Successfully Copied

महिनावारीः स्वभाविक प्राकृतिक प्रक्रिया

मर्यादित महिनावारीमा अनुसन्धान गर्ने पहिलो अभियन्ता राधा पौडेल महिनावारी सम्बन्धी सबै विभेदलाई छाउपडीको संज्ञा दिन्छिन् ।

आज मे २८ अर्थात् महिनावारी स्वच्छता दिवस । महिनावारीलाई अहिले पनि समाजमा फोहोर रगत मान्ने चलन छ । भान्छा तथा पूजाकोठामा जान हुँदैन भन्ने मान्यता छ । मर्यादित महिनावारीमा अनुसन्धान गर्ने पहिलो अभियन्ता राधा पौडेल महिनावारी सम्बन्धी सबै विभेदलाई छाउपडीको संज्ञा दिन्छिन् । सरकारी स्तरमा मर्यादित महिनावारी सम्बन्धी नीति ल्याइने कुरा भइरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गत मंगलबार मर्यादित महिनावारीसम्बन्धी विद्युतीय गोष्ठीमा बताए । 

महिनावारीमा के– के समस्या देखिन्छन् ? 

डा. तुमला शाह, बाझोपन विशेषज्ञ

सुखी परिवार क्लिनिक, कालिमाटी 

महिनावारीका बेला शरीरबाट फोहोर रगत निस्केपछि सफा हुन्छ भन्ने धारणा कतिपयको छ । यसलाई अर्को तरिकाले हेर्नु आवश्यक छ । महिनावारी भएका महिलालाई छुन हुँदैन, बिटुलो हुन्छ भन्ने धारणा अहिले पनि समाजमा व्याप्त छ । छाउपडीमा राख्नुपर्छ, छोएको खानुहुँदैन भन्ने मान्यता पनि कायमै छ । महिलालाई गोठतिर पनि राखेको पाइन्छ । यस्तो बेलामा सर्पले डसेर धेरै महिलाको मृत्युसमेत भएको छ । 

यी कुरालाई परिवर्तन गर्नुपर्छ । गोठमा सुत्दा सरसफाइ हुन पाउँदैन । महिनावारीका बेला सफाइ गर्नु जरुरी छ । आरामदायी ठाउँमा बस्नु पर्छ । फोहोर, चिसो ठाउँमा बस्न दिनुहुँदैन । यससम्बन्धी गलत धारणालाई परिवर्तन गर्नु आवश्यक छ । महिनावारी अछुत होइन, यो शरीरमा आउने परिवर्तन हो भनेर बुझ्नु जरुरी छ । 

महिनामा एकपटक महिलाको योनिबाट आउने फोहोर रगत होइन । महिलामा तनाव धेरै भएमा हर्मोनको लेबल तलमाथि हुन्छ । थाइरोइडले गर्दा, उमेरका कारण पनि महिनावारी गढबढ हुन्छ । धेरै किशोरीमा पनि महिनावारी गढबढ (२,३ महिनामा) हुन्छ । २० वर्ष पूरा नभइ महिलाको पूर्णरुपमा प्रजनन अंग विकास भएको हुँदैन र हर्मोन पनि ब्यालेन्स भएको हुँदैन । यसले गर्दा पनि महिनावारी नियमित हुँदैन यस्तोमा आत्तिनुपर्दैन । नजिकका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सकिन्छ । 

मेनापज (महिनावारी रोकिने समय) मा पनि महिनावारी गढबढ हुन्छ । यो शारीरिक परिवर्तन हो ।  हर्मोनल परिवर्तनले महिनावारी गढबढ हुन्छ । ढाड दुख्ने तथा पेट दुख्छ यसलाई डिस्मेनोरिया भनिन्छ । उपचार गराएमा यो निको हुन्छ । 

महिनावारीमा सरसफाइ कसरी गर्ने ? 

डा. विभूति शाही 

प्रसूति तथा स्त्री रोग विशेषज्ञ, पाटन अस्पताल 

महिनावारीमा व्यक्तिगत सरसफाइ गर्नु जरुरी छ । व्यक्तिगत सरसफाइमा महिनावारीका बेला लगाएको सेनिटरी तथा कटनको प्याड ४ घन्टाको अन्तरमा फेरिरहनु पर्छ । महिनावारीको बेलामा सफाइमा विशेष ध्यान दिनुपर्छ । दिनमा दुईपटक मनतातो पानीले नुहाउनुपर्छ । प्राइभेट पार्टलाई जहिले पनि सुख्खा राख्नुपर्छ । यसो गरेमा स्किनमा ¥यासेज आउन पाउँदैन । 

महिनावारीको बेलामा सफा गर्ने तरिका पनि थाहा पाउनु पर्छ । यसका लागि योनिबाट दिसा गर्ने भागतिर धुनुपर्छ । दिसा गर्ने भागबाट योनितिर धोएमा अन्य इन्फेक्सन हुनसक्छ । जस्तो, पिसाबको तथा पाठेघरको मुखको इन्फेक्सन ।सेतो पानी बग्ने, चिलाउने समस्या पछिसम्म हुन सक्छ । 

महिनावारीमा ग्रामीण भेगमा धेरैले कटन (कपडा)को प्याड प्रयोग गर्छन् । यसलाई राम्रोसँग धोएर घाममा दुई घन्टा सुकाउनुपर्छ । महिनावारीको बेला गह्रौं काम गर्नुहुँदैन । गह्रौं भारी बोक्ने, गह्रौं व्यायाम (हेभी एक्सरसाइज) गर्नुहँुदैन । यो समयमा यौन सम्पर्क पनि राख्नुहँुदैन । स्वस्थ खानेकुरा खानुपर्छ । प्रशस्त मात्रामा फलफूल र हरिया सागपात पनि खानुपर्छ । यसैगरी महिनावारीको समयमा प्रशस्त मात्रामा मन तातो पानी पिएमा पिएमा फाइदा पुग्छ । सबैले महिनावारीलाई छुवाछुत र छिछी दुरदुर नगरी यसलाई प्राकृतिक रुपमा लिनुपर्छ ।  

 Image