कहालीलाग्दो छाउपडी

रामेश्वरी पन्त

माघ २, २०७६  

 मानिसभित्रको सबैभन्दा ठूलो ‘डर’ धर्म र देवता हो । धर्मसागै जोडेर समाजले महिलामा हुने नियमित जैविक प्रकृयालाई पाप र अपवित्र बनाइदियो र महिलामाथि हिंसा र कष्टको भारी बोकाइदियो ।

 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै क्रममा गत मंसिर १५ गते अछामको साँफेबगरकी २१ वर्षीया पार्वती बूढा रावतको छाउगोठमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भयो । अभियान संयोग मात्र हो, मध्य तथा सुदूरपश्चिमका जिल्लामा हरेक वर्ष कैयौं पार्वतीहरूको रजस्वला भएको अवस्थामै छाउगोठमा मृत्यु भएका खबरहरू आइरहन्छन् । यस्ता घटनालाई त्यहाँको समाज र परिवारले सकेसम्म बाहिर आउनै नदिने हुँदा संचारमाध्यमको पहुँचमा नआएका तर छाउगोठमा मरेका पार्वतीहरूको संख्या थुप्रै हुनसक्छ । यस्तो विडम्बनापूर्ण अवस्थाको जिम्मेवार को त ? प्रश्न जटिल छ । 

हरेक पटक छाउगोठमा मर्ने पार्वतीहरूको केही दिन संचारमाध्यममा चर्चा हुन्छ । छाउपडी प्रथाविरुद्ध कानुनी बहस चल्छ । सामाजिक चेतनाको कुरा उठ्छ तर फेरि कुनै रात अर्की पार्वती छाउगोठमा निसास्सिएर मर्न विवश हुन्छिन् । समस्या जहाँको तहीँ । यसपटक पार्वती बूढाको मृत्युपछि यो अमानवीय प्रथाविरुद्ध धेरै आवाज उठे, धेरैले कलम चलाए । मध्य तथा सुदूरपश्चिमका केही संचारकर्मीले छाउप्रथा र यसका कारण भएका मृत्युका घटनाका बारेमा गहिरिएर लेखे । 

धर्म कहिलेदेखि सुरु भयो ? अनि महिलामा हुने जैविक प्रक्रियालाई धर्मसँग जोडेर छुई बार्ने चलनको सुरुवात कहिलेदेखि भयो ? पक्कै पनि यी प्रश्नहरूले लामै अध्ययन–अनुसन्धानको माग गर्छन् । मानवशास्त्र भन्छ–मान्छेले आफूलाई भयबाट मुक्त गर्न र आफ्नो रक्षाका लागि देउताको निर्माण गरे । भयमुक्तिका लागि आफैले बनाएका देउता फेरि किन आफ्नै लागि भयको कारण बने त ? अनि त्यो देउताको भयको कारक किन नारीलाई बनाइयो ? रजस्वलामा त्यस्तो के छ, जसले आफैले निर्माण गरेका देउतालाई रिसाउने बनाउँछन् ? कसरी निर्माण भयो यस्तो चलन ? 

आज संसारका धेरै जात र धर्मका महिला यो भयबाट ग्रसित छन् । के प्राचीन नारीहरू रजस्वला हुँदा छुई बारेर अलग्गै बस्थे ? पूर्वीय सभ्यताको विकासमा वैदिक युगलाई उत्कृष्ट युग मानिन्छ । वैदिक ऋषि–महर्षिहरू सभ्यताका वाहक थिए । सबैभन्दा पुरानो वैदिक ग्रन्थ ऋग्वेदमा रजस्वलाका बारेमा किन केही उल्लेख गरिएन ? ऋग्वेदका कैयौं सूक्तहरू नारीबाटै रचिएका मानिन्छन् । यसै प्रसंगमा साहित्यकार एवं ऋग्वेदका ज्ञाता मदनमणि दीक्षितले ‘ऋग्वेदमा समवेत पर्यावरण’ मा लेख्नुभएको छ, ‘ऋग्वेदजस्तो प्राचीन वैदिक ग्रन्थमा कहीँ–कतै पनि नारीमा हुने रजस्वलाका बारेमा केही पनि उल्लेख नहुनु आश्चर्यजनक छ । के त्यो युगमा कुनै पनि नारीले कहिल्यै ‘मासिकधर्म’ को अनुभव गरेनन् होला ?’ पाँच हजार वर्षअघि लेखिएको ऋग्वेदमा रजस्वलाको प्रसंग नपाइनुले त्यो युगमा रजस्वला आजजस्तो महत्वको थिएन वा भयको रूपमा हेरिँदैनथ्यो भन्ने बुझिन्छ । बरु प्राचीन युगमा रजस्वलालाई उत्सव मानिन्थ्यो भन्ने केही प्राचीन ग्रन्थमा उल्लेख भएको पाइन्छ । संसारका केही समाजमा नारी रजस्वला हुँदा खुसी मनाउने परम्परा अहिले पनि छ । ती समाजमा न उनीहरूका देवता रिसाउँछन्, न कुनै अनिष्ट हुन्छ । 

सुरुवात जसरी भए पनि परम्परा अत्यन्तै अमानवीय र स्त्रीद्वेषी छ र यसको अन्त हुनु जरुरी छ । रजस्वलाको भय पुरुषमा भन्दा कैयौं गुणा बढी महिलामा छ । नियमित जैविक प्रक्रियासँग नारीहरू आफै किन डराउँछन् ? बुझिनसक्नु छ । छुईप्रथालाई ‘पितृसत्तात्मक सामन्तवादी मानसिकताको उपज’ पनि भनिन्छ । तर यसले निरन्तरता पाउनुमा महिलाभित्रको ‘भयवादी’ मानसिकताको भूमिका पनि छ । यस्तो मानसिकता नेपालको मध्य तथा सुदूरका महिलामा मात्र छैन, अत्यन्त शिक्षित र सभ्य भनिएको राजधानी तथा सहरका पढालेखा महिलामा पनि छ । फरक यत्ति हो, उताका महिलाको अवस्था कहालीलाग्दो छ, यताका महिलाको अवस्था दयालाग्दो । 

सहरी शिक्षित महिलाको अवस्था दयनीय किन भन्ने प्रश्न उठ्ला । सहरका महिला पनि ‘देउताको डर’ बाट बाहिर निस्केका छैनन् । देउताकै डरले रजस्वला हुँदा भान्सा र पूजाकोठामा नजाने र तीन दिन अलग्गै बस्ने गर्छन् । इनार वा ट्याङ्कीको पानी छोइन्छ भनेर पानी तान्ने बिजुलीको स्वीच अन गर्न पनि नमान्ने सहरिया स्नातक महिला धेरै देखिएको छ । मानव सृष्टिलाई निरन्तरता दिन विवाह अनिवार्य मानिएको हुन्छ र त्यसभन्दा पनि अनिवार्य प्रक्रिया हो, महिलामा हुने रजस्वला । 

गत मंसिरमा यही विवाह र रजस्वला सम्बन्धमा आफूले देखेको घटना यहाँ उल्लेख गर्नु उपयुक्त लाग्यो । अमेरिकाबाट जीवविज्ञानमा विद्यावारिधि गरेकी एक महिला बहिनीको विवाहमा काठमाडौं आइन् तर विवाहको अघिल्लो दिन बिहानै रजस्वला भइन् । उनीभित्रको ‘डर’ ले उनलाई चूप लाग्न दिएन र आफू रजस्वला भएको खबर परिवारलाई दिइन् । भोलिपल्ट विवाहमा सबै सहभागी हुँदा, बहिनीलाई टीका लगाइदिँदा उनलाई पनि त्यो सब गर्न मन थियो । तर उनले रजस्वला रोक्ने औषधि खान बिर्सिन् । बेहुली बहिनी पनि एक हप्ताअघिदेखि रजस्वला रोक्ने औषधि खाएर बसेकी थिइन् । 

‘बहिनीको विवाह भनेर त्यति टाढादेखि आइयो, क्या नमज्जा लाग्यो ।’ दिदीको टिठलाग्दो अनुहार हेर्दै मैले भनें–‘हल्ला नगरी चूप लागेको भए भइहाल्थ्यो π के फरक पर्छ र π’ उनले भनिन्, ‘के गर्नु, भोलि केही नराम्रो भैदियो भने अपजस मेरै टाउकोमा आउँछ ।’ 

‘तिमीलाई रजस्वला पाप जस्तो लाग्छ ?’ मैले प्रश्न गरें । ‘त्यो त होइन, तर डर नै ठूलो कुरा रहेछ ।’ रजस्वलाका बारेमा शिक्षित, अझ महाशिक्षित महिलाभित्रै पनि यस्तो भ्रम र त्रास कायम रहनु र त्यसबाट मुक्त हुन नचाहनु हाम्रो दुर्भाग्य हो । हामी पढालेखा सहरिया महिलाले नै यसलाई पाप र अपवित्र मान्छौं भने अति दुर्गम गाउँका अशिक्षित महिला रजस्वला हुँदा छाउगोठमा पुग्नुलाई कसरी आश्चर्य मान्ने ?

मानिसभित्रको सबैभन्दा ठूलो ‘डर’ धर्म र देवता हो । धर्मसँगै जोडेर समाजले महिलामा हुने नियमित जैविक प्रक्रियालाई पाप र अपवित्र बनाइदियो र महिलामाथि हिंसा र कष्टको भारी बोकाइदियो । नारीले यो कष्ट र अपमानको भारी बोक्दै आएको कैयौं युग बिते होलान्, यो अवधिमा परिवर्तनका कति शृंखला पार भए होलान् तर नारीभित्रको यो पवित्र सुखानुभूतिलाई आज पनि नारीहरूले नै पाप मानिरहेछौं र देउताको त्रासबाट मुक्त हुन सकिरहेका छैनौं । हामीले यो बुझेका छैनौं कि हामीले पुज्ने देउताहरूमध्ये आधा त स्त्रीशक्ति अर्थात् देवीहरू नै छन् ।

के ती नारीशक्तिहरू रजस्वला भए भनेर कुनै महिना तिनको पूजा रोकिएको छ ? प्रजनन प्रक्रियाको यो चरणबाट उनीहरू वञ्चित थिए भने किन उनीहरूलाई मातृशक्ति भनियो ? अपवादमा भारतको कामरूपमा रहेकी कामाख्या देवीको मन्दिरमा महिनामा तीन दिन ती देवी ‘रजस्वला हुने’ भन्दै पूजा रोकिन्छ रे π अनि चौथो दिन धूमधामसित देवीको ‘रज’ भन्दै रक्तरञ्जित वस्त्र र जललाई ‘प्रसाद’ का रूपमा दर्शनार्थीलाई बाँडिन्छ रे π यस्तो प्रसादलाई उत्साहपूर्वक ग्रहण गर्ने त्यही समाजले नारीमा हुने यही प्रक्रियालाई अछूत र अपवित्र भनिदिन्छ । रजस्वला अछूत वा पाप हो भने किन बाँडिन्छ यसरी कामाख्यादेवीको प्रसाद ? कामाख्या तिनै देवी हुन्, जसको पूजा सगर्व उनको योनिमा हुन्छ । तर धर्मान्ध समाजले जिउँदा देवी (नारी) हरूमा हुने रजस्वलालाई किन भयावह र अछूत बनाएको होला ?

दुनियाँबाट सतीप्रथा हट्यो । पतिको (पति मात्र होइन, मालिकको पनि) लाससँगै जिउँदै जलेर मर्नुपर्ने बाध्यताबाट महिलाले मुक्ति पाएको दिनले शताब्दीर्फको यात्रा गरिरहेछ । तर महिलामाथिको लगभग उस्तै बर्बर यातनाबाट आज पनि हाम्रो देशको मध्य र सुदूरपश्चिमका दिदीबहिनीहरूले दर्दनाक मृत्यु वरण गर्नुपरिरहेछ । के यो मृत्युले मानव सभ्यतालाई गिज्याइरहेको छैन ? 

एउटी महिला जिउँदै चितामा जलिरहेको दृश्य देखिरहेकी कुनै अर्की महिलाको हृदय पोलेन होला ? के उनले सतीप्रथाविरुद्ध बोलिनन् होला ? योगमाया न्यौपाने त्यसै ‘योगमाया’ भएकी होइनन् । कुप्रथाविरुद्ध आवाज उठाउँदै अन्तत: आफैलाई सहादत गर्ने योगमायाजस्तै ‘योगमायाहरू’ नजन्मिने हो भने अझै कैयौं वर्षसम्म नेपालमा धेरै पार्वती, गौरा र लक्ष्मीहरू छाउगोठमा निसास्सिएर मर्नेछन् । त्यसैले यस्तो अमानवीय प्रथाविरुद्ध समाजका महिला अझ पढेलेखेका शिक्षित छोरी–बुहारीहरूले आ–आफ्नो घरबाट क्रान्तिको राँको सल्काउनु जरुरी छ । उनीहरूबाटै छाउप्रथाको अवज्ञा नै यो क्रूर परम्पराको अन्त्यको थालनी हुनेछ । सतीप्रथाजस्तै छाउपडी प्रथा पनि समाजबाट उन्मूलन हुनुपर्छ । यसका लागि कानुन प्रभावकारी रूपमा लागू गर्नुपर्छ, छाउ बस्ने र बस्न बाध्य पार्ने सबैलाई कैद हाल्नुपर्छ । 

सुदूरपश्चिममा छाउमुक्त समाज बनाउने हो भने त्यहाँ प्राथमिक तहदेखि नै छाउपरम्पराविरुद्ध चेतनामूलक सामग्री पाठ्यक्रममा राखेर पढाउनुपर्छ । महिलाहरू छाउगोठमा कठ्याङ्ग्रिने होइन, विद्रोहको रापमा खारिएर बाहिर आउन सक्नुपर्छ । यसको नेतृत्व रजस्वलामा देउताको डरले कक्षाकोठामा पस्न नमानेर चौरमै पढाउने महिला शिक्षक र उनीबाट शिक्षा लिने छोरीहरूले नै गर्नुपर्छ । जबसम्म उनीहरूले छाउपडीलाई भस्म पार्ने साहस बटुल्दैनन्, तबसम्म छाउ अन्त्य कल्पना मात्र हुनेछ । समाजको अघिल्लो पुस्तामा रजस्वलाका बारेमा रहेको भ्रम हटाउन नयाँ पुस्ताका छोराछोरी जागरुक हुनुपर्छ । नत्र हामीजस्ता दुईचार महिलाले राजधानीमा बसेर पश्चिम नेपालको छाउपडीका बारेमा लेखेर वा बोलेर मात्रै केही हुँदैन । त्यसो त नदेखिने छाउप्रथाले यताका शिक्षित र सहरिया महिलालाई पनि गाँजिरहेको दयालाग्दो अवस्थामा उताको कहालीलाग्दो छाउप्रथाका बारेमा लेखिरहँदा कताकता लज्जाबोध भइरहेछ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>