Successfully Copied

एक्नेबाट कसरी छुटकारा पाउने ?

खराब जीवनशैली, गलत खानपान, गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोग, विभिन्न औषधिको सेवनले डन्डिफोर, एक्ने अहिले आम समस्या बन्दै गएको छ ।


टिनएजर्समा आएको डन्डिफोरले धेरैलाई लामो समयसम्म असर पार्छ । चिल्लो छाला भएकालाई यो समस्याले धेरै सताउँछ । खराब जीवनशैली, गलत खानपान, गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोग, विभिन्न औषधिको सेवनले डन्डिफोर, एक्ने अहिले आम समस्या बन्दै गएको छ । एक्नेबाट छुटकारा कसरी पाउने भन्नेबारे ब्युटिसियन शारदा तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः


के हो एक्ने ?
एक्ने छालाको समस्या हो । छालाको रोमछिद्र बन्द भएर त्यहाँ तेल र फोहोर जम्मा हुन्छ जसकारण अनुहारमा एक्ने देखिन्छ । छालाको रोमछिद्र छालाको मुनि भएको तेल ग्रन्थि भएको कोशिकासँग जोडिएको हुन्छ । जसले गर्दा सिबम छालाको रोमछिद्रमा उत्पन्न हुन्छ । सिबमको काम भनेको मृतकोशिकाहरूलाई रोमछिद्रबाट बाहिर ल्याउनु हो । त्यसपछि नयाँ कोशिकाहरू बन्छन् । तर असन्तुलित हर्मोनका कारण सिबम धेरै मात्रामा उत्पादन हुन थाल्छ र रोमछिद्र बन्द हुन थाल्छन् । यसले गर्दा अनुहारमा डन्डिफोर वा दाना निस्कन थाल्छन् । सिबममा ब्याक्टेरिया बढेपछि रोमछिद्र बन्द हुन्छन् र एक्नेको समस्या देखिन थाल्छ ।


एक्नेको कारण
बढ्दो उमेरसँगै शरीरमा विभिन्न परिवर्तन देखा पर्न थाल्छन् । महिनावारी, गर्भावस्था र रजोनिवृत्तिका क्रममा प्रायःजसो महिलाहरूले एक्नेको समस्या भोग्नुपर्छ । कतिपय अवस्थामा भने एक्ने वंशानुगत पनि हुन्छ । परिवारमा कसैलाई एक्नेले सताएको छ भने आउँदो पिँढीलाई एक्ने हुने सम्भावना बढी हुन्छ । टिनएजर्समा देखिने डन्डिफोरका कारण भने धेरै हदसम्म गलत खानपानको कारण हुन्छ । त्यसैगरी बढी औषधि सेवनका कारण पनि एक्ने हुन सक्छ । लामो समयसम्म औषधिको सेवन गर्नु एक्नेको कारण हुनसक्छ ।
दिनभरि हेभी मेकअप गरेपछि राति सुत्नेबेला मेकअप नहटाई सुत्दा पनि अनुहारमा एक्ने आउन सक्छ । प्रदूषणले पनि अनुहारको छालामा असर गर्छ । बाहिर निस्कँदा अनुहार कभर नगरी निस्कने बानीले एक्नेको समस्या निम्त्याउन सक्छ । त्यस्तै, खराब जीवनशैलीका कारण पनि अनुहारमा एक्ने आउन सक्छ । कफी, चियाको बढी सेवन, धूम्रपान, मद्यपानको सेवनले डन्डिफोर आउँछ । त्यसका अतिरिक्त चिल्लो छाला हुनेहरूलाई एक्नेले बढी सताउँछ ।

एक्नेबाट बच्न
एक्नेबाट बच्न डेरीको उत्पादन र गुलियो चिनी भएको खानेकुरा खानुहुँदैन । दही भने कहिलेकाहीँ खान सकिन्छ । एक्ने भएकाहरूले सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । अनुहार र स्काल्प सफा राख्नुपर्छ । त्योसँगै सिरानीको खोल, तन्ना, मेकअप गर्ने सामग्री सबै सफा हुनुपर्छ ।
एक्ने आएपछि धेरैले आफैं उपचार गर्न थाल्छन् । सुनेको र अरूले भनेका आधारमा अनुहारमा धेरैऔषधि लगाउँछन् जसले गर्दा समस्याअझ बढ्दै जान्छ । अनुहार धेरैपटक धुने, धेरै किसिमको सौन्दर्य प्रसाधनको प्रयोगले फाइदा भन्दा नोक्सान बढी गर्छ ।
धेरैलाई चिल्लो छालामा मोस्चराइजरको आवश्यकता पर्दैन जस्तो लाग्छ । तर छाला मोस्चराइज गर्नु जरुरी हुन्छ । स्वस्थ छालालाई हाइडे«ट र मोस्चरको आवश्यकता पर्छ । जसले गर्दा छाला छिटै रिकभर हुन्छ र एक्नेबाट छुटकारा मिल्छ । चिल्लो छाला हुनेहरूले जेल वा वाटर वेस्ड मोस्चराइजरको प्रयोग गर्नुपर्छ । सनस्क्रिनविना लामो समयसम्म घाममा बस्नाले एक्ने बढ्छ । त्यसैले एसपीएफ भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । स्वस्थ ताजा फलफूल एवं खानेकुरा खानुपर्छ । ओमेगा–३ फ्याटी एसिड भएका खाना खानुपर्छ । एक्नेको समस्याबाट लामो समयसम्म छुटकारा मिलेन भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।


–दिनमा दुई पटक पानीले अनुहार पखाल्ने ।
–अनुहारमा माइल्ड र अल्कोहल फ्रि प्रोडक्ट प्रयोग गर्ने ।
–छालालाई स्क्रब धेरै नगर्ने ।
–अनुहार छोइरहने बानी हटाउने ।
–चिल्लो केश हुनेहरूले नियमित केशको सरसफाइ गर्ने ।
–एक्नेमा औषधिको प्रयोग गर्नेले घाममा ननिस्कने । कुनै–कुनै औषधि घामको परावैजनी प्रकाश पर्दा छाला बिग्रन्छ ।
–डन्डिफोर वा दानाहरूलाई निचोर्ने, कोट्याउने नगर्ने ।
–प्रशस्त मात्रामा पानी पिउने । ताजा फलफूल र रेसादार सागसब्जीको सेवन बढी गर्ने ।
–जंकफुड, तारेको, भुटेको, डढेको, मसलेदार खानाको सेवन नगर्ने ।
–मद्यपान, धूम्रपानको सेवन नगर्ने । 

 Image