Successfully Copied

मिस नेपाल : अधिकांश गुमनाम !

मिस नेपालको छुट्टै महत्व छ । बेग्लै किसिमको इतिहास छ । नेपालमा वर्षेनी दर्जनौं सुन्दरी प्रतियोगीताहरु आयोजना हुँदै आएका छन् । यद्यपी, सर्बाधिक प्रतिष्ठित र लोकप्रिय प्रतियोगीता हो, मिस नेपाल । भलै, प्रतियोगिताको निष्पक्षता माथि पनि बेला–बेलामा प्रश्न उठ्यो, तर मिस वल्र्ड, मिस

मिस नेपालको छुट्टै महत्व छ । बेग्लै किसिमको इतिहास छ । नेपालमा वर्षेनी दर्जनौं सुन्दरी प्रतियोगीताहरु आयोजना हुँदै आएका छन् । यद्यपी, सर्बाधिक प्रतिष्ठित र लोकप्रिय प्रतियोगीता हो, मिस नेपाल । भलै, प्रतियोगिताको निष्पक्षता माथि पनि बेला–बेलामा प्रश्न उठ्यो, तर मिस वल्र्ड, मिस इन्टरनेशनलजस्ता अन्र्तराष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व मिस नेपालले गर्ने भएकाले यसको गरिमा राष्ट्रसँग जोडिने गरेको छ ।

निजी कम्पनी ‘हिडन ट्रेजर’ ले आयोजना गर्दै आएको यो प्रतियोगीताले अहिलेसम्म २४ जना सुन्दरी जन्माएको छ । निकै ठुलो प्रतिस्पर्धाबाट छानिएका यि मिस नेपालहरु केहि वर्ष चर्चामा रहन्छन् र बिस्तारै गुमनाम हुने गरेका छन् । केहि थोरै मिस नेपाल भने रंगिन दुनियाँमा संघर्ष गरिरहेका छन् ।

प्रतिष्ठित मिस नेपालको ताज जितेका अन्य धेरै मिस नेपाल भने सौन्दर्यको दुनियाँलाई छोडेर कता हराए, धेरैलाई पत्तो छैन । हालै केहि हप्ताअघि मात्रै मिस नेपाल २०१९ घोषित भएकी मिस नेपाल अनुष्का श्रेष्ठले भने नेपाल र नेपालीका लागि केहि गर्ने सपना रहेको बताएकी छन् । ‘मैले केहि गरेर अरुको जिवनमा सकारात्मक प्रभाव पार्न सकेको खण्डमा मन प्रशन्न हुन्छ’, उनले भनिन्, ‘मिस नेपाल एउटा बलियो प्लेटफर्म हो, जहाँबाट धेरै काम गर्न सकिनेछ ।’ मिस नेपालप्रति अन्तराष्ट्रिय किसिममा राम्रो भ्यालु रहेको बताउँदै उनले मिस वर्ड निकै प्रतिस्पर्धात्मक हुने भएपनि क्राउन जित्ने सपना रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्मका विनरहरुले जे जे गर्नुभयो, राम्रो गर्नुभएको छ । मेरो सोच पनि उस्तै हो, मज्जाले काम गर्नेछु ।’

मिस नेपाल : को कता ?

संस्करणकै पहिलो मिस नेपाल हुन्, रुबी राणा शाह । १९९४ मा आयोजित प्रतियोगीताबाट ताज पहिरिएकी उनी अहिले व्यवसायमा सक्रिय छन् । मिस नेपालपछि उनले केहि चलचित्रमा काम गरिन् । केहि समय मोडलिङ समेत गरिन् । तर, धेरै समय टिक्न सकिनन् । पछिल्लो समय उनि व्यवसायमा सक्रिय छिन् । काठमाण्डौंमा ‘रुवीज कलेक्सन’ नामक व्यवसाय संचालन गर्दै आएकी छन् । मिस नेपाल घोषणापछि फिलिपिन्समा आयोजना भएको मिस एसिया प्यासिफिकमा सहभागीता जनाएर नेपाल फर्किएपछि खासै विशेष काम गर्न सकिनन् । भारतीय सेनाका भूतपूर्व क्याप्टेन जनकबहादुर राणाकी छोरी रुवीले २०५२ मा प्रजय विक्रम शाहसँग बिवाह गरेकी हुन् । फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई उछिन्न सफल उनी २० वर्षको उमेरमा पहिलो मिस नेपाल बन्ने सौभाग्य प्राप्त गरेकी हुन् । हाल उनि मेकअप आर्टिष्ट तथा फेसन डिजाइनरका व्यवसायमा ब्यस्त छिन् । रुवीलाई अहिले फोन उठाउन समेत फुर्सद छैन । उनि भन्छिन्, ‘व्यवसायमा असाध्यै व्यस्त छु, अरु कुरा सोच्ने फुर्सद छैन ।’

१९९५ मा भएको दोस्रो मिस नेपाल हुन्, सुमी खड्का । उनले १८ वर्षकै उमेरमै मिस नेपालको ताज पहिरिन् । मिस नेपालपछि चलचित्र सुपरस्टारमा काम गरिन् । भुवन केसीसँग स्क्रिन शेयर गरेर राम्रै तारिफ कमाइन् । त्यसपछि भने कुनैपनि प्रोजेक्टमा काम गरिनन् । धेरैले उनी चाँडै चलचित्रमा कमव्याक हुन सक्ने सम्भावना समेत देखेका थिए । हाल कतार एयरवेजमा एयर होस्टेजको रुपमा कार्यरत रहेको बताइन्छ । यसबाहेक उनि कहिलेकाहि विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको पाइन्छ । यि सुन्दरी मिस नेपाल घोषणापछि फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिकमा उपस्थित भएपनि उनको उपस्थिती सार्थक भएन ।

मिस नेपाल पूनम घिमिरे ताज पहिरिएको ३ वर्षमै अमेरिका पलायन भइन् । मिस नेपाल भएपछि गर्नुपर्ने विभिन्न दायित्वलाई कुल्चीएर अमेरिका पलायन भएपछि उनिप्रती धेरै रुष्ट थिए । १९९६ की यि मिस नेपालको आम रुपमा चर्चा समेत भएन, नत विशिष्ट छाप नै छाड्न सकिन् । मिस नेपालपछि फिलिपिन्समा आयोजना भएको ‘मिस एसिया प्यासिफिक’ सहभागी भइन्, उनको यात्रा त्यसमै सिमित भयो । १६ वर्षमै मिस नेपालको ताज जित्न सफल उनि सवैभन्दा कान्छो उमेरमा मिस नेपाल बन्ने नेपालकी पहिलो मिस नेपाल समेत हुन । अमेरिका पलायन भएपछि उनको चर्चा कहिल्यै भएन । उनि कहिले नेपाल, कहिले अमेरिका बस्ने गरेको पाइन्छ ।

निलिमा गुरुङ मिस नेपालको ताज पहिरिने पहिलो जनजाती सुन्दरीमा पर्छिन् । १९९७ मा सम्पन्न मिस नेपाल प्रतियोगितामा पोखराकी स्थायी निलिमाले १९ वर्षको उमेरमा मिस नेपालको ताज पहिरिएकी थिइन् । निलिमाले त्यसपछि केहि म्युजिक भिडियोमा समेत काम गरिन् । तर, मोडलिङमा खासै जम्न सकिनन् । त्यसपछि उनि पोखरामै आफ्नै ब्यवसायमा सक्रिय भइन् । आफ्नो ताजको खासै उपयोग र महत्व दिन नसकेकी यि मिस नेपाल आजभोली यूके मा बस्दै आएको बताइन्छ ।

१९९७ मा मिस वल्र्ड नेपालको उपाधि जितेकी झरना बज्राचार्य स्मार्ट हिरोइनको छविमा केही वर्ष रूमल्लिइन् । मिस नेपाल घोषणापछि एकाएक सेलिब्रेटी बनेकी बज्राचार्यप्रति धेरैलाई लागेको थियो, यो मिस नेपालमा केही छ, जसले अरूलाई आकर्षित पार्छ । झरनाको व्यक्तित्वमा गजबको चमकता थियो । धेरैले सेलिब्रेटीका रूपमा मन पराए । सबैको आँखामा परिन् । रंगीन दुनियाँमा चर्चा भैरहेपनि चलचित्र र प्रेममा भोग्नुपरेको असफलताको कारण उनि गुमनाम हुन पुगिन् । केहि वर्षअघि भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी झरनाका पति मलेसियामा रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन् । हाल उनी मलेसियामा खुसी जिबन बिताइरहेकी छन् । अरुको तुलनामा सवैभन्दा बढी चर्चामा रहने मिस नेपाल झरनाले १६ वर्षमै मिस नेपालको ताज जित्न सफल भएकी थिइन् । मिस नेपाल बनेपछि मिस वर्डमा समेत सहभागी भएकी बज्राचार्य केहि बर्ष नेपाली चलचित्र क्षेत्र र गीत संगीतमा मज्जाले काम गरिन् । लगभग डेढ दर्जन चलचित्रमा काम गरेकी उनले दर्जनौं म्युजिक भिडियोमा मोडलिङ समेत गरेकी छन् । त्यसबेला उनलाई म्युजिक भिडियो क्वीनको रुपमा समेत चर्चा गरिन्थ्यो ।

१९९८ मा मिस नेपाल बनेकी ज्योति प्रधान पहिलो त्यस्ती मिस नेपाल हुन्, जसले आफ्नो उपाधि सुरक्षित राख्न सकिनन् । मिस नेपालको उपाधि जितेकै वर्ष अमेरिका पलायन भएपछि आयोजकहरूले उनको उपाधि खोसेको थियो । उनको ताज फिर्ता भएपछि दोस्रो रनरअप निरु श्रेष्ठ मिस नेपाल बनेकी हुन् । निरुले पनि ताज मात्रै पहिरिइन्, सक्रिय रुपमा नेपालका लागी केहि योगदान दिन सकिनन् । उनि केहि वर्षअघि सम्म अमेरिकामा एयरलाइन्सको रुपमा कार्यरत थिइन् ।

१९९९ मा मिस नेपाल बनेकी स्वेता सिंहका लागी भने मिस नेपाल निल्नु र ओकल्नु जस्तै भयो । १९ वर्षको उमेरमा मिस नेपाल बनेकी उनलाई मिस नेपाल हुँदा धाँधलीको आरोप लाग्यो । मिस नेपाल घोषणापछिको खुसी र तनावले उनलाई धेरै समय पिरोल्यो । पर्सनालिटी डेभलपमेन्टको क्षेत्रमा कार्यरत श्वेताले केहि समय मिस नेपाल प्रतियोगिताको अफिसियल प्रशिक्षकका रूपमा समेत काम गरेकी थिइन् । श्वेता युकेमा सम्पन्न मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधीत्व समेत गरिन् ।

सन् २००० मा मिस नेपालको उपाधि जितेपछि निरन्तर सक्रिय रहेकी उषा खड्की फेसन डिजाइनरका रूपमा ब्यस्त छन् । उनको काठमाण्डौ स्थित कुपण्डोलमा आफ्नै बुटिक छ । मिस नेपालहरुमा रुवीको सुन्दरताको अझैं पनि उत्तिकै प्रशंसा हुने गर्छ । मिस नेपालपछि उषाले मिस वल्र्ड यूकेको सहभागीता जनाइन्, तर कुनै उपाधी जित्न सकिनन् । उषा अहिले ब्यवसायमा जमेर लागेकी छन् ।

हाल हिमालय टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत छन्, माल्भिका सुब्बा । माल्भिका २००२ की मिस नेपाल हुन् । माल्भिकाले यो अवधिमा म्युजिक भिडियो, चलचित्र, विज्ञापन, फेसन शोसहित बिभिन्न विधामा काम गरिन् । मिस नेपाल घोषणा भएका अन्य सदस्य भन्दा बेग्लै किसिमको शाख बनाएकी माल्भिका अझै पनि धेरै युवतीहरुको आइडियल लेडिको रुपमा चर्चित छन् ।

२२ वर्षको उमेरमा सन् २००३ मा मिस नेपालको उपाधि जित्न सफल प्रिति सिटौला केहि वर्षपछि अध्ययनका लागि अमेरिका गइन् । तर, पछि फर्किएर उनि काठमाडौंमा आफ्नै व्यवसायमा सक्रिय भइन् । १६ प्रतियोगीलाई पछि पारेर ताज आफ्नो कब्जामा पार्न सफल सिटौंला मिस वल्र्ड चाइनामा सहभागी समेत भएकी थिइन् । उनले त्यसपछि टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा समेत केहि समय काम गरिन् । पछिल्लो समय हिडन ट्रेजरमा कार्यक्रम संयोजकको रुपमा समेत काम गरेकी प्रिति थोरै चर्चा पाउने मिस नेपालमा पर्छिन् ।

सन् २००४ मा उपाधि जितेकी मिस नेपाल पायल शाक्य तुरुन्तै पलायन हुने मिस नेपालमध्ये पर्छिन् । मिस नेपालपछि उनको खासै चर्चा समेत भएन, न त केहि विशेष काम नै गरिन् । गैडा संरक्षण र बिभिन्न सामाजिक काममा समेत सक्रिय भएकी उनले मिस वल्र्ड चाइनामा सहभागीता समेत जनाएकी थिइन् । २०११ मा अग्लिज ब्याण्डका सरुण ताम्राकारसँग बिहे गरेकी उनि ताज पहिरिएको २ वर्षमै अस्टे«लिया पलायन भइन् । उनी सन् २०१० मा गुठी अष्ट्रेलियाको सांस्कृतिक दूत समेत घोषणा भएकी थिइन् ।

सन् २००५ की मिस नेपाल सुगरीका केसी मिस नेपालहरुमा धेरै चर्चामा रहिन् । मिस नेपाललाई प्रशिक्षण दिने काममा पनि उनले राम्रै योगदान दिइन् । रेडियो जक्कीका रुपमा समेत केहि समय काम गरेकी सुगरिका पछिल्लो बर्ष व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षकका रूपमा सक्रिय छन् ।

शीतस्मा चन्द २३ वर्षको उमेरमा २००७ मा मिस नेपालको उपाधि जितिन् । ललितपूरकी शितस्मा मिस नेपालपछि केहि बर्ष पनि टिक्न सकिनन् । एकाएक मिडियाबाट हराइन् । हाल उनी अस्ट्रेलियाली श्रीमान् बेन प्रिन्ससँग एक छोरासहित दुबईमा बस्दै आएको बताइन्छ ।

२००९ की मिस नेपाल जेनिशा मोक्तान युवा ब्यवसायी दिकेश मल्होत्रासँग विहे गरेपछि खासै रंगीचंगी दुनियाँमा भुलिनन् । मिस तामाङ र विभिन्न प्रतिस्पर्धामा सहभागी हुँदै मिस नेपालको ताज पहिरिएकी जेनिशाले कुनै समय मोडलिङमा जमेर काम गरेकी थिइन् । हाल उनि रंगिन दुनियाभन्दा बाहिरको जिवन बिताइरहेकी छिन् ।

२०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ हालसम्म अविवाहित छिन् । मिस नेपालपछि उनी अहिलेसम्म विभिन्न कार्यक्रममा उद्घोषिको रुपमा काम गर्दै आएकी छिन् । अहिलेसम्म दर्जनौं विज्ञापनमा समेत देखा परेकी छिन् । हाल हिमालय टेलिभिजनमा कार्यक्रम चलाउँदै आएकी उनलाई चलचित्र र म्युजिक क्षेत्रमा काम गर्न धेरैले सुझाब दिएका थिए, तर उनी विज्ञापन र सार्वजनिक कार्यक्रममा भुलिन् । सन् २०१७ मा एशियन इन्स्च्यिुट अफ टेक्निोलोजी थाइल्याण्डवाट बिजनेश एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर तहमा विशिष्ट श्रेणी सरहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम भएकी सदिक्षाको सुन्दरताको चर्चा सधै हुने गरेको छ ।

मलिना जोशी २०११ मा मिस नेपाल भएपछि म्युजिक भिडियो तथा केहि चलचित्रमा अभिनेत्रीका रूपमा काम गरिन् । तर, उनी चलचित्र क्षेत्र र मोडलिङ दुनियाँमा सोचेजस्तो सफल भइनन् । डेब्यू चलचित्र ‘ऋतु’ देखी अहिलेसम्म अभिनय गरेका चलचित्रहरु द वीनर, रानी, लिला, तिमी हुन्छौं जहाँ जहाँ औषतको व्यापार पनि गर्न नसक्दा मलिनालाई चलचित्र क्षेत्रप्रति निराशा जागेको छ । निर्माताहरु पनि उनलाई लिएर चलचित्र बनाउन खोजेका छैनन् ।

मिस नेपाल भएर चलचित्र क्षेत्रमा संघर्ष गर्ने अभिनेत्रीको सुचिमा श्रृष्टि श्रेष्ठको नाम पनि आउँछ । २३ वर्षको उमेरमा सन् २०१२ मा मिस नेपालको उपाधि जितेकी सृष्टि त्यसपछि भने चलचित्र उद्योगमा सक्रिय भइन् । तर, उनका अधिकांस चलचित्र फ्लप भैरहेका छन् । हिन्दी म्यूजिक भिडियोमा समेत काम गरिसकेकी श्रृष्टिको पहिलो चलचित्र गाजलुले त्यति सफलता हासिल गर्न सकेन । त्यसपछि उनले काम गरेका रोमियो एण्ड मुना, बाँध मायाले पनि फ्लप भए । उनको नयाँ चलचित्र लाउरे प्रदर्शनको तयारीमा छ । यद्यपी यो चलचित्र कहिले प्रदर्शन हुन्छ पत्तो छैन ।

इशानी श्रेष्ठ २०१३ मा मिस नेपालको उपाधि जित्न सफल भइन् । इशानी पेशाले दन्त रोग विशेषज्ञ हुन् । उनी अहिले अमेरिकामा छिन् । मिस नेपालपछि खासै चर्चामा नआएकी मध्ये इशानीको नाम पनि अग्रपंक्तीमा आउँछ ।

सुबिन लिम्बू २३ वर्षको उमेरमा सन् २०१४ मा मिस नेपाल घोषित भइन् । यद्यपी, उनको चर्चा कहिल्यै भएन । हाल उनि ग्लोबल गोर्खा नेपाल परिषद्को नेपाल च्याप्टर प्रमुखका रूपमा व्यस्त छन् ।

इभाना मानन्धर २३ वर्षको उमेरमा सन् २०१५ मा मिस नेपालको उपाधि जित्न सफल भएकी हुन् । मानन्धरले अमेरिकाको विल्क्स विश्वविद्यालयबाट स्नातक गरेकी छिन् । हाल उनि फुर्सदिलो जिवन कटाइरहेकी छिन् ।

सन २०१६ मा मिस नेपाल बनेकी अश्मि श्रेष्ठ २२ बर्षको उमेरमा मिस नेपाल बनिन् । मिस नेपाल भएपछि उनले नेपाललाई विश्वसामु चिनाउन कम्मर कसेर लाग्ने बताएकी थिइन् । तर त्यसपछि उनि पुरानै शैलीमा फर्किएकी छिन् अर्थात गुमनाम जस्तै । त्यतिबेला ग्ल्यामर क्षेत्रमा आउने चर्चा पनि थियो, तर अहिलेसम्म उनले यो क्षेत्रमा आउने छाँटकाट पनि देखाएकी छैनन् । हाल उनि बलिउका एक गायकसँग गुपचुग डेटिङमा रमाइरहेको वजारमा हल्ला छ ।

२०१७ की मिस नेपाल निकिता चाण्डकले उपाधी कब्जा गरेपछि मिस नेपालप्रति धेरैको ध्यान गयो । खासगरी मिस नेपालमा नेवार समुदायका युवतीहरुको वाहुल्यता हुन्छ भन्ने आरोपबाट मुक्त भयो, यसपटकको प्रतियोगीता । निकिता २०७५ संगै चलचित्र क्षेत्रमा भित्रिइन् । तर, दुःखद् कुरा उनको डेब्यु चलचित्र रानीमहल छायांकन नसक्दै बिचमै रोकियो । हाल उनि विराज भट्टको नयाँ चलचित्र साङ्लोको काममा ब्यस्त छिन् । समाजलाई जसरी पनि परिवर्तन गर्नु छ, त्यसका लागी मेरो तर्फबाट कुनै कमी हुन दिने छैन, उनले भनिन्, ‘अब चलचित्र क्षेत्रमा खुट्टा उचालेकी छु, यो क्षेत्रबाट पनि केहि गर्न चाहन्छु – मेरा लागी र समाजका लागी ।’

२०१८ की मिस नेपाल श्रृंखला खतिवडा मिस वर्डको टप १२ मा पुगेर फर्किन सफल भइन् । उनको चर्चा अन्य मिस नेपालको तुलनामा बढिनै भयो । भन्नेहरुले त नेकपाकी छोरी भएका कारण पनि यो चर्चा भएको हो भने । यद्यपी श्रृंखलाले भने आफु कसैका कारण चर्चामा नआएको र कसैका कारण मिस नेपाल नजितेको दाबी गर्छिन् । श्रृंखलाले आफु ग्ल्यामर दुनियांमा भ्रखरै आउने सोच नचएको बताइन् । मिस नेपाल हुनुभन्दा एक हप्ताअघि विपश्ना गएकी उनि त्यसपछि मात्रै मिस नेपाल हुन सक्छु भन्ने आँट पलाएको श्रृखला बताउँछिन् । घरपरिवारलाई छोरी यति धेरै जान्ने छ, बोल्न सक्छ भन्ने समेत थाहा थिएन, उनले भनिन्, ‘मिस नेपाल भएपछि एक महिना बुबाले एकमहिनाजति मेरो अन्तरवार्ता हेरिरहनुभएको थियो, म सँग परिवारले पनि नसोचेको क्षमता रहेछ ।’ मिस नेपाल हुन्छु र केहि गर्न सक्छु भन्ने आँटसहित प्रतिस्पर्धामा उत्रिएको उनले बताइन् । समाजमा कति गलत चिन्तन र सहि चिन्तन भएका मानिसहरु हुनुहुन्छ, तर हामीले सहि चिन्तन राखेर सकारात्मक भएर काममा लाग्नेहो भने सफल हुन सकिन्छ । श्रृंखलाले मिस वर्ड हुन नसकेपछि मिस नेपालकै स्थानवाट समाजमा राम्रो योगदान दिने बताइन् । हाल उनि अमेरिकामा हुन गैरहेको मिस नेपाल नर्थमा भाग लिन केहि समयमै त्यता जाने तयारीमा छिन् ।

चलचित्रमा चलेन मिस नेपालको भ्यालु

मिस नेपालको ताज पहिरिएका अभिनेत्रीहरुमध्ये अहिलेसम्म चलचित्र क्षेत्रमा कोहि पनि सफल छैनन् । यद्यपी मिस नेपाल बनिसकेपछि चलचित्र बजारमा आउने टे«न्ड भने बढ्दो छ । पहिलो मिस नेपाल रुबी राणाले चलचित्रको स्वाद चाखिन् तर सफल हुन सकिनन् । दोस्रो मिस नेपाल सुमी खड्काले पनि एउटा चलचित्रमा काम गरिन्, भुवन केसीसँग । तर चलचित्र सुपरस्टार हिट भयो, यि अभिनेत्रीको चर्चानै भएन । त्यस्तैगरी तेस्रो मिस नेपाल झरना बज्राचार्यले डेढ दर्जनको हाराहारीमा चलचित्रमा काम गरिन् । तर उनका धेरै चलचित्र असफल भए । उनी पनि विभिन्न कारण चलचित्र नगरीमा टिक्न सकिनन् । अर्की मिस नेपाल उषा खड्की २०७४ मा चलचित्र आउँदै जाँदै निर्माणको घोषणा त गरिन् तर चलचित्र अहिलेसम्म बनेको छैन् । उषाले केहि चलचित्र र हिट म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । तर उनी पछिल्लो समय चलचित्र क्षेत्रमा खासै चर्चा छैन । माल्भिका सुब्बाले पनि केहि चलचित्र र म्युजिक भिडियोमा काम गरेकी छिन् । तर उनी अहिले खासै चलचित्रमा देखिएकी छैनन् । अर्की मिस नेपाल मलिना जोशीले पनि केहि चलचित्रमा काम गरेकी छिन् । तर, उनी चलचित्र क्षेत्र र मोडलिङ दुनियाँमा सफल हुन सकिनन् । मिस नेपाल श्रृष्टि श्रेष्ठ पनि अभिनेत्री बनिन् । २०१७ की मिस नेपाल निकिता चाण्डक पनि तुरुन्तै चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको पहिलो चलचित्र रानीमहल छायांकनमा मात्रै गयो, तर चलचित्र निर्माण हुन सकेन । अहिले उनि नयाँ चलचित्र साङ्लोमा ब्यस्त छिन् । यो चलचित्र सफल भयो भने निकिता र समग्र मिस नेपाललाई चलचित्र क्षेत्रप्रति थप आशाका किरण जगाउन सक्नेछ ।

कसरी जन्मियो मिस नेपाल ?

फ्याट्टफुट्ट सुन्दरी प्रतियोगीता आयोजना भैरहेपनि मिस नेपाल सुरु भएपछि अन्य प्रतियोगीता ओझेलमा परे । मिस नेपालको आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिका अनुसार मिस नेपालको पहिलो संस्करण सन् १९९४ को सेप्टेम्बरमा काठमाडौंका प्रज्ञा भवनमा सम्पन्न भएको थियो । पहिलो प्रतियोगीतामा २२ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । कक्षपती काठमाडौं जेसिजमा रहेर समाजसेवामा पनि सक्रिय थिए । उनि १९८६ मा अध्यक्ष भए । जेसिजले नेतृत्व विकासका लागि प्रशिक्षण दिने क्रममा युवाहरू मात्र सहभागी भए, युवतीहरू आउँदै आएनन् । सन् १९९४ मा काठमाडौं जेसिजको रजत महोत्सव मनाउन अवधारणा बनाउने जिम्मा कक्षपतिलाई नै दिइयो । उक्त कार्यक्रममा ‘मिस नेपाल’ प्रतियोगितालाई समावेश गर्नुपर्छ भन्ने योजना कक्षपतिले सन् १९९३ देखि नै बनाउन थालेका थिए । जेसिजले मिस नेपाल प्रतियोगिता आयोजना गर्ने औपचारिक निर्णय गरेपछि कक्षपति तथा उनका सहकर्मी रूपेश प्रधान १९९३ मा भारतको मुम्बई पुगेर फेमिना मिस इन्डिया प्रतियोगितालाई नजिकबाट नियाले । त्यसपछि कक्षपति तथा प्रधान काठमाडौं फर्किएर १९९४ मा मिस नेपाल आयोजना गर्ने घोषणा भयो । २२ जना प्रतिस्पर्धी भेला पारेपछि पहिलो संस्करणको मिस नेपाल प्रतियोगिता सन् १९९४ मा सफलतापूर्वक सम्पन्न गरिएको हो । सन् २००२ देखि कक्षपतिकै नेतृत्वमा स्थापना भएको द हिडेन ट्रेजरले यो प्रतियोगिता आयोजना गर्न थालेको हो । यसबीचमा सयौं सुन्दरीहरुले आफ्नो क्षमता प्रदर्शन गरे । दुईदर्जन मिस नेपाल घोषणा भए । तर अचम्मको कुरा अधिकांस मिस नेपालहरुले केही समय दर्शक, स्रोता र पाठकहरुको ध्यान खिच्न सफल हुन्छन् र नेपाललाई विश्वभर चिनाउने वाचा गर्छन् । तर, मिस नेपाल भएको केहि वर्षपछि एकाएक हराउँछन् ।  अहिलेसम्म धेरै मिस नेपाल क्षणभरमै उदाएका छन् र क्षणभरमै हराएका छन् । मिस नेपाल हुँदा व्यापक रुपमा सञ्चार माध्यममा छाएकाहरुको विस्तारै अत्तोपत्तो नै हुदैनँ । हिडन डे«जरका पुर्व अध्यक्ष तथा हालका निर्देशक सुर्वण क्षेत्रीले अधिकांस मिस नेपाल आफुहरुको सम्पर्कमा रहेको बताउँछन् । उनले भने, ‘विभिन्न किसिमले सम्पर्कमा हुनुहुन्छ, बाँकी कुरा उहाँहरुले के गर्नुभएको छ, कसो गरिरहनुभएको छ भन्ने विषयमा खासै वास्ता राख्ने कुरा भएन ।’ उनका अनुसार कोहि आइएनजिओ, कोहि व्यापार–व्यवसाय त कोहि विदेशमा विभिन्न काममा ब्यस्त छन् मिस नेपालहरु ।

 Image