आमाको भान्सा

सिर्जना दुवाल श्रेष्ठ

आश्विन १३, २०७६

चाडपर्व विभिन्न जाति, धर्म एवं समुदायबीच विभिन्न रंग, उमङ्ग र उत्सव लिएर आउँछन् । त्यसमा खानेकुरा छुट्ने कुरै भएन । नेपालमा सांस्कृतिक विशेषता र मौसमी अनुकूलतासँगै स्वादमा स्थानीय मिठास पस्किने परिकारको सूची लामै छ । छठमा भव्य सूर्य पूजापछिको खीर, पुरी तथा मिठाईंको स्वाद विशेष हुन्छ । विभिन्न जात्रा, पर्व एवं उत्सवमा नेवार समुदाय भोजमय बन्छ । ल्होसारमा चामल, आलु, मासु, गेडागुडी, साग आदिका नौथरी खुराक मिसाएर बनाइने परिकार पनि विशेष नै हुन्छ । दसैंमा त अझ दसैं आयो, खाउँला पिउँला...’ भन्ने भनाइ नै छ । दसैंमा नेपालीहरू खसी, बोका, राँगा, भेंडा, च्याङ्ग्रा, बंगुर, हाँस, कुखुरा आदिका विभिन्न परिकार घरमै पकाएर खाने चलन छ । प्राय: सबै चाडपर्वमा नेपालीको जिब्रो रैथाने परिकारमै बढी रमाउँछ ।

हिमालदेखि तराईसम्मका नेपाली खानपिनमा विविधता छ । भक्तपुरको जुजु धौ, पाल्पाको चुकौनी, नेपालगञ्जको राबडी, अछामको दालको फाँडा अर्थात् ठामैपिच्छे एउटा न एउटा लोभलाग्दो परिकार फेला परिहाल्छ । बाहुन–क्षेत्रीहरूले दसैंमा विशेषगरी खसी, बोका एवं कुखुराको मासु खान्छन् भने नेवार समुदायमा दसैंमा कुखुरा चल्दैन । उनीहरूको घरमा हाँस, खसी, बोका र राँगाकै विविध परिकार पाक्छन् । त्यस्तै थकाली समुदायमा कुखुरा र खसी मात्र चल्छ । 

अहिले हाम्रो खानपान शैली पनि बदलिएको छ । बजारमा तयारी खानेकुरा उपलब्ध छन् । सबैलाई त्यही खानेकुरा छिटो र मीठो लाग्छ । हामी अहिले हतारमा खानेकुरा पकाउँछौं । डाइनिङ टेबलमा सजाउँछौं । काँटा–चम्चाले खान्छौं । भान्साका सबैजसो सामग्री रेडिमेड पाइने हुँदा पकाउन पनि सजिलो छ तर आमा–हजुरआमाले पकाएजस्तो स्वाद त कहाँ पाइन्छ र ? यसपटकको दसैंका लागि हामीले आमा–हजुरआमाहरूले मेहनत गरेर माया मिसाई पकाउने परिकारलाई स्थान दिएका छौं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×