आमाको मुख हेर्ने दिनको महत्व

उपासना घिमिरे

वैशाख ११, २०७७ आज आमाको मुख हेर्ने दिन । कमलपोखरीकी उमा पाण्डे लकडाउन नभएको भए यतिबेला आमाको मुख हेर्न उनी बानियाँटार पुगिसक्थिन् । यसैगरी ज्ञानेश्वरकी शैलजा पनि आमाको मुख हेर्न कलंकी जान्थिन् । तर, आफ्नो स्वास्थ्यका लागि सबैजना घरभित्र नै बस्न बाध्य छन् । चाहेर पनि त्यति टाढा जान नमिल्ने भएकाले मोबाइलमा भर्चुअल रूपमा आमाको मुख हेरेर चित्त बुझाएकी छिन्, उमाले । लकडाउन खुलेपछि माइत गएर आमाको मुख हेर्ने योजनामा छिन् । 

प्रा.डा. वीणा पौड्यालका अनुसार सनातन धर्मावलम्बीहरु औंसीलाई पितृको तिथि मान्छन् । भाद्र कृष्ण पक्ष बाबु र वैशाख कृष्ण पक्ष आमाको सम्मानका लागि स्थापित तिथि हो ।

जीवित वा दिवंगत दुवै आमाका सम्मान र सम्झनामा मनाइने पर्व हो– मातृ औंसी । हिजोआज यसलाई आमा दिवस पनि भनिन्छ । आमाको माया, ममता, त्याग र समर्पणलाई शब्दले व्यक्त गर्न सकिँदैन । विश्वका प्रसिद्ध साहित्यकारहरूले पनि आमाको महिमाबारे लेख्न शब्दको खडेरी र खाँचो  परेको राय व्यक्त गरेका छन् । संसारमा सबैभन्दा मीठो सम्बोधन हो– मा, आमा, मदर, मम, मामी । हाम्रा शास्त्रहरुमा आमालाई सारै सम्मानजनक स्थान दिइएको छ । 

तैतिरीयोपनिषद्मा मातृ देवो भव:, अर्थात् आमालाई देवी सरह मान, आमाको भक्त होऊ भनिएको छ । स्तोत्रावलीमा कुपुत्रो जयते क्वचिदपि कुमाता न भवति अर्थात् सन्तान कुपुत भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भनिएको छ । 

नेपालका विभिन्न तीर्थ स्थलहरू र काठमाडौंक् थानकोटको मातातीर्थ, भक्तपुरको हनुमान घाट, पशुपति क्षेत्रका घाटहरूमा आजको दिन आमा नहुनेहरूले तर्पण, श्राद्ध र दान गर्छन् । समयअनुसार छोरा छोरीले आमाको मुख हेर्ने दिन केहि अनुकरणीय कार्य गर्न सक्छन् । 

जीवित वा मृत आमाको नाममा अस्पतालमा २–४ वटा बेड, पाठशालामा पुस्तकालय, प्रयोगशाला, शौचालय, खेलकूदका सामान, महिला होस्टेल र छात्रवृतिको व्यवस्था गर्न सकिन्छ । आमाको मुख हेर्ने दिन फलफूल र मिष्ठान्न अर्पण गरेर मात्र सन्तानको दायित्व पूर्ण नहुँदै । आमाको आँखामा आँसु नल्याउन वचन र कर्म दुवै आवश्यक छ । हाम्रो शास्त्रमा आमाको चित्त दुखाएमा सात जन्मसम्म नरकमा पर्ने चेतावनी दिएको छ । यति हुँदाहुँदै पनि कतिपय छोराछोरीले आफ्नी आमालाई वृद्धाश्रममा राखेको पनि देख्न सकिन्छ । 

पितृ भैसकेको आमाले यस धरातलबाट अर्पण गरेको जल पाउँछिन् भने जीउँदै आमालाई आवश्यक हुँदा अन्न जल दिएर उनको सेवा गर्दा आफ्नै आँखाले देख्न र आशीर्वाद पाइन्छ । 

औंसीमा सूर्य र चन्द्रमा एउटै राशीमा बस्छन् । त्यसैले यस दिनको ज्योतिष शास्त्रमा विशेष महत्व छ । आमाको महत्व दर्शाउन नै वर्षको पहिलो महिनाको औंसी आमाको सम्मानका लागि छुट्याइएको छ । 

मातातीर्थ

चन्द्रागिरिको फेदीमा स्थित मातातीर्थको ठूलो महिमा छ । हरेक वर्ष आमाको मुख हेर्ने दिन यहाँ मेला लाग्दछ । नेपालको पुरातात्विक प्रामाणिक इतिहास पाँचौ शताब्दीदेखि प्रारम्भ हुन्छ । मातातीर्थमा लिच्छवीकालका शीलालेख र मूर्ति प्राप्त भएका छैनन् तर नजिकैका स्थान बलम्बू, थानकोटमा लिच्छवीकालका अभिलेख छन् । मातातीर्थको ढुंगेधारा र कुण्ड वि.सं. १७९६ मा जयविष्णुले बनाएको मानिन्छ । मूर्तिकार रामकृष्ण भण्डारीले बनाएका आमाको आधुनिक मूर्तिले त्यस क्षेत्रकों महिमा बुझाएको छ । 

अन्त्यमा,

आज संसारको परिस्थिति अर्कै छ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित बसेर आ–आफ्नै ठाउँबाट आमालाई सम्मान गर्ने परिस्थिति आएको छ । अहिलेको अवस्थामा जीवनरक्षा पहिलो प्राथमिकता हो । त्यसैले लकडाउनको पालना गरेर प्रभावकारी विधि अपनाउँदै आमाको सम्मान गर्दै यस वर्षको मातातीर्थ आंैसी मनाऔं । आमाको नाममा आवश्यक व्यक्तिलाई सहयोग गरौं । हजार पिता बराबर एक माता हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>