Successfully Copied

कुल–कुल समर फेसन

गर्मीको पहिरन आफूलाई कुल, स्टाइलिस र फेसनेबल देखिने हुनुपर्छ । यसका लागि पहिरनको संयोजनमा पनि उचित ध्यान दिनुपर्छ ।

समी तापक्रम २५ डिग्री सेल्सियसबाट उकालो लाग्दै गर्दा आङको लुगा छोटिँदै, घट्दै र पातलिँदै जान्छ । यो मौसमकै माग हो । फेसन डिजाइनर तेन्जिङ छेतेन भुटिया भन्छन्, ‘मौसम सुहाउँदो पहिरनले फेसन बजार चलायमान बनाइरहन्छ ।’

मौसममा परिवर्तनसँगै फेसन–शैली पनि फेरिँदै जाने उनको बुझाइ छ । मौसमी चक्रजस्तै वर्षभरमा फेसन–शैलीले एक फन्को लगाउँछ । जाडोमा बाक्लो र न्यानो, झरीमा वाटरप्रुफ र खुला, गर्मीमा हल्का र पातलो । डिजाइनर तेन्जिङका अनुसार हरेक मौसममा उही पहिरन शैली पुनरावृत्ति हुन्छ । ‘मौसम फेरिँदा एकदमै नयाँ र पृथक् शैलीको फेसन चल्छ भन्ने होइन’ उनी भन्छन्, ‘अघिल्लो मौसममा जस्तो चलेको हो, त्यही किसिमको चल्ने हो । तर त्यसमा थोरै मोडिफाइ भने हुनसक्छ ।’

धेरैजसो अवस्थामा मौसमले नै फेसनको शैली र रूपरंग तय गर्छ । कतिपय फेसन भने सदाबहार हुन्छ, जो बाह्रैमास चल्छ । जस्तो कि, जिन्स सर्ट, पाइन्ट । कति फेसन क्षणिक हुन्छ, जुन निश्चित समयमा चल्छ र हराउँछ । यस्तो फेसन सेलिब्रेटी, चलचित्र वा ग्ल्यामर दुनियाँबाट प्रभावित हुन्छ । मौसमी फेसनको भने आयु लामो हुन्छ ।

मौसमको माग बुझेर त्यहीअनुसार सुहाउँदो पहिरन शैली अपनाउनुपर्ने फेसन डिजाइनर राजेश धाख्वाको सुझाव छ । उनलाई लाग्छ, ‘त्यसरी पहिरन लगाउँदा स्टाइलिस र फेसनेबल देखाउँछ ।’ फेसन भन्नासाथ अरूभन्दा पृथक्, स्टाइलिस भनेर मात्र बुझ्न नहुने डिजाइनरहरूको धारणा छ । उनीहरू भन्छन्, ‘फेसन आफूलाई सहज लाग्ने र मौसमअनुकूल हुनुपर्छ ।’

शैली : खुला, हल्का र पातला

यतिबेला धर्तीमा गर्मीको राप बढ्दैछ । यो सँगै फेसन बजार पातलो, हल्का, खुकुलो र उज्यालो रंगका पहिरनले सजिँदैछ । गर्मीको पहिरन छरितो, उज्यालो र खुला हुनुपर्ने डिजाइनर राजेश बताउँछन् । ‘गर्मीको पहिरन छनोट गर्दा त्यसको डिजाइन, फेब्रिक र रंगमा ध्यान दिनुपर्छ’ उनी भन्छन्, ‘त्यसले छरितो र सुहाउँदो देखिन्छ ।’ उनका अनुसार गर्मीको पहिरन आफूलाई कुल, स्टाइलिस र फेसनेबल देखिने हुनुपर्छ । यसका लागि पहिरनको संयोजनमा पनि उचित ध्यान दिनुपर्छ ।

फिटिङ्स र बाक्लो पहिरन गर्मीका लागि उपयुक्त हुँदैन । गर्मीमा हिँडडुल गर्दा, काम गर्दा खुकुलो पहिरन सहज लाग्छ । यस्तो पहिरन लगाउँदा पसिनाको समस्या पनि नहुने डिजाइनर तेन्जिङ बताउँछन् । ‘गर्मीमा पसिनाका कारण दुर्गन्ध आउने समस्या हुन्छ’ उनी सुनाउँछन्, ‘त्यसैले सकेसम्म पसिना नआउने वा पसिना सोस्ने खालका लुगा लगाउनुपर्छ ।’ यसका लागि खुकुलो, हल्का पहिरन उपयुक्त हुन्छ । फेब्रिकको सन्दर्भमा कटन सही हुन्छ, जसले पसिना सोस्छ ।

कतिपयले भने पसिनाको दुर्गन्धबाट बच्न परफ्युम वा बडी स्प्रे प्रयोग गर्छन्, जुन गलत हो । एकातिर पसिनाको दुर्गन्ध, अर्कोतिर परफ्युम । ‘एकातिर गर्मीको राप’ डिजाइनर तेन्जिङ भन्छन्, ‘अर्कोतिर दुवैको मिश्रित गन्ध । कति असहनीय हुन्छ ?’

यसैगरी गर्मीमा धेरैले छोटा पहिरन लगाउँछन् । यसलाई पनि उपयुक्त मान्दैनन् डिजाइनरहरू । उनीहरूका अनुसार गर्मीमा पहिरन पूरा शरीर ढाक्ने हुनुपर्छ, जसले घामको सोझो किरणबाट छालाको रक्षा गर्छ । ‘गर्मीमा घामको सोझो प्रभावबाट बच्न स्लिभलेस वा छोटा पहिरनभन्दा पूरै शरीर ढाक्ने पातला र हल्का पहिरन हुनुपर्छ’ धाख्वा भन्छन्, ‘घामले छाला कालो र सुख्खा बनाउनेमात्र नभएर छालाको क्यान्सर हुने जोखिम पनि बढाउँछ ।’

रंग : उज्यालो र रंगीचंगी

गर्मीमा घामको किरण परावर्तन गरेर शरीरलाई शीतल राख्ने भएकाले उज्यालो रंग प्रयोग गर्नुपर्ने डिजाइनरको सुझाव छ । ‘सेतो, रातो, पहेंलो, हरियो, नीलो जस्तोसुकै रंग भए पनि उज्यालो हुनुपर्छ’ उनीहरू भन्छन्, ‘यसले कुल लुक्स दिन्छ ।’

धर्ती नै रंगीचंगी भइरहेको मौसममा सोहीसँग आफूले लगाउने पहिरनको रंगलाई पनि समायोजन गर्न सकिने डिजाइनरहरू बताउँछन् । ‘प्रकृति नै रंगीचंगी हुने मौसममा त्यस्तै किसिमको पहिरन अपनाउँदा सुहाउँछ’ तेन्जिङ भन्छन्, ‘गर्मीका लागि कलरफुल एवं फ्लोरल प्रिन्टेट पहिरनले फेसनेबल देखाउँछ ।’

कपडा : कटन, लेनिन

गर्मीबाट बच्न पहिरन स्वास्थ्यमैत्री हुनु जरुरी भएको डिजाइनर राजेशको भनाइ छ । उनी गर्मीमा प्राकृतिक धागोबाट बनेको पहिरन लगाउनुपर्नेमा जोड दिन्छन् । कटन, लेनिनबाट बनेको पहिरन लगाउन उनी सुझाउँछन् । ‘लेनिन एक प्रकारको वनस्पति हो’ उनी भन्छन्, ‘यसको रेसाबाट बनाइएको धागोलाई लुम वा पावर लुमबाट बुनेर कपडा तयार गरिन्छ । लेनिनबाट बनेको पहिरनले अल्ट्रा भ्वाइलेट सूर्यको विकिरणबाट बचाउनुका साथै शरीरलाई शीतलता दिन्छ ।’ यसको विशेषता भनेको धूलोमिश्रित हावालाई रोकेर स्वच्छ हावा हाम्रो छालासम्म पुर्‍याउनु पनि हो ।

गर्मीमा जतिसक्दो प्राकृतिक फेब्रिक नै रोज्नुपर्ने डिजाइनर तेन्जिङको पनि जोड छ । उनी भन्छन्, ‘गर्मीमा सिल्क, स्याटिन, पोलिस्टर, नाइलन र भेल्भेटबाट बनेका पहिरन उपयुक्त हुँदैनन् ।’

वानपिसदेखि कुर्ता–प्लाजोसम्म

गर्मीमा अक्सर युवतीका लागि जम्प सुट, वानपिस, कुर्ती, टप्स, हाफ पाइन्ट, स्कर्ट र पुरुषका लागि हाफ पाइन्ट, टिसर्ट, लेनिन तथा कटन पाइन्ट, कुर्ता–पाइजामा आदि सुहाउँदा हुन्छन् ।

कुर्ता र प्लाजो वा पेन्टको कम्बिनेसनले ट्रेडिसनल लुक दिन्छ । जुनसुकै अवसरमा पनि लगाउन योग्य कुर्ताले स्टाइलिस एवं कुल देखिन सकिन्छ । कुर्ता पुरानो पहिरन हो । यसको फेसन कहिल्यै सकिँदैन । यो समयसँगै विभिन्न डिजाइनमा उपलब्ध हुन्छ ।

तेन्जिङले यो वर्ष दुई वर्षअघिकै फ्लोरल प्रिन्ट चल्ने अनुमान गर्छन् । ‘फ्युजन लुकका लागि कटन गाउन लगाउन सकिन्छ, यसले पूरै शरीर ढाक्नुका साथै ट्रेन्डी लुक पनि दिन्छ’ उनी भन्छन्, ‘स्ट्रेप्स गाउनको पनि फेसन चल्नेछ । उचाइ कम भएका युवतीहरूले यस्ता गाउन लगाउन सक्छन् ।’

उनका अनुसार फुल जम्पसुट दुई वर्षअघि फेसनमा थियो । अघिल्लो वर्ष हाफ जम्पसुट फेसनमा रह्यो । यो वर्षपनि हाफ जम्प सुट चल्नेछ । यसले कुल, सहज र स्टाइलिस लुक दिने उनको भनाइ छ । फेसन डिजाइनर धाख्वा गर्मीमा वानपिस एन्कल लेन्थ, स्कर्ट, टप्स, अफ सोल्जर टप्स, स्पागेटी टप्स, रफल्स टप्स आदि लगाउने सल्लाह दिन्छन् । उनी भन्छन्, ‘गर्मीमा हाप पाइन्टसँग टिसर्ट, जम्पसुट, जिन्ससँग टप्स, कुर्ती वा टिसर्ट लगाउन सकिन्छ ।’

 Image