Successfully Copied

थरिथरिका मास्क

कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ । नेपाल सरकारले पनि उक्त मापदण्ड लागू गर्दै मास्कको प्रयोग नगर्नेलाई कारबाहीसम्मको निर्देशन जारी गरेको छ । अहिले ‘सर्जिकल मास्क’, ‘एन–९५’ र ‘केएन–९५’ जस्ता ‘मेडिकल मास्क’ लगाउनेको संख्या बाक्लिँदै गएको छ ।

‘नन–मेडिकल’ मास्कको प्रयोगलाई पनि स्वीकृति प्रदान गरिएको छ । तर, यसका लागि कपडाको मास्कमा कम्तीमा तीन लेयर फ्याब्रिक हुनु अनिवार्य छ । सबैभन्दा भित्री तह (लेयर) मा सकेसम्म कटन जस्तो सोस्न सक्ने वस्तु हुनुपर्छ । बीचको तहमा पोलीप्रोपिलिन जस्तो फिल्टरको काम गर्ने वस्तु र सबैभन्दा बाहिरी तह पोलिस्टर जस्तो नसोस्ने हुनुपर्दछ । तर, मास्कमा पनि फेसनको प्रभाव परेको देखिन्छ । त्यसैले त यो अनेकन रङ, प्रिन्ट, डिजाइन तथा शैलीहरूमा उपलब्ध हुन थालेको छ । अझ यसमा डिजाइनर लेबलको पनि विकास भएको पाइन्छ । अन्तर्राष्ट्रिय फेसन ब्रान्ड तथा डिजाइनहरूको यसमा उपस्थिति देखिएको छ । नेपाली परिवेश पनि यसबाट अछुतो रहने कुरै भएन ।

नेपाली ब्रान्डमा मास्कहरू

हाल बजारमा स्वदेशमै उत्पादित विभिन्न नेपाली ब्रान्डका ‘नन–मेडिकल’ मास्कको उपलब्धता बढ्दो छ । झम्सीखेलस्थित ‘कोल्पा’ स्टोरमा ‘एड्जस्टेबल नोज पिस’ तथा इलास्टिकसहितको पुनः प्रयोग गर्न सकिने ‘अर्गानिक फाइबर नेटल’ अर्थात् सिस्नुबाट बनेका मास्क उपलब्ध छ । ‘भेजिटेबल डाइड’ तथा ‘कटन लाइनिङ’ भएका कोल्पा नेपालका यी मास्क नेचुरल, रस्ट ब्राउन तथा मड येलो गरी तीन थरी रङमा उपलब्ध छन् ।

‘कटन मिल नेपाल’ नामक ब्रान्डमा पुनः प्रयोग गर्न मिल्ने, धुन सकिने कपडाका ‘थ्री–लेयर’ मास्कहरू उपलब्ध छन् । ह्यान्ड प्रिन्टेड यी मास्कहरूमा ‘बर्ड प्रिन्ट’, ‘स्ट्राइप’को विविधतासँगै खैरो, हरियो तथा नीलो रङमा बजारमा उपलब्ध छन् । कम्पनीले बालबालिकाका साथै परिवार लक्षित फ्यामिली प्याकसहित बिक्रीवितरण गर्दै आएको छ । ‘एन्टी ब्याक्टेरियल’ गुण रहेको भन्ने प्रमाणित भएको र श्वासप्रश्वासका लागि उपयुक्त रहेको अर्गानिक फ्याब्रिक हेम्पबाट बनेका ह्यान्ड मेड हेम्पका मास्कहरू हेम्प नेपालको ब्रान्डमा उपलब्ध छन् ।

‘ग्रुमिन’ ब्रान्डको मास्क भने फिल्टरसहित ‘थ्री–कटन लेयर’ मा उपलब्ध छ । यो मास्कमा चिउँडोसमेत छोपिने गरी तीन कभर छन् भने आफ्नो सुविधा अनुसार एड्जस्ट गर्न सकिने इयर लुप पनि रहेको छ । यी मास्कका साथमा तीनवटा ‘एक्स्ट्रा फिल्टर’ पनि प्राप्त हुन्छ । महिलाहरू लक्षित यो ब्रान्डको मास्क तीन पिसको एक सेटमा बजारमा उपलब्ध छ ।

‘सबाह नेपाल’ ले भने शतप्रतिशत अल्लो फ्याब्रिकबाट बनेका फेस मास्क बजारमा ल्याएको छ । अल्लोबाहेक उसको ‘थ्री–लेयर नन–मेडिकल’ मास्कमा अल्लो कटन, ढाका र बाम्बुबाट बनेका मास्कहरू रहेका छन् । यसमा फ्याब्रिक अनुसार डिजाइन विविधता रहेका छन् । युवा पुस्ताका चर्चित डिजाइनर युवी थापाले आफूले डिजाइन गरेका पहिरन सुहाउँदो आकर्षक खालको फेसनेबल मास्क डिजाइन गरेका हुन् । उता, लन्डनमा रहेकी नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले पनि कोभिड–१९ महामारी प्रारम्भदेखि नै विभिन्न रङ र डिजाइनका कपडाका डिजाइनर मास्क उत्पादन गर्दै आएकी छन् । यी उत्पादनलाई उनले लन्डनस्थित एनएचएसका स्वास्थ्यकर्मी र नेपालस्थित आमाको घरमा आश्रितहरूलाई उपलब्ध गराउँदै आएकी छन् ।

नेपाली ब्रान्डकै अन्य मास्कहरूमा ‘कोक्रोमा’ र ‘मेट्रो’ मास्क पनि बजारमा पाइन्छन् । विशेषतः म्याटर्निटी प्याकमा आफ्नो उपस्थित जनाउँदै आएको कोक्रोमा पनि कोभिड–१९ यो महामारीमा कपडाबाट बनेका मास्कहरू उत्पादनमा जुटेको पाइन्छ । कोक्रामा ब्रान्डमा बेबी मास्क पनि उपलब्ध छ । साना बालबालिकाको श्वासप्रश्वासमा कठिनाइ नहुने गरी फोर लेयर मस्लिन अर्थात् नरम खालको मलमल कपडाबाट बनाइएको छ । कस्टम डिजाइन अनुसार मास्क उत्पादन गर्दै आएको कोक्रामाले केही समयअघि मात्र लामा भिक्षुहरूको पहिरन सुहाउँदो सोही रङको फिल्टरसहितको ‘थ्री–लेयर’ मास्क उत्पादन गरी वितरण गरेको थियो । यसैगरी चाइल्ड फन्ड नामक संस्थाका लागि थ्री लेयर मास्क उत्पादन गरेको छ भने चन्द्र–सूर्य अंकित नेपाली राष्ट्रिय झन्डा प्रतिबिम्ब रहेका मास्कहरू पनि कोक्रोमाले उत्पादन गरी बजारमा ल्याएको छ ।

‘गोल्डस्टार’ ब्रान्डले ‘मेरो मास्क’ नामअन्तर्गत सीई तथा आईएसओ प्रमाणित ‘एन–९५’ मास्क बजारमा ल्याएको छ । गोल्डस्टारको आधिकारिक शोरुमहरूमा यसको उपलब्धता रहेको छ ।

सन् २०१५ देखि नेपाली बजारमा स्वदेशी ब्रान्डका रूपमा आफ्नो उपस्थिति जनाउँदै आएको ‘मेट्रो’ मास्कहरू योभन्दा अगाडि वायु प्रदूषणबाट स्वास्थ्य सुरक्षाका लागि मास्क विभिन्न विकल्प प्रदान गर्ने ब्रान्डका रूपमा परिचित थियो । कोभिड–१९ को परिस्थितिसँगै यसले आफ्नो उत्पादनलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअन्तर्गत रहेर ‘फाइभ–लेयर एन–९५’ तथा ‘केएन–९५’ जस्ता मेडिकल मास्कको उत्पादनमा केन्द्रित गरेको छ ।

केही फरक मास्क

एलईडी डिस्प्ले मास्क

ल्युमेन कुटरका डिजाइनर चेल्सी क्लुकासले एलईडी डिस्प्लेसहितको हाइटेक फेस मास्क बजारमा ल्याएका छन् । यो मास्कमा पातलो खालको म्याट्रिक्स स्क्रिन जडान गरिएको छ जसमा डिस्प्ले हुने चित्र, अक्षर र भ्वाइस इनपुटलाई एपको माध्यमबाट प्रयोगकर्ताले नियन्त्रण गर्न सक्छन् । धुन मिल्ने खालको यो मास्कमा जडान गरिएको एलईडी स्क्रिन झिक्न र राख्न सकिने गरी तयार गरिएको छ । एलडी स्क्रिनका लागि ब्याट्री र चार्जिङ कर्ड पनि मास्कमै जडान गरिएको छ ।

महँगो मास्क

इजरायलको एउटा गहना कम्पनीले हीरा र सुन जडित कोरोना भाइरस मास्क बनाउने भएको छ । जसको मूल्य १५ लाख अमेरिकी डलर (झन्डै २० करोड नेपाली रुपैयाँ) पर्नेछ । यो मास्कमा १८ क्यारेटको ह्वाइट गोल्डसँगै ३६ सय वटा सेतो र कालो हीरा प्रयोग हुनेछन् । एन–९९ फिल्टरसहितको हुने यो मास्कको डिजाइन भने आइज्याक लेभीले गरेका हुन् । यो मास्क वर्षको अन्तसम्म तयार हुने र विश्वकै सबैभन्दा महँगो मास्कको कीर्तिमान राख्ने दाबी गरिएको छ ।

डिजाइनर माइकल एनजीओले विभिन्न शीर्षकमा मास्कहरू डिजाइन गरेका छन् तर उनको रिभाइभल एडिसनका मास्क भने लग्जिरियस मास्कका रूपमा दरिएका छन् र सेलिब्रेटीहरू लक्षित रहेको छ । दुई सय पचासदेखि पाँच सय डलरसम्म मूल्य पर्ने यी विशेष मास्कहरू स्वारोस्की क्रिस्टल जडान गरिएका मास्कहरू हुन् ।

 Image