Successfully Copied

मनोरोगलाई होल बडी चेकअपमा राख्नु जरुरी

मानसिक रोग कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिदैन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणका आधारमा नै यो रोग पत्ता लगाउने हो ।


प्रा.डा. सुदर्शन नरसिंह प्रधान
वरिष्ठ मनोरोग विशेषज्ञ

काठमाडौं ठमेलमा जन्मिएका डा. सुदर्शन नरसिंह प्रधान विगत २३ वर्षदेखि मनोरोग क्षेत्रमा काम गरिरहेका छन् । उनले रसियामाबाट एमबीबएस तथा त्रिवि शिक्षण अस्पतालबाट मनोरोग विषयमा एमडी गरेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमाप्रोफेसर तथा डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका डा. सुदर्शन हाल त्यहा“बाट रिटायर्डमेन्ट लिएर बीएण्डबी तथा पुनर्जीवन हस्पिटलमा कन्सल्ट्यान्ट साइक्याट्रिकका रूपमा कार्यरत छन् । उनले दुई लाखभन्दा बढी मानसिक रोगीको उपचार गरिसकेका छन् । मानसिक रोग लाग्ने कारण, रोकथामका उपायलगायतका विषयमा उनीसँग गरिएको कुराकानी ः
मानसिक स्वास्थ्यमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
मानसिक स्वास्थ्यमा आउनुअघि त्रिवि शिक्षण अस्पतालमा २३ वर्षअघि इमर्जेन्सीमा मेडिकल अफिसरका रूपमा कार्यरत हुँदा धेरै मनोरोगका केस देखें । कति बिरामी बेहोस भएर, कतिपय हिस्टेरिया र कतिपय बहुलाएर आउँथे । केही समयपछि उपचार गरी बिरामी सुधार भएको देखें । उपचार गरेमा सुधार हुँदो रहेछ भन्ने लाग्यो । यसमै रुचि बढ्न थाल्यो र शिक्षण अस्पतालमा त्यो समयमा भर्खरै सुरुवात भएको मनोरोग विभागमा मेडिकल अफिसर भएर काम गरें । त्यसपछि लगत्तै काठमाडौं मेडिकल कलेज सिनामंगलमा मनोरोग वार्ड स्थापना गरेर साइक्याट्रिकमा एमडी सुरु गरियो ।
मानसिक रोग लाग्ने कारण के होलान् ?
यसमा मुख्यतया बायोलोजिकल, मनोवैज्ञानिक तथा सामाजिक गरी तीन कारण छन् । बायोलोजिकलमा वंशानुगत (जेनेटिक) हुन सक्छ । बुवाआमामध्ये दुवै वा एउटामा मानसिक रोग छ भने बच्चामा आउन सक्ने सम्भावना धेरै हुन्छ । रासायनिक तत्वको गडबढीले गर्दा पनि हुन्छ । मानसिक रोग तुरुन्तै आउने नभै व्यक्तिमा भर पर्छ । उसले तनावलाई कसरी ह्यान्डल गर्न सक्छ त्यसमा निर्भर रहन्छ । कुनै कमजोर, रिजर्भ नेचरका मानिसले आफ्ना कुरा खुलस्त नभनी भित्रै दबाएर राख्छन् । त्यसले गर्दा पनि मानसिक समस्या देखापर्न सक्छ ।
सामाजिक कारण समाजमा जातिअनुसार रक्सी खाने प्रचलन थियो । यसले निम्त्याउने समस्यामध्ये मानसिक रोग पनि हो । बच्चा बेलामा हुर्केको वातावरण अस्वस्थ, बुवाआमामा झैझगडा धेरै पर्ने, धेरै बालबालिका हुर्केको ठाउँमा प्रतिस्पर्धात्मक भावना हुने, स्कुलमा बढी बुलिङ हुने आदि कारणले पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ । अहिले यौन दुव्र्यवहार परिवारमै वा बाहिर हुने गरेको सुनिन्छ । यसले गर्दा उनीहरूमा हीन भावना पैदा हुन्छ । पछि गएर मानसिक समस्या आउन सक्छ । ९० प्रतिशतमा यो सम्भावना छ । यसले पछि कसैलाई एन्जाइटी र कसैलाई डिप्रेसन देखा पर्नसक्छ ।
एन्जाइटी र डिप्रेसनमा के फरक छ ?
कुनै पनि काम गर्दा मन आत्तिने, यो काम गर्न सक्दिन कि भन्ने लागेमा एन्जाइटी भएको मानिन्छ । जस्तो कि जा“चमा भाइवा दि“दा मन अत्तालिन्छ । कुनै काम गर्दा मनमा आँट नआउनु, हात काम्नु, शरीर चिसो हुनु, मुख सुक्नु, राति निद्रा नपर्नु एन्जाइटीका लक्षण हुन् ।
झोंक्राएर, दिक्क भएर बस्ने, कसैसँग पनि अन्तक्र्रिया नगर्ने आदिलाई डिप्रेसनको लक्षण मान्न सकिन्छ । जस्तो जा“चमा फेल भएमा मैले केही गर्न सक्दिन, उन्नति हुँदैन भनेर रातमा निद्रा नपर्नु यो डिप्रेसनको लक्षण हो ।
मानसिक रोग लागे नलागेको कसरी थाहा पाउन सकिन्छ ?
यो कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिने रोग होइन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणअनुसार नै यो रोग पत्ता लगाउने हो । अहिले होल बडी चेकअप गर्ने चलन छ । त्यसमा सबै कुरा ठीक भएपनि राति निद्रा नलाग्ने, मुटु ढुकढुक हुने कुरा समावेश गरिएको हुँदैन । होल बडीमा मनोरोगको उपचार पनि समावेश गर्नु जरुरी छ । फिजिसियनकहाँ जाँदा बिरामीलाई केही रोग देखा नपरेमा केही छैन, धेरै नसोच्नु भनिन्छ जबकी मानसिक रोग सोचेरै आउने हो । सोचलाई कसरी परिवर्तन गर्ने, सकारात्मक कसरी हुने, मनको कुरा शेयर गर्नुपर्छ ।
यसका लक्षण के–कस्ता हुन्छन् ?
कसैलाई एन्जाइटी त कसैलाई डिप्रेसन होला । मुख्य कुरा मानिसलाई लक्षणले गर्दा आफ्नो दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतामा कमी आउने, सामाजिक उत्तरदायित्व निभाउन नसके समस्या उत्पन्न हुन्छ । उदाहरणका लागि एन्जाइटी भएकाहरूलाई बस, लिफ्ट चढ्न डर लाग्छ । समूहमा बस्न डराउँछन् । बिस्तारै उसको जीवन गाह्रो हुँदै गइरहेको हुन्छ । डिप्रेसनमा मन दिक्क, उदास हुने कसैसँग पनि अन्तक्र्रिया गर्न मन नलाग्ने, कोठामा एक्लै बस्ने र गर्न सक्ने काम पनि नगरी यत्तिकै बसिदिन्छन् । स्कुल–कलेज जान मन गर्दैनन् । रक्सी, ड्रग्स खानेले बिहानदेखि खाने गर्छन् । यस्ता व्यक्तिको बुद्धि–विवेक एवं स्मरणशक्ति खराब भएको होइन । उसको व्यवहार गर्ने, सोच्ने तरिका र मानिससँग डिल गर्ने कुरामा फरक भइदिन्छ । यसले गर्दा समस्या भएको छ है भन्ने घरपरिवारमा पनि थाहा हुन्छ । व्यक्ति स्वयंले भने आफूलाई के भइरहेको छ भन्ने कुरा औंल्याउन सक्दैन ।


कतिपय मानिस आवश्यकभन्दा बढी बोल्छन्, के कारणले होला ?
कतिपय मानिस धेरै बोल्छन् । यसलाई बाइ–पोलार एफेक्टिभ डिसअर्डर भनिन्छ । जस्तो परीक्षामा पास हुँदा अधिक मात्रामा खुसी हुने, फिल्म हेर्न जाने, पैसा चोरी गरेर साथीभँइलाई पार्टी खान बोलाउँछन् । यसलाई डिप्रेसन वा मेनिया भयो भनिहाल्न मिल्दैन । यस्ता क्रियाकलापमा दुई हप्ताभन्दा बढी या लामो समयसम्म गएमा बाइ पोलार इफेक्टिभ डिसअर्डर यो मेनिया भएको मानिन्छ ।
जाडोमा मानसिक रोग किन बढ्छ ?

कहिलेकाहीँ मौसमी ढाँचाले पनि असर गर्छ । जस्तौ औंसी, पूर्णिमाले पनि फरक पार्छ भनिन्छ । यसको खासै ठोस कारण नभएपनि औंसीमा डिप्रेसन बढी र पूर्णिमामा मेनिया बढी भइरहेकाले कता–कता मिल्न गएको छ । औंसीका दिन झोंक्राएर बस्नेर पूर्णिमामा अधिक खुसी हुन्छन् । जाडोमा रात लामा र दिन छोटा हुन्छन् । त्यसैले मनोरञ्जन गर्ने कुरामा कमी आउँछ । रात लामो भएपछि भित्रको बे्रनको मेकानिजम सुषुप्त हुने र डिप्रेसन निम्त्याउने गर्छ । जाडोमा डिप्रेसन बढी र गर्मीमा मेनियाका लक्षण बढी देखापर्न सक्छन् । जाडोमा कहिलेकाहीँ मेनिया पनि आउन सक्छ । यो समयमा आएको मेनियाको उपचार गर्न गाह्रो हुन्छ । डिप्रेसन हुनुपर्ने ठाउँमा मेनिया आएकाले यस्तो भएको छ ।
आफूले हेरेका मानसिक बिरामीमा कत्तिको कडा रोग देखा परेका छन् ?
मैलै हेरेकामध्ये एकजना बिरामीको न्यूरो सिफिलिसको उपचार गरेको छु । यौन रोग लागेकाले एन्टी बायोटिक औषधि सेवन नगर्दा लामो समयपछि बे्रनमा गएर न्यूरो सिफिलिस देखापरेको थियो । उपचारपछि निको भएको छ ।
मानसिक रोगको औषधि जीवनभर सेवन गर्नुपर्ने हुन्छ ? यस्ता औषधिले साइड इफेक्ट गर्छ ?
यो निको हुने रोग हो । रोगको अवस्था माइल्ड, मोडरेट तथा सिभियर कस्तो हो त्यहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । माइल्डमा साधारण कुराकानी, काउन्सिलिङ, के कुरामा चित्त नबुझेको हो त्यसलाई सम्बोधन गरिन्छ । औषधि सेवन गर्न नपर्ने पनि हुनसक्छ । मोडरेटमा एक डेढ वर्षजति आँैषधि सेवन गर्नुपर्छ । सिभियरमा कडा खालको औषधि लामो समयसम्म खानुपर्ने हुनसक्छ । यसमा भ्रम सिर्जना पनि हुन सक्छ । पैसावाल भएपनि गरिब छु, उपचार गर्न सक्दिन भन्ने भ्रम बिरामीमा देखिन्छ । साथै आफ्नो जीवनासाथी आफूप्रति विश्वासिलो छैन, वा मलाई कसैले मारिदिन वा हानि–नोक्सानी गर्न खोजेको जस्तो लाग्छ । यसका लागि लामो समयसम्म उपचार र पुनः दोहोरिन सक्छ । मानसिक रोगका औषधिले कुनै अंग बिगार गर्ने साइड इफेक्ट हँुदैन । साइड इफेक्ट चिकित्सकले हेर्ने हो आफैैंले गुगलमा हेर्ने होइन ।
यो रोगमा करेन्ट लगाएर पनि उपचार गरिन्छ, किन यस्तो गरिन्छ ?
कतिपय बिरामीको अवस्था हेरेर इलेक्ट्रो कगन्याटो थेरापी (इसिटी) गर्नुपर्ने हुन्छ । कुनै बिरामीले धेरै दिनदेखि खाना खाएको छैन, औँषधि पनि खान मान्दैन । खानेकुरामा विष राखेको भन्ठानेर नखाने, पानी पनि नपिउनेर, औषधि सेवन नगरी रातिपनि सुत्दैन । यस्तो अवस्थामा इलेक्ट्रो थेरापी सुरु गर्नुपर्छ । यो उपचार विधिपछि बिरामीको केही दिनमै खानामा रुचि बढ्छ ।
कुन उमेरमा बढी मानसिक रोगी देखिएका छन् ? महिला वा पुरुषमध्ये कुनमा बढी यो समस्या देखिएको छ ?
कुनै पनि उमेर १८–१९ वर्षदेखि ६०–७० वर्षमा पनि यो रोग देखिएको छ । तनावलाई ह्यान्डल गर्ने क्षमतामा निर्भर रहन्छ । बोझ बढी हुने भएकाले महिलामा डिप्रेसन बढी देखिएको छ ।
आत्महत्या बढ्नुको कारण मानसिक रोग पनि होे ?
एउटा कारण आत्महत्या पनि हो । अहिले आत्महत्या गर्नेको संख्या बढी देखिएपनि आत्महत्याको प्रयास गर्ने अझ धेरै छन् । अहिले अस्पतालको प्रत्येक इमर्जेन्सीमा २–३ जना आत्महत्याको प्रयास गर्ने बिरामी छन् । हालै गरेको एक अध्ययनका अनुसार ७० देखि ८० प्रतिशत डिप्रेसनका कारणले आत्महत्या गर्छन् । अल्कोहल तथा आवेगका कारण गर्छन् । त्यो समयमा सोच्ने र निर्णय गर्ने क्षमता कमजोर भइदिन्छ र यसतर्फ अग्रसर हुन्छन् । हाइलाइट, डिटेल इन्फरमेसन सकभर दिनुभएन । संचारमाध्यमले यसलाई प्राथमिकता नदिई सानो समाचार मात्र बनाउनुपर्छ । यसले संवेदशनील बनाइदिन्छ ।
रोकथामको उपाय के होला ?
प्रत्येकले तनाव ह्यान्डल गर्न सक्ने क्षमता बढाउनुपर्छ । स्वस्थ जीवनशैली अपनाउनुपर्छ । आफूले गर्दै गरेको कुरामा सहजीकरण हुनुपर्छ । महत्वाकांक्षा बढी राख्नुहुँदैन। फिजिकल फिटनेसमा ध्यान दिनुपर्छ । मनमा लागेका कुरा आफ्ना कुरा सुन्ने, बुझ्ने र सही सल्लाह दिनेलाई साथीभाइलाई भन्नुपर्छ। साथीभाइसँग ग्यादरिङ, गफगाफ गर्ने, परिवारमा गेट टुगेदर गर्नुपर्छ । भजन गाउने, कुराकानी शेयर गर्ने ठाउँ हुनुपर्ने रहेछ । अहिले धेरै युवा बिदेसिने भएकाले वृद्धामा एक्लोपन महसुस हुन्छ । उनीहरूका कुरा सुनिदिने, एक्लो हुन नदिने वातावरण तय गरिदिनुपर्छ ।
मानसिक रोग लागेकालाई सुरुमा धामी–झाँक्रीकहाँ लैजाने चलन अझ बढ्दो छ । यसले शारीरिक चोट पु¥याउनुका साथै रकम धेरै खर्च हुन्छ । त्यसैले सही ठाउँमा सही उपचार गर्नु आवश्यक छ । अहिले सबै जिल्लामा मानसिक रोगको उपचार हुन्छ ।

 Image