रमाइलो र रिफ्रेसमेन्टका लागि आउटिङ 

नारी संवाददाता

कार्तिक ७, २०७६

एक जमाना थियो, कुनै चाडपर्व, पूजा, संस्कार आउन लागे हातका औंला गन्न थालिन्थ्यो, तर अहिले समयअनुसार यी सबै पर्वको महत्व पनि परिवर्तन भएको छ । शिक्षा एवं सञ्चारको विकास तथा बदलिँदो सोच अनि ग्लोबराइजेसनसँगै संस्कार र संस्कृति पनि फेरिएको छ । सस्तो र सहज पहुँचका कारण भोज तथा उपहारप्रति धेरैलाई चासो छैन । किनभने फेसनमा जे भित्रिएको छ किनेर लगाइहाल्न सकिन्छ । नयाँ लुगा लगाउन कुनै चाडपर्व वा भोज कुर्नुपर्ने समय अहिले छैन ।

पहिले खसीको परिकार खान चाडपर्व नै कुर्नुपथ्र्यो तर अहिले हरेक दिन चाहेजस्तो परिकार खान पाइन्छ । घरमा परिकार बनाउने झन्झट पनि गर्नु पर्दैन । अनलाइन अर्डर गरेर समेत मगाउन सकिन्छ । चाडपर्वले गराउने पारिवारिक तथा सामाजिक अन्तक्र्रिया घट्दै गएको छ । पहिले मामाघर जाने भनेपछि खुसी हुने पुस्ता अहिले हराउँदै गएको छ । सकभर घरभित्रै मोबाइल, आइप्याड वा कम्प्युटरमा एक्लै रमाउन खोज्छ आजको पुस्ता । हिजोको सामाजिक सम्बन्ध तथा मान्यता अहिले खोज्नुपर्ने भएको छ ।’

मानव तथा समाजशास्त्रीहरू चाडपर्व एवं समाजमा सम्पन्न गरिने विभिन्न पूजाआजाको मानवीय, सामाजिक तथा राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्छन् । पहिलेको परिवार, समाज तथा परिवेशमा आफन्तहरूसँग भेटघाट गर्ने एवं सुख–दु:ख बाँड्ने अवसरलाई अहिलेको सञ्चारको तीव्र विकासले बदलिदियो’, डा. मनीषा सिंह भन्छिन् ।

संस्कृति विषयकी प्राध्यापक कमला कायस्थ हाम्रो सामाजिक–सांस्कृतिक परिवेश बदलिँदै जानुमा बढ्दो सहरीकरणलाई मुख्य कारण मान्छिन् । परिवारहरू एकल हुँदै गएका छन् । कामकाजी अभिभावकका कारण आफन्तहरूसित बालबालिकाहरूको अन्तरक्रिया घटेको छ । कायस्थ भन्छिन्–मानिसहरू समाजप्रति कम र आफूप्रति बढी केन्द्रित हुँदै गएका छन् । बढ्दो सञ्चार एवं सामाजिक सञ्जालले पछिल्लो पुस्तालाई खुसी तुल्याए पनि सामाजिक सम्बन्धसित अभ्यस्त बनाउन सकेको छैन ।

परिवारहरू संयुक्तबाट एकल हुँदै गएका छन् । युवा तथा बालबालिकाहरू पनि संयुक्तभन्दा एकल रूपमै आफूलाई सहज महसुस गर्न थालेका छन् । व्यक्ति बढी न्युक्लियर भयो भने सामाजिक सम्बन्ध खलबलिन्छ भन्ने कुरा अहिले धेरै नेपाली घरपरिवारको यथार्थ बन्दै गएको पाइन्छ । 

हरेक व्यक्तिको जीवनमा दौडधूप बढी हुन्छ । त्यसमाथि युवापुस्तालाई पढाइ, जागिर र करिअर सबै थोकको चिन्ता एकैपटक हुन्छ । व्यस्तताकै कारण आफन्तहरूसित उनीहरूको दूरी बढ्दै गएको छ । यसले मानिसहरूलाई यन्त्रजस्तै बनाउँदै लगेको छ । 

यस्तो अवस्थामा स्वदेश वा विदेश घुमेर रमाउनेहरू बढ्दै गएका छन् । विशेषगरी अहिले साथीहरूको समूहमा विदेश वा स्वदेशमै घुम्ने चलन बढ्दो छ । धार्मिक आस्था राख्ने कतिपय व्यक्ति पनि मौका पारेर तीर्थस्थलहरू पुग्छन् । 

तीर्थ यात्रा

अरू बेला काममा व्यस्त हुने, लामो बिदा मिलाउन कठिन हुने पल्स ब्युटिपार्लरकी वरिष्ठ ब्युटिसियन लक्ष्मी श्रेष्ठ ५–६ जना दिदीबहिनी, भाइबुहारी एवं साथीहरूसँग गत वर्ष भारतको वैष्णोदेवी पुगिन् । हरेक वर्षको दसैं धूमधामसँगै पूजापाठमा बिताउने श्रेष्ठ दसैं मौसम र फुर्सदको हिसाबले पनि घुमघामका लागि उपयुक्त हुने कुरा बताउँछिन् । उनकी कान्छी बहिनी संगीता पनि तीर्थ यात्रालगायत लामो समय कतै जान दसैं–तिहारकै समयलाई उपयुक्त मान्छिन् । उनीहरू दसैं–तिहारका अतिरिक्त महिनामा एकपटक समय मिलाएर नजिकका तीर्थस्थलहरू पुग्छन् । पूजापाठमा निकै आस्था राख्ने लक्ष्मी श्रेष्ठ सपरिवार, साथीहरू तथा आफ्ना विद्यार्थीहरूलाई लिएर समेत विभिन्न ठाउँमा पुगिरहन्छन् । श्रेष्ठका अनुसार यसले उनलाई काममा ऊर्जा प्रदान गर्छ । 

साथीहरूसँग रमाइलो

रेस्टुराँ व्यवसायी शीताष्मा आरएल राणाको वनस्थली पढ्दाका साथीहरूसँग अहिले पनि उत्तिकै जमघट भैरहन्छ । विभिन्न काममा संलग्न उनका साथीहरू कसैको जन्मदिन भयो भने भेटघाट गरी रमाइलो गरिहाल्छन् । उनीहरूको ६–७ जनाको यो समूह कम्तीमा महिनामा एकपटक कतै न कतै जमिरहेको हुन्छ । शीताष्मा आरएल राणा, परिन्दा श्रेष्ठ, ऋतु राणा चन्द, प्रभा कार्की, रोजी राणा कार्की, शिवाष्मा आरएल राणाबीच टिनएजदेखि नै यस्तो जमघट भैरहन्थ्यो । दसैंमा सबैको फुर्सद हुने हुँदा मन मिल्ने साथीहरू घुम्न जाँदा मन चंगा हुने अनुभव छ, यो समूहसँग । जीवन भनेको के हो र ? घरमै मोबाइलमा झुन्डिएर एकलकाँटे हुनुभन्दा साथीहरूसँग घुम्न जाँदा ऊर्जा प्राप्त हुने परिन्दा बताउँछिन् । यसरी समय–समयमा भेटघाट हुँदा मनमा दबिएर रहेका कुराहरू बाहिर निस्कने हुँदा फ्रेस पनि भइने प्रभा कार्की बताउँछिन् । 

फुर्सदमा रमाइलो

किस्ट अस्पतालमा कार्यरत महिला डाक्टरहरूबीच एउटा घनिष्ठ सम्बन्ध छ । डा. मनीषा सिंह, डा. प्रज्ञा बस्नेत, डा. एञ्जिला बस्नेत, डा. रीमा श्रेष्ठ, डा. निना राई तथा डा. संगीता रेग्मी कसैको जन्मदिन पर्‍यो भने कुनै रेस्टुराँ पुगिहाल्छन् । त्यति मात्र होइन किनमेल, घुमघाम अनि मन्दिर पनि सकभर सँगै जान्छन् । कुनै पर्व आयो कि समय मिलाएर पालैपालो सबैको घरमा खान बोलाउने, रमाइलो गर्ने मौका पनि खोजिरहन्छन् ।

सधै दौडधूप मात्र हुने हुँदा साथीहरू मिलेर रमाइलो गर्नुको मज्जा बेग्लै हुने डा. मनीषा बताउँछिन् । उनीहरू कतै पार्टी जानुपर्‍यो कि लुगा किन्न वा बालबालिकाहरूको सपिङ गर्न सकभर सँगै जान्छन् । फुर्सदमा मन मिल्ने साथीहरूसँग तास खेलेर, सँगै खाना खाएर, नाचगान गरेर रमाउनुपर्ने डा. प्रज्ञाको तर्क छ । 

नयाँ पुस्तालाई स्वदेश देखाउने अवसर

व्यवसायी रेखा कायस्थ नेपालकै विभिन्न रमणीय स्थलको यात्रा गर्न सार्‍है मन पराउँछिन् । रेखा परिवारका सदस्य वा साथीहरूसँग हरेक दसैं–तिहारको बीचमा १०–१२ दिन काठमाडौंबाट टाढा पुग्छिन् । त्यसका अतिरिक्त अरु बेला पनि साथीहरूका परिवारको समूह बनाई घुम्न जाने परिपाटी बसाइएको छ । घुम्नका लागि उनीहरू बालबालिकाहरूको जाडो वा गर्मी बिदाको सदपुयोग समेत गर्छन्, जसले गर्दा बालबालिकाहरूले आफ्नै देशका पाखा–पखेराहरू नजिकबाट नियाल्न पाउने कायस्थको धारणा छ । यसरी घुम्दा परिवारका सदस्यहरूबीच माया, सद्भाव पनि बढ्ने र स्वदेशका सुन्दर स्थानहरूको मज्जा पनि लिन पाइने रेखाले बताइन् । त्यति मात्र होइन नेपालमै घुम्न जाँदा बजेट पनि कमै भए पुग्ने उनीहरूको अनुभव छ ।

यसमा बालबालिकाहरूलाई पनि सहभागी बनाउँदा उनीहरूले नेपालको भौगोलिक अवस्था एवं सुन्दरता नियाल्न पाउने उनको सोच छ । यदि यसरी बालबालिकाहरूको लामो बिदा सदुपयोग गरी घुम्न निस्किएन भने कतै जाने अवसर नै नमिल्ने होटल व्यवसायी राजेश खाछिभोया बताउँछन् । उनकी छोरी रज्जु अहिले मेकअप आर्टिस्टका रूपमा परिचित छिन् । उनको पनि फुर्सद मिल्ने हुँदा दसैं–तिहारको समय नै घुम्ने उपयुक्त समय हो भन्ने लाग्छ उनीहरूलाई । उनीहरू ३–४ दिनको ट्रिप भए सप्तमीपछि टीका लगाउन फर्किने गरी जान्छन् भने लामो यात्रा छ भने टीकाका दिन सबैसँग टीका लगाई भ्रमणमा निस्कन्छन् । यसपटक उनीहरू राराको यात्रामा जाने योजनामा छन् । 

सपरिवार विदेश 

व्यवसायी प्रकाश बज्र पनि छोरीहरूको छुट्टीको तालिका मिलाई श्रीमती तथा दुई छोरीलाई लिएर प्राय: विदेश जान्छन् । अरू बेला न त प्रकाशसँग समय छ न श्रीमती सेलिनासँग, न त दुई छोरीको स्कुल नै छुट्टी हुन्छ । त्यसैले केही वर्षयतादेखि दसैं र जाडो महिनाको मौका छोपेर उनीहरू विदेश पुग्न थालेका छन् । छोरीहरू ठूला हुँदै गएपछि उनीहरू आ–आफ्नै दुनियाँमा रमाउन खोज्छन् । त्यसैले अहिले नै सँगै समय बिताउने सोचका साथ दसैंमा सपरिवार होलीडे ट्रिपमा निस्किरहेको प्रकाश बताउँछन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>