Successfully Copied

नयाँ वर्ष : सेलिब्रेटीहरुको योजना

कभर गीतमा हिट त्रिशाला गुरुङले यो वर्ष आफ्नै गीत रेकर्ड गराई श्रोतामाझ आउने सोच बनाएकी छिन् । उकाली चढौंला, गैरी खेतको, सपना भई, पोहोर साल आदि गीतको कभर गीत गाएर धेरैको मन जितेकी त्रिशालाले यो वर्षको सुरुदेखि नै आफ्ना गीत रेकर्ड गर्दै जाने बताइन् ।

कलाकार तथा निर्देशक दीपाश्री निरौला केही वर्षदेखि निकै व्यस्त छिन् । छक्का पञ्जाको प्रोडक्सनदेखि विदेशी कार्यक्रमहरूसम्ममा उनको व्यस्तता निकै रह्यो । यो कुराले उनी आफै पनि अब केही आराम चाहियो र आफ्ना लागि समय दिनुपर्छ भन्ने सोच्न थालिन् । यसपटक पनि उनको टिमले नयाँ वर्षकै दिन एउटा नयाँ चलचित्र सुरु गर्न लागेको छ तर उनी यसपटक त्यसमा निर्देशकका रूपमा नभई निर्मातृका रूपमा मात्र संलग्न हुनेछिन् । वर्षमा एउटा मात्र चलचित्र निर्माण गर्ने दीपाश्रीको टिमले यसपटक दुई वटा चलचित्र लन्च गर्ने भएको छ ।

दुवैमा दीपाश्रीले मात्र लगानी गर्नेछिन् । दीपाश्रीले केही वर्षदेखि आफ्नो स्वास्थ्य, फिटनेस तथा ब्युटीको ख्याल गर्ने मौका पाएकी थिइनन् । यो वर्ष ब्युटी तथा फिटनेसमा आवश्यक समय खर्च गरी आफ्ना लागि समय निकाल्ने योजना छ । दीपा भन्छिन्–एक वर्षको मेहनतले म पक्कै सुन्दर र हेल्दी हुनेछु । अब म २०७७ सालमा मात्र छक्का पञ्जाको सिरिज लिएर निर्देशकका रूपमा आउनेछु । 

कभर गीतमा हिट त्रिशाला गुरुङले यो वर्ष आफ्नै गीत रेकर्ड गराई श्रोतामाझ आउने सोच बनाएकी छिन् । उकाली चढौंला, गैरी खेतको, सपना भई, पोहोर साल आदि गीतको कभर गीत गाएर धेरैको मन जितेकी त्रिशालाले यो वर्षको सुरुदेखि नै आफ्ना गीत रेकर्ड गर्दै जाने बताइन् । उनले केही चलचित्रमा स्वर दिए भए पनि आफ्नै गीत भने आगामी वर्षदेखि निरन्तर गाउने बताइन् । वैशाखको सुरुतिरै उनी कार्यक्रम लिएर अस्ट्रेलिया जाँदैछिन् । त्यहाँ उनले ४ वटा सहरमा प्रस्तुति दिनेछिन् । कभर गीतबाट हिट भए पनि आफ्नो गीत नहुँदा धेरै नै फरक पर्ने उनले अनुभव गरेकी छिन् । हुन त कभर गीतकै माध्यमबाट उनले युके तथा दुबईका कन्सर्टमा भाग लिइसकेकी छिन् तर यो वर्ष धेरैभन्दा धेरै आफ्नै गीत रेकर्ड गराउने योजना छ । म्युजिक नेपालले उनका केही हिट कभर गीतको भिडियो युट्युबबाट हटाइदिएपछि त्रिशालाले आफ्नै गीत गाउने सोच बनाएकी हुन् । त्रिशालाका प्रशंसकहरूले २०७६ सालको सुरुदेखि नै उनका गीत सुन्न तथा हेर्न पाउनेछन् । त्रिशाला नयाँ वर्षको अवसरमा आफूमा भएको अल्छीपन हटाउने संकल्प पनि लिन्छिन् । 

नायिका तथा कोरियोग्राफर पवित्रा आचार्यले नयाँ वर्षको खासै योजना बनाएकी छैनन् । उनी नयाँ वर्ष नेपालमै बसेर आफन्त तथा साथीभाइसँग रमाइलो गरी मनाउने योजनामा छिन् । चलचित्र होलिडेको केही छायांकन बाँकी भएकाले त्यसलाई पूरा गरी नयाँ चलचित्रमा हात हाल्ने आचार्य बताउँछिन् ।

आगामी वर्ष चलचित्र कोरियोग्राफीमा बढी सक्रिय हुने उनको सोच छ । केही चलचित्रमा कोरियोग्राफीका लागि प्रस्ताव पनि आइरहेको उनले बताइन् । पवित्रा नयाँ वर्षको आगमनसँगै नयाँ जोस–जाँगरका साथ नयाँ काम गर्ने, सकारात्मक सोचको विकास गर्ने कुरा बताउँदै आफू सधै खुसी र स्वस्थ रहन सकूँ भन्ने प्रार्थना गर्छिन् । गएका वर्षहरूको तुलनामा आगामी वर्ष आफू बढी समय काममै फोकस हुने आचार्यले बताइन् ।

गायिका जुना प्रसाईं अमेरिकामा कन्सर्टमा व्यस्त छिन् । उनी नयाँ वर्षमा पनि उतै रहनेछिन् । गायनविना जीवनको कल्पनासम्म गर्न नसकिने कुरा बताउने जुना २०७६ सालमा पनि धेरैभन्दा धेरै गीत रेकर्ड गरी देश–विदेशको भ्रमणमा रहने योजनामा छिन् । 

मिस नेपाल उषा खड्गी पनि आगामी दिनमा उस्तै जोस–जाँगरका साथ व्यस्त रहने सोचमा छिन् । केही वर्षदेखि उनी विभिन्न ब्युटी कन्टेस्टमा कोरियोग्राफरका रूपमा समेत व्यस्त रहँदै आएकी छिन् ।

यसपटक अलि बढी प्रोफेसन हिसाबले काम गर्ने उनले बताइन् । उषा फेसन डिजाइनर पनि हुन् । उनी फेसन डिजाइनरका रूपमा अहिले चलेका ट्रेन्डका पहिरन डिजाइन गर्नुका साथै स्टेज शो एवं कोरियोग्राफी गर्ने योजनामा छिन् ।

उषाले आगामी दिनमा आफ्ना कमी–कमजोरी हटाउने संकल्प लिएकी छिन् । खड्गी भन्छिन्–‘म अलि संवेदनशील छु । कोही रिसाउँछ कि भनेर नाइँ भन्न अप्ठ्यारो मान्थें तर यी कुरामा अब सुधार गर्दै जानेछु ।’

 

 Image