बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

ज्ञानेन्द्र मल्ल (क्रिकेटर)
तपाईंहरूको पहिलो भेट कहाँ र कसरी भयो ?
अन्डर नाइन्टिनको एस ट्रफीका लागि हामीलाई सोल्टीमा राखिएको थियो । सोल्टीको गेटसँगै संगीताजीहरूको साइबर थियो । नेट चलाउन त्यहाँ जाँदा उनलाई पहिलो पटक देखेको हुँ ।
तपाईंहरूको सम्बन्ध कसरी अघि बढ्यो त ?
नेट चलाउन उनको साइबर जाँदाजाँदै बोलचाल भयो । चाउचाउको विज्ञापनमा क्रिकेटको टिम देखेर खोई तपाईं त हुनुहुन्न ? भनेकी थिइन् उनले, मैले पनि ऊ के त भनेर आफ्नो फोटो देखाएपछि हाम्रो कुराकानी बाक्लिएको हो । पहिलो पटक मैले कुनै केटीको मेसेन्जर आइडी मागें र उनले पनि मेरो आइडी मागिन् । त्यसपछि त हरेक दिन च्याटिङ हुनुका साथै भेटघाटसमेत बाक्लिन थाल्यो ।
विवाहपछि आफ्नो खेलमा श्रीमतीको सपोर्ट कत्तिको पाउनुभयो ?
मेरो घरमा कसैले क्रिकेट बुझ्दैनथे तर उनी मेरो गेम भयो कि हेर्न जान्छिन् । रन बनाउन सकिन भने जिस्काउँछिन् । अझ राम्रो खेल्नुपर्छ भनेर हौसला प्रदान गरिरहन्छिन् ।
संगीताको सुधार्नुपर्ने पक्ष के छ ?
अलि रिजर्ब खालकी छिन् । खाना मीठो भएन भने खाँदै खान्नन् । मलाई भने खाना खेर फाल्ने बानी मनपर्दैन ।
वैवाहिक सम्बन्धलाई दिगो बनाउने उपाय के होला ?
दुवैले इगो त्याग्नुपर्छ । अहम् नै वैवाहिक जीवन भताभुंग बनाउने कारक तत्व हो ।
संगीता महर्जन
तपाईंलाई ज्ञानेन्द्रजीको कुन पक्षले आकर्षित गर्यो ?
फ्रेन्डली, डाउन टु अर्थ, नाम चलेको खेलाडी भएर पनि कुनै घमण्ड छैन । जोसँग पनि बोल्ने, हाँस्ने बानी देखेर आकर्षित भएकी हुँ ।
तपाईंलाई पनि क्रिकेट खेल्न मन लागेन ?
उहाँको क्रिकेट हेर्दाहेर्दै मैले क्रिकेट बुझें । मेरो क्रिकेटप्रतिको रुचि देखेर उहाँले नै ट्रेनिङ सेन्टरमा लानुभएको थियो तर धेरै टेक्निक बुझ्नै बाँकी रहेछ, त्यसपछि छोडिदिएँ ।
श्रीमानको खेल कस्तो लाग्छ ?
नेपालमा खेल्दा उहाँको ब्याटिङ राम्रो हुन सक्दैन तर देशबाहिर भने राम्रो खेल्नुहुन्छ । उहाँले राम्रो ब्याटिङ नगर्दा अब म हेर्न आउँदिन भने घुक्र्याउँछु ।
तपाईंहरूको समान बानी के–के छ ?
हामीबीच धेरै कम समानता छ । बाहिर खान जाने, घुम्ने, रमाइलो गर्नुपर्ने बानी मिल्छ । अँ एक–अर्काको मजाक उडाउने बानी पनि मिल्छ ।
कुनै अविस्मरणीय क्षण ?
म परिवारसँग पिकनिक गएकी थिएँ, उहाँले वसन्तपुरको कन्सर्ट हेर्न बोलाउनुभएको थियो । पिकनिकबाट छिटोछिटो फर्केर भेट्न गएकी थिएँ । धेरै बेर कुर्नुपरेर होला ? मलाई देख्नासाथ कराएर रिसाएको क्षण अहिले पनि सम्झन्छु ।