Successfully Copied

वर्षाका फूल

बिरुवा रोपिसकेपछि पिना हाल्नुपर्छ । माटोमा खुम्ले, निमाडोट्स आदि कीरा लाग्न सक्छन् । बजारमा मानिसलाई त्यति असर नगर्ने विषादी पाइन्छ ।

वर्षायाम फूल रोप्ने सबैभन्दा राम्रो मौसम हो । यो मौसममा पानी धेरै पर्ने भएकाले वातावरण ओसिलो हुन्छ । ओसिलोपनाले बिरुवा चाँडो हुर्कन्छ । आकाशको पानीमा पोषकतत्व प्रशस्त मात्रामा पाइने भएकाले बिरुवा बलियो र स्वस्थ पनि हुन्छ ।

सयपत्री

सयपत्री अन्य समयको भन्दा वर्षायाममा अलिक अग्लो भएर फुल्छ । मध्यवर्षामा पानी धेरै पर्ने भएकाले पनि यो फूल अग्लो हुन्छ । अरुबेला १५ देखि १८ इन्चमा फुल्ने सयपत्रीले वर्षायाममा २२ देखि २४ इन्चसम्मको उचाइ लिन्छ । सयपत्री धेरै प्रकारका छन् । टस भेराइटीमा नेदरल्यान्डबाट आउने एनएसजी कम्पनीको सयपत्री अरुभन्दा फरक हुन्छ । यो बिरुवा थोरै फुल्छ र कम समयका लागि हुन्छ । अमेरिसिड भेराइटीको सयपत्री थाइल्यान्डबाट आउँछ । यो अलिक अग्लो बोट भए पनि यसको बोट वा फूल भाचिँदैन । पानी धेरै सहने भएकाले अहिलेको मौसममा रोप्न सकिन्छ । त्यस्तै, फ्रेन्च सयपत्रीको बिरुवा सानो हुन्छ । यसको बोट वा फूल भाचिँदैन । यो फूल रोप्न वर्षायाम एकदमै उपयुक्त हुन्छ ।

जिनिया

जिनिया पानी सहने बिरुवा भएकाले वर्षायामका लागि उपयुक्त हुन्छ । यसको उचाइ १८ देखि २० इन्चको हुन्छ । यसमा दुईवटा भेराइटी पाइन्छ ः जिनिया जाहारा र जिनिया ड्रिमल्यान्ड । जिनिया जाहाराको फूल सानो हुन्छ । यो पाँचदेखि छ रंगमा पाइन्छ । यो फूल वर्षायाममा आफ्नो बगैंचामा लगाउन सकिन्छ । यो फूललाई वर्षाको पानीले केही असर गर्दैन । यसको बोट झाँगिएर आउँछ । एउटै बोटमा ४० वटासम्म फूल फुल्छन् । जिनिया ड्रिमल्यान्डको फूल ठूलो हुन्छ । यसले जाहाराभन्दा अलिक कम पानी सहने भए पनि वर्षायामका लागि उपयुक्त फूल हो ।

साल्भिया

यो फूल नेपालमा दुईवटा भेराइटीमा पाइन्छ । यो फूल प्रायः जताततै देखिन्छ । यो बिरुवा हाइब्रिड भएकाले उचाइ कम (फूल १५ देखि १८ इन्चसम्मको ) हुन्छ । वर्षाका लागि उपयुक्त हुन्छ । यसको बोट झाँगिएपछि फुल्छ । मल्टी कलरमा पाइने साल्भिया धेरैजसोले रातो रंगको मात्र रोप्ने गरेको पाइन्छ । यो फूल विशेषगरी छाया भएको ठाउँमा सप्रिन्छ । यसको बिरुवा स्वस्थ राख्न कीरा लागे पनि विषादीको प्रयोग गर्नु हुँदैन । विषादीले हाँगा लाग्न दिँदैन र फूल पनि राम्रोसँग फुल्न सक्दैन । त्यसको सट्टामा नीमको तेल, माटोमा नीम केक, नीमको धूलो राख्न सकिन्छ । पातमा कीरा लागेको छ भने नीमको तेल हाल्ने, कीरा टिपेर मार्नुपर्छ ।

पोर्चुलाका

वर्षाको समयमा हुने असाध्यै राम्रो फूलमध्ये एक हो, पोर्चुलाका । यो गाउँघरमा घडी फूलको नामले चिनिन्छ । घाम लाग्दा मात्र फुल्ने भएकाले यसलाई पारिलो ठाउँमा रोप्नुपर्छ । डाँठ र हाँगाहरू फैलने भएकाले यसलाई गमलामा भन्दा भुइँमा रोप्नु उपयुक्त हुन्छ । यो वर्षामा फुल्ने फूल भए पनि यसले धेरै पानी सहँदैन । त्यसैले यो फूललाई पानीले सिधा भेट्ने ठाउँमा रोप्नुहुँदैन । भारी वर्षाबाट यो फूललाई जोगाउनुपर्छ ।

डालिया

डालिया लाउरे फूलको नामले चिनिन्छ । धेरै अग्लो र ठूला–ठूला थुंगा फुल्ने यो फूललाई केनाई डालिया भनिन्छ भने स–साना थुंगा फुल्नेलाई फ्रेस्को डालिया भनिन्छ । फ्रेस्को डालिया धेरै अग्लो हुँदैन । यो १० देखि १५ इन्चसम्म अग्लो हुन्छ । यो दुई फिटसम्म फैलन्छ । यो वर्षायाममा हुने फूल भए पनि यसलाई घामको किरण भएको ठाउँमा रोप्नुपर्छ । तर पानी जम्ने ठाउँमा यो फूल मर्छ । त्यसैले बगैंचामा माटो उठाएर रोप्नुपर्छ । केनाई डालियालाई पर्खालको  लाइनमा रोप्न सकिन्छ । किनभने यसलाई सपोर्टको आवश्यकता पर्छ । पर्खालको कंक्रिट नदेखियोस् भन्ने चाहना भए यो डालिया रोप्न सकिन्छ । यसको औसत उचाइ २४ देखि ३० इन्चसम्मको हो ।

कहिले रोप्ने ?

अहिले यी फूलहरू रोप्न सकिन्छ । यी फूलहरू भदौसम्म फुल्छन् ।

माटो कसरी तयार गर्ने ?

ढुंगा चालेर माटो तयार गर्नुपर्छ । नराम्रो र भारी माटो छ भने आधा–आधा भाग कोकोपिट मिसाउन सकिन्छ । माटो तयार गर्दा पाँच किलो कोकोपिट भिजाउँदा २० किलोको भोलुममा बन्छ । त्यसमा बराबर मात्रामा माटो मिसाएर पाँच किलो कम्पोस्ट मल मिसाउनुपर्छ ।

कसरी हेरचाह गर्ने ?

बिरुवा रोपिसकेपछि पिना हाल्नुपर्छ । माटोमा खुम्ले, निमाडोट्स आदि कीरा लाग्न सक्छन् । बजारमा मानिसलाई त्यति असर नगर्ने विषादी पाइन्छ । त्यसको प्रयोग गर्न सकिन्छ । प्रति २० केजी माटोमा दुई सय ग्राम प्रेपोज नामक विषादी मिसाएर रोप्दा माटोजन्य रोगहरूबाट बिरुवालाई बचाउन सकिन्छ ।

बिरुवा रोपेको २०–२५ दिनमा एकपटक गोडमेल गर्नुपर्छ । बिरुवा गोडेको बेला थोरै–थोरै टोनिकका रूपमा ४० देखि ५० ग्राम कम्पोस्ट मल वा पिना हाल्नुपर्छ । यसो गर्दा बिरुवा स्वस्थ हुन्छ । जति फूल स्वस्थ हुन्छ, त्यति नै  बिरुवामा रोग/कीराले आक्रमण गर्न सक्दैन । फूल पनि राम्रोसँग फुल्छ । त्यसैले बिरुवालाई महिनामा एकपटक पोषणयुक्त खाना दिनुपर्छ ।

 Image