Successfully Copied

दूधे दाँतको हेरचाह

कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् ।

कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् । जस्तो कि दूधे दाँत त हो, झरिहाल्छ नि । त्यस्तै, धेरै अभिभावक स–साना बालबालिकाहरूको दाँत कीराले खाँदा पनि वास्ता गर्दैनन् । 

सामान्यतया बच्चाहरूका दूधे दाँत छदेखि १२ वर्षको उमेरमा झर्छन् । सकेसम्म १२/१३ वर्षअगाडि कुनै बंगाराका दाँतहरू कीराले खाएमा निकाल्नु हुँदैन । बंगाराका दूधे दाँतहरू उमेर नहुँदै कुनै कारणवश समस्या भएर निकाल्नुपर्ने अवस्थामा त्यसलाई जोगाएर राख्न स्पेस मेन्टेनर बनाएर राख्नुपर्छ । नत्र भने बच्चाका स्थायी बंगाराहरू छ वर्षमै उम्रने हुँदा ती दूधे दाँतहरू निकालेको ठाउँ खाली छ भने दाँत (स्थायी) सिफ्ट हुने हुन्छ । पछि उम्रने नयाँ स्थायी दाँत उम्रने ठाउँमा नपुग्ने गर्छ र भविष्यमा अन्य समस्या उत्पन्न हुन सक्छ । 

दूधे दाँतको पनि स्थायी दाँतसरह नै हेरचाह गर्नु अति आवश्यक हुन्छ । भविष्यमा समस्या आउन नदिन बालबालिका दुई वर्ष छँदैदेखि नै दन्त चिकित्सककहाँ कम्तीमा छ महिनाको अन्तरालमा जँचाउन लैजानु वेश हुन्छ । समयमै उपचार गरेमा कम खर्चिलो र बालबालिकालाई सहज हुन्छ । नत्र भने धेरैजसोको दाँत दुख्ने समस्या लिएर मात्र आउने हुँदा जरादेखि भर्नुपर्ने हुन्छ । जरादेखि भर्दा लाटो हुने सुई दिएर गर्नुपर्ने हुँदा बालबालिकालाई पीडा र डर हुन सक्छ । दुई–तीन पटक गरी गर्नुपर्ने हुँदा बालबालिकाहरू झन्झट मान्न सक्छन् । यी सबै समस्याबाट मुक्त हुन बालबालिकालाई दुई वर्षको उमेरदेखि दुई–तीन मिनेटसम्म फ्लोराइडयुक्त दन्त मञ्जनले दिनमा दुईपटक अनिवार्य ब्रस गराउने बानी बसाल्नुपर्छ । त्यसका साथै जुन खानेकुरा खाए पनि पछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ । सानो बेलादेखि राम्रो बानी बस्यो भने पछिसम्म आफ्नो दाँतको हेरचाह आफैं गर्ने बानी बस्छ । 

बालबालिकाको दाँत स्वस्थ बनाउन खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । खानेकुरामा सकेसम्म क्याल्सियमको मात्रा धेरै भएको दूध, दही, पनीर, चीज आदि समावेश गर्दा वेश हुन्छ । जंक फुड सकेसम्म नखुवाउने र फाइबरयुक्त खाना बढी खुवाउँदा दाँत बलिया र स्वस्थ हुन्छन् । साथै भिटामिन ‘सी’ युक्त खाना खाँदा गिजा बलिया हुने हुँदा फलफूलहरू पनि प्रशस्त मात्रामा खुवाउँदा वेश हुन्छ । गुलियो पदार्थले दाँत छिटो कीराले खाने र चिसो पेय पदार्थले दाँतको इनामेल खियाउने हुँदा सकेसम्म बालबालिकाहरूलाई त्यो धेरै नखुवाउँदा राम्रो हुन्छ ।

दूधे दाँत कीराले खाएको छ भने पछि उम्रने दाँत पनि कमजोर भएर उम्रन्छन् र छिटो कीराले खान सक्छ । त्यसैले आफ्ना बालबालिकालाई राति दाँत माझ्ने बानी बसाल्नुपर्छ । 

(डा. शाक्य पाटनढोकास्थित लुमन्ती डेन्टल क्लिनिककी संचालिका हुन् ।)

 Image