Successfully Copied

निःसन्तानको सामाजिक पाटो

करिब एक वर्षसम्म कुनै पनि अस्थायी साधन प्रयोग नगर्दा पनि दम्पतीमा सन्तान हुँदैन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनिन्छ ।

डा. उषा कार्की, प्रजनन विशेषज्ञ, नेसनल आइभीएफ, जमल


करिब एक वर्षसम्म कुनै पनि अस्थायी साधन प्रयोग नगर्दा पनि दम्पतीमा सन्तान हुँदैन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनिन्छ । यो समस्या धेरै दम्पतीमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले २०२३ को तथ्यांकमा १७ दशमलव ५ प्रतिशत निःसन्तान समस्या देखिएको छ । यो भनेको ६ जनामध्ये १ जना दम्पतीमा यो समस्या हुनु हो । निःसन्तान हुने एक समस्या त छँदैछ तर यसको अर्को पाटो मानसिक सामाजिक तनाव पनि थपिएको छ । जुन बाहिर आउन सकेको छैन ।

दम्पतीमा असर
सन्तान नभएका दम्पतीलाई परिवार तथा समाजले सहज रूपमा लिँदैन । परिवारमा पनि निःसन्तानपनलाई सहज रूपमा स्वीकार गर्न सकेको छैन । निःसन्तान दम्पतीलाई मेरो बच्चा भयो भने समाजले मलाई स्वीकार गर्छ भन्ने मानसिकता रहेको हुन्छ । बच्चा भइसकेपछि अरु दम्पतीजस्तै मान्यता दिन्छन् भन्ने धारणा उनीहरूको हुन्छ । बच्चा नहुँदा उनीहरू समाजमा खुलेर कुरा गर्ने सामाजिक परिवेशमा रमाउन सकिरहेका हुँदैनन् । यसले गर्दा आत्मविश्वास कमजोर हुनसक्छ । उनीहरूमा मानसिक समस्या थपिँदै जाँदा एन्जाइटी डिप्रेसनसमेत हुन सक्छ । बच्चा नभएका कारण कतिपय दम्पतीको सम्बन्ध विच्छेद पनि हुन्छ । यस्तो तनावले उनीहरूमा फर्टिलाइजेसनमा समस्या देखा परेको छ । तनावले शरीरमा हर्मोन गढबढी हुन्छ । जसमा हर्मोनको कमी तथा बढीले फर्टिएलाइजेसनमा समस्या उत्पन्न गराउँछ । शारीरिक सम्बन्धमा समेत समस्या हुन्छ ।


महिलाको मात्र समस्या होइन
निःसन्तान हुनुमा परिवार वा समाजमा महिलालाई नै दोष दिने चलन छ । मानसिक र सामाजिक रूपमा पनि महिलामा नै बढी समस्या देखिएको छ । तर निःसन्तानमा महिलाको मात्र दोष हुँदैन । धेरै अनुसन्धानका अनुसार ५० प्रतिशत पुरुषको पनि दोष देखिएको छ । तर पुरुष चेक जाँच गर्न हिचकिचाउने गर्छन् । निःसन्तान हुनुमा महिला र पुरुषमध्ये एकमा समस्या हुनसक्छ । उपचार भने दुवैको गर्नुपर्छ । सन्तान भएमा महिला नै बढी खुुसी र नहुँदा उनीहरू नै दुःखी हुने अवस्था छ ।

परिवारको सहयोग आवश्यक
निःसन्तान हुने हरेक दम्पतीको अवस्था फरक हुने भएकाले उनीहरूको अवस्थानुसार पारिवारिक सहयोगको आवश्यकता पर्छ । २१ वर्षदेखि ५५ वर्षसम्म उमेरकाले आइभीएफ गर्ने गरेका छन् । परिवार र दम्पतीबीच मानसिक तथा शारीरिक रूपमा तयार बनाएर मात्र आइभीएफ गर्नु आवश्यक हुन्छ । निःसन्तान दम्पतीलाई आवश्यक पर्ने मुख्य कुरा पारिवारिक सपोर्ट नै हो । यसले उपचारमा सहज हुन्छ । निःसन्तान दम्पतीले आइभीएफ गराउनुअघि पूर्णरूपमा आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका लागि सम्पूर्ण जानकारी लिएर मात्र उपचार गराउनु वेश हुन्छ ।

 Image