डा. अमित झा
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
ट्रमाले जसरी वयस्कलाई असर गर्छ, त्यसरी नै बालबालिकामा पनि असर गर्छ । तर, बालबालिकाको केसमा ठूला मानिसले जस्तो आफ्नो तनाव व्यवस्थापन गर्ने वा आफ्नो भावनालाई नियमन गर्ने केही तरिका जान्ने सम्भावना कम हुन्छ ।
विपद्को समयमा बालबालिकामा कस्ता समस्या देखिन सक्छन् ?
बालबालिकालाई हरेक प्रकारको विपद्को समयमा विभिन्न समस्या देखिन सक्छन् । रातमा राम्रोसँग निद्रा नलाग्ने, मुटु धेरै धड्कने, पसिना आउने, सास बढ्ने, घरपरिवारको सदस्यलाई केही भयो भन्ने सोच आउनेजस्ता लक्षण देखिन सक्छन् । सुरुमा देखिने यस्ता लक्षणलाई ‘एक्युट स्ट्रेस रियाक्सन’ भनिन्छ । यो दुई–तीन हप्तासम्म निरन्तर भइरहेमा एन्जाइटी वा डिप्रेसिभ डिसअर्डरका रूपमा लिन सकिन्छ । तर त्यस्ता समस्या लामो समयसम्म रहिरहेमा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पीटिएसडि) हुन सक्छ । यस्तो समस्या प्रत्यक्ष रूपमा प्रभावित परेका परिवार, आफन्त गुमाएका बालबालिकालाई बढी देखिन सक्छ ।
विपद्बाट प्रभावित बालबालिकालाई मात्र यस्ता समस्या देखिन्छन् ?
विपद्बाट प्रभावित नभएका बालबालिकामा पनि यस्तो समस्या देखिन्छ । समाचार सुनेर, भिडियो देखेर वा कसैले भनेको कुराले असर गर्न सक्छ । यसलाई ‘भिकारियस ट्रमा’ भनिन्छ । जो अप्रत्यक्ष रूपले पनि मान्छेलाई प्रभाव पार्न सक्छ । अहिले सामाजिक सञ्जालदेखि लिएर सबैमा भिडियो समाचार आउँछ । बारम्बार यस्ता घटना सुन्दा र हेर्दा पनि बालबालिकाहरू आत्तिने, डराउने, अन्य प्रकारका शारीरिक लक्षणहरू देखिन सक्छन् । राति निद्रा नलाग्ने, ‘ला, के भयो ?’ भन्ने, हुनसक्छ ।
यस्ता समस्या बालबालिकालाई देखिँदा परिवारले के गर्नुपर्छ ?
त्यस्तो केसमा परिवारका सदस्यहरूले अलि ध्यान दिनुपर्छ । बालबालिकालाई यस्ता घटनाका बारेमा कति मृत्यु भए, कति विस्थापित भए भन्ने खालको कुरा नसुनाउने, सामाजिक सञ्जाल साथै टेलिभिजनमा बालबालिकालाई यस्ता घटनाका समाचारबाट अलिकति पर राख्ने, अभिभावकले पनि बालबालिकासँग समय बिताउने र आत्तिरएका बालबालिकासँग समय दिएर कुराकानी गर्नुपर्छ । समस्या बढेमा बाल मनोवैज्ञानिक वा बालमनोचिकित्सकको सल्लाह लिन सकिन्छ ।
जो प्रत्यक्ष रूपमा प्रभावित हुनुभयो, जसले परिवार गुमाउनुभएको छ, उहाँहरूकोमा ‘एक्युट स्ट्रेस रिएक्सन’ बढी हुन्छ । उहाँहरूकोमा डिप्रेसन, एन्जाइटीका फिचर्स बढी देखिन्छ । लक्षण सबैमा एउटै हुन्छ । प्रत्यक्ष रूपमा प्रभावित भएका बालबालिकामा यस्तो समस्या बढी हुन सक्छ ।
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको केसमा मानसिक स्वास्थ्यको ख्याल गर्दै तत्काल गर्न सकिने कामहरू के–के हुन सक्छन् ?
बालबालिकाको परिवारको सदस्य भएमा उहाँहरूले, नभएमा आफन्त, समुदाय र सरकारले उनीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरा महत्वपूर्ण रहन्छ । अहिलेको समयमा मुख्य कुरा त बालबालिकासँग बस्ने, उनीहरूको कुराकानी सुनेर आफ्ना कुरा व्यक्त गर्न दिनुपर्छ । त्यसरी कुरा गर्न र आफ्ना भावना व्यक्त गर्न दिँदा पनि धेरै कुरामा सुधार आउन सक्छ । आफन्त गुमाएका बालबालिकालाई अरू कुनै जान्ने–बुझ्ने मानिस अथवा चिनेको मानिस जो सँग सामान्यतया: बालबच्चा सहज हुने सम्भावना बढी हुन्छ ।
सकेसम्म बालबालिकालाई दिनचर्यामा फर्काउने । बालबालिकासँग बस्ने, खेल्ने, बिस्तारै सकिन्छ भने समूहमा राख्ने र सामूहिक क्रियाकलापहरू गराउनुपर्छ । विद्यालय सञ्चालन गर्न सकिने भयो भने कक्षामा फर्काउने र जसरी सम्भव हुन्छ त्यसरी दिनचर्यामा ल्याउँदा केही हदसम्म कम गर्न सकिन्छ ।
सुरुको अवस्थामा हामीले ‘साइकोलोजिकल फस्र्ट एड’ लाई प्राथमिकता दिनुपर्छ । त्यसमा बालबालिकाहरूलाई हामीले सुरक्षित महसुस गराएर ‘तपाईं अहिले सुरक्षित स्थानमा हुनुहुन्छ’, भन्ने वातावरण निर्माण गर्नुपर्छ ।
विपद्मा परेका बालबालिका जसलाई कुनै मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएका छैनन् । उनीहरूको हकमा पछि कुनै समस्या नपरोस् भन्न के गर्न सकिन्छ ?
त्यस्ता बालबालिकाको मानसिक स्वास्थ्यमा असर नपरोस् भनी सुरक्षाको प्रत्याभूति गराएर उनीहरूसँग बसी उनीहरूका कुराकानी सुन्नुपर्छ । फेरि घरीघरी गएर ‘तिमीलाई कस्तो भयो ? के भयो ?’ भनेर सोधिराख्नुहुँदैन । सोधिरहे पनि कहिलेकाहीँ लक्षण बढ्न सक्ने हुन्छ । साना बालबालिका छन् भने खेल्ने, चित्र बनाउन लगाउने, ग्रुप एक्टिभिटिजहरू गर्ने । सुरुको पहिलो हप्ता–दुई हप्तासम्म यस्तै गर्न सकिन्छ ।
प्रभावित बालबालिकालाई कुनै व्यक्ति वा समूहले बारम्बार प्रश्न सोधेको देखिन्छ यसले उनीहरूमा कस्तो असर गर्छ ?
यसले ठूलो असर गर्न सक्छ । कोही ट्रमामा परेका छन् र कसैले बारम्बार धेरै प्रश्न सोधिरहेमा बालबालिकाको अवस्था झन् बढाइदिन्छ । त्यसैले विपद्को समयमा सबैजना सामान्य रूपमा संवेदनशील हुनैपर्छ । कन्टेन्टकै लागि केही कुरा कसैले गर्छ भने त्यसले अर्को मान्छेलाई कस्तो असर गर्न सक्छ भन्ने कुरा पनि बुझ्नुपर्छ । केही समयपछि विस्तारै बालबालिकाले आफ्ना कुरा आफैं सुनाउन सक्छन् । अहिलेलाई कोही एकजना जिम्मेवार व्यक्ति, काउन्सिलरसँग कुराकानी गरेर आफ्नो समस्या बताउन सक्नुहुन्छ । सबैजनाले एउटै प्रश्न बारम्बार गएर कुरा गर्दा झन् असर पर्छ । यसले झन् गाह्रो बनाउन सक्छ । त्यसैले यस्ता कुरामा सबैले ध्यान दिनुपर्छ ।