Successfully Copied

गमलाको बगैंचा

आजभोलि गमलामा बोटबिरुवा हुर्काउने प्रचलन बढ्दो छ । समय र मेहनत खर्चिनु नपर्ने, चाहेअनुसारका बोटबिरुवा आफूले चाहेको ठाउँमा हुर्काउन सकिने, प्रयोगमा नआएका अप्ठ्यारा ठाउँ तथा कुना काप्चाहरूलाई समेत प्रयोगमा ल्याउन सकिने हुँदा पनि गमलामा फूलबगैंचा लगाउने प्रचलन बढ्दै गएको हो ।

पहिले जस्तो फूलबारी, ठूल्ठूला कौसी भएका घर अहिले निकै कम छन् । तैपनि ती साना ठाउँलाई उपयोग गरी प्राकृतिक, सुन्दर एवं हरियो वातावरण कसरी बनाउने भनेर लागिपरेका छन् प्रकृतिप्रेमीहरू । त्यसैले आजभोलि गमलामा बोटबिरुवा हुर्काउने प्रचलन बढ्दो छ ।

समय र मेहनत खर्चिनु नपर्ने, चाहेअनुसारका बोटबिरुवा आफूले चाहेको ठाउँमा हुर्काउन सकिने, प्रयोगमा नआएका अप्ठ्यारा ठाउँ तथा कुना काप्चाहरूलाई समेत प्रयोगमा ल्याउन सकिने हुँदा पनि गमलामा फूलबगैंचा लगाउने प्रचलन बढ्दै गएको हो । थोरै जमिन भएका वा जमिन नै नभएका, सानो बजेट भएका तथा फुर्सद कम हुने फूलबिरुवा प्रेमीहरूका लागि पनि गमला वरदान नै साबित भएको छ ।

 

चिसो मौसममा गेट, आँगन, कोठा तथा बरन्डामा गमलै ढाक्ने गरी ढकमक्क फुलेका जिरेनियुम, पिटुनिया, भरबेना हुन् वा न्यानो ग्रीष्ममा बोटका पातै ढाक्ने गरी फुलेका इम्पासियन, जालपा, पोर्टुलाका हुन् गमलामा रोपिएका बोटबिरुवाले उक्त स्थानको शोभा बढाउनुका साथै वातावरण नै रमणीय बनाउँछ । खुसी र रमणीयता घरभित्र र मनभित्रसम्म ल्याउने काम गमलाका फूलबिरुवाले गरिदिएका छन् । 

कलरफूल गमला

बजारमा विभिन्न किसिमका आकर्षक रंगका साना–ठूला, हलुका, गरुंगा, गुणस्तरीय, सस्ता, महँगा गमला खरिद गर्न सकिन्छ । माटो र प्लास्टिकका गमला बढी प्रयोग गरिने भए पनि काठ, ढुंगा, बाँस, सिमेन्ट आदिबाट तयार पारिएका गमला पनि उत्तिकै प्रचलित छन् । यस्ता गमला माटो तथा प्लास्टिकका गमलाको तुलनामा आकर्षकसमेत देखिन्छन् ।

सिमेन्टका गमला

सिमेन्टका गमलाहरू टिकाउ तथा गरुंगा हुनुका साथै महँगासमेत हुन्छन् । प्राय: गमला बोटबिरुवा रोपेपछि राखिने स्थानलाई ध्यानमा राखेर तयार पारिएका हुन्छन् । उक्त स्थानमा हुने प्रतिकूल वातावरण (घाम, पानी, तातो, चिसो, वर्षा हिउँ आदि) ले हानि गर्न नसकोस् भन्ने कुरा अर्थात् वातावरणीय अवस्था विचार गरी प्रयोगमा ल्याइएका गमलालाई सामान्य हेरविचार गरेर लामो समयसम्म टिकाउन सकिन्छ ।

घरमै आर्ट गरी आकर्षक गमला

बिरुवा रोपेपछि राख्ने ठाउँ, रोप्ने बिरुवाको किसिम आदि विचार गरी उपयुक्त किसिमका गमला किन्नुपर्छ । फूलबिरुवा लगाउन र फूलबारी आकर्षक देखाउन रंगीन, ठूला तथा महँगा गमला नै किन्नुपर्छ भन्ने छैन । यसका लागि आफ्नो घरमा उपलब्ध हुने खाली टिन, काठ तथा माटाका भाँडासमेत प्रयोग गर्न पनि सकिन्छ । बोटबिरुवा हुर्काउन घरमै उपलब्ध भाँडा तथा गमला आदि प्रयोग गर्न सकिन्छ भने ती बोतल तथा भाँडालाई विभिन्न आकारमा काटेर, कलर लगाई, कार्टुनहरू पेन्ट गरेर आकर्षक बनाउन सकिन्छ । 

हेरचाहको आवश्यकता

कम माटो, पानीलगायत अन्य पौष्टिक तत्वहरूसमेत कम पाउने हुनाले बगैंचामा हुर्काइने बोटबिरुवाको तुलनामा गमलामा हुर्काइएका बोटबिरुवाको हेरविचार अलि बढी गर्नुपर्छ । कम माटोका कारण गमलामा हुर्काइएका बोटबिरुवामा प्राय: पानी छिट्टै सुकेर माटो सुख्खा हुने, मल पनि छिट्टै रित्तिने हुनाले पानी र मलको प्रयोगमा विशेष ध्यान पुर्‍याउनुपर्छ । जरा गहिरो जाने र अग्लो हुने तथा फैलिने, पातला र लामा वा चुच्चा पात हुने बोटबिरुवाको हेरचाह बढी गर्नुपर्छ भने त्यसलाई पानी पनि बढी चाहिन्छ । यस्ता बोटबिरुवा कसिलो तथा हल्का चिम्ट्याइलो माटो भरी गहिरो गमलामा रोप्नुपर्छ । 

गमलाको छनोट

चाहेका बिरुवा हुर्काउन गमलाको आकार तथा अन्य स्थिति उपयुक्त छ कि छैन विचार गर्नुपर्छ । बोटबिरुवाका किसिममा व्यापक विविधता छ । केही बोटबिरुवा गहिरो जरा गाडिने, अग्लो तथा फराकिलो हुने खालका हुन्छन् भने केही अति कम जरा गाड्ने र साना तथा तेर्सो बढ्ने किसिमका हुन्छन् । बोटबिरुवाका विभिन्न प्रकृति विचार गरी गमलाको गहिराइ, फराकिलोपन, गोलाइ एवं आकार–प्रकार निर्धारण गर्नुपर्छ । यसका अतिरिक्त गमलामा हुर्काइने बोटबिरुवा साँघुरो ठाउँका कारण आवश्यकता भन्दा कमै हुर्किएको पाइन्छ । लहरे, अग्ला, ठूला तथा मझौला आकारका बोटबिरुवाका लागि गहिरा र बाक्ला भित्ता भएका गमला प्रयोग गर्नु उपयुक्त हुन्छ । जरा गहिरो नजाने, कम पानी र खुकुलो माटो रुचाउने, माटोमा तेर्सो बढ्ने तथा बाक्ला पात भएका बोटबिरुवाहरूका लागि होचा, थेप्चा तथा फराकिला र पातलो भित्ता भएका गमला प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 Image