Successfully Copied

कौसीमा फूलबारी 

घरमा खेर जाने सिमेन्टका बोरा, पानीका जारदेखि पानीका बोतललाई गमलाका रूपमा प्रयोग गर्न सकिन्छ । छत र कौसीमा रोपिने फूलहरू धेरै झाँगिने खालका हुँदैनन् । त्यसकारण गमलामा रोप्ने फूलहरूको छनोट गर्न उपयुक्त हुन्छ । 

हिजोआज घरको छत र कौसीमा फूल रोप्ने क्रम बढ्दै गएको छ । फूलप्रेमीहरूले फूलबारीको अभावका कारणले पनि घरको छत–कौसीमा फूल रोप्ने गरेका छन् । फूल रोप्नलाई गमलादेखि फालिने सामानहरू प्रयोग गरिन्छ । घरमा खेर जाने सिमेन्टका बोरा, पानीका जारदेखि पानीका बोतललाई गमलाका रूपमा प्रयोग गर्न सकिन्छ । छत र कौसीमा रोपिने फूलहरू धेरै झाँगिने खालका हुँदैनन् । त्यसकारण गमलामा रोप्ने फूलहरूको छनोट गर्न उपयुक्त हुन्छ । 

सयपत्री 

सयपत्री लोकप्रिय फूल हो । सयपत्रीको फूलबारीमा प्रवेश १७ औं शताब्दीदेखि भएको पाइन्छ । सयपत्री फूललाई बगैंचादेखि कौसी र छतमा रोप्न सकिन्छ । यसका विभिन्न प्रजाति हुन्छन् । यसलाई घाम–पानीको मात्रा मिलाएर रोप्नुपर्ने हुन्छ । ग्रीष्म ऋतु यसको मौसम भए पनि सदाबहार फुलाउन सकिन्छ । 

जिनिया 

पछिल्लो समय जिनिया फूल लोकप्रिय हुँदैछ । घर–आँगनमा सजाउन मात्र नभई कटफ्लावरका रूपमा थुँगा बनाएर पनि यो फूल सजाउन सकिन्छ । यो फूललाई धेरै ठाउँ नचाहिने हुँदा गमलामै सजाउन सकिन्छ । यसका ४–५ किसिमका रंग हुन्छन् । 

पिटुनिया 

पिटुनिया फूल ४ देखि २० इन्चको हुने भएकाले गमलामा रोखेर घरको छत र कौसीमा फुलाउन सकिन्छ । पिटुनिया विभिन्न किसिम र रंगका हुन्छन् । पिटुनिया लहरे प्रकृतिका साथै सादा र गुजमुज्ज परेका बहुपत्रे पनि हुन्छन् ।

साल्बिया 

साल्बिया फूल पनि पछिल्लो समय निकै रुचाइएको फूल हो । यो गमलादेखि बगैंचासम्म रोप्न सकिन्छ । यो फूल घरको कौसीमा निकै आकर्षक देखिन्छ । यसका पनि विभिन्न प्रजाति हुन्छन् । 

फ्युसिया

फ्युसियालाई नेपालमा घन्टी फूल भनिन्छ । यो गमलामा सहजै फुलाउन सकिन्छ । यो रातो, गुलाबी, नीलो एवं बैजनी रंगको हुन्छ । यो फूललाई बगैंचादेखि गमलासम्म रोप्न सकिन्छ । यो फूल घन्टी आकारमा झुप्प भएर फुल्छ ।

जिरेनियम 

जिरेनियम पनि लोकप्रिय फूल हो । यो फूल घरको छत–कौसीमा सदाबहार फुलाउन सकिन्छ । जिरेनियमका पनि विभिन्न प्रजाति हुन्छन् । यी पनि रातो, पहेंलो, नीलो, बैजनी आदि विभिन्न रंगमा उपलब्ध हुन्छन् । 

 

 Image