Successfully Copied

के गर्छन् पुराना नायिका ?

‘भाइरल हुन आउने र निरन्तरता नदिने कारणले पनि लामो समय टिक्न सकेका छैनन् ।’

एकताका चलचित्र उद्योगमा चर्चा कमाएका कतिपय अभिनेतृ अहिले ओझेलमा परेका छन् । उनीहरूको लोकप्रियता क्षणिक हुन पुगेको छ । चलचित्रमा नयाँ अनुहारहरू स्थापित हुँदा पुरानाहरू भने विस्थापित हुन थालेका छन् । अझ महिला कलाकारहरू लामो समय चलचित्र क्षेत्रमा टिक्न सकेका छैनन् । पारिवारिक बन्धन, फिल्मले चर्चा नपाउनु, स्थापित हुन नसक्नु आदि कारणले महिला कलाकारहरू हराउने क्रम बढ्दै गएको हो । पुराना नायिकाहरू विदेश पलायन हुनेदेखि घर गृहस्थीमै भुलिरहेका छन् ।

कुनै समयकी चर्चित नायिका हुन्, निरुता सिंह । उनी तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’ मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । उनलाई यो चलचित्रले सफलताको शिखरमा पुर्‍याइदियो । त्यसपछि उनले निरन्तर नेपाली चलचित्रमा एकछत्र राज गरिन् । तर समय सधै उनको पक्षमा भएन । पछिल्लो समय उनी अभिनीत चलचित्र चल्न छाडेपछि उनले यो क्षेत्र छोड्ने निर्णय गरिन् । चलचित्रको दुनियाँबाट उनी अलग भइन् र मुम्बई पुगिन् । मुम्बईमा उनी इन्टेरियर डिजाइनमा रमाउन थालिन् । करिब एक वर्षअघि चलचित्र ‘दाल भात तरकारी’ बाट कमब्याक गरिन् । उनी अभिनीत उक्त चलचित्र पनि चल्न सकेन । कुनै बेला चर्चित यी अभिनेतृ अहिले मुम्बईमा रमाइरहेकी छन् । उनी कहिले इन्डियन आइडलमा आएर चर्चा बटुल्ने गर्छिन् त कहिले बलिउड कलाकारहरूसँग सहकार्य गरेर । बलिउडमा जम्ने योजनासहित मुम्बर्ई पुगेकी उनी अहिले भने मुम्बईमा इन्टेरियर डिजाइनिङको काम गरीरहेकी छन् ।

सिंहजस्तै नेपाली चलचित्रमा चर्चा बटुलेकी अर्की नायिका हुन्, विपना थापा । उनले अभिनयसँगै फेसन डिजाइनरमा समेत काम गरिन् । चलचित्रमा उनी आफ्ना लागि आफै ड्रेस डिजाइन गर्थिन् । ‘जन्मभूमि’ बाट चलचित्रमा प्रवेश गरेकी उनका ‘अप्सरा’, ‘गाजल’, ‘मितिनी’ सहितका चर्चित चलचित्र हुन् । राम्रो नायिकाको छवि बनाएकी उनले सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट टाढिइन् । विपना अहिले गृहस्थी जीवन बिताइरहेकी छन् । समय–समयमा उनी नेपाल आउजाउ गरिरहन्छिन् ।

नायिका रेजिना उप्रेतीले अभिनय र चलचित्र निर्माण गरिन् । उनले करिब ६ दर्जनभन्दा बढी चलचित्रमा अभिनयसमेत गरिसकेकी छन् । ‘वरदान’ उनले निर्माण गरेको चलचित्र हो । उक्त चलचित्रले सफलता भने हासिल गर्न सकेन । प्रेमी सुरज अधिकारीसँग तीन वर्षअघि विवाह गरेकी रेजिना एक छोरीकी आमा भइसकेकी छिन् । आजकल उनी छोरीको हेरचाहमै व्यस्त छिन् । गृहस्थी दैनिकीमै उनी रमाइरहेकी छन् । अभिनेतृ जेनिशा केसी पनि चलचित्र क्षेत्रमा रमाउन सकिनन् । उनले अभिनय गरेका चलचित्रले सफलता हासिल गर्न सकेनन् । चलचित्रमा स्थापित हुन नसकेपछि उनी मुम्बई पुगिन् । उनी बलिउडमा संघर्षरत छन् । उनको आगामी लक्ष्य भनेको बलिउडमा अभिनय गर्नु हो ।

नेपाली चलचित्रमा गरिमा पन्त पनि लोकप्रिय नाम हो । दुई दर्जन चलचित्रमा अभिनय गरेकी गरिमा विवाहपछि बेल्जियम गइन् । अहिले उनी फिल्मी दुनियाँबाट टाढा छिन् । बेल्जियममा उनी बिकिनी लगाएर फोटोसुटपछि चर्चामा आइन् । चलचित्रमा नायिकाहरू लामो समय टिक्न सकिरहेका छैनन् । नायिकाहरूको विदेश पलायन हुने क्रम बढ्दो छ । नायिका नन्दिता केसी पनि करियरका लागि अमेरिका पुगिन् । नन्दिताजस्तै युना उप्रेती, विनीता बराल, उषा पौडेल, ऋचा घिमिरे, सौजन्या सुब्बा अमेरिकामा छन् । सौजन्या भने अभिनेता भूपेन चन्दसँग दोस्रो विवाह गरी अमेरिका पुगेकी हुन् । अमेरिकामै करियर बनाइरहेका अन्य नायिकाहरू कृष्टि मैनाली, सारंगा श्रेष्ठ, जल शाह, पूजा चन्द आदि छन् ।

किन टिक्दैनन् महिला कलाकार ?

चलचित्रमा महिला कलाकारहरूले निरन्तरता दिन नसक्नु व्यक्तिगत जीवनदेखि व्यावसायिक कारणसम्म रहेको बताउँछिन्, मिथिला शर्मा । लामो समयदेखि चलचित्रमा अभिनय गरेकी उनी भन्छिन्, ‘महिलाहरूले व्यक्तिगत एवं व्यावसायिक कारणले चलचित्रमा निरन्तरता दिन सकेका छैनन् ।’ तर, पुराना नायिकाहरू चलचित्रमा नखेल्दैमा उनीहरूको योगदान भने भुल्न नहुने उनको भनाइ छ । उनका अनुसार योगदान दिएका कलाकारलाई हराए, गुमनाम भएको भन्न मिल्दैन । उनी भन्छिन्, ‘पारिवारिक जिम्मेवारीका कारण पनि महिलाहरू चलचित्रबाट टाढा भएका छन्, त्यसकारण योगदान दिएका कलाकारलाई चलचित्रले बिर्सनुहुँदैन ।’ कोही कलाकार भने नबुझी चलचित्र क्षेत्रमा आएका कारण आउने/हराउने हुने गरेको उनी बताउँछिन् । उनका अनुसार एउटा चलचित्र खेलेर चलचित्र क्षेत्र छोड्नेहरू पनि धेरै छन् । नबुझी चलचित्र क्षेत्र प्रवेश गर्ने, आर्थिक निर्वाह गर्न नसक्नुका कारणले आएर हराउनेहरू पनि छन् । उनी भन्छिन्, ‘भाइरल हुन आउने र निरन्तरता नदिने कारणले पनि लामो समय टिक्न सकेका छैनन् ।’

तस्बिरहरू : सामाजिक सञ्जाल

 Image