सुरुमा क्यामेरा फेस गर्न गाह्रो थियो
कला क्षेत्र छोटो समयमै मानिसहरूलाई चिनाउने क्षेत्र हो । आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्ति स्वयंमा पनि भर पर्दोरहेछ ।

सानैदेखि मोडलिङ तथा फोटोसुटमा रमाउने आस्था पोखरेललाई केही गरेर देखाउँछु भन्ने थियो । र्याम्प मोडलिङमा स्थापित भैरहेकी आस्थाले २०१५ को मिस नेपालमा सहभागिता जनाएकी थिइन् । मिस नेपालमा उपाधि हात पार्न नसके पनि उनमा जोश भने उत्तिकै थियो ।
यही क्षेत्रमा आफूलाई स्थापित गर्ने क्रममा उनले किंगफिसर सुपरमोडल–२ मा भाग लिएकी थिइन् । किंगफिसर सुपरमोडल–२ सिरिजकी विजेता आस्थाले ८ वर्षअघि एसिया नेक्ट मोडल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
आस्थाले मोडलका रूपमा नेपाल र भारतमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमै अघि बढ्ने सपना बुनेकी छिन् । अहिले उनी नेपालका फेसन शोहरूमा फेसन कोरियोग्राफर तथा र्याम्प मोडलका रूपमा समेत आफूलाई स्थापित गर्दै अघि बढिरहेकी छिन् ।