सुन्दर बन्ने रहर

सिर्जना दुवाल श्रेष्ठ

माघ १४, २०७६

   

नेपालमा कस्मेटिक सर्जरी, बोटक्स गर्नेहरूमा सेलिब्रेटीबाहेक बैंकर, बिजनेसम्यान, डाक्टर, नर्स, फ्रन्ट डेस्कमा बस्नेहरू बढी छन् । स्लिम शरीरलाई सुन्दर भन्ने परिपाटी बढेकै कारण स्लिम सेन्टरमा धाउनेको संख्या पनि बढ्दो छ ।

सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालका तर्फबाट नगमा श्रेष्ठले जाने मौका पाइन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा जान हिडेन ट्रेजरले उनको सौन्दर्य ग्रुमिङको जिम्मा टंगालस्थित दि स्किन क्लिनिककी डा. जेविना लामालाई लगायो । नगमाको सौन्दर्यमा आएको परिवर्तन धेरैले महसुस गरे । त्यसपछिका हरेक वर्ष मिस युनिभर्समा सहभागीको सौन्दर्य निखार्ने जिम्मा डा. जेविनाले नै पाइन् । क्रमश: मिस युनिभर्स मनिता देवकोटा र प्रदीप्ता अधिकारीले पनि नगमाले जस्तै ट्रिटमेन्ट पाए । गत वर्ष मिस युनिभर्समा सौन्दर्य र बौद्धिकताबाट धेरै प्रशंसा बटुलेकी मनिताले नेपालमा पनि यस्तो सुविधा र ट्रिटमेन्ट पाउँदा आफूमा आत्मविश्वास बढेको बताइन् । अरुको सौन्दर्य निखार्ने डा. जेविना आफै पनि उत्तिकै सौन्दर्य सचेत छिन् । उनले २९ वर्षदेखि बोटक्स इन्जेक्सन लगाउन सुरु गरेकी हुन् । उनी अहिले ३६ वर्षकी भइन् तर देख्नेहरू उनको उमेरको भेउ पाउँदैनन् । उनले प्रेग्नेन्सी र ब्रेस्ट फिडिङको समयमा बोटक्स लगाइनन् तर उनको स्किन बोटक्स सुरु गर्दा जस्तो थियो, अहिले पनि उस्तै छ ।

नेपालमा प्राय: सेलिब्रेटीले बोटक्स, मेडी पिल, ब्रेस्ट इम्प्लान्ट,राइनोप्लास्टी, हेयर ट्रान्सप्लान्ट बढी गर्छन् । नेपालमा कस्मेटिक सर्जरी, बोटक्स गर्नेहरूमा सेलिब्रेटीबाहेक बैंकर, बिजनेसम्यान, डाक्टर, नर्स, फ्रन्ट डेस्कमा बस्नेहरू बढी छन् । स्लिम शरीरलाई सुन्दर भन्ने परिपाटी बढेकै कारण स्लिम सेन्टरमा धाउनेको संख्या पनि बढ्दो छ । सदाबहार नायिका करिश्मा मानन्धरको सौन्दर्यको सधैं चर्चा हुन्छ । उनी योग, हिँडडुल र खानपानसँगै धेरै वर्षअघिदेखि हेल्दी होममा धाउँथिन्, जहाँ उनले पेट, थाई, कम्मर, ब्रेस्ट आदि ठाउँमा बढी भएको मासु तथा बोसो घटाउँछिन् । नायिका वर्षा शिवाकोटी, वर्षा राउत, केकी अधिकारी, ऋचा शर्माले सेपअप स्लिमिङ सेन्टरमा लामो समय उपचार गराए । उनीहरू त्यहीँबाट तोकिएको निश्चित डाइट खाएर लामै समय बसे । ५ वर्षअघिकी नायिका श्वेता खड्का र अहिलेकी श्वेतामा आकाश–जमिनको फरक पाइन्छ । उनको स्किनको ग्लोदेखि फिटले पनि उनको सौन्दर्यमा निखार देखिनु धेरैको खुलदुलीको विषय हो । उनी लामो समयदेखि जेविनाकी स्किन क्लिनिककी ग्राहक हुन्, जहाँ उनले स्किनको ट्रिटमेन्ट गराएकी छिन् । उनी त्यहाँ भ्याम्पायर फेसियल, मेडी पिललगायत उपचार गराउँदै आएकी छिन् । उनी बोटक्स र आफूलाई मन नपरेका केही अङ्गमा कस्मेटिक सर्जरी गराउने योजनामा छिन् । 

खुसी हुन र आत्मविश्वास बढाउन स्मार्ट र फिट हुनुपर्ने श्वेताको अनुभव छ । त्यस्तै नायिका बेनिशा हमाल, ऋचा शर्मा, परमिता आरएल राणा, कुञ्जना घिमिरे, मिस नेपाल प्रीति सिटौला पनि स्किन केयरमा धाउने सेलिब्रेटी हुन् । अनिल केशरी शाहलगायत नाम चलेका थुप्रै बैंकरहरू पनि जेविनाको स्किन क्लिनिकका नियमित ग्राहक हुन् । अहिले मुम्बईमा मोडलिङ गरिरहेकी मुना गौचनले केही समयअघि आफ्नो अनुहारमा भएका १४ वटा कोठी स्वस्ति लेजरमा गएर हटाइन् । मुनासँग जन्मजात अनुहारभरि साना–ठूला कोठी थिए । मोडलिङमा छँदा ठूला कोठीहरू काउन्सुलरले समेत छोप्न कठिन भएकाले कोठी हटाउनु परेको उनले बताइन् ।

केश झरेर तालु हुने समस्यामा पनि धेरै सेलिब्रेटी छन् । केश प्रत्यारोपण गरिने प्रविधि नेपाल भित्रिएपछि भने केशसम्बन्धी समस्या स्वात्तै घटेको पाइन्छ । सन् २०११ मा मिस्टर नेपाल बनेका डा. आयुष्मान घिमिरे फिल्म चकलेटका अभिनेता हुन् । अभिनय र मेडिकललाई सँगसँगै अघि बढाइरहेका उनले ‘आवरण स्किन एन्ड हेयर क्लिनिक’ सञ्चालन गर्दै आएका छन् । उनी आफैले शिरको दुई किनारामा केश उमारेका छन् । उनले अभिनेतृ माला लिम्बूको आँखीभौं पनि प्रत्यारोपण गरे । डा. घिमिरेका अनुसार अभिनेतृ मलिना जोशी, अभिनेता अनुपविक्रम शाही, गायक भरत सिटौला, यशकुमार, रामचन्द्र पौडेल, सुनीलसिंह ठकुरीलगायत सेलिब्रेटीले उनीसँग केश प्रत्यारोपण गराएका छन् । सुरुमा सेलिब्रेटीहरू केश प्रत्यारोपण गर्न डराए पनि जनचेतना र प्रत्यारोपण केन्द्र बढेसँगै नेपालमा केश प्रत्यारोपण गराउनेको संख्यामा वृद्धि भइरहेको छ ।

मान्छे सदा सौन्दर्यको प्रशंसक हुन्छ । महिला होस् वा पुरुष आफ्नो व्यक्तित्वको प्रशंसा सुन्न सबै चाहन्छन् । तर सुन्दरी वा सुन्दर कसलाई भन्ने ? सौन्दर्य रूप मात्र हो वा त्यसको सार पनि हुन्छ ? सौन्दर्य आफैमा एउटा गहन विषय हो । सौन्दर्यको बयान नभएको कुनै पनि संस्कृति वा दर्शन हुँदैन । साहित्य वा गीतमा पनि सौन्दर्यको प्रसंग आइरहन्छ । सौन्दर्यको मापन समाजको संस्कृति र चिन्तनले पनि निर्धारण गर्छ तर मानिसको व्यक्तित्व सुरुमा त बाह्य सौन्दर्यबाटै झल्किन्छ । झट्ट हेर्दा देखिने अनुहार र शरीरको झलकले सौन्दर्यको पहिलो चिनारी दिन्छ, त्यसपछि मात्रै बानी–व्यवहार र सारलाई हेरिन्छ । त्यसकारण पनि सुन्दर हुनका लागि मानिस समय र पैसा खर्चिन हिच्किचाउँदैनन् । आफूले चाहेजस्तो अङ्ग नहुँदा कतिले रहर गरेर पनि सर्जरी गर्छन् । चाहनाअनुसारको शरीर वा अनुहार बनाउने चलन यूरोप, अमेरिका र भारतमा जस्तै नेपालमा पनि बढ्दैछ । अनुहारका दाग, चायाँ–पोतो, अनावश्यक रौं, कोठी, खत लिएर हिँड्न नचाहनेहरू पनि हुन्छन् । दुर्घटनाका कारण वा जन्मजात कुनै अङ्गमा खोट आयो भने त्यसलाई सामान्य पार्न ‘प्लास्टिक सर्जरी’ विधि प्रयोग गरिन्छ । 

तर यतिमा मात्र सीमित छैन । चलिआएको सुन्दरको मापदण्डअनुसार सुन्दर देखिन अङ्गहरूको ‘मर्मत’ गर्ने प्रवृत्ति बढ्दो छ । आँखा, ओठ, नाक, स्तनलाई चाहेको आकार दिनेदेखि यौनाङ्ग कसिलो बनाउनेसम्मका लागि प्लास्टिक सर्जनकहाँ धाउनेहरू थुप्रै छन् । बिग्रेको मेसिनरी सामान ‘रिपेयर’ गरेजस्तै हिजोआज स्वास्थ्य विज्ञानले अप्रेसन विधिबाट मानिसको शरीर पनि मर्मत गर्ने सुविधा उपलब्ध हुन थालेको छ । मेडिकल भाषामा ‘प्लास्टिक सर्जरी’ का रूपमा चिनिने ‘कस्मेटिक’ तथा ‘कन्सट्रक्टिभ’ सर्जरीबाट सुन्दर हुन चाहनेहरू बढ्दै गएको सर्जरीमा संलग्न चिकित्सकहरू बताउँछन् । 

यौनिक अल्पसंख्यकका लागि ट्रान्सजेन्डर कस्मेटिक सर्जरी सेवा पनि नेपालमा उपलब्ध छ । ‘मेल’ बाट ‘फिमेल’ बन्न चाहनेका लागि ब्रेस्ट इम्प्लान्ट अप्रेसन गर्ने, अण्डकोष निकाल्ने, अनुहार सानो देखाउने कस्मेटिक सर्जरी हुने गरेका छन् । फिमेलबाट मेल बन्नेका लागि ब्रेस्ट निकाल्ने अप्रेसन पनि नेपालमै हुन्छ । स्पष्ट कानुनी प्रावधानको अभावमा लिङ्ग परिवर्तन गर्ने अप्रेसन भने हुन सकेको छैन । कानुन हुने हो भने ट्रान्सजेन्डरका लागि नेपालमै लिङ्ग परिवर्तनको सर्जरी पनि गर्न सकिन्छ । जानकारीको अभावमा अहिले धेरै ट्रान्सजेन्डरहरू विदेशमा महँगो शुल्कमा यस्ता सर्जरी गराउन बाध्य छन् ।

गालाको पोतोले दिक्क बैंकर रिता लिम्बू नेपाल स्किन हस्पिटल पुगिन् । पोतोले सौन्दर्यमा ह्रास ल्याएको भन्दै उनी निकै चिन्तित थिइन् । अस्पतालमा डर्मेटो कस्मेटोलोजिस्ट तथा स्किन सर्जनले उपचार गरेपछि उनले चाहेअनुसार पोतो मेटियो, गाला चम्किए । त्यतिले उनी सन्तुष्ट भइनन्, उनले आफू आकर्षक देखिन गालामा कृत्रिम डिम्पल बनाइन् । दुई वर्षअघि एयर होस्टेजको कोर्स गरिरहेकी मनिता लावतीलाई आफ्नै नाक र आँखा पटक्कै मन पर्दैनथे । जिउडाल मोडलझैं देखिने मनितालाई आँखा र नाकले आत्मविश्वासमा कमी आएको महसुस हुन्थ्यो । उनले बुवासँग सल्लाह गरी स्वस्ति लेजर एन्ड स्किन केयरमा आँखा तथा नाकको कस्मेटिक सर्जरी गराइन् । उनी अहिले कतार एयरवेजमा कार्यरत छिन् । 

अस्ट्रेलियामा बसोबास गर्दै आएकी स्नेहा रिसाल बेला–बेला नेपाल आउँदा उनको पहिलो गन्तव्य हुन्छ–स्किन क्लिनिक । त्यहाँ उनी अनुहारको चाउरीपनको उपचार गराउँछिन् । अस्ट्रेलियामा बोटक्स लगाउँदा महँगो पर्ने भएकाले उनी नेपालमा बोटक्सलगायत भ्याम्पायर फेसियल, स्किन टाइटिङ ट्रिटमेन्ट गर्छिन् । नेपाल आउँदा पैसा त बच्ने भइहाल्यो, त्यसमा ८२ वर्षकी आमा भेट्न पाउने दोहोरो फाइदा छ । ६२ वर्ष काटिसके पनि उनी झट्ट हेर्दा ४० वर्षकी जस्ती देखिन्छिन् ।

आँखा सानो हुनु, नाक सुलुत्त नपर्नु वा स्तनको आकार सानो–ठूलो हुनु, कोठी आउनु कुनै रोग होइन । न त्यो शरीरको कुनै कमजोरी हो । तर, यसलाई समस्याका रूपमा लिनेहरूको ठूलो पंक्ति छ । सुन्दर देखिने होडमा सबै छन् । मनोविद् अर्चना हाडा मनोवैज्ञानिक कारणले आफूलाई कमजोर वा अनाकर्षक महसुस गराउँछ, आत्मविश्वास घटाउँछ । मृगनयनी भनेर ठूला आँखालाई सुन्दर देख्ने दक्षिण एसिया र संस्कृत शास्त्रको पुरातन मान्यता छ । मृगनयनी बनाउने मेडिकल प्रक्रिया ‘एसिएन्स आइलिड सर्जरी’ हो । साना आँखा हुनले यो सर्जरीको सहायता लिन्छन् । सबैले आँखा सुन्दर देखाउन मात्रै यो सर्जरी गर्दैनन् । केही समयअघि स्किन क्लिनिकमा मगर समुदायकी एक युवती एसिएन्स आइलिड सर्जरी गर्न आएकी थिइन् । उनका पुरुष साथी बाहुन समुदायका थिए । बाहुन परिवारमा बुहारी हुनुअघि उनी आँखा ठूला पार्न पुरुष साथीसहित आएकी थिइन् ।

यस्ता धेरै कारणले सर्जरीका लागि अस्पताल धाउनेको जमात बढेको छ । स्किन आर्ट अस्पतालका निर्देशक जागृत खनाल अहिले कस्मेटिक सर्जरी गराउने लहरै चलेको बताउँछन् । एक दशकअघि मात्रै भित्रिएको यो विधिबाट उपचार गराउन राजधानीमा एक दर्जनभन्दा बढी अस्पताल र क्लिनिक उपलब्ध छन् । इन्टरनेटको पहुँचले कुन अङ्ग कसरी आकर्षक देखाउने भन्ने ज्ञान बटुल्न सहज छ । कतिले त आफूलाई मनपर्ने विदेशी सेलिब्रेटीको नक्कल गर्ने गरेको नेपाल स्किन केयरकी डा. मनीषा सिंहको अनुभव छ । डा. सिंह भन्छिन्, ‘हामीकहाँ आउनुअघि नै सेवाग्राहीले कुन अङ्ग कसरी बनाउने भन्ने निर्णय गरिसकेका हुन्छन् । हामी सम्भव भएसम्म उनीहरूको इच्छा पूरा गरिदिन्छौं ।’

सबैले सुन्दर देखिने लहडले कस्मेटिक सर्जरी गर्दैनन् । कसैलाई सर्जरी बाध्यता बनिदिन्छ । नक्सालकी तारा रायमाझी (नाम परिवर्तन) को स्तन अत्यन्त सानो थियो । लुगा लगाउँदा मिल्दैनथ्यो । विवाहका लागि पनि उनलाई धेरै केटाले अस्वीकार गरे । उनी मनोवैज्ञानिक रूपमा डिप्रेसनको सिकार भइन् । परिवारले नै उनको ‘ब्रेस्ट इम्प्लान्ट’ गरिदिए । त्यसपछि उनको विवाह भयो । उनी अहिले एक छोरा र एक छोरीकी आमाका रूपमा खुसीका साथ जीवन बिताइरहेकी छिन् ।

साना आँखा हुँदा परेला र आँखाको ढकनीबीच स्पेस कम भएर फोल्ड नहुन सक्छ । त्यसैले गर्दा आँखा एकदमै साना देखिन्छन् । अप्रेसनबाट ढकनी फोल्ड हुने र परेला प्रस्टसँग देखिने बनाउन सकिन्छ । एकपटक अप्रेसन गराएपछि यो स्थायी हुन्छ र आँखाको ढकनीमा दाग पनि देखिँदैन । ‘नोज रिसेपिङ’ भनिने नाकको मर्मत प्रक्रियामा ठूलोलाई काटेर ठिक्कको बनाउने र सानोलाई कुर्कुरे हाड जोडेर ठूलो बनाउन सकिन्छ । इम्प्लान्ट राखेर नाकको आकार फेर्ने सुविधा पनि नेपालमा छ । चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ सर्जरी पनि नेपालमा हुन्छ । स्तन घटाउने र बढाउने सर्जरी, सिलिकन राखेर स्तन ठूलो देखाउने, टाइट बनाउने र ठूलोलाई घटाएर सानो बनाउने सर्जरी हुन थालेको एक दशक बितिसकेको छ । स्तन नै सौन्दर्यको मापक होइन तर यसैलाई महिलाको सौन्दर्यसँग जोडेर हेरिने भएकाले कतिपय महिला यसको आकारलाई लिएर चिन्तित हुने गरेको पाइन्छ । स्तन ठूलो देखाउने ‘ब्रेस्ट इम्प्लान्ट’ बिलकुलै कस्मेटिक कुरा हो । 

स्तनको आकार कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । १८ देखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्टपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नुहुँदैन । ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला चाउरिने र झोल्लिने भएकाले इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुनसक्छ । स्तन ठूलो भएका कारण अस्वाभाविक देखिने, ठूला स्तनका कारण ढाड तथा गर्धन दुख्ने, कपडा लगाउँदा नमिल्ने भन्दै कतिपय अविवाहित युवती स्तनको साइज घटाउन चिकित्सककोमा आउने गरेका छन् । झोल्लिएका स्तन ‘अपलिट’ गर्ने अप्रेसनका लागि पनि महिलाहरू आउने गरेका छन् । पेट र हिपको पनि रिपेयर हुन्छ । खानपिन र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या सहरवासीमा धेरै देखिन्छ । शारीरिक अभ्यास लामो प्रक्रिया हुने भएकाले सर्जरीकै माध्यमबाट ‘छिनेको कम्मर’ बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाउन धेरै महिला एवं पुरुष आउने गरेका छन् । यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ । त्यसरी पेटमा झोल्लिएको छालासमेत चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अप्रेसन गराउनेहरू पनि बढ्दैछन् ।

अनुहारको सर्जरी 

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । आँखा, कान, छाला, नाक, मुख आदिको सर्जरी गरेपछि अनुहार पूर्ण सुन्दर हुन्छ । अनुहारको सर्जरी रिकन्स्ट्रक्टिभ र कस्मेटिक गरी दुई किसिमको हुन्छ ।

रिकन्स्ट्रक्टिभ सर्जरी

अनुहार पोलिएको छ वा पूरै अनुहारमा रौं आएको छ भने त्यसलाई हटाउन रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ । अनुहार अङ्गभङ्ग भएर नराम्रो देखिएको छ भने त्यसलाई हटाउन पनि यस्तो सर्जरी गरिन्छ । बाहिरी कारणले अनुहार बिग्रिएको छ भने पनि रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ । 

कस्मेटिक सर्जरी

कस्मेटिक सर्जरी अनुहार राम्रो बनाउन गरिन्छ । विशेष गरेर आफूलाई सुन्दर देखाउन चाहनेले यस प्रकारको सर्जरी गर्ने गरेका छन् । विदेशमा धेरै कलाकारले यो सर्जरी गर्छन् । अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनदेखि सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । नेपालीहरू खासै प्लास्टिक सर्जरीबारे जानकार छैनन् । 

कसरी गर्ने कस्मेटिक सर्जरी ?

अरूको लहैलहैमा लागेर कस्मेटिक सर्जरी गर्नुभन्दा राम्रोसँग बुझेर गर्नुपर्छ । कस्मेटिक सर्जरी दुई प्रकारले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को सुईको माध्यमबाट । जुनसुकै उमेर समूहले कस्मेटिक सर्जरी गर्न मिल्छ । नेपालमा विशेषगरी युवाहरूले प्लास्टिक सर्जरी गर्छन् । जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै खोट भएमा कस्मेटिक सर्जरी गरिन्छ । 

डाक्टरसँगको काउन्सिलिङपछि प्लास्टिक तथा कस्मेटिक सर्जरी गर्नु उपयुक्त हुन्छ । यो लहडका भरमा गरिने कुरा होइन । सर्जरी किन गर्ने, गरेपछिको अवस्था कस्तो हुन्छ, पहिले नै जानकार हुनुपर्छ । कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा यो सेवा सर्वसुलभ पाइन्छ । नेपालमा रहेका युवाहरू प्लास्टिक सर्जरीका लागि विदेश जाने गरेका छन् । हङकङ, जापान, बेलायततिर बस्ने नेपाली भने उताभन्दा यतै सस्तो पर्ने भएकाले नेपाल आउने गरेको डाक्टर शाक्यले बताए । 

कस्तो अवस्थामा गरिन्छ सर्जरी ?

साना आँखालाई ठूलो पार्न, लाम्चो देखाउन सर्जरी गरिन्छ । झोल्लिएको छाला, नमिलेको गाला, निधार आदि मिलाउन, आगोले पोलेको दाग हटाउन, बाङ्गो कान सामान्य बनाउन । ओठ र तालु फाटेको बनाउन, ओठ सानो–ठूलो बनाउन । आँखाको तलपट्टि जमेको बोसो र कालो भाग हटाउन ।

अनुहारमा कस्मेटिक सर्जरी गरेपछिको अवस्था

कस्मेटिक सर्जरी गरेपछि सामान्य अवस्थामा आउन एकदेखि चार हप्तासम्म लाग्न सक्छ । सर्जरी गर्दा सुन्निने वा नीलो डाम बस्ने भएकाले त्यो निको हुन समय लाग्छ । त्यसकारण केही समय आराम गर्नुपर्ने हुन्छ । 

आकर्षक ओठ र गालामा डिम्पल

सुन्दर भनिने अभिनेतृहरू हेरेर ‘फलानीजस्तो’ बनाइदिनू भन्दै युवतीहरू डाक्टरलाई ओठको क्ल्यू दिन्छन् र डाक्टरले त्यसैअनुसार चिटिक्क मिलाइदिन्छन् । यसलाई ‘लिप इन्ह्यान्समेन्ट’ भनिन्छ । पातलो ओठलाई ‘फिलर्स’ राखेर ठूलो देखाउँछन् । ओठमा राखिने ‘फिलर्स’ मानव शरीरमा पाइने एक प्रकारको तत्त्वबाट बनाइने भएकाले यसले कुनै असर नगर्ने र नेचुरल लुक दिने डा. स्वाती अग्रवाल बताउँछिन् । 

भारतीय अभिनेतृ प्रीति जिन्टाको जस्तै डिम्पल चाहने युवतीहरू थुप्रै भएको डा.अग्रवाल बताउँछिन् । ‘डिम्पल क्रिएसन’ नाम दिइएको यो सर्जरी मोडलिङ वा अभिनयलाई करिअरका रूपमा अघि बढाउन चाहने युवतीले गरिरहेको बताइन्छ । धेरै महँगो नपर्ने भएकाले धेरै युवतीले डिम्पल बनाउन चाहने गरेको डाक्टरहरू बताउँछन् । चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ गर्न चाहने पनि कस्मेटिक सर्जरी सेवा उपलब्ध हुने अस्पतालमा धाइरहेका छन् ।

 

स्तन घटाउने र बढाउने बराबरी

स्तनभित्र सिलिकन राखेर ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । डा. शाक्यका अनुसार सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै हानि नगर्ने विशेष प्रकारको रबर हो । स्तनको आकारअनुसारको साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्यसभन्दा माथि हुने जानकारी डा. प्रधानले दिए । नेपालमा सयदेखि २ सय ५० सीसीसम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको डा. रीमा श्रेष्ठ बताउँछिन् ।

पेट र हिप रिपेयर गर्नेहरू

खानपान र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या सहरवासीमा धेरै देखिन्छ । शारीरिक अभ्यासबाट भन्दा सर्जरीकै माध्यमबाट ‘छिनेको कम्मर’ बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । ठूलो हिप र थाई भएकाहरूले पनि अप्रेसन गरेर सानो बनाइरहेका छन् । कस्मेडमा मिस नेपाल रुबी राणा शाहले लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाएकी थिइन् । यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ । पेटमा झोल्लिएको छाला चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अप्रेसन गराउनेहरू पनि बढ्दैछन् । यसमा प्राय: बालबच्चा भएका सेलिब्रेटी महिलाहरू बढी छन् । यसले जस्तो पहिरन पनि लगाउन सकिने र स्मार्ट देखाउने हुँदा धेरैको आकर्षण बढेको मिस नेपाल शाह बताउँछिन् । 

ट्रान्सजेन्डरका लागि पनि सर्जरी सुविधा

यौनिक अल्पसंख्यकका लागि पनि विभिन्न कस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छन् । ‘मेल’ बाट ‘फिमेल’ बन्न चाहनेका लागि ब्रेस्ट इम्प्लान्ट अप्रेसन, अण्डकोष निकाल्ने, अनुहार सानो देखाउने कस्मेटिक सर्जरी पनि नेपालमै गरिन्छ । फिमेलबाट मेल बन्नेका लागि ब्रेस्ट निकाल्ने अप्रेसन पनि गर्ने गरिएको छ ।

        

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>