सीपले समृद्धि समृद्धिले संरक्षण

लक्ष्मी भण्डारी

चैत्र ११, २०७५

 

सीप र परिश्रमले आंशिक जीवन फेरिएको कथा यसअघि नसुनिएको होइन तर पूर्णरूपमा कायापलट नै भएको बिरलै सुनिन्छ–देखिन्छ । चितवन जिल्लाको उत्तरी मध्यवर्ती क्षेत्र पदमपुरका करिब ५ सय महिलाको जीवन यस्तै सीप र कडा परिश्रमले आधा दशकको अन्तरालमा कहाँबाट कहाँ पुगेको छ । ‘करिब ५–७ वर्षअघिसम्म गिट्टी कुट्ने, घर ढलानमा ज्यामीको काम गर्ने, पत्रिका बेच्ने, जंगल गएर दाउरासँगै चराचुरुङ्गी मारेर बेच्ने काम गर्ने म मासिक लाखौं रुपैंया कारोबारमा सम्भव बनायो, यसको श्रेय डब्ल्युडब्ल्युएफ एफको हरियो बनलाई जान्छ ।’ बी.एम. हस्तकलाकी संस्थापक संचालक बुद्धिमाया घले भन्छिन्–‘म मात्र होइन, यहाँका मजस्ता ५ सय महिलाको जीवनमा आमूल परिवर्तन आएको छ ।’ 

शुरुवातमा डब्ल्युडब्ल्युएफ एफको हरियो बनद्धारा प्रदान गरिएको चर्खाबाट व्यवसाय थालेकी बुद्धिमाया घले अहिले समुदायको नेतृत्व गर्ने अगुवा भएकी छिन् । पदमपुरकी प्रतिनिधि पात्र बुद्धिमायाजस्तै हिजो घाँस–दाउरा, वनजंगल, मेलापात अनि ज्यामी काम गर्ने ५ सय महिला अहिले मासिक २५ हजारदेखि २ लाखसम्म कमाउन सक्ने भएका छन् । यसले उनीहरूको दैनिकी मात्र बदलिएको छैन, तिनका सन्तानले राम्रो शिक्षा पाएका छन्, हिजो दाउराको धूवाँमा बस्दा लाग्ने दम, लहरेखोकी, मुटुको समस्याजस्ता रोग कम भएका छन् भने वनजंगल जानु नपर्दा जंगली वन्यजन्तुको आक्रमणबाट मानव क्षति शून्यजस्तै भएको छ । 

पदमपुरकै सत्यदेवी श्रेष्ठ आजभन्दा ७ वर्षअघिसम्म प्रत्येक दिन मध्यवर्ती क्षेत्रको जंगल पुग्थिन् किनभने उनको आम्दानी त्यहीँबाट हुन्थ्यो । जब महिलाहरूको समूह बनाएर चेतना चेली समूह गठन गरियो तब उनका जंगल पस्ने दिन सकिए । हाल समूहकी अध्यक्ष सत्यदेवी भन्छिन्–‘हरियो वनको तालिमले हामीमा चेतना जगायो । चर्खा प्राप्त गरेपछि ४ सय ९४ जना महिलाले एकैपटक चर्खा चलाउन, बाख्रा–भैंसी पाल्न तथा च्याउ–तरकारी खेती गर्न थालें । अत्यन्तै न्यून तहबाट सुरु भएको यो व्यवसाय फैलँदै जाँदा अहिले धेरै दिदीबहिनी कस्मेटिक पसल, सिलाइ–बुनाइ, चेली खाजाघर, किराना पसल, गलैंचा कारखाना आदि संचालन गरेर आर्थिक रूपमा सबल भएका छन् ।’ सत्यदेवीका अनुसार उहिले वनमा आश्रित ती ५ सय महिलाले अहिले अरूलाई रोजगारी दिइरहेका छन् ।

 वनजंगल फडानी, चराचुरुङ्गी विनासका साथै वन्यजन्तुको आक्रमणद्वारा मानव क्षति कम भएको छ । वन तथा प्रकृति संरक्षणका अभियन्ता बनेका यिनीहरू अहिले प्रकृति संरक्षण एवं प्रबर्द्धनमा जागरुक भएका छन् । हिजोको अभाव सम्झिदै ७२ वर्षीया ठूलीमाया प्रजा भन्छिन्–‘एकछाक खानसम्म धौ–धौ थियो । झरी परेर वन जान नपाउँदा र दाउरा बिक्री नभएको दिन भोकै पनि सुतियो । आज म चर्खाबाटै मासिक २५ हजार रुपैंयाँ आम्दानी गरिरहेकी छु । ऊन कातेको पैसाले भैंसी–बाख्रा किनेर तिनको संख्या बढाउँदै गएँ । घर बनाएँ, छोरालाई जेलबाट निकालें ।’ अभावका कारण अत्यधिक हिंसा हुने त्यो ठाउँमा अहिले श्रीमान्–श्रीमती हाँसीखुसी सँगै काम गरिरहेका देखिन्छन् । 

चेली समूहले ऋण दिने, बीउ प्रदान गर्ने, कृषि एवं वन पैदावर संरक्षणलगायतका विभिन्न तालिम–कार्यशाला चलाउँदै आएको छ । हिजो क अक्षर लेख्न र उच्चारण गर्न नजान्ने महिलाहरू आज आफ्नो हिसाब–किताब आफै राख्छन् । कतिपय महिला आफै गाडी हाँकेर आफूले उत्पादन गरेका सामान दुवानीमा व्यस्त देखिन्छन् । ८ सय सदस्य रहेको पदमपुर बचत तथा ऋण सहकारी संस्था यिनै महिलाहरूको पहलमा सञ्चालन भैरहेको छ । बुद्धिमाया, सत्यदेवी, मरियमजस्ता हजारजति महिला नागरिक समाज, मानव अधिकारलगायत विक्तीय क्षेत्रमा सत्रिय रूपमा लागिपरेका छन् । अहिले बुद्धिमायाले चर्खामा २ सय ५० तथा गलैंचामा २५ जनालाई रोजगारी दिइरहेकी छिन् । प्रकृतिको धनी नेपाललाई नयाँ रूपमा चिनाउने यी महिलाको योगदानलाई कम 

आँक्न मिल्दैन । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्