Successfully Copied

पठाओ र टुटलले  दिलायो रोजगारी

टुटलले महिलाहरूसँग कमिसन नलिने र राइडबापत बोनस पनि पाइने हुनाले महिलाहरूका लागि यो पेसा आम्दानीको राम्रो स्रोत भएको सुनुवार बताउँछिन् । साधन हुनेहरूले चाहना हुँदा बेरोजगार बस्नु नपर्ने उनको दाबी छ । भीम माया भन्छिन्–‘आँट र साहस गर्‍यो भने यो एप्सबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

रोजगारी खोज्दा–खोज्दा हैरान भएकी कोटेश्वरकी मीना लिम्बू विदेश जाने तयारीमा थिइन् । पोल्यान्ड जाने प्रयास गरे पनि लिम्बूको भिसा लागेन । एक शिशुकी आमा लिम्बूको आर्थिक संकट बढ्दै थियो । विदेशमा रहेका श्रीमान्को कमाइले मात्र घर–व्यवहार चलाउन कठिन भयो । यसबीच उनले पठाओ एप्ससम्बन्धी जानकारी पाइन् ।

लिम्बूले स्कुटर र लाइसेन्स भए आम्दानी गर्न सकिन्छ भन्ने कुरा बुझिन् । यी दुवै चीज आफ्नो साथमा थिए र उनी पठाओको अफिसमा पुगिन् । त्यहाँ आफूलाई रजिस्टर गरेपछि उनले उक्त सेवा दिन थालिन् । करिब ५ महिनादेखि पठाओ राइडरमार्फत सेवा प्रदान गरिरहेकी लिम्बू यो एप्समार्फत राम्रो आम्दानी भैरहेको बताउँछिन् । यसमार्फत स्वरोजगारी सिर्जना भएकोमा उनी निकै हर्षित छिन् । पठाओले उनको विदेश मोह पनि समाप्त पारिदिएको छ । ‘यसमार्फत आम्दानी गर्न न कसैलाई भन्नुपर्ने न त प्रमाणपत्र नै चाहिने सहज तरिकाले रोजगारी पाएँ’ लिम्बू भन्छिन् । दैनिक १२ घन्टा पठाओमार्फत सेवा दिने मीना शिशुको तथा घर खर्च यही रोजगारीमार्फत सहजै निकाल्ने कुरा बताउँछिन् । 

याक्राका त्रममा हरेक प्रकारका यात्रु भेटिने भएकाले कहिलेकाहीँ समस्या समेत भोग्नुपरेको उनको अनुभव छ । कहिले लागेको पैसा नदिने कहिले महिला भएका कारणले विश्वास नगर्ने जस्ता समस्या भोग्नुपरेको उनले बताइन् । 

स्वयम्भूकी गृहिणी भीम माया सुनुवारले टुटलमार्फत सेवा दिन थालेको ९ महिना भैसकेको छ । दुई सन्तानकी आमा सुनुवारले श्रीमान्मार्फत टुटलका बारेमा जानकारी पाएकी हुन् । करिब ८ वर्ष पहिले स्कुटर र लाइसेन्स लिएकी भीम माया अहिले भने यसैमार्फत व्यावसायिक बन्दै गएकी छिन् । सुरुका केही महिना दैनिक १२ घन्टासम्म सेवा दिएर उनले मासिक ६० हजारसम्म आम्दानी गरिन् । सन्तानलाई दिनुपर्ने समयको ख्याल गर्दै उनले अहिले भने आफ्नो कामको समय कटौती गरेकी छिन् । अहिले दैनिक ५ घन्टा काम गरेर उनी मासिक २५ हजारसम्म आम्दानी गरिरहेकी छिन् । ‘टुटलमार्फत आम्दानी गर्न थालेपछि श्रीमान्सँग पैसा माग्नुपरेको छैन ।’ भीम माया भन्छिन् । 

टुटलले महिलाहरूसँग कमिसन नलिने र राइडबापत बोनस पनि पाइने हुनाले महिलाहरूका लागि यो पेसा आम्दानीको राम्रो स्रोत भएको सुनुवार बताउँछिन् । साधन हुनेहरूले चाहना हुँदा बेरोजगार बस्नु नपर्ने उनको दाबी छ । भीम माया भन्छिन्–‘आँट र साहस गर्‍यो भने यो एप्सबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

’के हो पठाओ र टुटल ?

‘टुगेदर वी मुभ’ उद्देश्यसहित सञ्चालनमा आएको टुटल नेपाली ब्रान्ड हो । पठाओ राइड सेयरिङ सेवा हो । यी एप्सले धेरैलाई पेड लिफ्ट (सशुल्क लिफ्ट) दिन्छ । पठाओ र टुटल एपमार्फत याक्रा गर्न चाहने व्यत्ति कहाँ छ ? कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ । यो एपमार्फत बाइकवाला बोलाएको ठाउँमा केही समयमै लिन आइपुग्छन् । ‘गुगल म्याप’ बाट एक–अर्काको ‘लोकेसन’ समेत थाहा हुन्छ ।

पठाओ र टुटलको विकास 

बंगलादेशका तीन जना व्यवसायी हुसेन एम एलियस, फहिम सलेह तथा अदनान सिफातले सन् २०१५ मा ‘पठाओ राइड्स’ स्थापना गरेका हुन् । बढ्दो ट्राफिक जाम र यात्रुको चापलाई मध्यनजर गर्दै यो सेवा विस्तार भएको हो । सन् २०१६ को डिसेम्बरमा बंगलादेशमा पठाओ मोबाइल एप निर्माण भएको थियो । पठाओले २०१८ सेप्टेम्बरदेखि नेपालमा सेवा सुरु गरेको हो । टुटल भने नेपाली ब्रान्ड हो । टुटलले जनवरी २०१७ देखि सेवा प्रदान गर्दै आएको छ । 

कसरी पाइन्छ रोजगारी ?

आफूसँग बाइक वा स्कुटर लाइसेन्स र ब्लुबुक भए पठाओ वा टुटलको कार्यालयमा दर्ता गर्नुपर्छ । सबै डकुमेन्टसहित कार्यालयमा दर्ता गरेपछि कार्यालयले कामसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्छ । एप्स कसरी चलाउने, रिक्वेस्ट कसरी एसेप्ट गर्ने ग्राहकसँग कसरी सहकार्य गर्ने जस्ता विविध कुरामा कम्पनीले राइडरहरूलाई बुझाएपछि राइडर बन्न योग्य व्यक्तिलाई फिल्डमा पठाइन्छ । राइडर बनेपछि कम्पनीको नियममा बसेर आम्दानी गर्न सकिन्छ । 

ग्राहकले कसरी प्रयोग गर्ने ?

यो सेवा प्रयोग गर्न स्मार्ट फोनमा टुटल वा पठाओ एप्स डाउन लोड गर्नुपर्छ । त्यसमा आफ्नो मोबाइल नम्बरलाई युजर नेम बनाएर खाता खोलिसकेपछि चाहेको ठाउँमा ‘टुटलमा रजिस्टर भएका बाइकको सेवा लिन सकिन्छ । एप्समा आफू रहेको र पुग्ने ठाउँ उल्लेख गरेर ‘बुक गरेको छोटो समयमै त्यो ठाउँमा उपलब्ध टुटल वा पठाओ बाइकरले सम्पर्क गर्छन् । आफूलाई कति समयपछि सेवा चाहिएको हो, त्यहीअनुसार पनि बुक गर्न सकिन्छ । एप्समा पुग्ने ठाउँसम्मको दूरी, त्यसका लागि लाग्ने रकमसमेत उल्लेख हुन्छ ।

सुरक्षा हमाल, मार्केटिङ म्यानेजर, पठाओ

अहिले पठाओमा करिब २ सय महिला राइडर दर्ता छन् । पठाओमार्फत सेवा दिन इच्छुक महिलाहरूको संख्या बढ्दो छ । पठाओ रोजगारीका लागि एउटा राम्रो प्लेट फर्मका रूपमा उभिएको छ । युवतीदेखि गृहिणीहरूसम्म पठाओमा आबद्ध छन् । महिलाहरूले यो एप्समार्फत सेवा उपलब्ध गराएबापत हामीले निश्चित स्किम पनि दिने गरेका छौं । यसले महिलाहरूलाई थप हौसला प्रदान गरेको छ । समग्रमा यसमा खासै चुनौती पनि देखिएको छैन । आइपर्ने समस्याहरूप्रति कम्पनीले विभिन्न समयमा राइडरहरूलाई सचेतसमेत गराइरहेको हुन्छ ।

शिक्षित भट्ट, संस्थापक, टुटल 

अहिलेको समय प्रविधिको समय हो । प्रविधिको सदुपयोग गर्न नै हामीले यो अवधारणा अघि सारेका हौं । अहिलेको समयमा टुटल राइडरमा महिलाको संख्या बढ्दै गएको छ । निजी साधन प्रयोग गरेर आम्दानी गर्न सकिने सजिलो माध्यम बनेको छ–टुटल । महिलाहरूलाई उत्प्रेरित गर्न हामीले उनीहरूबाट कमिसन नलिने र राइडअनुसार बोनस समेत प्रदान गर्ने गरेका छौं । यसले महिलाहरूको आर्थिक अवस्था सुध्रिँदै गएको छ । महिला सुरक्षाका लागि भने कम्पनीमाथि बारम्बार प्रश्न भने उठिरहेको छ । त्यसका लागि पनि हामीले विभिन्न नीति–नियम बनाइरहेका छौं ।

 

 Image