Successfully Copied

मेघनको समाज सेवाप्रतिको मोह

विगतमा दरबारबाहिर रहँदाको स्वभाव र छवि कायम राख्दै उनी शाही उच्चता त्यागेर फेरि सामाजिक काममा फर्किएकी छिन् । उनले भनेकी छिन्–‘सामाजिक क्षेत्रमा सक्रिय रहँदै शाही कर्तव्यसमेत निर्वाह गर्नका लागि हामी स्वयं मजबुत हुनुपर्छ । आर्थिक रूपमा हामी आफ्नै परिश्रम र कमाइद्वारा बलियो हुन

द डुक एन्ड डचेच अफ ससेक्स मेघन मार्केल र प्रिन्स ह्यारीले केही समयअघि शाही उच्चता (रोयल हाइनेस टाइटल) बाट अलग रही स्वतन्त्र र स्वायत्त ढंगले काम गर्ने घोषणा गरे । सोहीअनुरूप उनीहरूले बस्नका लागि रोयल प्लायेसबाट अलग हुँदै विन्स्टर नजिकै रहेको घर मर्मत–सम्भार सिध्याइसकेका छन् । दरबारबाट बाहिरिने निर्णयसँगै मेघनले भनेकी छिन्– ‘शाही बर्चस्वबाट पछाडि हट्दै स्वतन्त्र रूपमा व्यावसायिक र सामाजिक कार्यमा सक्रिय रहनेछु ।’ 

बकिङघम दरबार प्रवेशपूर्व हलिउडमा ख्याति कमाएकी पूर्वअभिनेतृ मेघन सन् १९८१ मा अमेरिकाको लस एन्जलसमा जन्मिएकी हुन् । सन् २००४ मा प्रसारित टेलिभिजन शो ‘डे सेञ्चुरी सिटी’ मा नर्सको भूमिकाबाट काँचको पर्दामा देखा पर्न थालेकी मार्केलले सुइट्स, क्यासल, एट्थ एन्युअललगायत टेलिभिजन शो तथा डेटर्स ह्यान्डबुक, रिमेम्बर मी, हरिबल बोसेस, अ लट लाइक लभलगायत दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् । 

११ वर्षको उमेरमै टेलिभिजनको कमर्सियल विज्ञापनका लागि गरेको अभिनयले उनलाई ‘फेनिस्ट थट्स र एक्सन’ तर्फ डोर्‍यायो । ‘महिला हुनुमा अत्यन्तै गर्व गर्छु’ बाल्यकालदेखि नै लैङ्गिक विभेदविरुद्ध आवाज उठाउन थालेकी मार्केल भन्छिन्–‘पुरुषलाई गलत भन्दिन तर नारीले पनि समान अधिकार र आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने कुराको वकालत गर्न छाड्दिन ।’

उनले अभिनय गरेको उक्त टेलिभिजन विज्ञापन थियो–डिसवास लिक्विडको । विज्ञापनको स्लोगन थियो–‘अमेरिकाभरका महिलाले ग्लसी प्यानका लागि प्रयोग गर्ने विश्वासिलो र भरपर्दो डिसवास लिक्विड ।’ अभिनयकै क्रममा पनि विज्ञापनको उक्त लाइनले उनको दिमागमा हिट गरिरहेकै थियो । जब उनका सहपाठी दुईजना केटाले कक्षाकोठामा यही विषय उठाउँदै ‘महिला यसैको प्रतिनिधि पात्र हुन्’ भनेर छेड हाने तब मेघनमा हेय र अपहेलनाका कारण आक्रोश बढ्यो । उनी भन्छिन्–‘त्यसपछि म चुप लागेर बस्न सकिन । घर फर्केर सबै कुरा बुवालाई सुनाएँ । उहाँले प्रोत्साहन दिँदै त्यसविरुद्ध आवाज उठाउन सल्लाह दिनुभयो ।’

विशेष रूपमा सोचेर–सम्झेर अगाडि बढ्नुपर्ने कुरा बुझेकी मेघनले उक्त विज्ञापनमा गरिएको विभेद संशोधन हुनुपर्ने भन्दै तत्कालीन फस्र्ट लेडी हिलारी क्लिन्टनलाई विशेष पत्र लेखिन् । दुई हप्तापछि प्राप्त प्रत्युत्तरले उनमा साहस थप्यो । परिणामत: उक्त लिक्विड कम्पनीले विज्ञापनको स्लोगन परिवर्तन गर्‍यो । भन्यो, ‘अमेरिकाभरका नागरिकले ग्लसी प्यानका लागि प्रयोग गर्ने विश्वासिलो र भरपर्दो डिसवास लिक्विड ।’ आफ्नो कदमका कारण भएको परिवर्तनले उनलाई विभेदविरुद्ध लड्न थप हौसला मिल्यो । 

बाल्यावस्थामै रोल मोडल बनेकी मेघनलाई असाधारण मान्न थालियो । विभिन्न सञ्चारमाध्यमले उनमा फरक सोच, आत्मविश्वास, जीवन–जगत्लाई हेर्ने–बुझ्ने तरिका निकै फरक भएको विश्लेषण गर्न थाले । त्यसपछि उनले पृथक् कथा बोकेका र परिवर्तनकारी हलिउड टिभी शो तथा चलचित्रमा मात्रै काम गरिन् ।

सन् २०१८ मे १९ मा बेलायती राजकुमार ह्यारीसँगको विवाहपछि ‘रोयल रेजिम’ को घेराभित्रै अल्मलिने अनुमान गरेका उनका प्रशंसक अहिले हौसिएका छन् । कारण: शाही उच्चताको परिधि नादै सामाजिक कार्यमै समर्पित रहने उनको निर्णय । मेघन–ह्यारीले इंग्ल्यान्ड र नर्थ अमेरिका दुवै भूभागलाई समानरूपमा कर्मथलो बनाउने निर्णय गरेका छन् । इंग्ल्यान्डको इतिहासमा राजपरिवारका थोरै सदस्य मात्रै आफ्नो मुलुक छोडेर अन्यत्र बसाइ सरेका छन् ।

ह्यारीले यो साहस गर्नुका पछाडि मेघनको बोल्ड पर्सनालिटी र उनको सामाजिक छवि नै मुख्य कारक भएको विश्लेषकहरूको भनाइ छ । उति बेलादेखि नै राजनीतिक चेत भएकी मार्केलले सन् २०१६ को ‘प्रेसिडेन्सियल इलेक्सन’ मा हिलारी क्लिन्टनका पक्षमा चर्को आवाज उठाएकी थिइन् । इतिहासकार रोबर्ट ल्यासीले भनेका छन्–‘प्रिन्स ह्यारीका हजुरबुवा प्रिन्स फिलिपको पालादेखि नै मेघन जतिको बोल्ड व्यक्तित्व भएकी महिला दरबार भित्रिएकी थिइनन् । किनभने नोटिङघम प्यालेस कुनै राजनीतिक दलको वकालत गर्दैन । ऊ तटस्थ रहन चाहन्छ ।’ 

सन् २०१८ मा टाइम म्यागजिनले मेघनलाई विश्वका सय प्रभावशाली महिलाको सूचीमा मात्रै राखेन, त्यसभित्र सर्टलिस्टेड गर्दै ‘पर्सन अफ दि इयर’ को उपाधिले सम्मान गर्‍यो । त्यसैगरी सन् २०१८ मै ब्रिटिस भोग म्यागजिनले उनलाई ‘मोस्ट इन्फ्ल्युयन्सियल वुमन इन इंग्ल्यान्ड’ का रूपमा प्रस्तुत गरेको छ । 

सन् २०१४ मा सम्पन्न डब्लिन समिटमा मेघनले ‘जेन्डर इक्वालिटी’ र ‘मोर्डन सेलेभरी’ विषयमा दह्रो आवाज उठाएकी थिइन् । सोही वर्ष उनले स्पेन र अफगानिस्तानको भ्रमणका बेला विश्वभर अमेरिकी सेवा विभेदरहित र सौहार्दपूर्ण हुनुपर्ने सन्देश दिएकी थिइन् । सन् २०१६ मा वल्र्ड भिजन क्यानडाको विश्वदूत बनेपछि उनी रुवान्डालगायत देशमा  शुद्ध पिउने पानी बोकेर पुगेकी थिइन् । 

त्यही वर्ष भारत भ्रमणबाट फर्किएपछि महिलाको प्रजनन स्वास्थ्य तथा महिनावारीलाई सामाजिक कलंक मानिने संस्कारविरुद्ध आवाज उठाउँदै उनी लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्रसंघको अधिवक्ता हुन सफल भइन् । महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा आवाज उठाउन कहिल्यै नडराउने मेघन सन् २०१७ मा वोत्सवानामा भइरहेको ‘सीमाविहीन हात्ती जोगाऊँ’ अभियानअन्तर्गतको च्यारिटीमा समेत सहभागी भएकी थिइन् । 

सन् २०१८ जनवरीमा ग्रनफिल टावरमा आगलागीबाट बाँच्न सफलहरूका लागि चलाइएको ‘हब कम्युनिटी किचन’ मा देखिएको रुचिले उनलाई राजसदस्य भन्दा बढी दयालु मानवका रूपमा चिनायो । त्यही बीचमा आगलागीका कारण घरबारविहीन भएका महिलालाई उनले ‘कुकबुक’ प्रकाशित गर्न प्रोत्साहन गरिन् । फलस्वरूप ‘आवर कम्युनिटी कुकबुक’ निस्कियो । त्यही नै उनी बेलायती युवराज्ञी उपाधिपछिको उनको पहिलो च्यारिटी थियो । 

सन् २०१८ फेब्रुवरीमा ‘द रोयल फाउन्डेसन’ को वार्षिकोत्सवमा पहिलोपटक सहभागी भएपछि मार्केललाई मनमनै लागिरहेको थियो कि यहाँभित्र विभिन्न कानुन र संस्कारले बाधिँदोरहेछ । सामाजिक सेवा र जनहितमा रुचि राख्ने मार्केलले कुनै परिधिमा सीमित रहेर आवाज दबाउन नसक्ने कुरा विभिन्न सञ्चारमाध्यममार्फत बताउँदै आएकी छिन् । 

सन् २०१९ जुनमा द डुक एन्ड डचेच अफ ससेक्सका हैसियतले कुनै पनि च्यारिटी गर्न नपाइने र गर्ने इच्छा राखेमा २०१९ को अन्त्यसम्ममा आफ्नो छुट्टै फाउन्डेसन खडा गर्नुपर्ने नियम बन्यो । नियमअनुसार उनले ‘मानसिक स्वास्थ्य पहल’ सँगको सहकार्यमा थुप्रै काम गरिन् । सोही वर्षको जुलाईमा उनले श्रीमान्सँग मिलेर बेलायती कानुनअनुसार ‘ससेक्स रोयल द फाउन्डेसन अफ द डुक एन्ड डचेच अफ ससेक्स’ नामक फाउन्डेसन दर्ता गरिन् । त्यसपछि उनले फाउन्डेसनमार्फत सामाजिक कार्यमा निरन्तरता दिइरहेकी छिन् । 

महिला सशक्तीकरण, महिला स्वास्थ्य, मानसिक स्वाथ्य, बालअधिकार, जेलभित्र रहेका मानिसको अधिकार, पशु अधिकारलगायतका क्षेत्रमा सक्रिय मेघन गतवर्ष क्विनस कमनवेल्थ ट्रस्टको उपाध्यक्षमा मनोनीत भइन् । उक्त ट्रस्ट मुख्यत: जेलभित्रका बालबालिकाको हितमा केन्द्रित छ । सन् २०१९ अक्टोबरमा ‘एभ्री माइन्ड म्याटर्स’ नामक मानसिक स्वास्थ्य कार्यक्रममा उनले दरबारभित्रका सम्पूर्ण सदस्यलाई सहभागी गराई बकिङघमभित्रको एकताको संकेत गरेकी थिइन् । 

विगतमा दरबारबाहिर रहँदाको स्वभाव र छवि कायम राख्दै उनी शाही उच्चता त्यागेर फेरि सामाजिक काममा फर्किएकी छिन् । उनले भनेकी छिन्–‘सामाजिक क्षेत्रमा सक्रिय रहँदै शाही कर्तव्यसमेत निर्वाह गर्नका लागि हामी स्वयं मजबुत हुनुपर्छ । आर्थिक रूपमा हामी आफ्नै परिश्रम र कमाइद्वारा बलियो हुन चाहन्छौं । तसर्थ हामीले यो निर्णय गरेका हौं ।’ 

वर्ष दिन पुग्दै गरेका रोयल बेबी आर्चको स्वास्थ्य, हुर्काइ–बढाइ र शिक्षा–दीक्षाको समेत ख्याल राख्दै ब्रोड प्लेटफर्म रोजेकी मार्केललाई स्वतन्त्र जीवन रोज्ने आँट बोकेकी योद्धाका रूपमा व्याख्या गर्न थालिएको छ । सामाजिक सञ्जालमा पनि उनको क्रेज बढ्दो छ । उनी विज्ञापनमा अभिनयलगायत कामबाट वार्षिक करिब ९० लाख अमेरिकी डलर कमाउँछिन् ।  

सोसल नेटवर्कमा मार्केल     

इन्स्टाग्राममा ३ बिलियन फलोअर ।

फेसबुकमा १० लाख ।

ट्वीटरमा ४ लाख ।

(एजेन्सीको सहयोगमा) 

 

 Image