Successfully Copied

पहिरनमा रंगको प्रभाव

मानिसले आफ्नो स्वभाव एवं प्रवृत्तिअनुसार पहिरनको रंग छनोट गर्छन् । रंगले मानव व्यवहार, मनोदशा वा शारीरिक प्रक्रियालाई प्रभावित गर्छ ।

लेखक कुमार नगरकोटीलाईं रंगीन, चहकिलो वा फूलबुट्टे पहिरनमा ठाँटिएको देख्नु दुर्लभ मात्र होइन, असम्भव पनि हो । किनभने उनी यस्ता पहिरन रुचाउँदैनन् । उनलाई त कालो प्रिय लाग्छ । त्यसैले आफ्नो पहिरनमा कालो रंगकै संयोजन मिलाउन खोज्छन् । कालो नै किन त ?

उनको जवाफ छ, ‘कालो रंग मलाई रहस्यमयी लाग्छ । म मेरो सबै चीजमा यस्तै रहस्यमयी रंग खोज्छु । मेरो किताबको कभर पनि कालो रंगको हुन्छ ।’ शिरको टोपीदेखि जुत्तासम्म निख्खर कालो भए गज्जब लाग्छ उनलाई । उनले सकेसम्म एउटै रंगले सम्पूर्ण शरीर ढाक्न खोज्छन् ।

नगरकोटी गेरु, पहेंलो र रातो पनि मन पराउँछन् । उनी यी रंगहरू आफ्नो पहिरनमार्फत झल्काउन खोज्छन् ।

भनिन्छ, रंगले मानिसको भावना एवं संवेदना उद्घाटित गर्छ । कुनै पनि व्यक्तिले पहिरनमा कस्तो रंग छनोट गर्छ भन्ने कुराले उनको मनोविज्ञानलाई झल्काउँछ । मान्छेको प्रवृत्ति, रुचि, उमेर, संस्कृति, भूगोलले पनि यसमा असर पारिरहेको हुन्छ । यसैगरी, मान्छेले आफ्नो पेसा एवं व्यवसायअनुरूप पहिरनको रंग छनोट गर्छन् । उद्यमीहरूले शालीन र भद्र देखिने रंगको पहिरन लगाउन मन पराउँछन् भने ग्ल्यामर क्षेत्रमा काम गर्नेहरूले रंगीचंगी वा चहकिलो ।

अभिनेतृ स्वस्तिमा खड्का अक्सर चहकिलो पहिरनमै ठाँटिएको देखिन्छिन् । यद्यपि कुनै पनि रंगसँग उनको खास लगाब भने छैन । उनी समयअनुकूल रंग परिवर्तन गर्न रुचाउँछिन् । गर्मी वा वर्षायाममा रंगीचंगी परिहन लगाउन मन पराउँछिन् भने जाडोमा कालो एवं फिका रंग । स्वस्तिमा भन्छिन्, ‘मलाई यही रंगकै पहिरन लगाउनुपर्छ भन्ने छैन । कुन पहिरन लगाउँदैछु भन्ने कुराले नै रंग पनि निर्धारण गर्ने हो ।’

फेसन डिजाइनर राजेश धाख्वालाई लाग्छ, फेसनमा रंगको खास भूमिका हुन्छ । आफ्नो शरीरको वर्ण, मौसम, ठाउँ र अवसरअनुरूप पहिरनको रंग पनि उचित ढंगले छनोट गर्नुपर्ने उनको बुझाइ छ ।

त्यसो त कतिपय क्षेत्रमा रंगकै आधारमा ‘ड्रेस कोड’ पनि तयार गरिएको हुन्छ । पाइलटहरूका पहिरन अक्सर सौम्य देखिने खालका हुन्छन् भने एयर होस्टेजको केही चहकिलो हुन्छ । यसैगरी, सरकारी सेवामा रहेकाहरूको पहिरनको रंग भद्र देखिने किसिमको हुन्छ । नेपालमा सरकारी कर्मचारीले लगाउने पहिरन नीलो छ । नीलो लगाउनुको अर्थ उनीहरू सचेत र जिम्मेवार छन् भनी दर्शाउनु पनि हो । यसैगरी, उद्योगी, व्यवसायीहरूले पनि आफ्नो पहिरनमा यस्तै रंगको संयोजन मिलाउने प्रयास गर्छन् ।

कतिपयले आफ्नो पहिरनको रंगलाई निकै अर्थपूर्ण ढंगले लिन्छन् । तीमध्ये निर्णय श्रेष्ठ पनि एक हुन् । ‘हिपहप’ एवं ‘र्‍याप’ गायनबाट चर्चा बटुलेका उनी आफ्नो पहिरनमा निश्चित रंगको संयोजन मिलाउँछन् । उनको पहिरनमा रातो, सेतो र कालोको संयोजन हुन्छ । निर्णय किन पहिरनको रंगप्रति यति सचेत छन् ?

‘मेरो रातो क्यापले समानताको प्रतिनिधित्व गर्छ । जसले गरिब, धनी, कथित तल्लो वर्ग, माथिल्लो वर्ग सबैको शरीरमा एउटै रगत बग्छ भन्ने हो’ उनी थप्छन्, ‘मेरो स्कार्फ सेतो हुन्छ र मैले लगाउने पहिरन पनि सेतो हुन्छ, सेतो भनेको शान्तिको प्रतीक । जब नेपालमा क्रान्तिकारी युद्ध सुरु भयो मैले त्यहिबेला देखि सेतो पहिरन लगाउन सुरु गरें ।’

कालो र सेतो उनको प्रिय रंग हो । यसलाई उनी सरलताका रूपमा लिन्छन् । ‘जीवन पनि यस्तै सरल हुनुपर्छ भन्ने मेरो धारणा हो’ निर्णय भन्छन्, ‘यसले अँध्यारो र उज्यालोको पनि प्रतिनिधित्व गर्छ । रातपछि दिन आउँछ वा कालो र सेतो एक–अर्काका परिपूरक हुन् भन्ने मेरो तर्क हो ।’

 

पहिरनको रंगमा प्रभाव

मनोविज्ञान

मानिसले आफ्नो स्वभाव एवं प्रवृत्तिअनुसार पहिरनको रंग छनोट गर्छन् । रंगले मानव व्यवहार, मनोदशा वा शारीरिक प्रक्रियालाई प्रभावित गर्छ । व्यक्तिले कस्तो रंगको पहिरन लगाउँछ भन्ने कुराले उसको मनोविज्ञान बुझ्न सकिन्छ । नीलो मन पराउनेको स्वभाव उदार, विश्वासी र सौन्दर्यप्रेमी हुन्छ । नीलोले शान्त बनाउँछ । कालो मन पराउने गम्भीर, आत्मविश्वासी, अन्तर्मुखी स्वभावका हुन्छन् । सेतो मन पराउने दयालु, खुल्ला हृदय एवं सरल स्वभावका हुन्छन् । केही अपवादबाहेक जसलाई जुन रंग अधिक मनपर्छ, त्यही रंगको पहिरनप्रति आकर्षित हुन्छन् ।

मौसम

फेसनपारखीहरू जुनसुकै मौसममा पनि आफूलाई फेसनेबल राख्न रुचाउँछन् । चाहे जाडो होस् वा गर्मी । उनीहरू ‘अपडेट’ भइरहन्छन् । फेसन डिजाइनरहरू जाडोमा अँध्यारो रंग र गर्मीमा रंगीन एवं उज्यालो रंगको पहिरन लगाउने सल्लाह दिन्छन् । सूर्यको किरण सोस्ने भएकाले जाडोमा अँध्यारो रंगको पहिरन लगाउनुपर्ने उनीहरूको तर्क छ । त्यसको ठीकविपरीत गर्मीमा सूर्यको किरण परावर्तन गर्ने भएकाले उज्यालो रंग लगाउनु वेश हुन्छ ।

फेसन डिजाइनर निरु खरेल बताउँछिन्, ‘हल्का रंगले आँखालाई पनि शीतल अनुभव गराउँछ ।’ उनका अनुसार रंगको फेसन ३–३ महिनामा परिवर्तन भइरहन्छ । गाजलु बुटिककी सञ्चालिका समेत रहेकी खरेल भन्छिन्, ‘यसपटकको गर्मीमा पीच रंग र लेमन एल्लो रंग चल्नेछन् ।’ अघिल्लो वर्ष रोयल ब्लू एवं पहेंलो फेसनमा थिए ।

पेसा

नीलो क्लासिक बिजनेस सुटको रंग हो । कर्मचारीहरूले नीलो कपडा लगाउनुको अर्थ उनीहरू सचेत र जिम्मेवार हुन्छन् भन्ने बुझिन्छ ।

लिङ्ग

रंगको छनोटले महिला र पुरुष पनि छुट्याउँछ । महिलाहरू रंगीन, चहकिलो एवं पिंक रंग मन पराउँछन् । पुरुषहरू डार्क वा सामान्य रंग मन पराउँछन् । फेसन डिजाइनर धाख्वाका अनुसार कुनै पनि रंग महिला र पुरुषको भनेर छुट्टिएको त हुँदैन । उनी भन्छन्, ‘यो उनीहरूको व्यक्तिगत रुचि हो ।’ तैपनि ‘फेमिनिस्ट’ रंग भनेर पिंक वा हल्का रंगलाई जनाउँछ ।

उत्सव

अहिले कतिपय भोज एवं विवाह पार्टीमा पहिरनको रंगमा पनि सरोकार राखिन्छ । कतिपय पार्टीमा यस्तो रंग लगाउनुपर्छ भनी ड्रेस कोड नै तोकिएको हुन्छ । अहिले सबैले एउटै रंग लगाउने ‘ट्रेन्ड’ रहेको छ । विवाह वा यस्तै समारोहमा रंग तोक्ने गरिन्छ ।

भूगोल

उच्च हिमाली भेग वा पहाडमा बस्नेहरू र तराईमा बस्नेहरूको रंगको छनोट एउटै हुँदैन । तराईमा बस्नेहरू चहकिलो, उज्यालो र खासगरी सेतो रंग रुचाउँछन् भने उच्च लेकाली भेगमा बस्नेहरूले गाढा, खैरो रंग रुचाउँछन् ।

‘रंग र मनोविज्ञानमा अन्तरसम्बन्ध’

 सुजिता बानियाँ, मनोविद्

पहिरनको रंग र मानिसको मनोविज्ञानमा के अन्तरसम्बन्ध छ ?

पक्कै पनि छ । दुवैतिरबाट सम्बन्ध छ । तपाईंको जस्तो भावना छ सोहीअनुसारको रंग छनोट गर्नुहुन्छ । तपाईंले लगाएको पहिरनको रंगअनुसार कस्तो मुड छ भनेर बताउन सकिन्छ । पहिरनको रंग छनोटले मुड पनि परिवर्तन हुन सक्छ । जस्तो कि रातो लगाउँदा सोहीअनुरूपको मुड आउँछ । रातो रंग माया, प्रेम, शक्तिसँग सम्बन्धित त्यस्तै भावना मनमा पैदा हुन्छ । साथै, रातो रंग लगाएर वरपर बस्दा त्यस्तै किसिमको असर देखिन्छ । आन्दोलनहरूमा रातो रंगको प्रयोग गरिन्छ । जसले उत्साह र जाँगर जगाउँछ । एकदमै निराशा छ वा दिक्क लागेको छ भने कालो वा अँध्यारो रंगको छनोट गरिन्छ । सेतो रंग शान्तिको प्रतीक, शीतल, एकाग्र भएको मानिन्छ । मनमा धेरै किसिमको कुरा खेलिरहेको छ वा अन्योल छ भने सेतो पहिरन लगाउनुपर्छ । सेतो पहिरन लगाएको मानिस देख्दा पनि शान्त महसुस हुन्छ ।

मानिसले छनोट गर्ने पहिरनको रंगले उनीहरूको मनोविज्ञान झल्कन्छ ?

उनीहरूको मनोविज्ञान त भन्न मिल्दैन तर मनमा कस्तो खालको भावना चलिरहेको छ भन्ने बुझ्न सजिलो हुन्छ । कस्तो किसिमको ऊर्जा चाहिएको हुन्छ सोहीअनुसारको पहिरनको रंग लगाउँदा सहज हुन्छ । जब मन शान्त हुन्छ तब उज्यालो रंग छनोट गरिन्छ । यो आफै आउने भावना हो । यसमा कुनै नियन्त्रण हुँदैन ।

‘रंगको छनोट नितान्त व्यक्तिगत रुचि’

 राजेश धाख्वा, फेसन डिजाइनर

कोरोनाका कारण फेसन बजार वर्षैभरि शान्त रह्यो । बाहिर निस्कने, घुम्न जाने, भोजभतेरमा जाने माहोल बनेन । फेसन बजार पुरानै पहिरनले ओगट्यो । हुनत फेसन एवं ट्रेन्डमा परिवर्तन आउन अर्को वर्ष कुर्नै पर्दैन । मौसम परिवर्तन भएसँगै फेसन बजारमा आफै परिवर्तन आउन थाल्छ । फेसनमा रंगको भूमिका महत्वपूर्ण हुन्छ । मौसम, वर्ण र पेसाअनुसार पहिरनको रंगको छनोट गर्नु जरुरी हुन्छ । रंगको छनोट नितान्त व्यक्तिगत रुचि हो । यो व्यक्तिमा निर्भर रहन्छ । तैपनि उज्यालो रंग नै अहिले चल्तीमा छ । सन् २०२१ को कुरा गर्ने हो भने पेस्टल सेड, नेचुरल कलर फेसनमा रहनेछन् । स्पोर्ट्स वेयरमा फ्लोरोसेन्ट चल्नेछ ।

 Image