Successfully Copied

लकडाउनमा मधुमेहका बिरामीले के गर्ने ?  

अहिले कोरोना त्रासका कारण अत्यावश्यकबाहेक अन्य बिरामीलाई अस्पतालमा नआउन भनिएको छ । यस्तो बेलामा मधुमेहका बिरामीले आफ्नो नियमित कर्म गर्नुपर्छ । राति छिटो सुत्ने तथा बिहान छिटो उठ्नुपर्छ । 

डा. मधु पाण्डे, इन्डोक्राइनोलोजिस्ट / नर्भिक इन्टरनेसनल हस्पिटल 

संसारभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणका बिरामी आइतबार(आज) बिहानसम्म नेपालमा ९ जना पुगेका छन् । जनताको सुरक्षाका लागि सरकारले चैत ११ गतेदेखि  लकडाउनको घोषणा गरेको छ । लकडाउनको तेह्रौं दिन काठमाडौं सहरका बजार सुनसान र शान्त छन् । सबैलाई त्रसित बनाएको कोरोना भाइरसका कारण अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । इमरजेन्सी सेवा मात्र खुला गरिएको कारण कतिपय बिरामीलाई अप्ठ्यारो परेको छ । 

मधुमेहकी बिरामी सुधा पाण्डेले नियमित औषधि सेवनसँगै सन्तुलिन खाना खाँदै व्यायाम पनि गरिरहेकी छिन् । जसकारण उनमा कुनै ठूलो समस्या देखिएको छैन । तर कतिपय मधुमेहका बिरामीलाई पनि लकडाउनका कारण समस्या परिरहेको छ । यस्तो बेला मधुमेहका बिरामीले घरमै स्वास्थ्यको ख्याल कसरी गर्न सक्छन् त ? इन्डोक्राइनोलोजिस्ट डा. मधु पाण्डेको सुझाव यस्तो छः

– रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्था मधुमेह (चिनीरोग) हो । हाम्रो शरीरमा हुने इन्सुलिन हर्मोन प्यांक्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने हर्मोनले राम्रोसँग काम गर्न सक्दैन । परिणामतः चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह भएको मानिन्छ । 

– विश्वमा ८ दशमलव ६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि जीवनशैली तथा खानपानका कारण यसका रोगी बढेका छन् । 

– अहिले कोरोना त्रासका कारण अत्यावश्यकबाहेक अन्य बिरामीलाई अस्पतालमा नआउन भनिएको छ । यस्तो बेलामा मधुमेहका बिरामीले आफ्नो नियमित कर्म गर्नुपर्छ । राति छिटो सुत्ने तथा बिहान छिटो उठ्नुपर्छ । 

– प्रत्येक दिन व्यायाम गर्नुपर्छ । प्रत्येक १० मिनेटमा यताउता हिँडडुल गर्नुपर्छ । हातखुट्टा चलाइरहनुपर्छ । यसो गरेमा शरीर छरितो हुनुका साथै मधुमेह बढ्न पाउँदैन । 

– अहिले सबै हरिया तरकारी र सलाद नपाउन सकिन्छ । संभव भए हरिया तरकारी नभएमा भातसँग गेडागुडी ठिक्क मात्रामा खानुपर्छ । गेडागुडीमा प्रोटिन पाइने भएकाले सुगर बढ्न पाउँदैन ।

– भातमा कार्बोहाइड्रेड पाइने भएकाले धेरै खानुहुँदैन यसका साथमा सोयबिन खान सकिन्छ । यसैगरी क्वाँटी पनि खान सकिन्छ । फलफूल पनि खान सकिन्छ । रेशायुक्त खानेकुरा खानुपर्छ ।

– आफूले नियमित रुपमा खाइरहेको औषधि नछुटाई सेवन गर्नुपर्छ । 

– संभव भएसम्म मधुमेहको औषधि सेवन गरेकाले ग्लुकोमिटरले हप्तामा एक पटक मोनिटरिङ गर्नुपर्छ । इन्सुलिन लिइरहेका बिरामीले भने १,२ दिनको फरकमा गर्नुपर्छ । 

– समय–समयमा खानेकुरा खाइरहनुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ ।

– मधुमेहले उच्च रक्तचाप, आँखामा तथा मुटुमा समस्या उत्पन्न गराउन सक्ने भएकाले यसको मात्रा नियन्त्रणमा राख्नुपर्छ । 

– यसले गम्भीर रुप नलिनका लागि खानामा नियन्त्रण, व्यायाम गरेर जीवनशैली स्वस्थ बनाउनुपर्छ । 

– अहिले संकटकालीन अवस्था भएकाले केही समस्या भए आफूले देखाइरहेको चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।  

यस्ता खानेकुरा नखाऔं

– गुलिया तथा चिल्ला बोसोयुक्त प्रशोधित खानेकुरा खानुहँुदैन । 

– मद्यपान तथा धुम्रपान गर्नुहुँदैन । 

– ब्रत बस्नु तथा लामो समयसम्म भोकै बस्नुहुँदैन । यसो गरेमा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस समेत हुन सक्छ । 

(अहिलेको आपतकालीन अवस्थामा मधुमेह तथा थाइराइडको बारेमा कुनै जिज्ञासा रहेमा इन्डोक्राइनोलोजिस्ट डा. मधु पाण्डेलाई ९८५११३४४६६ मा सम्पर्क गर्न सकिन्छ । इन्डोक्राइनोलोजिस्ट पाण्डे नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत छन् ।) 

 Image