आर बी. बुढाथोकी, सेफ
कफी वनस्पतिबाट बनाइने पेय पदार्थ हो । कफीको बोटदस मिटरसम्म अग्लो हुनसक्छ तर सामान्यतया छोटो पारिन्छ । कफीको उत्पत्ति अफ्रिकाको इथियोपियामा भएको थियो । यसको खेती दक्षिण अमेरिका, मध्यअमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ ।युवा पुस्तामा मात्र नभै पछिल्लो समय नेपालमा सबै पुस्तामा कफी पिउने संस्कृति बढ्दो छ । पहिले दूध चिया भन्नेबित्तिकै हुरुक्क हुनेहरूलाई अहिलेकफीले विस्थापन गर्न थालेको छ । अहिले सहरका कुनाकुनामा कफी सप खुलेका छन् ।
कफी हुनेखानेको पेय हुन थालेको छ । दूधचिया पिउँदै आएका हुनेखाने वर्ग नेसकफी पिउन थाले कुनै बेला । तर अब नेसकफी पनि विस्थापित हुँदै गएको छ । कारण दाना कफीको आयात र मिसिनबाट निस्कने कफीको लत अब धेरैमा परिसकेको छ । चिया गफबाटअब सहरियाहरूको कफी गफमा बढुवा भएको छ । थरिथरिका कफीका मिसिन भित्रिए । अनि कफी सप खुले । चिया–दुनोट र चिया–सेल वा चिया–मालपुवा खाने समयले अब कफीको चुस्कीसँग अरु नै परिकार भेटिन्छन् । क्रोसन्ट खाने वाचीज केक खाने, मफिन खाने वा सिनामन रोल खाने, फ्रुट केक खाने वा स्वीस रोल जे खाए पनि कफी सपमा उपलब्ध हुन्छन् । कफीका भेराइटी त कति हुन् कति । साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा छुट्टै हुन्छ । जिम,क्लब,स्वीमिङ पुल,पार्लर,कम्प्लेस,कलेज,फिल्म हल,कर्पोरेट अफिस जताततै कफी सप देख्न सकिन्छ ।
नेपालमा कफीखेतीको अवस्था
नेपालमा कफी खेती वि. सं. १९९५ सालमा सुरु भएको हो । यो कफी हीरा गिरीले बर्माबाट ल्याएर गुल्मीमा रोपेका थिए । गुल्मीबाट सुरु भएको कफी खेती अहिले मध्यपहाडका ४० जिल्लामा फैलिएको छ । व्यावसायिक रूपमा भने २३ जिल्लामा मात्र फैलिएको छ । बजारमा दाना कफीको मागआपूर्ति गर्न स्थानीय उत्पादनले धान्नै सकेको छैन । विदेशबाट प्रत्येक वर्ष करोडौंको कफी आयात हुन्छ । स्वदेशी उत्पादन बढाउन सकेमा आयात प्रतिस्थापन मात्र नभै विदेशी मुद्रा सञ्चिति पनि बढ्छ । देशको माग र विश्वबजारको मागलाई ध्यानमा राखेर उत्पादन र गुणस्तर वृद्धि गर्न सकेमा कफीको व्यावसायिक खेती गर्नेको भविष्य उज्ज्वल छ ।नेपाली कफीको माग विश्वबजारमा राम्रो छ । तर स्वदेशको बजारको माग नै नेपाली कफीले पूरा गर्न सकेको छैन । त्यसैले निर्यात पर्याप्त हुन सकेको छैन । निर्यात पर्याप्त नहुँदा विदेशी मुद्रा आर्जन गर्ने मौका पनि गुमेको छ । नगदेबालीका रूपमा चिनिएको कफी खेतीका लागि सरकारी र गैरसरकारी संघसंस्था यसको उत्पादन बढाउन र गुणस्तर बढाउन लागिपरेका छन् ।
कफीका के–के परिकार बन्छन्?
कफीको बजार विश्वभर छरिएको छ ।त्यसैले हरेक कोणबाट यसका धेरै फाइदा देखिएका छन् । रोजगारीका हिसाबले होस् वा व्यवसायका हिसाबले । कफीस“गै धेरैको नाता जोडिएको हुन्छ । विदेश जाने जोकोही सजिलै जागिर पाइन्छ भनेर कफीको तालिम लिन छुटाउँदैनन् । सिक्न सजिलो र सहजै रोजगारी पाइने हुनाले तालिम नै पछिल्लो समय निकै लोकप्रिय छ । चियाको तुलनामा कफीमा धेरै विकल्प र किसिम छन् । तपाईंलाई तातो मन पर्छ वा चिसो जुन पनि रोज्न सक्नुहुन्छ । कफी बनाउन सकेसम्म फ्याट बढी भएको दूध प्रयोग गर्दा उत्तम हुन्छ । फम निकाल्न पनि सहज हुन्छ । साधारणतया हामीले दिनहुँ प्रयोग गर्ने प्याकेटको दूधमा तीन प्रतिशत मात्र फ्याट(क्रिम) हुन्छ । यस्तोमा खासै राम्रो कफी बनाउन सकिदैन । न्यूनतम पाँच प्रतिशत फ्याट हुने दूध कफीकालागि उत्तम हुन्छ । यस्तो दूध डेरी वा टेत्रा प्याकमा पनि उपलब्ध हुन्छ ।
क्यापचिनो,अमेरिकानो,डबल अमेरिकानो,अराबिका,क्याफेमोचा,एक्सप्रेसो,लाते, आइस कफी,आइस अमेरिकानो,कोल्ड ब्रिउ, कफी टुर्किस, ड्रिप कफी,कोर्टाडो,फ्रापे,रेड आई,अफगाडो, आइरिस,रस्ट्रेटो,लुङ्गो,गलाउ,ड्रिपेड आई,ब्लेक आई,ग्रीन कफी,क्यारामेल फ्रापे,ग्लेस, कफी ब्रेभ, एक्सप्रेसो कन पन्नालगायत कफीका सयौं भेराइटी बनाएर पस्कन सकिन्छ । युरोप–अमेरिकामा बन्ने दर्जनौं केकमा पनि दाना कफीको पाउडर प्रयोग गरिएको हुन्छ। जुन केकको स्वादमा छुट्टै मिठास हुन्छ । यसका पारखीहरू पनि उल्लेख्य छन् । विभिन्न अल्कोहलको भेराइटीमा पनि कफीको पाउडर प्रयोग गरिएको हुन्छ । कफी लेबरमा विभिन्न चकलेट र टफी पनि बनेका हुन्छन् । जुन बालबालिकाहरू निकै मीठो मानेर खान्छन् । प्रतिकप कफीको दुई सयदेखि दुई हजारसम्म पर्छ ।
कति पर्छ कफी मिसिनको ?
जस्तै मेसिनको पनि ९० हजारदेखि १८ लाखसम्मको कफी मिसिन पाउन सकिन्छ । म्यानुएलदेखि फुल्ली अटोमेटिकसम्मका कफीमिसिन नेपाली बजारमा पाइन्छन्। अधिकांश मिसिनको बिन ग्रेन्डर मिसिनकै साथमा आउँछ। नेपालमा कफी रोस्टिङ मिसिन पनि उपलब्ध छन् ।ठूलाठूला ब्रान्डका कफी सपका आफ्नो रोस्टिङ मिसिन उपलब्ध छन् । एक कप कफी बन्न डेढ टेबल स्पुनदेखि दुई चम्चा अर्थात् आठदेखि १० ग्राम कफी पाउडर प्रयोग हुन्छ । यो हिसाबले एक किलो कफीको दानाबाट लगभग एक सय २५ कप कफी बन्न सक्छ । एक किलो रोस्ट गरिएको कफीको दानाको ११सयदेखि ४५ सयसम्म मूल्य निर्धारण गरिएको हुन्छ।यो हिसाबले पनि एक किलो दानाबाट न्यूनतम मूल्यमा बेच्दा पनि लगभग २० देखि २५ हजारसम्म कमाइ गर्न सकिन्छ।