Successfully Copied

डरभन्दा अघि जीत

नोबेल कोरोना भाइरसको प्रवेशपछि मानिस र तिनको दैनिकीमा एक्कासि आएको परिवर्तनले धेरैले फरक अनुभूति गरेका थिए ।

नोबेल कोरोना भाइरसको प्रवेशपछि मानिस र तिनको दैनिकीमा एक्कासि आएको परिवर्तनले धेरैले फरक अनुभूति गरेका थिए । लामो समयसम्म हरेक क्षण मान्छे त्रासमा बाँचिरहेको यो कालखण्डलाई पछिल्लो समय विश्वका विभिन्न देशद्वारा आविष्कार गरिएका भाइरसविरुद्धका भ्याक्सिनले न्यूनीकरण गर्दैछन् । नेपाल सरकारले हालै कोरोना संक्रमणविरुद्धको खोप अर्थात् भ्याक्सिन लगाउने काम सुरु गरेको छ ।

साधना थापा

मनोपरामर्शदाता साधना थापा भन्छिन्, ‘सबैभन्दा ठूलो डर भनेकै मनको डर हो । जब मन डराउँछ शरीरका सबै तन्तु निष्क्रियतातर्फ ढल्किँदै जान्छन् । उनले अहिले पनि कतिपय मानिस कोरोनाको भ्याक्सिन आइसक्दा समेत त्रासमुक्त हुन नसकेको बताइन् । उनका अनुसार यस्ता प्राकृतिक विपद्का बखत आफ्नो मनलाई बलियो बनाउनुपर्छ । ‘आफूमा मानसिक स्थिरता ल्याउन योग, ध्यान, साथीभाइसँगको अन्तरक्रिया, पुस्तक अध्ययन, सकारात्मक सन्देश दिने खालका चलचित्र हेर्ने, संगीत सुन्ने गर्दा मानसिक रूपमा तरोताजा हुन मद्दत पुग्छ’ उनले भनिन् ।

 

डा. अनुप बाँस्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाले त्रास हटाउने भ्याक्सिन रामवाण भएको बताए । ‘कुनै पनि रोगबाट निम्तिने त्रास हटाउने रामवाण भनेकै भ्याक्सिन हो, जुन हामीकहाँ आइसकेको छ । रेबिज होस् वा हेपाटाइटिस ‘बी’ हरेकको निदान भनेकै खोप हो । यसअघिका खोपको प्रभावकारिता ६२ देखि ९० प्रतिशत छ,’ उनी भन्छन्, ‘हामी मौसमी रुघाखोकी वा अन्य खोपको प्रभावकारिताबारे त्यति गहिरिएर बुझ्दैनौं, त्यसको खोजी गर्दैनौं तर अहिले यो विश्वभर एकैपटक देखापरेको महामारी भएकाले यसबारे ज्यादा चासो देखिएको हो ।’ साइड इफेक्टका कुरालाई तत्कालका लागि पछाडि राखेर अहिले महामारी रोकथाममा लाग्नुपर्ने बाँस्तोलाको सुझाव छ । यसपछि विश्वमा आविष्कार हुँदै जाने कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरू अझ बढी प्रभावकारी निस्किँदै जाने कुरामा कुनै दुईमत नरहेको उनको भनाइ छ ।

 

आयुषी केसी

खाली सिसीकी संस्थापक आयुषी केसीका अनुसार आफूहरू खाली सिसी दाइहरूसँगै फोहोरमैलामा काम गर्ने हुनाले उनीहरूलाई कोरोना नै लागेको छ भन्ने अरुको आँकलन विभेदकारी रहेको बताउँछिन् । ‘तर उहाँहरू सबैको नेगेटिभ रिपोर्ट छ । संसारमा हरेक क्षण समस्या आइरहन्छ । त्रासमा जिउनुभन्दा पनि आफूले गरेको काममा विश्वास गर्ने हो,’ उनी भन्छिन्, ‘कोरोनाभन्दा पनि ठूला समस्या आइराख्छन् जीवनमा ।’ आफूले कोरोनाबाट धेरै कुरा सिकेको र कतिपय आफ्ना व्यवहार परिवर्तन गर्न सफल भएको बताउँदै आयुषी भन्छिन्, ‘पहिलो लकडाउनले आफैं र परिवारसँग मात्रै समय बिताइयो । आफ्ना रहर र चाहना पत्ता लगाइयो । कोरोनापछि योग गर्न थालें । थोरै आध्यात्मिक भएँ । जसले मेरो काममा पनि राम्रो भयो । कवाडमा काम गर्ने हुनाले पहिल्यैदेखि मास्क प्रयोग गर्थें, सेनिटाइजर कोरोनापछि निरन्तर प्रयोग गर्न थालें ।’ कोरोनाको सुरुवातमा मुमा–बुवा साँच्चिकै डराएको उनले देखेकी थिइन् । उनलाई लाग्छ त्यो भय र शंका उमेरले गर्दा उत्पन्न भएको हो । त्यो धेरैमा हुन्छ र हुनु स्वाभाविक पनि हो भन्ने आयुषीलाई लाग्छ । ‘डरभन्दा अगाडि जीवन छ’ आयुषी भन्छिन्, ‘डरलाई जितेर जीवन हेरौं, सुनौलो छ ।’

गायिका मेलिना राई कोरोना नहुँदा पनि मास्क लगाउँथिन् । तर मल, सुपरमार्केटमा जाँदा मास्क खोल्न लगाइन्थ्यो त्यो कुराले उनलाई कस्तो–कस्तो लाग्थ्यो । अहिले तिनै मल र सुपरमार्केटको ढोकामा उभिँदा मास्क नलगाई छिर्न नपाइने उनको भनाइ छ । उनी भन्छिन्, ‘यो परिवर्तन कोरोनाले नै ल्याएको हो, यो कुरामा मलाई खुसी लाग्छ । मानव स्वभावमा कतिपय प्राकृतिक विपद्ले परिवर्तन ल्याइदिन्छ, त्यो कसैले भनेर कोही मान्नेवाला थिएनन् ।’ कोरोना महामारीको सुरु–सुरुमा निक्कै डराएकी मेलिना अहिले निर्धक्क हिँड्ने बताउँछिन् । भन्छिन्, ‘सुरुमा त के–के न होला भन्ने लाग्यो बा मरि नै पो हालिने हो कि भन्ने लाग्थ्यो । बाहिर जाँदा पनि पञ्जा र मास्क लगाएर जान्थें । परिवारका सदस्यलाई पनि बाहिर जान नदिने, गइहाले पनि मास्क, स्कार्फले पूरै अनुहार ढाकेर, पञ्जा लगाएर, सेनिटाइजर बोकेर जान लगाउँथें । तर अहिले कोरोनाले नमरिने रहेछ भन्ने लाग्न थालेको छ ।’ कोरोनाका कारण मेलिनामा साबुन पानीले हात धोइराख्ने बानी परेको छ ।

 

ज्योति जंगल

कवि तथा कथाकार ज्योति जंगलका अनुसार संसारमा कोरोना भाइरस देखा पर्‍यो भन्ने खबर फैलिएपछि उनलाई निस्सारता, उकुसमुकुस महसुस भयो । उनलाई दुःखले सम्मोहित भएजस्तो भयो । अचम्मको अव्यक्त प्रभाव र त्रासमा डुबिन् उनी । त्यससँग साक्षात्कार गर्दै जाँदा बिस्तारै बाहिर निस्किँदै गएको उनी बताउँछिन् । ‘अहिले त्यतिखेरको जस्तो छैन । अहिले सम्झिँदा त्यो स्वप्नदोष वा स्वप्नप्रभावजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘बाहिर गएर घर फर्केपछि लुगा फेरी हातखुट्टा धोएर मात्रै भित्र पस्छु । कोही नजिकै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । अहिले पनि मास्क नखोली अरूको नजिक जान्न । यो मनोरोग नभएर सतर्कता मात्रै हो ।’ अहिले उनको डर हराएको छ । केही भइहाल्यो भने सामना गर्न सकिँदो रहेछ भन्ने हिम्मत जुटेको उनी बताउँछिन् । उनले लकडाउनभरि गुर्जो, बेसार, जडीबुटी हालेर पकाएको काँडापानी दैनिक रूपमा सेवन गरिन् । अहिले पनि उनी सातामा एकदिन यसैगरी यस्तै पानी पिउँछिन् । उनी भन्छिन्, ‘त्राससँग साक्षात्कार भएर बाँच्दा म आफूलाई स्थिर भएको महसुस गरें । मेरो भन्दा पनि संसारको बढी चिन्ता भयो ।’

 

उपासना सिंह

नायिका उपासना सिंह ठकुरीको अनुभव पनि उस्तै छ । उनी भन्छिन्, ‘डर भन्ने कुरा शून्य हुँदो रहेछ । केही सोच्नै नसकिने ।’ कोरोना सुरुवातको क्षण सम्झदै उनले भनिन्, ‘त्यो क्षणलाई जितेर कसरी आइयो शब्दमा व्यक्त गर्न सकिँदैन । अहिले धेरै कुरा परिवर्तन भएका छन् । मास्क र सेनिटाइजर सबैका लागि अनिवार्य भएका छन् ।’ पहिलो लकडाउनले धेरै कुरा सिकाएको उनको अनुभव छ । यसले आफू र परिवारको भ्यालु चिनाएको उनी बताउँछिन् । त्यसैले उनलाई लाग्छ प्रकृति गजबको छ, यसले दिने हरेक चीजले मानव सृष्टिलाई केही न केही सिकाएर जान्छ ।

 Image