Successfully Copied

लकडाउनमा सेलिब्रेटीः कोही टिकटक बनाउँदै, कोही पढ्दै

अहिले आमदर्शक, स्रोता तथा पाठकले रुचाएका सेलिब्रेटी पनि क्वारेन्टाइन अर्थात् घरभित्रै बसिरहेका छन् । लकडाउनमा सेलिब्रेटीहरुले के गरिरहेका छन् त ?

विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोराना(कोभिड १९)का कारण नेपाल पनि लकडाउनमा छ । जसकारण देशका अधिकांश नागरिक सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । अहिले आमदर्शक, स्रोता तथा पाठकले रुचाएका सेलिब्रेटी पनि क्वारेन्टाइन अर्थात् घरभित्रै बसिरहेका छन् । लकडाउनमा सेलिब्रेटीहरुले के गरिरहेका छन् त ?

सञ्चिता लुईंटेल, अभिनेत्री

अहिले दैनिकी मात्रै होइन, जीवनशैली नै पूरै फरक भएको अनुभव गरिरहेको छु, अभिनेत्री संचिता लुईंटेल । लकडाउनका कारण परिवारसँग समय बिताउनुलाई सकारात्मक रुपमा लिएकी उनलाई कोरोनाको त्रासले भने सताइरहन्छ । उनले अभिनेता निखिल उप्रेतीसँग बिहे गरेकी हुन् । उनीहरुका दुई सन्तान छन् । अहिले उनको मुख्य ध्यान आफ्ना सन्तानमा केन्द्रित भएको छ । छोराछोरीलाई कसरी सिर्जनशील बनाउने भनेर निश्चित रुटिन नै बनाएकी छिन् । रुटिनमा मेडिटेसन, आर्ट, म्युजिक, डान्स, चलचित्र र कथावाचनलाई समेटेकी छिन् । सँगै छोराछोरीसँग खेल्दै उनले आत्मविश्वास बढाउने प्रयास गरिरहेकी छिन् ।

लसता जोशी, गायिका

लसताको मन कोरोना भाइरसको नाम सुने देखि नै उथलपुथल भएको छ । हरेकदिन संक्रमित र मृत्यु भएकाको खबरले उनलाई कमजोर बनाएको छ । संक्रमणप्रति सचेत उनले कोरोनाको चर्चा सुनेसँगै मासु खान छाडेकी छिन् । घरमा एसईई परीक्षादिने तयारीमा रहेका छोरालाई सहयोग गर्दै मिठामिठा खाना पाकाउने, सरसफाई गर्ने, गीतगाउने र टिकटक बनाउने लगायत काममा नै उनको समय बितिरहेको छ ।

बर्षा सिवाकोटी, अभिनेत्री

अभिनेत्री बर्षा सिवाकोटी आफूले पालेको कुकुर डुकुसँग खेल्दै, रमाउँदै समय बिताइरहेकी छिन् । उनी घरमै व्यायाम गर्छिन् । योग गर्छिन्, डोरी खेल्छिन्, मेडिटेशन गर्छिन् । उपन्यास, बायोग्राफी पढ्न रुचाउने बर्षा लकडाउनको समयमा आराम गर्दै मनपरेका पुस्तकपनि पढिरहेकी छिन् । उनी घरमै नयाँ नयाँ परिकार बनाएर खाने र परिवारलाई खुवाउने गरिरहेकी छिन् । रोगप्रति सचेत उनी भिटामिन सी जन्य खानेकुरा खाएर रोग प्रतिरोधी क्षमता बढाइरहेकी छिन् ।

निर्णय श्रेष्ठ, गायक

निर्णय लकडाउन हुँद अस्पतालमा थिए । परिवारका एक सदस्यको अप्रेसन सकिएर लकडाउनको दुई दिनपछि घर फर्केका हुन् । अस्पतालमा बस्दा सबैको समस्या सुनेका उनलाई घरफर्केपछि रासनपानीको तनावमा थिए । रासनपानी जोहो गरेपछि उनी घरभित्रै बसिरहेका छन् । उनले यो समयलाई एक्लै बस्ने अभ्यासका रुपमा लिएका छन् । उनी बेलाबेला फिल्म हेर्छन्, गीत सुन्छन्, नानीहरुलाई नेपालीमै टिकटक बनाउन प्रेरित गर्छन् ।

लुनिभा तुलाधर, रंगकर्मी

लकडाउनलाई लुनिभाले परिवारसँग समय विताउने अवसरका रुपमा लिएकी छिन् । सँगै पहिला व्यस्तहुँदा गर्न नभ्याएका घरभित्रका कामगर्ने मौकाका रुपमा प्रयोग गरिरहेकी छिन् । २०७२ सालको भूकम्पपछि लामो समय घरमै बसेको अहिले नै हो उनी । उनी अहिले घरमै विभिन्न डकुमेन्ट्री सम्पादन गरिरहेकी छिन् । साथै एनिमल फार्म नाटकको स्क्रिप्ट घोक्दै छिन् । जुन मञ्चनहुने तयारीमा छ ।

छोरालाई कथा सुनाउँदै, खाना बनाउँदै, देशविदेशमा रहेका साथीसङ्गीसित गफगर्दै उनले समय बिताइरहेकी छिन् । सिर्जनशील कामगर्न प्रेरित गर्ने लुनिभा अरुलाई पनि आत्मबल बलियो बनाएर रोगसँग लड्न सुझाव दिन्छिन् ।

सागरिका श्रेष्ठ, भिजे तथा आरजे

लकडाउन घोषणा हुनु अघिदेखि नै सागरिका सतर्क थिइन् । चीनमा कोरोना देखिएदेखि नै उनले मास्क, पञ्जा र सेनिटाइजर प्रयोग गर्न थालेकी हुन् । विश्वव्यापी महामारीको रुप लिएपछि जीवनशैली नै स्लो भएको उनको अनुभव छ । टीभीको शो पहिले नै तयार पारेकाले कार्यालय जान परेको छैन । तर रेडियोमा लाइभ कार्यक्रम भएकाले जार्नैपर्ने वाध्यता छ । बाँकी समय उनी अध्ययन र सरसफाईमा खर्च गरिरहेकी छिन् ।

सुहाना थापा, अभिनेत्री

केहीदिन अघिसम्म चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त अभिनेत्री सुहाना थापा अहिले आमा झरना थापा र बुवा सुनिलकुमार थापासंग बिताईरहेकी छिन् । उनी अहिले पुस्तक पढ्ने र भगवान श्रीकृष्णको पूजा आराधनामा दिन बिताइरहेकी छिन् ।

इतु जोजिजू, गायिका

काम बाहेक घरवाट बाहिर ननिस्कने इतुले केही समयदेखि व्यस्तताका कारण घरमा बस्ने मौका पाएकी थिइनन् । अहिले सपरिवारसँग घरमै बसिरहन पाउँदा उनलाई रमाइलो लागेको छ । रोगसंग लडिरेको संसारका घटनाका कारण डर लागे पनि उनी खाना बनाउने, नयाँ गीत बनाउने लगायत काम गरिरहेकी छिन् । उनलाई लकडाउनको बेवास्ता गरी हिँड्नेप्रति रिस उठेको छ । 

सिर्जना सुब्बा, रंगकर्मी

चार महिनाको छोरालाई हुर्काइ रहेकी सिर्जना अहिले रंगकर्ममा खट्न सकेकी छैनन् । अहिले उनलाई कोरोनाका कारण बच्चासँगै आफन्त, नातागोतालाई केही होला कि भन्ने चिन्ता छ । र उनले लकडाउनलाई परिवारसँगै आत्मीयता बढाउने र आपसमा बुझ्ने अवसरका रुपमा पनि लिएकी छिन् । उनी छोरा खेलाउँदै केही विदेशी थियटर सम्बन्धी पुस्तकपनि पढिरहेकी छिन् ।

 Image