५ मुलुक, जहाँ छन् महिला र बालबालिका बढी जोखिममा

लक्ष्मी भण्डारी

वैशाख १६, २०७७ यस वर्ष खाद्यान्न अभाव हुनेको संख्या झन्डै दोब्बर हुने भएकाले विश्वले सम्भावित ‘भोकमरी महामारी’ को सामना गर्नु पर्नेछ । विश्वभरि कोरोना भाइरसका कारण हुने मृत्युको संख्या बढ्दै जाँदा विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले यस्तो चेतावनी दिएको हो । 

२०१९ को अन्त्यसम्म १३ करोड ५० लाख मानिस भोकसँग लडिरहेका थिए । विश्वव्यापी रूपमा धेरै देशहरूले क्वारेन्टाइन लागू गर्ने क्रममा यो संख्या २ करोड ५० लाख पुग्ने सम्भावना रहेको डब्ल्यूएफपीले जनाएको छ । 

डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बेस्लेले भनेका छन्, ‘कोरोनाभाइरस मुद्दामा परिणत हुनुअघि मैले भनेको थिएँ–   कोरोनाका कारण दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्नेछ । संगठनले सन् २०१९ मा ८ दशमलव ३ बिलियन प्राप्त गरेको थियो भने अब सन् २०२० का लागि यसका कामहरू निरन्तरता दिन १० दशमलव १२ बिलियनको आवश्यकता रहनेछ ।’ 

यमन

यमनमा युद्ध सुरु हुनुभन्दा अघि अरब विश्वको सबैभन्दा गरिब देश थियो । तर २०१९ मा साउदीको नेतृत्वमा गठबन्धनले यमनका होथी विद्रोहीहरूका विरूद्धको विवादमा हस्तक्षेप गरेदेखि मुलुकको मानवीय अवस्था अझै बिग्रँदै गएको छ । यमनको मानवीय संकटको विन्दुको नजिक पुगेको छ । ‘द्वन्द्व लामो हुनेबित्तिकै धेरै मानिस असुरक्षित हुन्छन्’, डब्ल्यूएफपीका प्रमुख अर्थशास्त्री अनुसन्धान तथा आँकलन र अनुगमन विभागका निर्देशक आरिफ हुसेनले बिबिसीलाई बताएका छन्, ‘२०१९ मा यमनमा हामीले साढे तीन लाख मानिसलाई सहयोग गरिरहेका थियौं । आज यो संख्या बढेर १२ करोड पुगेको छ ।’ 

समस्या न्युनिकरणका लागि डब्ल्यूएफपीले यो महिनाको शुरूमा होती नियन्त्रण क्षेत्रलाई सहयोग पुर्‍याउने बताएको छ । विद्रोहीहरूले सहायता वितरणमा अवरोध खडा गरिरहेका केही देशहरूले यस्तो चिन्ता व्यक्त गरेका पनि हुसेनले बताएका छन् । यमनले अप्रिल महिनाको सुरूमा कोरोना भाइरसको पहिलो पुष्टि भएको रिपोर्ट दिएको थियो  । सहायता एजेन्सीहरूले यस रोगले देशको कमजोर स्वास्थ्य प्रणालीलाई चाँडै नै नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन् , जसको प्रत्यक्ष असर यहाँका महिला र बालबालिकामा परिरहेको बताइएको छ । 

डेमोक्रेटिक रिपब्लिक अफ कंगो

डब्ल्यूएफपीका अनुसार सशस्त्र द्वन्द्वको एक चौथाइभन्दा बढी समयपछि कंगो विश्वको दोस्रो सबैभन्दा ठूलो भोकमरी संकट भएको मुलुक बन्यो । यो देशको १५ प्रतिशतभन्दा बढी जनसंख्या गम्भीर खाद्यान्न असुरक्षामा वर्गीकृत छन् । जसको अर्थ हो, उनीहरू युद्ध क्षेत्रका ३० मिलियन मानिसमा पर्छन्, जो लगभग पूर्णतया सहायतामा निर्भर छन् ।

आगामी तीन महिनामा यो जनसंख्याको लागि खाना पूर्ति सुरक्षित गर्न करिव २ बिलियन डलर आवश्यक छ । यसै त ती व्यक्ति सबैभन्दा बढी प्रभावित व्यक्ति थिए  । अब त अझ बढी समस्यामा छन् । कंगोमा हाल ५० लाख आन्तरिक रूपमा विस्थापित र छिमेकी देशहरूबाट १० लाख शरणार्थीहरू रहेका छन् । 

युद्ध क्षेत्रमा बसोबास गर्ने जोखिमपूर्ण स्थितिका अतिरिक्त विस्थापित मानिसहरू कोरोना भाइरस प्रकोपको बेलामा अझ बढी जोखिममा हुन्छन् । तिनीहरूसँग प्राय: रोगको फैलावट रोक्न सहयोग पुर्‍याउने आधारभूत सरसफाइ सुविधाको अभाव हुन्छ । 

भेनेजुएला

भेनेजुएलाको भोक र द्वन्द्व वातावरणिय कारणले नभइ आर्थिक कठिनाइका कारण भएको हो । भेनेजुएलामा विश्वको सबैभन्दा ठूलो तेल भण्डार भए पनि गत वर्ष जनवरीमा देशको ‘हाइपरइन्फ्लेसन’ हेर्दा एक तिहाइ जनतालाई सहयोगको खाँचो रहेको देखिएको छ । डब्ल्यूएफपीका अनुसार स्वास्थ्यकर्मीहरूको ठूलो संख्या पलायन हुँदा त्यहाँ अझ कठिनाइ बढेको छ । 

करिब ५० लाख मानिसले भेनेजुएला छोडेका छन् । हजारौं आप्रवासी छिमेकी देशहरूमा खाद्यान्न असुरक्षाको सामना गरिरहेका छन्, त्यसमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ । 

दक्षिण सुडान

विश्वको कान्छो देशले यसको उत्तरी छिमेकी सुडानबाट सन् २०११ मा मात्र स्वतन्त्रता प्राप्त गरेको थियो । यो कदम भनेको लामो समयदेखि चलिरहेको गृहयुद्धको अन्त्य हुने संकेत थियो । तर यो देश दुई वर्षपछि नै हिंसात्मक द्वन्द्वमा उत्रियो । 

२०११ पछि दक्षिण सुडानमा भोक र कुपोषण सबैभन्दा चरम तहमा छ, करिव ६० प्रतिशत जनसंख्या हरेक दिन खाना खोज्न संघर्ष गरिरहेको छ । पूर्वी अफ्रिकाभरि बालीनालीहरू नष्ट गरेर अवस्थालाई अझ नराम्रो बनाउँदै विद्रोही टोलीका झुण्डहरू यसै वर्षको सुरुमा दक्षिण सुडान आइपुगेका छन् । यदि कोभिड–१९ अहिले ठूलो महामारी नभएको भए यो विश्वको अत्यासलाग्दो अर्को घटना हुने थियो । कोरोना भाइरस संक्रमण र द्वन्द्वका कारण विश्वमा सबैभन्दा बढी तेलमा निर्भर यो देशमा तेलको मूल्य नराम्रो गरी ओरालो लाग्ने सम्भावना छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार यहाँ अहिले कोरोना भाइरसका चारवटा घटनाहरू रेकर्ड भएका छन्, त्यो भन्दा बढी भोकको महामारीले हजारौं महिला र बालबालिकाको मृत्यु भइसकेको छ । यो क्रम उकालो लागिरहेको छ । 

अफगानिस्तान

सन् २००१ मा अमेरिकाले आक्रमण गर्दा अफगानिस्तानले झन्डै दुई दशकको युद्धको सामना गर्नु परेको थियो । युद्धको १९ बर्षपछि पनि यहाँका आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेका छन् । ११ मिलियन भन्दा बढी मानिसहरूलाई डब्ल्यूएफपीले गम्भीर खाद्यान्न असुरक्षामा रहेकाको रूपमा वर्गीकृत गरेको छ । अफगान सरकारको तथ्यांक अनुसार कोरोना भाइरसका हजारभन्दा बढी घटनाहरू पुष्टि भएका छन् । संख्या कम देखिए पनि परीक्षण गर्न सीमित पहुँच छ साथै स्वास्थ्य प्रणाली दशकौंअघिको द्वन्द्वको रापमा अझै रन्किरहेको छ । मार्चमा १ लाख ५० हजार भन्दा बढी अफगानीहरू इरानबाट फर्केपछि यो भाइरस अझै फैलिन सक्ने त्रास छ । 

र, यो पनि

नयाँ १ सय ३० मिलियन

युद्ध, वातावरणीय मुद्दा वा आर्थिक संकटबाट प्रभावित क्षेत्रबाहेक धेरै कम र मध्यम आय भएका देशहरू आउने महिनामा कोरोना भाइरस फैलावटको कारण रोजगारी गुमाउने र अन्य आर्थिक कठिनाइबाट प्रभावित हुने सम्भावना छ । विश्वभरका देशहरूमा समान आर्थिक दवाबले समस्यालाई अझ विकराल बनाउने छ । अबको केही समयमा १ सय ३० मिलियन मानिस अझ गरिबी र भोकमरीमा जानेछन्, यसमा ठूलो संख्या महिला र बालबालिकाकै हुनेछ । 

सबैभन्दा महत्वपूर्ण कुरा भनेको सस्तो उपचार हो, जुन विश्वभर सबैका लागि उपलब्ध हुनुपर्दछ ।  विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘तर जबसम्म हामी त्यस विन्दुमा पुग्दैनौं, तबसम्म हामीले जीवन बचाउन र जीविकोपार्जनको लागि मात्रै आफ्नो शक्तिले सब थोक गरिरहेका छौं भन्ने कुरा निश्चित हुन्छ । अब हामी फरक तरिकाले सोच्न र व्यवहारिक तवरले काम गर्न अगाडि बढ्नैपर्ने हुन्छ ।’ 

स्रोत : बिबिसी न्युज

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>