Successfully Copied

ढिलो महिनावारी र मानसिक असर

महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी नहुन सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ ।

म १८ वर्षीया छात्रा हुँ । मेरा सबै साथीको महिनावारी सुरु भएको निकै वर्ष भैसक्यो, तर मेरो महिनावारी अहिलेसम्म भएको छैन । अहिले मलाई अन्य कुनै समस्या छैन । महिनावारी सुरु नभएपछि भोलि गएर सन्तान नहुने पो हो कि ? चिन्ता लागिरहन्छ । अब मैले के गर्ने ? 

                                                                                                            - एस.

सामान्यत: १०–१३ वर्षको उमेरसम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ, तर यही उमेरसम्ममा हुनैपर्छ भन्ने छैन । कसै–कसैमा महिनावारी ढिला सुरु हुन सक्छ । त्यसैले महिनावारी भएन भनेर आत्तिहाल्नु पर्दैन । महिनावारी नहुने यो समस्यालाई प्राइमरी एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने अनेकौं कारण छन् । 

महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी नहुन सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ । 

कुनै खराबीबिना पनि कहिलेकाही महिनावारी ढिला हुन सक्छ । वंशानुगत, पोषण, वातावरण, शारीरिक व्यायाम, मानसिक तनावजस्ता कारणहरूले पनि महिनावारी ढिला भएको हुन सक्छ । त्यसैले कुन कारणले गर्दा महिनावारी नभएको हो ? पत्ता लगाउनुपर्छ । 

महिनावारी नहुने महिलाले सन्तान जन्माउन सक्दैनन्, तर कारण पत्ता लगाएर उपचार गराएको खण्डमा धेरैजसोले सन्तान जन्माउन सक्छन् । 

 Image