बालबालिकाका लागि  अर्थ व्यवस्थापन

नारी संवाददाता

फाल्गुन ११, २०७६

बालबालिकालाई पैसा कहाँबाट अनि कसरी आउँछ थाहा हुँदैन् । यसका लागि धेरै मेहनत र पसिना बगाउनुपर्छ । महिना नसकिँदै पैसा सकियो भने पनि उनीहरूलाई कुनै दिक्दारी हुँदैन, मागको थाक लगाउन पाए पुग्छ । अभिभावकको पैसा सकिइसक्दा पनि उनीहरूको माग सकिँदैन । तसर्थ अर्थ व्यवस्थापनको सीप आफूसँग सुरक्षित राख्नु आवश्यक छ । बालबालिकालाई समयमै पैसाको महत्व बोध गराउनु जरुरी छ ।

    बालबालिकाको शिक्षाका क्रममा दुईवटा कुरामा गम्भीर ध्यान पुर्‍याउनुपर्छ । पहिलो अवलोकन (अब्जरभेसन), दोस्रो दोहोर्‍याउनु (रिपिटेसन) । जे सिकाउन खोजिन्छ त्यसमा यी दुवै कुरा समावेश गर्नु अत्यावश्यक हुन्छ ।

    अर्थ व्यवस्थापनको सुरुवात यतिबेलादेखि नै गर्न सकिन्छ । जब बालबालिका गणना (काउन्टिङ) गर्न सक्ने हुन्छन् । खेलाउँदा पनि कम वा बढी पैसाबीचको फरक तथा त्यसको मूल्य र महत्व सिकाउन सकिन्छ । 

 काल्पनिक पसल बनाई बालबालिकाहरूलाई सपिङ गर्न सिकाउन सकिन्छ । यसबाट बालबालिकालाई विभिन्न आवश्यकताका सामानका बारेमा जानकारी हुन्छ भने उनीहरूको ज्ञानको दायरा पनि फराकिलो हुँदै जान्छ । त्यसका अतिरिक्त उनीहरूलाई धेरै र थोरै पैसाबीचको भिन्नता पनि थाहा हुँदै जान्छ ।

    बालबालिकाको हातबाट घरका हरेक सदस्यलाई सिक्का दिन लगाउनुपर्छ ताकि उनीहरूलाई थाहा होस् पैसा भन्ने कुरा आफ्ना लागि मात्र होइन । यसो गर्दा उनीहरू अरुका आवश्यकताका बारेमा पनि थाहा पाउन सक्ने हुन्छन् ।

    ठूला बालबालिकालाई पकेट मनी दिन नभुलौं । यसले उनीहरूलाई आत्मनिर्भर बन्न सिकाउँछ । यद्यपि यसो भन्दैमा उनीहरूलाई बढी स्वतन्त्रता दिनुहुँदैन । उनीहरू कसरी र केका लागि पैसा खर्चन्छन् निगरानी राख्नुपर्छ । साना छन् भने साप्ताहिक रूपमा र अलि ठूला भएपछि मासिक रूपमा पकेट मनी दिनु उपयुक्त हुन्छ ।

    अलि ठूला बालबालिकालाई सपिङमा सँगै लिएर जानुपर्छ ताकि उनीहरूले सिकून्–कुनै ठूलो सामान खरिद गर्दा लेबल, त्यसको मूल्य र गुणस्तरका बारेमा अभिभावकले कसरी जानकारी लिन्छन् र त्यसको कति मूल्य तिर्छन् । यसबाट उनीहरूले पैसाको मूल्य आँकलन गर्न सक्छन् ।

    आम्दानी धेरै होस् वा थोरै बचत गर्न सिक्नुपर्छ । नगद बचत घरको नियमभित्र राख्नुपर्छ ।

    शिशुलाई खर्च र फजुल खर्चबीचको अन्तर बुझाउनुपर्छ । आवश्यकता र रुचिका सामानका बारेमा पनि उनीहरूलाई जानकारी दिनुपर्छ । कहिलेकाहीँ मनोरञ्जन र रुचिका वस्तु मात्र खरिद गर्नु पनि अनुचित होइन तर यसैलाई बानी बनाउनु भने हुँदैन् ।

    पकेट मनी पाउनेबित्तिकै तुरुन्त खर्च गर्नुको साटो नियमित बजेट तालिका बनाउन सिकाउनुपर्छ । जसबाट बालबालिकालाई सही ढंगले खर्च गर्ने तरिका बोध हुन्छ भने उनीहरूले धैर्य गर्न पनि सिक्दै जान्छन् ।

    बालबालिकाको छुट्टै बैंक खाता खोल्न सकिन्छ । त्यसमा उनीहरूलाई वर्थ डे वा अन्य विशेष समारोहमा प्राप्त हुने स–साना रकम बचत गरिदिन सकिन्छ ।

    घरेलु बजेटभित्र जसरी विभिन्न विषयमा खर्च तोकिन्छ त्यसैगरी बालबालिकाका लागि बजेट प्लानिङ गर्दा पनि उनीहरूको आवश्यकता, साथीभाइ तथा आफ्नो हैसियतलाई ध्यानमा राख्दै योजना बनाइदिनुपर्छ ।

    खर्चको हिसाब–किताबको एउटा छुट्टै डायरी बनाउनुपर्छ ताकि बालबालिकाको समेत हिसाब–किताब राख्न सकियोस् ।

    बालबालिकालाई कुनै सामान किन्न पठाउँदा सामानको बिल तथा हिसाब–किताब पनि मगाउनुपर्छ ।

    महिनाको एक गते महिनाभरको खर्चको हिसाब–किताब गर्ने बेला बालबालिकालाई अगाडि बसाएर अनुमानित खर्च र कुल खर्चको विवरण छुट्टाछुट्टै खाममा राखिदिनुपर्छ । यसले गर्दा उनीहरूले सबै एकैपटक खर्च गर्नुको साटो एकपटक सोचेर मात्र खर्च गर्छन् भने उनीहरूलाई आम्दानी र खर्चका बारेमा जानकारी हुनथाल्छ । यसले गर्दा पकेट मनी सोचेर मात्र खर्च गर्ने बानी बस्छ । 

    मासिक खर्च विवरण बनाउँदा के कुरामा ध्यान पुर्‍याउनुपर्छ भने कुन खर्च महत्वपूर्ण छ र कुनलाई पछि सार्न मिल्छ । किनभने कुनै खर्च अत्यावश्यक हुन्छ भने कुनैमा अहिले खर्च नगर्दा पनि फरक पर्दैन ।

    पकेट मनी दिँदैमा बालबालिकाले मनलाग्दो खर्च गर्छन् भन्ने हुँदैन । यसले उनीहरूलाई पाठसमेत सिकाइरहेको हुन्छ ।

    गल्तीको सजाय स्वरूप कुनै पनि हालतमा पकेट मनी कटौती गर्नुहुँदैन । यसको नकारात्मक असर पर्छ र उनीहरूको भावनामा ठेस पुग्छ ।

    हरेक चीजमा खर्चका लागि एउटा निश्चित सीमा तोकिदिनुपर्छ । बढी महँगा पहिरन किन्न खोजे सचेत गराउनुपर्छ ।

–    कुनै पनि काम अह्राउँदा पैसा दिने लोभ देखाउनुहुँदैन ।

–    कटौती वा बजेट सीमालाई बालबालिकामा मात्र होइन आफूमा पनि लागू गर्नुपर्छ ताकि उनीहरूले गर्वका साथ भनून् कि यो महिना हाम्रो जुत्ताको साटो तपाईंको चप्पल आओस् ।

–    सबैभन्दा जरुरी कुरा आफ्ना बालबालिकाबाट जस्तो अपेक्षा राखिन्छ त्यसमा आफू पनि खरो उत्रनुपर्छ । अर्थ व्यवस्थापन निकै महत्वपूर्ण कुरा हो । आय तथा खर्चका बीच सन्तुलन राख्नु नै अर्थ व्यवस्थापन हो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>