Successfully Copied

मेकअपबिनै चिटिक्क

कोभिड–१९ का कारण सबैजना घरमा कैद भए । लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । यस्तो अवस्थामा न ब्युटिपार्लर धाउने समय मिल्यो, न त सौन्दर्य प्रसाधन सहजै उपलब्ध भए ।

कोभिड–१९ का कारण सबैजना घरमा कैद भए । लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । यस्तो अवस्थामा न ब्युटिपार्लर धाउने समय मिल्यो, न त सौन्दर्य प्रसाधन सहजै उपलब्ध भए । तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै भयो । धेरै महिलाले आफ्नै घर वा भान्सामा भएका घरेलु उत्पादनलाई सौन्दर्य प्रसाधनका रूपमा प्रयोग गरे । बेसार, दही, कागती, गोलभेंडादेखि घिउकुमारी एवं काँक्रो आदिको प्रयोग गरी आफ्नो सौन्दर्य निखार्ने अभ्यास गरे ।

त्यसो त कतिपय महिलाले मेकअपको खास आवश्यकता पनि महसुस गरेनन् । एक त घरभित्रै बस्नुपर्ने । अर्को चाहिँ घरबाहिर निस्कनुपर्दा मास्क लगाउनुपर्ने । यस्तो अवस्थामा मेकअप किन गर्ने ?

यसबाहेक अर्को नयाँ ट्रेन्ड पनि सुरु भयो, विथआउट मेकअप अर्थात् कुनै लिपपोत नगरी आफ्नो सक्कली अनुहार देखाउने होड । यो होड विशेषतः सेलिब्रेटीहरूले सुरु गरे । उनीहरूले मेकअप नगरेको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक गरे । त्यसपछि अन्य सर्वसाधारणले पनि उनीहरूको अनुशरण गर्दै मेकअपबिनाको तस्बिर पोस्ट गर्ने लहड चल्यो ।

यसको राम्रो पक्ष के देखियो भने बाहिरी लिपपोत वा बजारको सौन्दर्य प्रसाधन, ब्युटी ट्रिटमेन्टबाट आफ्नो सौन्दर्य निखार्ने होइन । बरु आफूलाई प्राकृतिक रूपमै सुन्दर एवं आकर्षक देखाउनुपर्ने । यसका लागि पहिलो सर्त त शारीरिक स्वास्थ्य भयो । फिटनेस, खानपान र घरेलु प्रसाधनको प्रयोग गरेर प्राकृतिक रूपमै आफूलाई सुन्दर देखाउने अभ्यास सुरु भयो ।

विश्वका कतिपय सेलिब्रेटीले यही फर्मुला साझेदार गर्दै मेकअप नगरेको अनुहार सामाजिक सञ्जालमा राखे । अमेरिकी अभिनेतृ एवं पूर्व मोडल हेल बेरी, अमेरिकी अभिनेतृ एम्बर हर्डका साथै अमेरिकन टेलिभिजन प्रस्तोताहरूले समेत नो मेकअप ट्रेन्ड पछ्याए । उनीहरूले बिनामेकअप नै समाचार वाचन गरे र मेकअपको वर्षौं पुरानो प्रचलन तोडिदिए । उता बलिउड अभिनेतृहरू मलाइका अरोरा, करिना कपूर खान, दीपिका पादुकोण, आलिया भट्टले पनि बिनामेकअपको तस्बिर आफ्ना सामाजिक सञ्जालमा सेयर गरे । नेपाली अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत पनि बिनामेकअप देखिए । यसरी मेकअपबिना पनि सुन्दर देखिन्छ भन्ने नयाँ अवधारणाको जन्म भयो ।

महिलाले अतिरिक्त सुन्दरताका लागि वा आफ्नो सुन्दरता कायम राख्नका लागि मेकअप गर्ने प्रचलन सदियौं पुरानो हो । पौराणिक कथाका महिला पात्रहरूले समेत मेकअप गर्ने गरेको कथा सुन्न, पढ्न पाइन्छ । चन्दन, गुलाब, दूध, मह आदिलाई सौन्दर्य प्रसाधनका रूपमा प्रयोग गरेको पाइन्छ । त्यसैले मेकअपको सिलसिला नयाँ होइन । अहिले भने बजारमा सौन्दर्यका अनेकौं प्रसाधन उपलब्ध छन् । थरीथरीका कम्पनीले अनुहारलाई गोरो बनाउनेदेखि कपाललाई मुलायम बनाउनेसम्म, ओंठलाई गुलाबी बनाउनेदेखि हात–खुट्टालाई सुकुमार बनाउनेसम्मका सौन्दर्य प्रसाधन उत्पादन गरिरहेका छन् । त्यसैगरी ब्युटी सलुनको स्वरूप अरु उन्नत र परिस्कृत हुँदै आएको छ । तर महिलाका लागि सुन्दर देखिन मेकअप गर्नैपर्छ ? मेकअप नगरी महिलाले आफ्नो सौन्दर्य कायम राख्न सक्दैनन् ? यसपटक नयाँ बहसको थालनी भएको छ ।

खासगरी महिलाले आफूलाई प्राकृतिक रूपमै सुन्दर बनाउनुपर्ने र यसका लागि उनीहरूले जीवनशैलीमा ध्यान दिनुपर्ने तर्क उठ्न थालेको छ । यस्तो सुन्दरता असली र दिगो हुने भनाइ अरु जोडदार छ ।    

 Image