Successfully Copied

सेयर भन्दैमा सबैले प्रगति गर्छन् भन्ने छैन 

सेयर भन्दैमा सबै राम्रो हुन्छ वा सबैले प्रगति गर्छन् भन्ने छैन । कम्पनीमा लगानी गर्दा त्यो कुन उद्देश्यले स्थापित भएको हो उसको व्यापार कस्तो छ, कम्पनीका संचालक कस्ता छन् विगतमा उनीहरूद्वारा संचालित व्यवसाय कस्ता छन्, कम्पनीको विकास कस्तो छ, सबैभन्दा ठूलो कुरा प्रतिसेयर आम्दानी

 

सरिता विष्ट, प्रबन्ध निर्देशक–लिन्च स्टक मार्केट लिमिटेड तथा सेयर ब्रोकर

सेयर के हो ?

सेयर कुनै पनि कम्पनीको पुँजीको एक हिस्सा अर्थात् अंक हो । 

यसका फाइदा के–के हुन् ?

यो एउटा कुनै पनि कम्पनीमा लगानी गर्ने हिस्सा भएका कारण कम्पनीको मुनाफामा सहभागी हुन पाइन्छ । साथै कम्पनीले आफ्नो व्यवसाय वृद्धि गर्दै जाँदा पुँजीगत लाभ प्राप्त हुने मात्र नभई यही सेयरलाई धितोका रूपमा प्रयोग गरी बैंकमार्फत ऋण लिनसम्म पाइन्छ । 

सेयरमा के–कस्ता सावधानी अपनाउनुपर्छ ?

सेयर भन्दैमा सबै राम्रो हुन्छ वा सबैले प्रगति गर्छन् भन्ने छैन । कम्पनीमा लगानी गर्दा त्यो कुन उद्देश्यले स्थापित भएको हो उसको व्यापार कस्तो छ, कम्पनीका संचालक कस्ता छन् विगतमा उनीहरूद्वारा संचालित व्यवसाय कस्ता छन्, कम्पनीको विकास कस्तो छ, सबैभन्दा ठूलो कुरा प्रतिसेयर आम्दानी कति छ यस्ता विषयमा विशेष ध्यान दिनु जरुरी छ । प्रतिसेयर आम्दानी हेर्दा त्यसको बजार मूल्य हेर्नुपर्छ । सेयरको तुलना मूल्य, आम्दानी र अनुपात (पिइरेसियो) द्वारा हुन्छ । 

नेपालमा अहिले सेयरतर्फ महिलाको सहभागिता कस्तो छ ?

अहिले निकै बढेको छ । स्वामित्वको हिसाबले अहिले महिलाको संख्या ५० प्रतिशतभन्दा माथि पुगिसकेको छ भने महिला आफैं सक्रिय भएर सहभागी हुने क्रममा पनि ४० प्रतिशतले बढेको छ । 

यसको कारण के होला ?

प्रविधिका कारण सेयर बजारमा लगानी गर्न सहज भएको छ । पहिले जस्तो घन्टौं लाइन लागेर आइपीओ भर्ने झन्झट अहिले छैन । घरबाटै सजिलै कारोबार गर्न सकिन्छ । कम्पनीद्वारा पाउनुपर्ने नगद तथा लाभांश सम्बन्धित मानिसको खातामा कम्पनीले नै जम्मा गरिदिन्छ । स्टेटमेन्टहरू घरबाटै हेर्न सकिन्छ । दोस्रो बजारमा काम गर्न ११ देखि ३ बजेसम्मको समय तोकिएको छ जुन महिलाका लागि फुर्सदको समय हो । कामकाजी महिलाका लागि पनि प्राथमिक र दोस्रो बजारमा कारोबार गर्दा लन्च आवरमा अनलाइनद्वारा नै कारोबार गर्न सहज छ । सानो पेवाको रकम नै किन नहोस् सेयरमा लगानी गर्न सकिन्छ । यो सुरक्षित र फैलिँदो लगानी हो । यसका नियामक निकाय धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज हुन्छन् जसले निरन्तर बजार अनुगमन गरिरहेका हुन्छन् ।

 Image