खानपिनप्रति सचेतता

- संगीता लामिछाने, डाइटिसियन

आश्विन १३, २०७६

चाडपर्वका बेला लामो बिदा हुने भएकाले धेरै मानिसको काम बस्ने र खाने मात्र हुन्छ । रमाइलोका लागि बसेर तास खेल्यो, खानेकुरा खायो । यसले गर्दा यतिबेला धेरै मानिसको तौल पनि बढ्छ ।

आवश्यकताभन्दा बढी खानेकुरा खाँदा अपच हुन्छ । परिणाम बान्ता हुने, झाडापखाला लाग्ने समस्या देखापर्छ भने निस्क्रिय जीवन बिताउँदा विभिन्न रोगले आक्रमण गर्न सक्छ । बसेर खाने मात्र क्रममा आफ्नो स्वास्थ्यमा पनि पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । खानपिनका साथै शारीरिक व्यायामलाई पनि निरन्तरता दिए स्वस्थ रहन सकिन्छ । 

हाम्रो धर्म–संस्कृतिले हाम्रो खाना र सम्बन्ध जोडिरहेको छ । प्रत्येक वर्ष दसैं आउँछ तैपनि मानिसहरू आफ्नो बानी बदल्न तयार हुँदैनन् । चाडपर्वमा जानी–जानी अस्वस्थकर व्यवहार गर्न तयार हुन्छन् । चाडपर्वको बहानामा बिहान उठेर व्यायाम नगर्नु तथा राति अबेर सुत्नु आम कुरा हो । पहिले बालबालिकाहरू पिङ खेलेर रमाउँथे, यताउता दौडन्थे भने अहिले जंकफुड र मासु खाँदै घन्टौं मोबाइल हेरेर एकै ठाउँमा बस्छन् । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । 

धेरै नुनिला र चिल्ला खानेकुरा 

चाडपर्वका बेला धेरैजसोलाई पेटमा भएको खानेकुरा नपच्ने समस्या हुन्छ । यद्यपि उनीहरू खानेकुरामै ध्यान केन्द्रित गर्छन् । बिहान के खाने वा दिउँसो के खाने भनेर योजना बनाइन्छ । तयारी स्न्याक्स नै छिटो–छरितो हुने भएकाले यस्ता कतिपय खानेकुरा बजारबाटै ल्याइन्छ । यस्ता खानेकुराबाट पनि स्वास्थ्यमा प्रतिकूल असर पर्छ । 

मासु र चाडपर्व 

    हामीले खाने मासु इक्फेक्सनबाट मुक्त हुनुपर्छ ।

    खाना बनाउने मानिसले सरसफाइमा ध्यान दिनुपर्छ । मासुलाई धूलो, मुसा, बिराला, साङ्ला, झिंगा आदिबाट टाढा राख्नुपर्छ । 

    मासु तयार भएर सेलाएपछि उपयुक्त तापक्रममा फ्रिजमा राख्नुपर्छ । चिसो ठाउँमा ब्याक्टेरिया छिटो फैलन सक्दैनन् । मासु एकैपटक धेरै नपकाई जति खाने हो त्यति मात्र पकाउनुपर्छ । 

    खानेकुरालाई बिग्रन नदिन ४ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्छ । 

    धेरैजसोमा माछा–मासु नै तागतिलो खानेकुरा हो भन्ने धारणा पाइन्छ । वनस्पतिबाट प्राप्त प्रोटिन ९५ प्रतिशत पच्छ भने मासु ५० प्रतिशत मात्र पच्छ । 

    मासु राम्रोसँग पच्दैन । यसमा रेसा तथा चोकर नहुने भएकाले कब्जियत हुनसक्छ । यसले गर्दा मासु आन्द्रामै रही भित्रै सड्न थाल्छ जुन विभिन्न रोगको कारण बन्छ । 

    मासु नपचेर तारन्तार दिसा तथा बान्ता भए पटक–पटक जीवनजल खानुपर्छ । लगातार दिसा लागेर डिहाइड्रेसन भए प्रशस्त मात्रामा जीवनजल तथा पानी पिउनुपर्छ । धेरै पटक भयो वा दिसा रोकिएन भने अस्पताल नै जानुपर्छ । 

    दिसा लागेर निको भएपछि सुरुमा नरम तथा सजिलै पच्ने किसिमका खानेकुरा जाउलो, सुप आदि खानुपर्छ ।

    घरमै तयार पारिएको स्वस्थ खाना ठिक्क मात्रामा खानुपर्छ । प्रशस्त मात्रामा झोल कुरा तथा हरिया सागपात खानुपर्छ ।

    रातिको खाना छिटो खानुपर्छ । जाँड–रक्सी खानुहुँदैन । कोल्ड ड्रिंक्स, चाउचाउ तथा फास्टफुड आदि पनि खानुहुँदैन । 

    कम चिल्ला खानेकुरा खानुपर्छ । दही तथा ताजा अचारखान सकिन्छ । 

    नियमित व्यायाम गर्नुपर्छ । व्यायामका कारण खाएको खाना सजिलै पच्छ ।

भोजन                    प्रोटिन (प्रति १ सय ग्राममा) 

मासु                             १८ दशमलव ५

माछा                            २२ दशमलव ६

अण्डा                           १३ दशमलव ३ 

मुंगको                                दाल २४ 

मासको                              दाल २४ 

मुसुरोको                             दाल २५ 

बदाम                          ३१ दशमलव ५ 

भटमास                                ४३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्