Successfully Copied

नेतृत्वमा अब्बल

‘आत्मविश्वासलाई नेतृत्वको मूल गुण मान्ने नमुना कलेज फेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टकी संस्थापक ज्ञानीशोभा तुलाधरलाई यो स्थानसम्म पुग्न कम भनाइ सुन्नु परेको छैन । न्यूरोडको हुनेखाने परिवारकी छोरीले दर्जीको लुगा सिलाउने काम गर्न थाली भनेर उनले छोएको पानी नखानेहरू आज उनको प्रशंसा गरेर थाक्दैनन्

देश वा परिवार हाँक्नु उस्तै हो । दुवैका लागि दृढता, आत्मविश्वास र नेतृत्व क्षमता आवश्यक हुन्छ । अटल आत्मविश्वास, कामप्रतिको लगाव र निरन्तरताले विश्वका महिलाहरूले आफूलाई निर्णायक स्थानमा उभ्याएका छन् । नेपालको अहिलेको परिप्रेक्ष्यमा हरेक क्षेत्रमा महिलाको उपस्थिति बाक्लिँदै गएको छ । सरकारीदेखि वित्तीय क्षेत्र, औद्योगिक घराना, शैक्षिक संस्थान, सञ्चारमाध्यम आदिमा उनीहरूको राम्रो सहभागिता छ । तर, निर्णायक तहमा महिलाको उपस्थिति कस्तो छ त ? यो प्रश्नको सन्तोषजनक जबाफ भने कतैबाट पाइँदैन । यहाँ विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने महिलाको विचार र संघर्षका कथामार्फत जबाफ खोतल्ने प्रयास गरिएको छ ।

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डियनको एउटा भनाइले महिलालाई नेतृत्वदायी र निर्णायक भूमिकामा पुग्न कति कठिन छ भन्ने ठम्याउन कसैलाई गाह्रो नपर्ला । उनको भनाइ छ, ‘मैले वर्षौंदेखि भोगिरहेको कुरा हो–म कमजोर छु भन्ने अरुको भनाइ थियो, म त्यसमा बिल्कुलै असहमत हुँदै अगाडि बढ्दै गएँ र आफूलाई बलियो साबित गर्न सफल भएँ, अहिले म निर्णायक नेतृत्वमा छु ।’ उनका अनुसार नेतृत्वका लागि महिलालाई कमजोर ठान्नु गलत हो ।

वेलनेस’ अस्पतालकी अध्यक्ष सिर्जना शर्मा महिला निर्णायक तहमा पुग्नका लागि मेहनत र उद्देश्य निश्चित हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महिला स्वयं जुझारु र कामप्रतिको जिम्मेवारीमा गम्भीर भए मूल्यांकन हुन्छ । कर्म गर्दै गए परिणाम एकदिन अवश्य पाइन्छ भन्नेमा मेरो विश्वास छ ।’ सिर्जनाले कर्मचारीप्रतिको नम्र व्यवहार, समय व्यवस्थापन कला, नआत्तिने स्वभावका कारण नेतृत्वमा टिकिरहन आफूलाई सहज भएको बताइन् । योग शिक्षिका समेत रहेकी उनी ‘वेलनेस’ अस्पताल र चैतन्य स्पाका गरी पाँच दर्जन बढी कर्मचारी र व्यवस्थापन पक्ष सम्हालिरहेकी छन् ।

सुरुवाती दिनमा सिर्जनालाई महिला भएकै कारण ‘अस्पताल चलाउन सक्दिनन’् भन्नेहरू पनि थुप्रै थिए । धेरै हेपिनुपरेको उनी बताउँछिन् । ‘कडा प्रतिस्पर्धा त छँदै थियो तर यी सब कुराका बाबजुद पनि मैले आफूलाई कत्ति डगमगाउन नदिई मेरो क्षमताको प्रयोग गरें’ उनले भनिन्, ‘आज मेरो नेतृत्व सफल र सबल छ ।’

वन तथा वातावरण मन्त्रालयकी सह–सचिव डा. राधा वाग्लेको भनाइ पनि उस्तै छ । उनी ‘कमजोर’ ठान्नेहरूकै कारण आफ्नो विज्ञताको कयौं पटक सुनुवाइ नभएको दुखेसो पोख्छिन् । स्विडेनको ‘स्विडिस एग्रिकल्चरल युनिभर्सिटी’ बाट स्नातकोत्तर तथा मनास युनिभर्सिटी अस्ट्रेलियाबाट ‘जेन्डर एन्ड फरेस्ट्री’ विषयमा विद्यावारिधि गरेकी राधा अहिले मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुखका रूपमा कार्यरत छिन् । अहिलेको नेतृत्व तहसम्म पुग्न उनले हजारौं संघर्षका पहाड छिचोलेकी छन् । ‘मेरो विज्ञताको कयौंपटक सुनुवाइ भएन’ निजामती सेवामा ३३ वर्ष सेवा गरिसकेकी राधा भन्छिन्, ‘महिला नेतृत्वमा जान सक्षम छन् तर महिलालाई जिम्मेवारी दिने कुरामा कन्जुस्याइँ गरिन्छ ।’ उनी सरकारले नै महिलाका लागि विशेष व्यवस्था तथा नीति ल्याउनुपर्ने सुझाउँछिन् । ‘महिलाले म गर्न सक्छु भनेर पछि नहट्ने मात्रै हो, त्यसबाहेक निर्णायक तहमा भएकाहरू चाहे पुरुष हुन् वा महिला सबैलाई लैंगिक संवेदनशीलतासम्बन्धी तालिम दिन सकियो भने केही हदसम्म महिलालाई निर्णायक नेतृत्वमा पुग्न सघाउ पुग्छ’, उनले भनिन् । राधाका अनुसार अहिले पनि सरकारी निकायमा ५०/५५ जना महिला सह–सचिव छन् तर विभागीय प्रमुखमा हेर्ने हो भने मुश्किलले एक/दुई जना मात्रै होलान् । नेतृत्व लिएका महिलाको आवाजको पनि सुनुवाइ नहुने गरेको उनको अनुभव छ । ‘हरक्षण चुनौती सामना गर्न तयार रहनुपर्छ । मेरो आवाज पनि कयौं पटक सुनिएको छैन तर पनि म बोल्न छाडेकी छैन । मलाई सुनिँदैन, तर म बोलिरहन्छु दबाब दिइरहन्छु यही हो नेतृत्वको अर्को महत्वपूर्ण गुण,’ राधा भन्छिन्, ‘तर यही ठाउँमा पुरुष भएको भए त्यो आवाज सुनुवाइ हुन्थ्यो । मेरो गुण भनेकै निरन्तरता दिइरहनु हो । म रोकिन्न, बगिरहन्छु । किनभने मलाई कतै पुग्नु छ ।’

 

पन्ध्र सय विद्यार्थी र दुई सय कर्मचारी हाँंकिरहेकी ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक प्रिन्सिपल गीता राणाको नेतृत्व क्षमता अद्भुत छ । समयसँगै ‘अप टु डेट’ हुँदै जाने र आफूलाई सदाबहार बनाउन सक्ने प्रशस्त खुबी पनि उनमा छ । वर्षौंपछि पनि उही जुझारुपन, आत्मविश्वास, आँट र क्षमता गीतामा झल्किन्छ । ०४२ सालमा पाँच वटा कोठामा नौ जना विद्यार्थी राखेर सुरु गरिएको उनको स्कुल आज उनकै सोच र शैली अनि पृथक् नेतृत्व क्षमताका कारण नौ हजारभन्दा बढी विद्यार्थी पासआउट गर्न सफल छ । उनी भन्छिन्, ‘कुनै संस्था वा राष्ट्र सफल हुने पहिलो सर्त भनेको कुशल नेतृत्व हो । नेतृत्वका लागि पहिलो आवश्यकता शिक्षा हो, त्यसपछि सीप, क्षमता र आत्मविश्वास । अनि आउँछ राज्यले बनाउने सिस्टमको कुरा ।’

गीताका अनुसार नेतृत्व तहमा बस्नेले समयसँगै आफूलाई परिमार्जन गर्दै जानु जरुरी छ । ‘हाम्रो देशमा महिलालाई ३३ प्रतिशत कोटा मात्रै दिइएको छ, जसले संख्या मात्रै बढाएको छ । अब हामी महिला ६७ प्रतिशतभित्र पनि पस्न सक्नुपर्‍यो’ उनले भनिन्, ‘महिला घरबाहिर निस्किएर काम गर्न थालेको नै मुस्किलले २०/२५ वर्ष भएको छ । समयसँगै विभिन्न क्षेत्रको नेतृत्व तहमा महिलाहरूको संख्या बढ्न थालेको छ ।’ आफूमा भएको विचारयोग्य तत्व, नवीन ढंगले सोच्ने तौरतरिका तथा अन्तरक्रियात्मक स्वभावका कारण लामो समयसम्म नेतृत्व सम्हाल्न सकेको गीताको तर्क छ ।

‘आत्मविश्वासलाई नेतृत्वको मूल गुण मान्ने नमुना कलेज फेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टकी संस्थापक ज्ञानीशोभा तुलाधरलाई यो स्थानसम्म पुग्न कम भनाइ सुन्नु परेको छैन । न्यूरोडको हुनेखाने परिवारकी छोरीले दर्जीको लुगा सिलाउने काम गर्न थाली भनेर उनले छोएको पानी नखानेहरू आज उनको प्रशंसा गरेर थाक्दैनन् । तसर्थ ज्ञानीशोभालाई लाग्छ महिला सफल हुनका लागि धैर्य र सहनशीलता पनि ठूलो कुरा हो । ‘नेतृत्वमा पुग्न महिला आफैंले आफूलाई शंकाको घेराभित्र राख्नु भएन, अरुले के भन्लान् भनेर अरूका बारेमा धेरै सोच्नु भएन, आफू सही भएर स्मार्ट डिसिजन लिइहाल्नुपर्छ अनि भइन्छ लिडर,’ उनी भन्छिन्, ‘लिडरसीप कसैले दिएर हुने कुरा होइन आफैंले लिने कुरा हो, जसलाई आफैंले बनाउनुपर्छ ।’ वि.सं. ०५९ मा फेसन कलेज स्थापना गरेदेखि ज्ञानीशोभाले आफ्नो नेतृत्वलाई कत्ति पनि खुकुलो हुन दिएकी छैनन् । उनको कडा मेहनत, सीप, छिटो–छरितो र चुस्त–दुरुस्त निर्णयका कारण उनको नेतृत्व अझ गठिलो हुँदै गएको छ ।

तीन दर्जनभन्दा बढी मुलुकमा काम गरिरहेको अन्तर्राष्ट्रिय पानी व्यवस्थापन निकायकी नेपाल आवासीय प्रतिनिधि डा. मनोहरा खड्काले महिला निर्णायक नेतृत्व तहमा पुग्न नसक्नुको मुख्य कारण सरकारको विकास नीति, सोचमा परिवर्तन आउन नसक्नु, पर्याप्त गृहकार्य हुन नसक्नु नै भएको बताउँछिन् । उनी भन्छिन्, ‘साथै महिलालाई घर र समुदाय स्तरसम्म मात्रै सीमित राखिनु पनि हो । नर्वेबाट नेचुरल रिसोर्स म्यानेजमेन्टमा स्नातकोत्तर तथा नेदरल्यान्डबाट डेभलपमेन्ट स्टडिजमा विद्यावारिधि गरेकी मनोहराले हरेक स्थानमा पुरुष हावी हुनु र पित्तृसत्तात्मक सोचका कारण पनि नेपालका प्रमुख स्थानमा महिला नेतृत्व तहमा पुग्नबाट वञ्चित भइरहेको बताउँछिन् । ‘यो तहसम्म आइपुग्न र टिकिरहन मेरो कठिन मेहनत, संघर्ष र लगन छ । त्यसमाथि ३० वर्षको लगानी र त्यसभित्रका आरोह–अवरोहको कथा–व्यथा छुट्टै छन्,’ उनी भन्छिन्, ‘महिला भएकै कारण धेरै ठाउँमा ठक्कर खाइयो, पन्छाउन खोजियो तर दृढ भएर लागें, धैर्य गरें । काम गर्ने तौरतरिका समयसँगै परिवर्तन गर्दा आज म यो स्थानमा छु ।’ मनोहराका अनुसार महिलालाई नेतृत्व तहमा पुर्‍याउन लैंगिक संदेनशीलता जरुरी छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषकी कार्यक्रम निर्देशक सरिता ज्ञवाली २६ वर्षदेखि प्रकृति संरक्षणको क्षेत्रमा क्रियाशील छिन् । नर्वेबाट प्राकृतिक स्रोत व्यवस्थापनमा एमएस्सी सिध्याएपछि आफ्नै देशमा केही गर्ने उद्देश्यले उनी नेपाल फर्किएकी हुन् । सरिताले यस क्षेत्रमा नेतृत्व सम्हालेको लामो समय भइसकेको छ । नेतृत्व विशेष गुण तथा फरक क्षमता हो भन्ने सरितालाई पढेर वा लेखेर मात्रै जोकोहीमा यो गुण आउँदैन भन्ने लाग्छ । ‘निर्णायक तथा नेतृत्व गुण आउन धेरै कुराले भूमिका खेलेको हुन्छ । यो सोचको कुरा पनि हो । त्यसपछि शिक्षाले बाटो देखाउँछ’ उनी भन्छिन्, ‘आत्मनिर्भरता यसको अर्को विशेष पाटो हो भने सरकारको नीति र कानुनले यसमा अझ बलियो भूमिका निर्वाह गर्छ ।’

सरिताका अनुसार महिलाले सक्दैनन्, पढाएर के गर्ने, जागिर ख्वाएर के गर्ने भन्ने जस्ता पितृसत्तात्मक सोचबाट अब माथि उठ्नु जरुरी छ । ‘घर, परिवार, समाज, सरकार र नीति निर्मातामा महिलाप्रतिको सोच बदलिनुपर्‍यो’ उनी भन्छिन्, ‘३३ प्रतिशत महिला आरक्षण दिइएकै कारण जसरी स्थानीय तहदेखि नै महिला सहभागिता बढ्यो त्यसै अनुपातमा सोही किसिमका अन्य कानुन र नीति अवलम्बलन गरी महिलालाई क्षमताका आधारमा प्रमुख स्थानमा ल्याउने प्रावधान बनाउनुपर्छ ।’ उनले आफूलाई कहिल्यै कमजोर नठानेरै नेतृत्व हाँक्न सकेको बताइन् । ‘मेरा अभिभावकले पनि ममाथि विश्वास गरे त्यसलाई मैले टुट्न दिइन’ उनले भनिन्, ‘आगामी दिनमा महिला र महिलाको क्षमतामाथि विश्वासको वातावरण बन्नुपर्छ तब महिला निर्णायक तहमा अब्बल ठहरिन्छन् ।’

 Image