वैवाहिक जीवन सफल हुन श्रीमान्–श्रीमतीको प्रकृति फरक हुनुपर्छ भन्ने मान्यता राख्ने जोडी हुन्–पारस शाक्य तथा मेघा चौधरी शाक्य । ७ वर्षअघि वैवाहिक सम्बन्धका बाँधिएको यो जोडीको ५ वर्षकी छोरी छिन् । विवाह ७ वर्षअघि मात्र भए पनि पारस र मेघाको चिनजान भने धेरै पुरानो हो । कक्षा ७ मा पढ्दादेखि नै उनीहरू साथी थिए । स्कुल एउटै नभए पनि बस स्टप एउटै भएकाले साथीहरूमार्फत मित्रताको बन्धनमा बाँधिएका उनीहरू छिट्टै क्लोज फ्रेन्ड बने । त्यतिबेला उनीहरूको एउटै रुचि थियो–संगीत । पारस हेबी मेटलका पारखी थिए भने मेघा क्लासिकल गाउँथिन् ।
स्कुल पूरा गरेपछि भेटघाट गर्ने, संगीतका कुराहरू गर्दै जाने क्रममा उनीहरू नजिकिए । स्कुलको पढाइपछि थप अध्ययनका लागि मेघा भारत तथा पारस साइप्रस पुगे । त्यसपछि उनीहरू अझ नजिकिए । एक–अर्काप्रति माया बसिसकेको थियो । नेपाल आएर पारस अन्तिम ग्रहण नामक अन्डरग्राउन्ड मेटल ब्यान्डको भोकलिस्टका रूपमा सक्रिय भए । उनले अन्तिम ग्रहणको एल्बमका लागि मेघालाई पनि युगल गीत गाउन अफर गरे । त्यसपछि प्राक्टिस, रेकर्डिङ आदिका लागि उनीहरूको नियमित भेटघाट हुन थाल्यो । उनीहरू नगरकोट, धुलिखेल, गोदावरी, लुभु आदि ठाउँ घुम्न जान्थे । अहिलेजस्तो मल तथा अन्य घुम्ने ठाउँहरू नहुँदा उनीहरू लामो यात्रामा निस्कनुपर्ने बाध्यता थियो । उनीहरू कहिले फिल्म हेर्न जान्थे भने कहिले ब्यान्डका साथीहरूसँगको भेटघाटमा रमाउँथे ।
४–५ वर्षको रिलेसनपछि घरमा आ–आफ्नो जातअनुसारको विवाहको कुरा आउन थालेपछि उनीहरूले आपसी सम्बन्धका बारेमा परिवारलाई जानकारी दिए जुन कुरा सुनेर उनीहरूका परिवारका सदस्यहरू अचम्ममा परे । उनीहरू संगीत प्राक्टिसका क्रममा भेट्ने कुरा परिवारलाई थाहा थियो तर विवाह गर्नेसम्मको सम्बन्ध भनेर कसैलाई जानकारी थिएन ।
पारसकी आमाले मेघालाई पहिलेदेखि नै चिन्थिन् । मेघाका बुवा वसन्त चौधरीसँग पारसलाई चिनाएपछि उनले पनि नाइनास्ती गरेनन् । नेवार समुदाय र मारवाडी समुदायले यो नयाँ सम्बन्धलाई हार्दिकतापूर्वक स्वीकार गरेका थिए । उनीहरूको आपसी समझदारीअनुसार आ–आफ्नै संस्कृतिअनुसार विवाह सम्पन्न भयो । बिदाइ मारवाडी स्टाइलबाट भयो भने पारसको घरमा नेवार परम्पराअनुसार दुलही भित्र्याइयो ।
प्रतिष्ठित व्यवसायी वसन्त चौधरीकी छोरी भएकीले धेरैले मेघा बुहारीका रूपमा कसरी बस्लिन् भन्ने सोच्थे तर मेघा ५ वर्षसम्म पारसको संयुक्त परिवारमा बुहारीकै रूपमा बसिन् जहाँ उनले नेवारी चाडपर्व तथा रीतिरिवाज सिक्ने अवसर पाइन् । स्वतन्त्रतामा विश्वास राख्ने दुवैको परिवारबाट कुनै पनि कुरामा यस्तै गर्नुपर्छ भन्ने दबाब आएन । उनीहरू नेवारी र मारवाडी दुवै संस्कृतिलाई उत्तिकै सम्मान गर्छन् । संयोग नै मान्नुपर्छ पारसलाई सानैदेखि इन्डियन खाना मनपर्छ भने मेघालाई नेवारी परिकार मनपर्छ ।
विगत दुई वर्षदेखि चौधरी ग्रुपमै आबद्ध यो जोडी काममै रमाइरहेको छ । मेघा नर्भिक अस्पताल हेर्छिन् भने पारस चौधरी ग्रुपको एजुकेसन तथा फुड डिपार्ट हेर्छन् । काम र मेहनतमा विश्वास राख्ने यो जोडीमा अहिले पनि संगीतप्रतिको मोह भने कम भएको छैन । छोरी जन्मिएपछि मेघाले आफ्नो गायनलाई रोके पनि पारसको ब्यान्ड भने अझै सक्रिय छ । उनी घरमै साथीहरूसँग प्राक्टिस गरिरहन्छन् । व्यापार र संगीतमा रमाइरहेको यो जोडीका अनुसार अहिले धेरैजसो सम्बन्ध बिग्रनुको कारण एकले अर्काेलाई आदर नगर्नु, अनुशासन हीनता तथा परिवारले सानोतिनो झगडामै चासो दिएर मिलाउन पहल नगर्नु हो । तिमीभन्दा म के कम भन्ने सोचको विकास हुनुले नै सम्बन्ध दिगो हुन नदिने उनीहरूको राय छ ।
मेघालाई पारसको मनपर्ने बानी : रिजर्व बस्ने, सभ्य, अरूको कुरामा चासो नदिने, छोरीलाई बढी नै केयर र माया गर्ने ।
मननपर्ने बानी : पार्टीहरूमा जान त्यति नरुचाउने, घरमै बस्न खोज्ने । पारसलाई मेघाको मनपर्ने बानी : डाउन टु अर्थ, घमण्ड पटक्कै छैन, सबैसँग मीठो बोल्ने, परिवारसँग मिल्ने तथा परिवारलाई महत्व दिने ।
मननपर्ने बानी : ट्रान्स पार्टीहरू बढी जाने ।
विपरीत आकर्षण
विवाहअघि सँगै घुम्न वा सँगै खाना खान गए पनि दुवैलाई उनीहरूको रुचि विपरीत छ भन्ने पत्तो थिएन । विवाहपछि मात्र थाहा भयो उनीहरूबीच खानाको च्वाइसदेखि संगीतको च्वाइससम्म पनि विपरीत छ । मेघालाई नेवारी, जापानी तथा थाई परिकार मनपर्छ भने पारसलाई इन्डियन तथा कन्टिनेन्टल । मेघा क्लासिकल गीत गाउने भए पनि ट्रान्स संगीतमा रमाउँछिन् तर पारसलाई ट्रान्स म्युजिक पटक्कै मनपर्दैन उनी फुर्सदमा परिवारसँग घरमै बस्न मन पराउँछन् । पारसको बानी झनक्क रिसाइहाल्ने छ भने मेघा कुल छिन् । एउटा आगो र अर्को पानी भए मात्र सम्बन्ध दिगो रहने मेघा बताउँछिन् । यही विपरीत बानी नै उनीहरूको आकर्षण र दिगो मायाको कारण बन्न पुगेको छ ।
आपसमा मिल्ने रुचि
नयाँ–नयाँ ठाउँहरू घुम्ने रहर दुवैमा छ । समय मिल्यो भने उनीहरू घुम्न निस्किहाल्छन् । वर्षको एक–दुईपटक छोरीसहित विदेशसमेत पुग्छन् । दुवैको एउटै राय छ–घुम्दा नयाँ जोस र इनर्जी आउँछ ।
बिर्सन नसकिने क्षण
त्यतिबेला पारसले लामो केश पालेका थिए । बुवाले पारसलाई भेट्न बोलाउँदा मेघालाई आपत् पर्यो । पारसले केश काट्न मानेकै थिएनन्, त्यस्तो लामो केशमा बुवासँग कसरी भेटाउने ? बल्लतल्ल पारसलाई फकाएर कोरियन पार्लरमा हल्का मिलाउने भनी झुक्याएर केश छोटो बनाइदिएको क्षण दुवैका लागि अविस्मरणीय छ । त्यसपछि भने पारसले कहिल्यै केश पालेनन् ।
छोरीका प्रिय बाबा
धेरै समय मेघाले छोरीलाई हेरे पनि बाबासँग उनको बढी लगाव छ । स्कुलबाट फर्केर मेघासँग बस्ने छोरीलाई राति बाबा आएपछि अरु केही चाहिँदैन । छोरीलाई पनि उनीहरूलाई जस्तै संगीत मनपर्छ । उनी नाच्नमा निकै उत्साह देखाउँछिन् । आमाले जति नै माया गरे पनि छोरीहरू बाबासँगै बढी एटेच हुने मेघाको अनुभव छ ।