वटै पालिकामा ज्येष्ठ नागरिकका मुद्दा पुगिसकेका छन् ।
तपाईंलाई ‘स्ट्रङ पावर प्याकेज’बनाउँदै ‘हेभी वेट’ लाई पछार्नेसम्मको चुनौती थियो, सफल पनि हुनुभयो । महिला नेतृत्वमा पुग्न कत्तिको कठिन रैछ?
महिलाले पुरुषभन्दा बढी मेहनत गर्नुपर्दो रहेछ भन्ने अनुभव गर्दै यहाँसम्म आइपुगेकी छु । शीर्षस्थ नेतादेखि कार्यकर्तासम्मले सुनाउनुभो–हामीले त सोचेकै थिएन भगवतीले यति धेरै भोट ल्याउँछे भनेर । झन्डै ३० वर्षदेखि एउटै शासनको दबदबा रहेको ठाउँमा कसैले आँटै नगर्ने परिपाटी बसिसकेको थियो । तर हामीले जनभावना परिवर्तन हुनुपर्छ भनेर सोहीअनुसार क्याम्पेनिङ गरेका थियौं ।
नेतृत्वमा आइसकेपछिका थप चुनौती के–कस्ता छन् ?
नेतृत्वमा पुगिसकेपछि पार्टीकै लिडरहरूले समेत तपाईं गर्न सक्नुहुन्छ र ? वा के गर्नुहुन्छ र ? भनेजसरी सजिलो रूपमा लिइदिनुहुन्छ । ठेल्ने मान्छे त भए उतिबेला, तर अब तान्ने मान्छे छैनन् । महिलालाई ‘पुस र पुल’गर्ने दुवै चाहिन्छ जस्तो लाग्छ । किनकि रात्रिकालीन भेटघाट र बैठकमा महिलालाई सहज छैन ।
यस्ता चुनौती सामनागर्ने चौतर्फी शक्तिकालागि के आवश्यक ठान्नुहुन्छ ?
युवासँग युवा र महिलासँग महिला भिडाउनुपर्छ । अलिकति अब हामी रणनीतिक ढंगले पनि अगाडि बढ्नुपर्छ । महिलाले चातुर्य अपनाउने र क्षमता प्रयोग गर्ने कुरामा पनि अब ढिला हुनुहुँदैन ।
महिला मुद्दामा आवाज एकत्रित हुनुपर्नेमा विखण्डित देखिन्छ । मूलतः पार्टीगतभाषा र भाष्यलाई प्रश्रय दिएको पाइन्छ, यस्तो परिपाटीलाई कसरी कम गर्न सकिएला ?
संविधान बन्ने बेला महिला ककस, अन्तरपार्टी महिला सञ्जाललगायतका संघ–संगठन निकै सक्रिय थिए । तर अहिले अलि निस्क्रिय भएझैं लाग्छ । महिला मुद्दालाई पुनः एकपल्ट बुलन्द गर्न छाता संगठनहरू सक्रिय हुनुपर्छ ।
तपाईंलाई विश्वास लाग्छ ? नेतृत्वमापुगेकानारीले अर्को नारी नेतृत्व जन्माउन सधैं तयार रहन्छन् ?
कतिपय महिलामा यो डर पनि देखिन्छ कि अर्को आयो भने मलाई उछिन्छ । तर मलाई जहिले पनि यही लागिरह्यो कि, मैले यदि अर्को कुनै नेतृत्व जन्माएँ भने म त गुरु पो हुन्छु त ।
संसदमा महिलालाई बोल्नका लागि थोरै नम्बर र समय दिइन्छ, यहाँ महिला आवाज कत्तिको सुनुवाइ हुन्छ ?
मिश्रित नै देखेकी छु । हो, महिला समानताका विषयमा सदनमा कमै आवाज उठ्छ । पार्टीका टप लिडर पुरुष नै छन् । बोल्ने बेला पार्टीको हैसियतअनुसार समय पाइन्छ । जति वरिष्ठ र उच्च पदमा पुग्यो उति समय धेरै पाइने हो । यो तहमा महिला नै कम छन् त कसरी पाइन्छ यथेष्ट समय ?
महिला मुद्दामा परिस्थिति कत्तिको बदलिएको पाउनुहुन्छ ?
केही न केही परिवर्तन महसुस गरेकी छु । हामी कलेज पढ्दा लुकेर बैठक बस्नुपर्थ्यो । ०४७ पछि केही खुला भयो । पुनः १२ वर्षे द्वन्द्वमा डर–त्रासै थियो । तर ०६२–०६३ को आन्दोलनपछि खुलेर बोल्न, काम गर्न पाइने भयो । ०७२ को संविधान बन्नुअघिका विभिन्न माग सुनुवाइ भएकै कारण धेरै कुरा संविधानमा समेटिए । २५ प्रतिशतबाट अहिले ७९.७ प्रतिशत साक्षारता पुगेको छ । ३३ प्रतिशतको बाध्यकारी कानुनले सिटमै महिला संख्या बढेको छ । यी कुरालाई सकारात्मक परिवर्तन ठान्नुपर्छ ।
अब हामीले गर्नुपर्ने के हो ?
महिलाको अर्थपूर्ण सहभागिता र निर्णायक तहमा हाम्रो उपस्थिति नै मूल कुरा हो । अब यसैका लागि हाम्रो कसरत हुनुपर्छ ।
आजसम्म आइपुग्दा हाम्रो आवाजको उपलब्धि के हो जस्तो लाग्छ ?
सत्ता र शक्तिमा हाम्रो पहुँच बढ्दैछ, शिक्षामा संख्या वृद्धि भएको छ । कार्यक्षेत्रमा महिला अब्बल रूपमा प्रस्तुत भइरहेकै छौं, भलै यो पूर्ण होइन । पार्टीले महिलालाई प्राथमिकताका साथ अगाडि ल्याउनुपर्छ ।
मन्त्रालयका आगामी योजना के–कस्ता छन्?
बजेट सानो छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक सबै एकै ठाउँमा हालिएको छ । पद बहाली भएदेखि परिवर्तनकारी बुँदा कानुन मन्त्रालयमा बुझाइसकिएको छ । अपाङ्गता भएका व्यक्तिबारे अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ । ज्येष्ठ नागरिकका सवालमा नीति बनाऔं भन्ने कुरा क्याबिनेटमै पुगिसकेको छ ।सन्तानको जुनसुकै कमाइबाट आमाबुवाले १० प्रतिशत पाउनुपर्ने कुरा दह्रो गरी उठाइएको छ । मुलुकका ७ सय ५३ वटै निकायका ज्येष्ठ नागरिकको दाँत हालिदिने काम गर्न पाए हुन्थ्यो भन्ने मनमा छ । ‘छोरी आत्मानिर्भर कार्यक्रम’ लाई मन्त्रालयको नीति तथा कार्यक्रममै राखिएको छ । गरिब–दुःखीका बालबच्चा पढाउन उतिबेलादेखि खट्दै आएकी हुँ, विपद्का बखत समाज र राष्ट्रलाई ठूलो सहयोग गरेकी छु । जनताको सुख–दुःखमा साथै छु । मेरो मनैमा समाजसेवा भएकाले मन्त्रालयले गर्ने काम, कार्ययोजना पनि सोहीअनुसार प्रभावित भइहाल्छन् ।
यत्तिका वकालत गर्दा,सरकारी, गैरसरकारी संघसंस्थालाग्दापनि महिला मुद्दा ज्युँका त्युँ रहे, झन् हिंसा, विभेद र बलात्कारका घटना बढ्दै जानथाले । यसमा तपाईं के भन्नुहुन्छ ?
कसुरजन्य अपराध भनेर महिला मन्त्रालयले नै कानुन ल्याएको छ । तर यसमाथि स्थानीय तहदेखि माथिसम्म नै प्रशस्त वकालत पुगेको छैन । पहिलेको तुलनामा सचेतना आएको छ, महिलाको आर्थिक आत्मनिर्भरता बढेको छ, बोल्न सक्ने भएका छन् । यसकारण पनि सहेर बस्दैनन्, आवाज उठाउनेबित्तिकै घटना बाहिर आउने नै भए । तर पनि समस्या सकिएको भने होइन, यसलाई कम गर्न चेतनामूलक कार्यक्रम अझै व्यापक रूपमा ल्याउनुपर्छ । सोहीअनुसार कानुन बनाउने र प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक देख्छु ।
तपाईंका रुचि र रहरहरू के–के होलान् ?
समाजसेवामा रुचि छ, सामाजिक क्षेत्रमा मैले धेरै समय बिताएकी छु । लेखपढ र यात्रा गर्न मनपर्छ । भविष्यमा राजनीति र समाजसेवामार्फत नै देश र जनताको सेवा गर्ने हो ।
तस्बिरहरुः महेशमान प्रधान