Successfully Copied

श्रद्धाञ्जली : भागरथी

निर्मला पन्त हत्याकाण्डपछि पश्चिम नेपालमा उस्तै प्रकृतिको अर्को घटना भएको छ । बैतडी, दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ ।

निर्मला पन्त हत्याकाण्डपछि पश्चिम नेपालमा उस्तै प्रकृतिको अर्को घटना भएको छ । बैतडी, दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । ‘हत्यारालाई छिटो पत्ता लगाई कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दूरा भट्टले भनिन् । विद्यालय गएकी १७ वर्षीया भागरथीको शव वीभत्स अवस्थामा फेला परेको थियो । उनका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झदा भतिजीको हत्या विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । ‘प्रहरी–प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने ?’ उनले भने, ‘पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको छ ।’ त्यही कारण गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको उनले बताए ।

भागरथीको शव गाउँकै विद्यार्थीले घर फर्किरहेका बेला सडकमुनि झाडीमा देखेका थिए । घटनास्थलमा साँझ स्थानीय र प्रहरी पुगेका थिए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए । भागरथीकी सहपाठी ज्योति भट्टले साथीको हत्यापछि स्कुल जानै डर लागेको बताउँदै भनिन्, ‘सँगै हिड्ने–पढ्ने साथीको ज्यान गयो, अब हामी कसरी एक्लै हिँड्ने ?’ दुई महिनाअघि मात्र पति गुमाएकी दुरा छोरीको शव फेला परेको सुनेपछि पूर्ण होशमा छैनन् । रोएरै रातदिन बिताइरहेकी छन् । ‘अब त म बाँच्न सक्दिन कि जस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘हत्या गर्नेलाई छिटो पक्राउ गरी हदैसम्मको कारबाही भएको हेर्ने मन छ ।’ शंकरले भतिजीको बलात्कारपछि नै हत्या भएकोमा शंका नरहेको बताए । ‘मैले फोटाहरू हेरेको थिएँ । शरीरभरि मान्छेले बनाएका चोट छन्,’ उनले भने । अनुसन्धानमा खटिएका प्रहरीले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि हत्या भएको जनाएको छ । शव अर्धनग्न अवस्थामा फेला परेको थियो । शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो । किशोरीको योनि र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । ‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ । दुई वा दुई जनाभन्दा बढीको समूहले उनको बलात्कार र हत्या गरेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने । शव भेटिएकै स्थान वनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे । जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले शवका नीलडाम र चोटबाट पासविक तवरले ज्यान लिएको देखिने बताए ।

सामाजिक सञ्जालमा श्रद्धासुमन

स्तब्ध बनाएको छ, शब्दबिहीन बनाएको छ । कति बोल्नु यो राज्यसँग ? कति कराउनु यो अपराधी प्रवृत्तिविरुद्ध ? निर्मला पन्तको हत्याराले सजाय पाएको भए सायद सम्झना कामी र भागरथी भट्टहरूको यो अवस्था हुँदैनथ्यो कि भन्ने सम्झेर मन झनै छियाछिया हुन्छ । निर्मलाको जस्तो नहोस्, यिनको हत्यारालाई समातेर कंचनपुरमा गुमेको नेपाल प्रहरीको शाख फिर्ता ल्याउने कार्य हुनेछ भन्ने आशा गर्दछु । तिम्रो अपराधीले कठोर सजाय पाओस् र तिम्रो आत्मालाई शान्ति मिलोस् भागरथी भावपूर्ण श्रद्धासुमन ।

- रामेश्वरी पन्त

बलात्कारको सिकार भई मृत्यवरण गर्न विवश छोरीहरूको एकपछि अर्को शृंखलाको समाचार पढिरहन पर्दा आफूलाई ‘बलात्कार विरुद्धको अभियन्ता हुँ’ भन्न लज्जाबोध भयो । लौन हजुर केही गरौं–अब बलात्कारीलाई सजाय दिलाउन वा आफ्ना छोराछोरीको सुरक्षा गर्न अरुको भर नपरौं ।

- मेनुका थापा

कतिजना निर्मला सिद्धिएपछि बालिका, किशोरी र महिलाहरू सुरक्षित हुन्छन् ?

- अमृता लम्साल

 Image