होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
स्पाले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्पा यस्तो थेरापी हो जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द प्रदान गर्छ, तनावबाट छुटकारा दिन्छ, शरीरमा फुर्ती बढाउँछ ।
स्पा पानीबाट उपचार गर्ने पद्धति हो । स्पा भन्नासाथ नकारात्मक सोच राख्ने चलन सुरुवातका दिनमा थियो । त्यसले गर्दा पनि सुरुवातका दिनमा स्पासम्बन्धी आकर्षण र बुझाइ फरक रह्यो । त्यतिबेला यसका ग्राहक विदेशी पर्यटक नै थिए । विस्तारै मानिसहरूको बुझाइमा परिवर्तन आयो भने यसलाई आयुर्वेदिक पद्धतिबाट गरिने उपचार विधिका रूपमा बुझ्न थालियो । फलस्वरूप स्पामा नेपालीहरूको समेत आकर्षण देखिन थाल्यो । अहिले स्पा गर्न रुचाउने विदेशीका साथै नेपालीहरूको चाप पनि उस्तै छ ।
पर्यटकीय नगरी पोखरामा स्पा भित्रिएको झन्डै डेढ दशक भयो । खमा स्पा भित्राउने श्रेय होटल फूलबारी रिसोर्टलाई जान्छ । पछि यो व्यवसाय पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भित्रियो । हाल पोखरामा झन्डै एक सयको हाराहारीमा स्पा सेन्टर छन् । दर्ता भएर सञ्चालनमा आएका स्पाको संख्या ८० को हाराहारीमा छ ।

सुरुमा स्पा पनि व्यवसाय हुन्छ र भनिन्थ्यो । स्पा संचालन गरेर कसरी घरभाडा तिर्छन् भन्ने खालका कुरा गरिन्थ्यो । हुन पनि त्यतिबेला मात्र १ सय ५० मा फुट मसाज हुन्थ्यो । फाट्टफुट्ट आउने विदेशी पर्यटक मात्र यसका ग्राहक थिए । यद्यपि त्यतिबेला यो क्षेत्रमा हात हालेकाहरू पलायन भएनन् । उनीहरूले यसलाई निरन्तर अघि बढाइरहे । फलस्वरूप यो व्यवसायले विस्तारै गति लियो । स्पाको माग होटलबाट पनि आउन थाल्यो अनि स्पा सेन्टरहरू थपिँदै गए ।
स्पाले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्पा यस्तो थेरापी हो जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द प्रदान गर्छ, तनावबाट छुटकारा दिन्छ, शरीरमा फुर्ती बढाउँछ । थकान कम गर्छ, खानामा रुचि जगाउँछ भने निद्रा लगाउन समेत मद्दत गर्छ । स्पा विभिन्न प्रकारका छन् । आवश्यकताअनुसार यसको प्रयोग गरिन्छ । दैनिक कामको थकानबाट छुटकारा प्राप्त गर्न होस् वा लामो यात्रापछि शरीरमा आएको शिथिलतालाई पुनर्ताजगी गर्न होस् स्पाले सहयोग गर्छ । स्पालाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।
स्पाभित्र हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, नेल स्पा, स्किन स्पा तथा बडी स्पा आदि पर्छन् । यसमा साउना स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाज आदि हुन्छन् । स्पाको प्रयोगले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ भने तनाव तत्काल कम हुन्छ । त्यसैले पनि स्पाको आकर्षण बढ्दैछ ।

केही वर्षअघि पोखरामा आयोजित अन्तक्र्रिया कार्यक्रममा डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, पार्लर तथा स्पाका संचालकहरूलाई बोलाइयो । उक्त अन्तक्र्रियामा सहभागी स्पा व्यवसायीहरूले स्पा स्वास्थ्य उपचारकै एउटा भाग भएको जिकिर गरे । प्रशासनले पनि यसको महत्व बुझ्यो अनि स्पा व्यवसायीहरूको तदर्थ समिति गठन भै २०७४ मा विधिवत् रूपमा संस्था दर्ता भयो । त्यतिबेला सबै स्पा सेन्टर दर्ता नभएका कारण ११ जनाको कार्यसमिति बनाउन नसकी ७ जनामा सीमित गरिएको थियो ।
अहिले स्पा व्यवसायमा बैंकहरूले समेत लगानी गर्न थालेका छन् । यसले व्यवसायीहरूलाई सहज बनाएको छ । पोखराका स्पामा पुग्ने स्थानीय तथा आन्तरिक पर्यटकको संख्या बढ्दैछ । जसले गर्दा अफसिजनमा पनि आन्तरिक पर्यटकले व्यवसाय धान्न सक्ने अवस्था सिर्जना भएको छ । पहिले–पहिले स्पा छिर्न नमान्नेहरू अहिले खुलेर आउँछन् । कतिपय त परिवारसहित आएर स्पा गराउँछन् । स्पाका लागि कम्तीमा १ घन्टा तथा बढीमा डेढ घन्टा समय छुट्याउनुपर्छ । स्पा सेन्टरहरूले सामान्यतया बिहान ९ बजेदेखि राति १० बजेसम्म सेवा प्रदान गर्छन् । न्यूनतम १५ सय रुपैयाँदेखि स्पाको सेवा लिन पाइन्छ । रिसोर्टभित्रका स्पाको रेट र रिसोर्ट बाहिरका स्पाको रेट फरक–फरक हुन्छ ।
स्पा स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको व्यवसाय हो । यसमा ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सरसफाइमा पर्याप्त ध्यान पुर्याउनुपर्छ । पानीबाट हुने यो उपचार पद्धतिको कुनै साइड इफेक्ट छैन । स्पा खुल्ने क्रम बढे पनि आवश्यकताअनुसार दक्ष दक्ष जनशक्ति भने कमै छ ।पोखरामा २० लाखदेखि १ करोडसम्मका स्पा सञ्चालनमा छन् । १६ वर्षभन्दा माथिका महिला–पुरुषहरू यहाँ सेवा लिन आउँछन् । पोखरा घुम्न आएका पर्यटक साइडसिन, प्याराग्लाइडिङ तथा स्विमिङपछि स्पा सेन्टर पुग्छन् ।
स्पा व्यवसाय पर्यटन परिषद्मा आबद्ध हुने प्रयासमा छ । यो व्यवसायलाई मर्यादित बनाउन बेला–बेलामा अनुगमन हुने गरेको छ भने सेवामा एकरूपता ल्याउने प्रयास पनि जारी छ । सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारी परिवर्तन हुँदा निगरानी बढी भए पनि शुद्ध व्यावसायिक रूपमा सञ्चालन भएको पाइएपछि सजिलो हुने गरेको छ ।
स्पा एसोसिएसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ व्यवसायीहरू पोखरालाई स्पा सिटी बनाउने योजनाका साथ अघि बढेको कुरा बताउँछन् । हरेक गाउँको होमस्टेमा पनि स्पा आवश्यक हुने उनले बताए । अहिले थ्रि स्टार लेभलका अधिकांश होटलमा स्पाको सुविधा उपलब्ध छ । स्पा भएन भने गेस्टहरू बस्न हिचकिचाउने श्रेष्ठले जानकारी दिए ।
हिमालय स्पाकी विष्णुमाया श्रेष्ठ ट्ेरकिङ जाने विदेशी पर्यटकहरूको थकानमा आरामसहित उपचार गर्ने उद्देश्यले लामो समयदेखि यो व्यवसायमा आबद्ध भएको बताउँछिन् ।
स्पा व्यवसायमा विकृति आउन नदिन तथा यो पेसालाई शुद्धीकरण गर्न स्पा एसोसिएसन नेपाल गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए । संस्था स्थापनापछि यो व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफूहरू लागिपरेको उनको तर्क छ । अन्य देशका पर्यटकका अतिरिक्त स्पामा पुग्ने भारतीय तथा चिनियाँ पर्यटकहरूको संख्या बढ्दै गएको श्रेष्ठले बताए ।
पोखरा, गौरीघाटस्थित हिमालयन निर्भाना स्पाका सञ्चालक चित्रबहादुर गुरुङले स्पामा थेरापी र ट्रिटमेन्टका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको बताए । पछिल्ला दिनमा स्पामा पुग्ने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको उनको अनुभव छ । भारतीय पर्यटक जोडी नै स्पा पुग्न थालेका छन् ।
स्पा व्यवसायमा पनि केही समस्या छन् । सबैभन्दा मुख्य समस्या दक्ष जनशक्तिको छ । स्पालाई हेर्ने दृष्टिकोणका कारण समेत कतिपय ग्राहक स्पा सेन्टर पुग्न अझै हिचकिचाउँछन् ।
पोखरामा स्पाको राम्रो सम्भावना देखेर क्लारा इन्टरनेसनल स्पा एन्ड ब्युटी कलेजको स्थापना समेत भएको छ । मलेसियाको क्लारा इन्टरनेसनल कलेजसँग समन्वय गरी फ्रेन्चाइजीका रूपमा उक्त कलेज स्थापना गरिएको हो ।
स्पा अमेरिका, क्यानाडा, स्पेन आदि देश हुँदै एसियाका थाइल्यान्ड, चीन, इन्डोनेसियामा विकास भएको बताइन्छ । विश्वमा स्पाको इतिहास झन्डै २५ वर्ष मात्र लामो छ । नेपालमा स्पाको सुरुवात झन्डै १५ वर्षअघि भएको हो । पछिल्लो दशकमा यसमा निकै ठूलो विकास भयो । काठमाडौंको ठमेलसहित नेपालका पर्यटकीय सहरमा स्पा व्यवसाय फैलदै गएको छ ।
स्पा थेरापी नौलो लागे पनि यो परापूर्वकालदेखि चलिआएको विधि हो । जति बेला उपचारका लागि चिकित्सक उपलब्ध थिएनन् त्यतिबेला उपचारका लागि प्राकृतिक पद्धति अपनाइन्थ्यो । त्यतिबेला पानीमा प्राकृतिक जडीबुटीहरू मिसाएर पिउने, सेक्ने, बाफ लिने तथा नुहाउने चलन थियो । अहिले त्यसकै परिस्कृत रूपमा स्पा सेन्टरहरूले सेवा प्रदान गरिरहेको बताइन्छ ।