मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

अभिनेतृ श्वेता खड्कालाई दरबारमार्गस्थित राइजिङ मलको भुइँतलामा देख्नुभयो भने उनी त्यहाँ कुनै भेटघाटका लागि पुगेकी होलिन् भनेर नझुक्किनुहोला । श्वेता प्रायः त्यहीँ भेटिन्छिन् । अझ भनौं, चलचित्रमा व्यस्त नभएका बेला उनलाई सधैं त्यहीँ फेला पार्न सकिन्छ । करिब साढे दुई वर्षअघि श्वेताले उक्त मलमा हिमालयन जाभा क्याफे सञ्चालनमा ल्याएदेखि नै उनलाई अधिकांश समय त्यहीँ भेटिन थालेको हो । दिवंगत अभिनेता तथा आफ्ना श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि झन्डै एक वर्ष गुमनाम जीवन बाँचेकी श्वेताले आफूलाई व्यस्त राख्न उक्त क्याफे सञ्चालन गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
क्याफे सञ्चालनमा आएको केही महिनापछि नै श्वेताले चलचित्र निर्माणको क्षेत्रमा पनि हात हालिन् । त्यसो त श्रीकृष्ण छँदै उनीहरूले सहकार्यमा चलचित्र कोहिनूरको निर्माण गरेका थिए । यद्यपि पछिल्लो चलचित्र ‘कान्छी’ मा श्वेताले अभिनय मात्र गरिनन्, सोलो निर्मातृका रूपमा समेत आबद्ध भइन् । कान्छी व्यावसायिक रूपमा सफल भयो । यतिबेला उनी आफ्नो होम प्रोडक्सनभन्दा बाहिरको एउटा चलचित्रमा व्यस्त छिन् । निर्देशक सूर्य बोहोराको चलचित्र ‘हेल्लो जिन्दगी’ मा उनी मुख्य अभिनेतृका रूपमा अनुबन्ध भैसकेकी छिन् ।
‘म प्रायः अन्तर्वार्ता, भेटघाटदेखि बिजनेस मिटिङसम्मका लागि आफ्नै क्याफे रोज्छु,’ श्वेता भन्छिन्–उक्त क्याफे उनका लागि घरजस्तै हो । हिमालयन जाभाको यो फ्रेन्चाइज खोल्नुअघि श्वेताले कफी बनाउने कोर्स गरेकी थिइन् । चलचित्रको अभिनय तथा निर्माणलाई पार्ट टाइम बनाउने सम्भावना देखाइसकेकी श्वेताले काठमाडौंका अन्य स्थानमा समेत क्याफे सञ्चालन गर्ने योजना बनाएकी छिन् । क्यापेचिनो र अमेरिकानो कफीकी पारखी श्वेता चलचित्र निर्माण र कफीको व्यापारमा मात्र सीमित छैनन्, त्यससँगै उनले होटल, इन्टेरियर डिजाइनर तथा हेल्थ क्लबसमेत सञ्चालन गरिरहेकी छिन् ।
अभिनेतृ वर्षा राउत केही महिनाअघि वैवाहिक जीवनमा प्रवेश गरिन् । अभिनेता तथा युवा व्यवसायी सञ्जोग कोइरालासँग विवाह गर्नुभन्दा अघिदेखि नै उनीहरू सहकार्यमा विभिन्न व्यवसायमा आबद्ध भैसकेका थिए । संजोगसँग बिजनेस पार्टनरका रूपमा वर्षाले सिभिल मलमा आइसक्रिम लाइभ सिभिल मल नामको आइसक्रिम पार्लर सञ्चालनमा ल्याएकी थिइन् भने त्यसअघि नै उनीहरूले ठमेल नजिकै क्याफे पनि सञ्चालन गरेका थिए । उनीहरूकै लगानीमा दरबारमार्गमा ह्यासट्याग लाउञ्ज पनि सञ्चालनमा छ । केही समयअघिमात्र वर्षा र संजोग मिलेर नयाँबानेश्वरमा चियाका विभिन्न स्वाद चाख्न पाइने चिया अड्डा खोलेका छन् । नाम चिया अड्डा भए पनि उक्त रेस्टुराँमा ब्रेकफास्ट र लन्चसमेत सर्भ गरिन्छ । अभिनेतृ राउतले यी सबै व्यवसायमा आफ्नो प्रत्यक्ष संलग्नता दर्शाएकी छैनन्, यद्यपि संयोजसँग विवाह हुनुअघिदेखि नै उनी यी व्यवसायमा जोडिँदै आएकी छिन् । विवाहपछि भने उनले अभिनयबाट बचेको समय यिनै व्यवसायलाई दिन थालेकी छिन् । वर्षाका अनुसार अभिनयबाहेकका यी कार्यले उनलाई एकातिर व्यस्त बनाउँछ भने अर्कातिर आत्मनिर्भरसमेत बनाइरहेको छ ।
कुनै बेलाकी सफल अभिनेतृ कृति भट्टराई अहिले सञ्चारकर्मी तथा क्याफे सञ्चालिकाका रूपमा चिनिन्छिन् । जनता टेलिभिजनसँग आबद्ध कृतिले नयाँबानेश्वर (थापागाउँ) मा केही वर्षअघिदेखि एउटा क्याफे सञ्चालन गरिरहेकी छिन् । अर्गानिक एस्प्रेसो नाम राखेर कृतिले अर्का एकजना व्यवसायीसँगको साझेदारीमा उक्त क्याफे सञ्चालनमा ल्याएकी हुन् । कृतिले अभिनयलाई भने करिब–करिब बिटै मारिसकिन् भन्दा फरक पर्दैन । यद्यपि उनी टिभिसीहरूमा भने देखिइरहन्छिन् । कृति क्याफेको व्यवसायलाई बिल्कुलै नौलो बाटो बताउँछिन् र उनी यसमा रमाउन थालिसकेकी छिन् । लामो समयदेखि सञ्चार माध्यमहरूमा सक्रिय कृतिले न्यूजरुम बाहिर निस्केर नयाँ व्यवसाय थाले पनि यतिबेला उनी पुनः न्यूजरुममा फर्किइसकेकी छिन् भने उनको क्याफे पनि निरन्तर चलि नै रहेको छ ।
अभिनेतृ नम्रता श्रेष्ठ पनि लामो समयदेखि रेस्टुराँ व्यवसायमा छिन् । वर्षमा एक–दुईवटा सेलेक्टेड चलचित्रमा मात्र अभिनय गर्ने नम्रता चलचित्रमा आउनुअघि रेडियो जक्कीका रूपमा रेडियो कान्तिपुरमा सुनिन्थिन् । रेडियोबाट चलचित्रको यात्रा प्रारम्भ गरेकी नम्रताले अभिनयमा पनि सफलता हासिल गरिसकेकी छिन् । महँगो पारिश्रमिक लिने अभिनेतृहरूको सूचीमा रहेकी नम्रताले काठमाडौंको टंगालमा एटिक बार सञ्चालनमा ल्याएकी छिन् । उनी प्रायः त्यही रेस्टुराँमा भेटिन्छिन् । त्यसो त नम्रताले चलचित्रको निर्माणमा समेत हात हालेकी छिन् । यद्यपि उनले निर्मातृका रूपमा सफलताको स्वाद भने चाख्न पाएकी छैनन् ।
अभिनेतृ केकी अधिकारी अब कलाकार मात्र रहिनन् । अघिल्लो वर्ष चलचित्र कोहलपुर एक्सप्रेसमार्फत उनले आफूलाई निर्मातृका रूपमा समेत अघि बढाएकी छिन् । व्यावसायिक रूपमा सफल नै मानिएको कोहलपुर एक्सप्रेसपछि केकीले भविष्यमा थप चलचित्र बनाउने सम्भावना छ । चलचित्रको अभिनयबाहेक म्युजिक भिडियो तथा टिभिसीमा समेत उक्तिकै सत्रिय केकीले दोस्रो चलचित्रको निर्माणको तयारी थालिसकेको बताइन्छ । ‘अभिनेतृका रूपमा अभिनय गर्ने समय निश्चित हुन्छ, त्यसैले हामीले अहिलेदेखि नै वैकल्पिक बाटो पहिचान गर्दै जानुपर्छ केकी भन्छिन्–अधिकांश कलाकारले अभिनयबाहेक अन्य वैकल्पिक बाटो खोज्न थालिसकेका छन् । केकीले व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् ।
अभिनेतृ रेखा थापाले चलचित्र निर्मातृ तथा निर्देशकको छवि बनाएको धेरै भैसकेको छ । रेखा लामो समयदेखि चलचित्रको अभिनयका साथै निर्माण एवं निर्देशनमा समेत सक्रिय छिन् । पछिल्लो समय उनले निर्माण गरेका चलचित्र व्यावसायिक रूपमा सफल नभए पनि रेखाले चलचित्र निर्माणको कार्यलाई भने निरन्तरता दिइरहेकी छिन् । रेखा समाजसेवा तथा राजनीतिमा समेत आबद्ध छिन् । रेखा थापा फाउन्डेसनमार्फत रेखाले सामाजिक कामहरूलाई निरन्तरता दिइरहेकी छिन् । उनको राजनीतिक यात्रा भने माओवादीबाट प्रारम्भ भएको हो । अहिले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध छिन् । रेखाले अभिनय, चलचित्र निर्माण, समाजसेवा, राजनीति एवं खेलकुदमा समेत रुचि देखाएकी छिन् ।
रेखाले एउटा महिला क्रिकेट क्लब खरिद गरेर त्यसको मालिक बनेकी छिन् । नेपालमा आयोजना हुने पहिलो महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा थापाले आफूलाई टिम मालिकका रूपमा प्रस्तुत गरेकी हुन् । अभिनेतृ इच्छा कार्की कुशल महिला व्यवसायी हुन् भन्दा फरक पर्दैन । उनी चलचित्रमा आउनु अघिदेखि नै सौन्दर्य व्यवसायमा आबद्ध छिन् । केही वर्षअघि प्यासिफिक इभेन्टले काठमाडौंमा आयोजना गरेको सुपर मोडल नेपालकी विजेता इच्छा कुशल मेकअप आर्टिस्टसमेत हुन् । उनले काठमाडौंको नक्सालमा गुणस्तरीय सेवासहित मेकअप स्टुडियो नै सञ्चालनमा ल्याएकी छिन् । चलचित्र द ब्रेकअपमार्फत रजतपटमा आएकी इच्छाले आफ्नो मेकअप स्टुडियो तथा चलचित्रको अभिनयलाई सँगसँगै अघि बढाउने बताएकी छिन् ।
पुरानी अभिनेतृ क्षितिजा शाक्य अहिले अभिनयमा खासै देखिन्नन् । उनले आफूलाई कुशल फेसन डिजाइनरका रूपमा स्थापित गरिसकेकी छिन् । क्षितिजाले काठमाडौं मलमा आफ्नै बुटिकसमेत सञ्चालनमा ल्याएकी छिन् ।
अभिनेतृ करिश्मा मानन्धर पनि अभिनयमा मात्र सीमित छैनन् । विगतमै केही चलचित्र निर्माण गरेकी करिश्मा पछिल्लो समय सक्रिय राजनीतिमा छिन् । उनी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीकी सक्रिय कार्यकर्ता थिइन् । जुन पार्टी उपेन्द्र यादवको पार्टीसँग एकीकरण भएको छ ।
अभिनेतृ दीपाश्री निरौला अहिले अभिनयभन्दा चलचित्र निर्देशकका रूपमा बढी प्रख्यात छिन् । उनले निर्देशन गरेका छक्का पञ्जाका शृंखलाले नेपालमा कीर्तिमानी व्यवसाय गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा समेत उक्तिकै सत्रिय दीपाश्री विभिन्न उत्पादनका विज्ञापनका साथै नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको जितु नेपालको कार्यक्रम मुन्द्रेको कमेडी क्लबसँग पनि आबद्ध छिन् ।
अभिनेतृ पवित्रा आचार्य कुशल कोरियोग्राफर (नृत्य निर्देशक) पनि हुन् । उनी नृत्य निर्देशकका रूपमा केही शैक्षिक प्रतिष्ठानमा कार्यरत छिन् भने चलचित्रदेखि म्युजिक भिडियोसम्म नृत्य कोरियोग्राफी गर्छिन् । यसबीच उनी चलचित्र निर्माणमा समेत आएकी छिन् । पवित्राले निर्माण गरेको चलचित्र मेला व्यावसायिक रूपमा औसत साबित भएको थियो ।
अभिनेतृ दिया मास्के कुशल रंगकर्मीका साथै नृत्यांगनासमेत हुन् । उनको अभिनय चलचित्रमा भन्दा नाटकमा अझ बढी खुलेको दर्शकहरूको प्रतिक्रिया छ । दिया आफ्ना श्रीमान् अनुप बरालसँग अभिनयको प्रशिक्षणमा समेत व्यस्त छिन् । त्यसबाहेक उनी हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘हिमालय रोडिज’ को निर्णायक पनि हुन् ।
अभिनेतृ रिमा विश्वकर्मा अहिले अभिनयभन्दा बढी रियालिटी शोहरूमा सक्रिय छिन् । नेपाल आइडलका दुई सिरिजमा उद्घोषिकाका रूपमा आबद्ध भैसकेकी रिमाले म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरूलाई पनि उत्तिकै समय दिइरहेकी छिन् । अभिनेतृहरू बेनिशा हमाल, अनु शाह, शिल्पा पोखरेल आदिले पनि चलचित्र तथा म्युजिक भिडियोलाई भ्याएसम्म समय दिइरहेका छन् ।