Successfully Copied

योग किन आवश्यक छ ?

अस्वस्थ जीवनशैली र खानपानका कारण कम उमेरमै मधुमेह, मोटोपना जस्ता समस्या देखिन सक्छ । स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको योग प्रशिक्षक निलिमा काफ्ले बताउँछिन् ।

आज अन्तर्राष्ट्रिय योग दिवस । विभिन्न कार्यक्रम गरेर संसारभर यो दिवस मनाइन्छ । अहिले धेरैको दैनिकी व्यस्त छ । जसकारण मानिसमा मानसिक तथा शारीरिक समस्या हुन सक्छ । अस्वस्थ जीवनशैली र खानपानका कारण कम उमेरमै मधुमेह, मोटोपना जस्ता समस्या देखिन सक्छ ।  स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको योग प्रशिक्षक निलिमा काफ्ले बताउँछिन् । स्वस्थ भएमा मात्र जीवन सक्षम हुने धारणा निलिमाको छ ।

बुटवलकी गौरी कार्की १० वर्षदेखि नियमित रुपमा योग गर्दै आएकी छिन् । योग उनको जीवनको अभिन्न अंग जस्तै भइसक्यो । नियमित रुपमा योग नगरेमा दिनभर के छुटेको जस्तो महसुस उनलाई हुन्छ । योगले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको अनुभव उनको छ ।

योग भनेको जोड हो । त्यसैले यसलाई योगासन भनिन्छ । निलिमाका अनुसार एउटा आसनमा आनन्दले बसेर अभ्यास गर्नु नै योगाभ्यास हो । योगाभ्यास तीन चरणका हुन्छन्–

पहिलो, योगका विभिन्न आसनको अभ्यास गरिन्छ । दोस्रोमा प्राणायाम पर्छ । यसमा एउटा नाकले श्वास लिने र केही समयपछि अर्को नाकले फाल्ने गरिन्छ । तेस्रोमा मेडिटेसन (ध्यान) पर्छ । १५ मिनेट चुपचाप रही पलेँटी कसेर चोर र बूढी औंला जोडेर ध्यान मुद्रामा आनन्दले बस्ने गरिन्छ । यसले मन शान्त हुन्छ ।

आजकल कतिपयले योगको दुई–चारवटा आसन झिकेर व्यायाममा प्रयोग गरेका छन् । निलिमाका अनुसार योग बिस्तारै गरिन्छ भने व्यायाम फटाफट गरिन्छ । त्यसैले व्यायाम गर्दा पसिना आउँछ भने योग गर्दा पसिना आउँदैन ।

योगका फाइदा

– जीवन सन्तुलन बनाइराख्नका लागि योगको मुख्य भूमिका हुन्छ । योगका कारण नै सकारात्मक उर्जा प्राप्त भई उर्जाशील र सही तरिकाले काम गर्ने तागत मिल्छ ।

– शरीर लचकदार हुन्छ ।

– स्वास लिने र फाल्ने योगाभ्यासले इन्रडफिन हर्मोन निकालेर मन शान्त बनाउँछ ।

– ध्यानले मन शान्त र शरीर रिल्याक्स पार्छ । यसले गर्दा मानसिक स्वास्थ्य राम्रो रहन्छ ।  

– झडङ्ग रिसाउने मानिस पनि संयमित भई रिसाउने बानी कम हुन्छ ।

– स्लिपिङ क्वालिटी (निद्राको गुणस्तर) राम्रो बनाउँछ । मन आनन्दित भएपछि मस्त निद्रा लाग्छ ।

– शरीररको बनावट राम्रो बनाउँछ ।

– नियमित रुपमा योग गर्दा शरीरको तौल नियन्त्रणमा रहन्छ ।

– रोगप्रतिरोधक क्षमता र स्मरणशक्ति बढाउँछ ।

– ढाड दुख्ने समस्या पनि कम हुन्छ ।

– बिहान सबेरै उठेर योग गर्नु उपयुक्त हुन्छ । नियमित रुपमा ३० मिनेट गर्नुपर्छ । ८ वर्षदेखि माथि जुनसुकै उमेरकाले पनि योग गर्न सकिन्छ ।

– उमेर र रोग अनुसार गरिने योग फरक हुने भएकाले सुरुमा योग गर्दा प्रशिक्षकबाट सिकेर गर्नु प्रभावकारी हुन्छ ।

प्रस्तुतीः उपासना घिमिरे

 Image