Successfully Copied

खानाको स्वाद बढाउन गार्निसिङ

खीर, सेबईजस्ता गुलिया परिकार बनाउँदा गार्निस गर्न बिर्सनुहुँदैन । काजु, बदाम, किसमिसजस्ता ड्राई फ्रुट्सले खीर गार्निस गर्न सकिन्छ ।

खानेकुराको स्वाद बढाउन खानालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा निर्भर रहन्छ । खाना हेर्दा आकर्षक देखियो भने निकै स्वादिलो होला जस्तो लाग्छ । भनिन्छ, खानेकुरा सबैभन्दा पहिला आँखाले खानुपर्छ । खाना हेर्दा आकर्षक छ भने भोक आफै बढ्छ । कुनै बेला खानेकुरा मीठो छ तर हेर्दा खाऊँखाऊँ लाग्दैन भने त्यो खाना स्वादिष्ट हुँदाहुँदै पनि हेर्नेले त्यसलाई प्राथमिकता दिँदैनन् किनभने खानाको रंग, पस्कने शैली र सजावट त्यति सिर्जनात्मक छैन । त्यसैले खानाको सौन्दर्य पनि जरुरी हुन्छ । खाना पकाउन जान्ने भएर मात्र हुँदैन बनाएको खानालाई सजाउने कला पनि हुनु जरुरी हुन्छ । स्वाद बढाउन गार्निस गरिने यसको महत्व धेरै हुन्छ ।

प्रायः अधिकांश रेस्टुराँमा परिकार प्रस्तुत गर्दा विभिन्न प्रकारले सजाइएका हुन्छन् । त्यसलाई गार्निसिङ भनिन्छ । नेपाली खानामा गार्निस खानाको लुक्स बढाउन प्रयोग गरिने क्रिस्टल फुड क्याफेका सेफ राम श्रेष्ठ बताउँछन् ।

कसरी गर्ने गार्निसिङ ?

गार्निसिङ गर्ने समयमा कुन परिकार एवं त्यसको रंगअनुसार कस्तो गार्निस गर्ने कुरा महत्वपूर्ण रहन्छ । सही गार्निसको ज्ञान भए परिकारको बनावट र स्वाद बढाउनुका साथै आकर्षक पनि देखाउँछ । नुनिलो परिकारमा काँचो गार्निसिङ गर्न दालचिनीको धूलो, मरिचको धूलो वा सुक्मेलको धूलोको पनि प्रयोग गर्न सकिन्छ । यस्तो धूलो परिकारको माथिबाट छर्कदा स्वाद बढ्छ । फूलको प्रयोग वासना र सजावटका लागि मात्र हुँदैन । गार्निसिङ र खानामा फ्लेबर दिनका लागि फूल विभिन्न परिकारमा प्रयोग हुने गरेको छ । यसको वासना र यसमा पाइने तत्वले डिप्रेसन हटाउनुका साथै शरीरमा पोषक तत्वको कमी पनि पूरा गर्छ । यसका साथै ड्राई फ्रुट्सले पनि गार्निस गर्न सकिन्छ । त्यसका अतिरिक्त गार्निस गर्दा प्रयोग हुने सामानको आकारमा पनि ध्यान दिनुपर्छ । यस्ता सामग्रीको कटिङ गर्दा धेरै थिचेर तथा चपिङ बोर्डमा त्यसको रस लाग्ने गरी काट्नु हुँदैन । यसरी रस नै निस्कने गरी काट्दा स्वादमा फरक पार्छ ।

दाल र तरकारी

दाल र तरकारीको गार्निसिङ गर्दा केको दाल वा तरकारी हेर्न आवश्यक हुन्छ । जस्तो रहरको दालमा लसुन र प्याजले झानेर माथिबाट हरियो धनियाँको पातले गार्निस गर्दा स्वादिलो हुन्छ । कालो मासको दालमा अदुवा राखेर पकाउने र त्यसमाथिबाट हरियो धनियाँ र फ्रेस क्रिमले सजाउन सकिन्छ । रातो दालमा लसुन र जिराले झानेपछि माथिबाट हरियो धनियाँ छर्कने । मुगको दालमा ल्वाङ, अलैंची र जिराले झानेर माथिबाट हरियो धनियाँले गार्निस गर्दा स्वाद दोब्बर हुन्छ ।

कुनै हरियो ग्रेभी तरकारी पकाएमा त्यसमाथि चीज वा पनीर ग्रेड गरेर राख्न सकिन्छ । दूधको क्रिमले पनि गार्निस गर्न सकिन्छ । पहेंलो वा रातो रंगको तरकारी जस्तो आलु दम, राजमाको ग्रेभी, अन्य ग्रेभी तरकारीमा दही वा फ्रेस क्रिमले गार्निस गर्न सकिन्छ । त्यसका साथै स्प्रिङ अनियन (हरियो प्याज) ले पनि सजाउन सकिन्छ । सेतो रंगको ग्रेभी भए सुकेको खुर्सानी, लसुन, प्याज, जिरा र हिङले सजाउन सकिन्छ ।

चामलको परिकार

नेपालीको भान्सामा भात नभई हुँदैन । चामलबाट पुलाउ, खीर, ढकने, बिरयानी आदि विभिन्न परिकार बनाइन्छ । गाउँघरमा लोकप्रिय परिकार चाम्रे पनि चामलबाटै बनाइन्छ । यी परिकारलाई थप स्वादिष्ट बनाउन गार्निसिङ उत्तम तरिका हो । सादा चामल पकाउँदा फ्राइड काजु र पेस्ताले सजाउँदा खानाको स्वाद बढाउनुका साथै हेर्दा आकर्षक पनि देखिन्छ । त्यस्तै बिरयानीलाई पुदिना तथा धनियाँको पात र केसरले सजाउन सकिन्छ । चामलको परिकारलाई सजाउन लामो आकारमा काटिएको प्याजलाई हल्का फ्राई गरेर छर्कने र त्यसमाथि प्याजको हरियो पातले गार्निस गनुपर्छर् । पहेंलो रंगको चाम्रेको परिकारलाई टमाटर र सुकेको खुर्सानीले सजाउन सकिन्छ । ढकनेलाई ड्राई फ्रुट्सले सजाउँदा आकर्षक देखिन्छ ।

पास्ता र नुडल्स

पास्ता र नुडल्स प्रायः खाजाका रूपमा खाइन्छ । यी परिकारको स्वाद दोब्बर बनाउन गार्निस जरुरी हुन्छ । पास्तालाई कोरेको चीजले सजाएर त्यसमाथि मरिचको धूलो छर्कनुपर्छ । पास्तामा फ्रेस क्रिमले पनि सजाउन सकिन्छ । धनियाँको पात र काटेको प्याजले पनि सजाउन सकिन्छ । नुडल्सको सौन्दर्य बढाउनका लागि त्यसमाथि धनियाँ र हरियो प्याजले गार्निस गर्न सकिन्छ ।

खीर र सेबई

खीर, सेबईजस्ता गुलिया परिकार बनाउँदा गार्निस गर्न बिर्सनुहुँदैन । काजु, बदाम, किसमिसजस्ता ड्राई फ्रुट्सले खीर गार्निस गर्न सकिन्छ । त्यसपछि सुक्मेलको पाउडर छर्ने । त्यसका अतिरिक्त केसरले पनि सजाउन सकिन्छ । सेबईका लागि ड्राई फ्रुट्सलाई पातलो गरी काटेर सजाउन सकिन्छ ।

डेजर्ट

खाना खाइसकेपछि खाइने मिठाईं पनि सजाउन सकिन्छ । यस्ता मिठाईं सजाउँदा भने विशेष सावधानी अपनाउनुपर्छ । कस्टर्डलाई अनारको दाना र फलफूल काटेर सजाउन सकिन्छ । अझ गुलाबको फूलको पत्र निकालेर माथि छर्कदा सुन्दरता बढ्छ । अन्य कुनै पनि मिठाईंमा काटेको ड्राई फ्रुट्सले सजाउन सकिन्छ ।

 Image