Successfully Copied

महिला स्वास्थ्य

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना विशेष सतर्कता अपनाउनुपर्छ । थकान महसुस हुने गरी कुनै काम गर्नुहुँदैन । गर्‍हौं सामान उचाल्नुहुँदैन । भुईंको सामान पनि बसेर उठाउनुपर्छ । लामो यात्रा पनि गर्नु हुँदैन । हिल भएका जुत्ता तथा शरीरमा कस्सिने पहिरन लगाउनुहुँदैन ।

महिलाले कति वर्षको उमेरमा सन्तान जन्माउनु ठीक हुन्छ ?

सामान्यतया २० देखि ३० वर्षको उमेरमा सन्तान जन्माउनु उपयुक्त हुन्छ । दम्पतीले यही उमेरमा सन्तानको प्लानिङ गर्नुपर्छ ।

गर्भावस्थामा के–कस्ता समस्या देखापर्छन् ?

गर्भावस्थामा शरीरमा विभिन्न किसिमका समस्या देखापर्छन् । गर्भावस्थामा खान मन नलाग्ने, अल्छी लाग्ने, शरीर भारी हुने, वाकवाकी लाग्नेजस्ता समस्यालाई सामान्य मानिन्छ । पहिलो तीन महिनापछि त्यस्ता समस्या आफैं ठीक हुन्छन् । कतिपय महिलामा भने पछिसम्म पनि समस्या कायम रहन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । यो समयमा खानपान तथा मानसिक रूपमा उथलपुथल भए गर्भस्थ शिशुमा असर पर्नसक्छ । गर्भस्थ शिशुको तौल पनि आवश्यक रूपमा बढ्दैन । यो अवस्थामा कतिपय महिलालाई रगतको कमीले एनिमिया हुनसक्छ भने प्रोटिनको कमीका कारण हातखुट्टा सुन्निन सक्छन् ।

गर्भावस्थामा कस्तो खाना खानुपर्छ ?

गर्भावस्थामा शरीरलाई पौष्टिक तत्व प्राप्त हुने खाना खानुपर्छ । गर्भवतीमहिलाहरूले कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ तथा भिटामिन प्राप्त हुने सबै प्रकारका खनिज पदार्थ खानुपर्छ । भ्रूणमा हुने हड्डीको विकासका लागि क्याल्सियमयुक्त खानेकुरा दूध, दहीका साथै हरियो सागपात तथा फलफूल प्रशस्त खानुपर्छ । यसका साथै आइरन, सोडियम, आयोडिन जिंक र सम्पूर्ण भिटामिन पनि उत्तिकै आवश्यक हुन्छ । विशेषगरी भिटामिन ए, डी, ई, फोलेट बी १२, बी ६ तथा सी आइरन, जिंक, आयोडिन, कोपर एवं सिलेनियम चिकित्सकको सल्लाहमा खानुपर्छ ।

 

गर्भावस्थामा के–कस्ता सावधानी अपनाउनुपर्छ ?

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना विशेष सतर्कता अपनाउनुपर्छ । थकान महसुस हुने गरी कुनै काम गर्नुहुँदैन । गर्‍हौं सामान उचाल्नुहुँदैन । भुईंको सामान पनि बसेर उठाउनुपर्छ । लामो यात्रा पनि गर्नु हुँदैन । हिल भएका जुत्ता तथा शरीरमा कस्सिने पहिरन लगाउनुहुँदैन । सम्भव भए दिउँसो केही समय आराम गर्नुपर्छ । गर्भावस्थामा महिलाको शरीर आलस्य हुने, काममा मन नजाने भएकाले यसमा घरपरिवारले पनि सहयोग गर्नुपर्छ ।

गर्भावस्थामा के खानुहुँदैन ?

-    गर्भावस्थामा काँचो मेवा तथा भुइँकटहर खानुहुँदैन । मेवा तथा भुइँकटहर खाँदा गर्भपात हुने तथा गर्भाशय साँघुरिने सम्भावना हुन्छ ।

-    गर्भावस्थामा एलोभेराको जुस तथा रस खानुहुँदैन । यसले गर्भाशय संक्षेपण हुनुका साथै रगतमा चिनीको मात्रा पनि घटाउँछ ।

-    काँचो तथा नपाकेको अण्डा तथा कुखुराको मासु सेवन गर्नुहुँदैन । काँचो अण्डा तथा मासुमा सालमोनेलाका साथै अन्य रोग लाग्ने सूक्ष्म जीवाणु हुन्छन् । त्यसैले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

-    गर्भावस्थामा रक्तचाप बढ्ने सम्भावना भएकाले जंकफुड, पिज्जा, समोसा, चिप्सजस्ता नुन बढी भएका खानेुकरा खानुहुँदैन ।

-    अप्रशोधित दूध एवं दुग्धजन्य पदार्थमा पनि हानिकारक तत्व हुन्छ । त्यसैले सही तरिकाले प्रशोधन गरेर मात्र खानुपर्छ ।

-    आमा तथा शिशुको स्वास्थ्यका लागि गर्भधारणअघिदेखि नै पौष्टिक तत्वमा विशेष ध्यान पुर्‍याउनुपर्छ अनि मात्र शिशुको शारीरिक तथा मानसिक विकास उचित ढंगले हुन्छ ।

                                                                   काठमाडौं मेडिकल कलेज, सिनामंगल

 Image