Successfully Copied

आधुनिक बानी–खतराको घन्टी

समयको कमी भनौं, आधुनिकताको प्रभाव भनौं वा जिब्रोको स्वाद ? हिजोआज मानिसहरू घरको खानाभन्दा बाहिरको खानाप्रति आकर्षित भैरहेका छन् । ठूला हुन् वा साना हर कोही घरबाहिरको पिज्जा, पास्ता, म:म, चाउमिन, ससेजजस्ता खाद्यपदार्थमा आफू सन्तुष्ट भएको महसुस गर्न थालेका छन् ।

अहिले मानिसलाई हरेक कुरा छिटो चाहिएको छ । आधुनिक मानिसहरू रेडी–टु इट, रेडी–टु–मुभजस्ता कुरा विश्वासगर्न थालेका छन् जसले गर्दा उनीहरूलाई हरेक कुरा तयारी मन पर्न थालेको छ तर यी चीज स्वास्थ्यका दृष्टिले के–कति फाइदाजनक छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने बेला आइसकेको छ ।

फास्टफुड

समयको कमी भनौं, आधुनिकताको प्रभाव भनौं वा जिब्रोको स्वाद ? हिजोआज मानिसहरू घरको खानाभन्दा बाहिरको खानाप्रति आकर्षित भैरहेका छन् । ठूला हुन् वा साना हर कोही घरबाहिरको पिज्जा, पास्ता, म:म, चाउमिन, ससेजजस्ता खाद्यपदार्थमा आफू सन्तुष्ट भएको महसुस गर्न थालेका छन् । फुड टेक्नोलोजिस्ट भारती अधिकारी झा भन्छिन्–कहिलेकाहीँ बाहिरको खाना खानु ठीकै हो तर यही नै बानी बस्दै गयो भने भविष्यमा त्यसका थुप्रै नकारात्मक प्रभाव देखापर्न सक्छन् । मुख्य कुरा त यस्ता खानेकुरामा मिसाइएको रंगका कारण तत्काल एलर्जी हुने सम्भावना हुन्छ । यस्ता खानेकुरामा अजिनोमोटो, सोडियम, ग्लुटामेट आदि हालिएका हुन्छन् । जुन उमेरसँगै उचाइका लागि नोक्सानदायक छन् ।

चकलेट तथा चुइँगम

बढी चुइँगम वा चकलेट आधुनिक बानी हुन सक्छन् तर स्वास्थ्यका दृष्टिले यी गलत हुन् । यसले गर्दा दाँतमा कीरा लाग्ने, सड्ने आदि समस्या सिर्जना हुनसक्छन् । सुगर फ्रि चुइँगम खाँदा यस्तो समस्या हुँदैन तर यसको अधिक सेवनले मांसपेशीमा समस्या उब्जाउनुका साथै दाँतको इनामेल रगडिएर दाँत कुँडिने हुनसक्छ । सुगर फ्रि चुइँगममा सरबिटल नामक तत्व हुन्छ जसले शरीरभित्र ग्यास पैदा गर्ने मात्र होइन डायरिया गराउने, पेट दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

टाइट बेल्ट

हामी सास लिने–छोड्ने गरिरहन्छौं जसले गर्दा हाम्रो डायग्राम तल–माथि भैरहन्छ । कम्मरमा बाँधेको पेटी असाध्यै कसिलो छ भने माथिल्लो भागद्वारा मात्र सास लिन बाध्य भइन्छ । यसले सास लिँदा पीडा हुने, टाउको दुख्नेतथा चक्कर आउने हुनसक्छ ।

पेन्सिल हिल

हिजोआज अग्ला हिल लगाउने होड छ । हाइहिलले पूरै पर्सनालिटीमै परिवर्तन ल्याउँछ तर त्यस्ता हिल लगाउने बानीले स्वास्थ्यमा प्रत्यक्ष रूपमा नकारात्मक असर पर्छ । यसले कम्मर तथा खुट्टाको पञ्जामा अनुचित दबाब पार्नुका साथै कालान्तरमा कम्मरको हड्डी खिइने समस्या निम्त्याउँछ ।

पेनकिलर्स

पीडा कम गर्ने पेनकिलर कालान्तरमा निरन्तरको पीडाको कारक नबन्ला भन्न सकिँदैन । यस्ता पेनकिलर स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छन् । यसले पीडा घटाउने शरीरको क्षमतालाई पूर्णरूपमा नष्ट गरिदिन्छ । चिकित्सकको सल्लाहबिना पेनकिलर सेवन गर्नुहुँदैन ।

सफ्ट ड्रिंक्स

आधुनिक पुस्ता तिर्खा लाग्नेबित्तिकै पानीको तिर्खा कोल्ड ड्रिंक्सले मेटाउँछ । यो मानव शरीरको हड्डीका लागि हानिकारक छ । यसले हड्डीमा भएको क्याल्सियमको मात्रा अवशोषणमा बाधा पुर्‍याउँछ भने यो दाँतका लागि पनि फाइदाजनक छैन । त्यसमा भएको चिनी दाँतमा अड्किएर बस्छ जहाँ ब्याक्टेरियाहरू उत्पन्न हुनसक्छन् । फलत: संक्रमणको खतरा वृद्धि हुन्छ ।

भिटामिन पिल्स

सप्लिमेन्टका रूपमा अहिले विभिन्न किसिमका भिटामिन चक्की खाने ट्रेन्ड छ । कोपनहेगन युनिभर्सिटीका वैज्ञानिकहरूद्वारा गरिएको एक अध्ययनअनुसार भिटामिन ए र ई तथा विटा केरोटनका कारण अकाल मृत्युको सम्भावना१६ प्रतिशतले वृद्धि हुन्छ । यद्यपि सामान्य मल्टी भिटामिन सामान्य नै मानिन्छ ।सप्लिमेन्टका रूपमा कुनै भिटामिन सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

आइप्याडमा म्युजिक

हार्वर्ड युनिभर्सिटीद्वारा गरिएको एक अध्ययनअनुसार आइप्याड र एमपिथ्री प्लेयरमा प्रयोग हुने इयरफोनबाट ठूलो आवाज आउने हुनाले यसको प्रयोग गर्दा मानिस बाहिरी ध्वनिसँग बेखवर रहन्छ । बाहिरी ध्वनि नसुनिएपछि ऊ इयरफोनमै सीमित हुन्छ । यस्तै हाई भोल्युममा ७२ घन्टाभन्दा बढी काम गरियो भने श्रवणशक्तिमा गम्भीर असर पर्छ तसर्थ हरेक एक घन्टामा कानलाई पूर्ण आराम दिनुपर्छ ।

टाइट जिन्स

टाइट जिन्स वा बाक्लो लेगिन्स महिलाका लागि मांसपेशीको गम्भीर पीडाको कारण बन्न सक्छ । यसले हिपबोनको तल्लो भागमा रहेको संवेदनशील नसालाई दबाउन सक्छ । फलस्वरूप पेरेस्थेसिया अर्थात् तिघ्रा झनझनाउने, दुख्ने तथा पोल्ने समस्या सिर्जना हुनसक्छ । यस्ता पहिरन शरीरका लागि पनि हानिकारक छन् । अमेरिकी विश्वविद्यालयको एक शोधअनुसार टाइट जिन्सले पाचनक्रियामा समेत नकारात्मक असर पुर्‍याउँछ भने छालामा फ्रिक्सन भएका कारण इन्फेक्सनसमेत हुनसक्छ ।

 Image