Successfully Copied

अमूल्य हीरा

हीराको तुलना कमै चीजसँग मात्र हुन सक्छ । पत्थरको राजा हीरा अमूल्य रत्न हो । हीरालाई हीराले मात्र काट्न सक्छ भन्ने कुराले नै यसको कठोरता प्रमाणित गर्छ । हीरालाई अन्य धातु वा गहनासँग तुलना गर्न सकिँदैन । एक दशकअघिसम्म पनि नेपालका उच्च घरानियाँ

हीराको तुलना कमै चीजसँग मात्र हुन सक्छ । पत्थरको राजा हीरा अमूल्य रत्न हो । हीरालाई हीराले मात्र काट्न सक्छ भन्ने कुराले नै यसको कठोरता प्रमाणित गर्छ । हीरालाई अन्य धातु वा गहनासँग तुलना गर्न सकिँदैन । एक दशकअघिसम्म पनि नेपालका उच्च घरानियाँ तथा सम्भ्रान्तहरूसँग मात्र साक्षात्कार हुने हीरा अहिले मध्यमवर्गको पहुँचमा समेत पुग्न थालेको छ ।

अहिले नेपालमा हीराको बजार फैलिँदो छ । अश्री ज्वेलर्सका निर्देशक रवि श्रेष्ठ भन्छन्–अहिले सोसल मिडियाका कारण हाम्रा युवाहरू पनि अन्तर्राष्ट्रिय बजार ट्रेन्डसँग साक्षात्कार छन् । बजारमा चलेका लेटेस्ट फेसन ट्रेन्ड उनीहरूलाई तुरुन्तै थाहा भैहाल्छ । त्यसैले पनि अहिले विदेशमा जस्तै बरु एउटै गहना लगाउने राम्रै लगाउने भन्ने सोचको विकास हुन थालिसकेको छ । सुन आफ्नो ठाउँमा होला तर हीराको स्थान क्रमश: फराकिलो हुँदैछ ।

अहिले चाडपर्व केन्द्रित हीराका गहना चल्तीमा छन् । चाडपर्वमा उपहार दिन वा आफ्नै लागि पनि चेन्ज गरेर लगाउन साना इयर तथा फिंगर रिङ, टप, पेन्डेन्ट बढी बिक्री भैरहेका छन् । चाडपर्वमा सुनभन्दा सानै आकारको भए पनि हीरा किन्ने क्रेता बढिरहेको गीताञ्जली ज्वेलर्सका निर्देशक प्रसुन जलान बताउँछन् । गीताञ्जली ज्वेलर्समा चाडपर्व लक्षित विभिन्न डिजाइनका हीराका गहना बिक्रीमा छन् । विशेषत: विवाहका लागि बैंगल्स, हेभी नेकलेस, ककटेल रिङ्स आदि बढी बिक्री हुन्छन् भने अन्य समयमा ब्रासलेट, स–साना औंठी, पेन्डेन्ट, टप आदिको कारोबार बढी हुन्छ ।

नेपालमा हीराको कारोबार गर्ने क्लासिक डायमण्ड, न्यू डायमण्ड, आर.बी डायमण्ड, गीताञ्जली ज्वेलर्स आदि ज्वेलरी सपले अहिले चाडपर्वलक्षित लेटेस्ट डिजाइनका हीराका गहना भित्र्याइसकेका छन् । क्लासिक डायमण्डका रिमोन महर्जनका अनुसार नेपालमा अहिलेसम्म ह्वाइट डायमण्ड नै चल्तीमा छ । नेपालीहरूमा आएको चेतना, वैदेशिक भ्रमण, आयस्तरमा वृद्धिजस्ता कुराले हीराको बिक्रीमा निकै प्रभाव पारेको छ ।

साउथ अफ्रिका तथा रुस डायमण्डका मूल स्रोत हुन् भने हीराको करिब ८० प्रतिशतजति कटिङको काम भारतमा हुन्छ । आजभन्दा ५ वर्षअघिसम्म पनि युरोपियन मुलुक बेल्जियमलाई हीरा कटिङमा अब्बल मानिन्थ्यो तर पछिल्लो समय उक्त स्थान भारतले ओगटेको छ । हीरा विशेषगरी सिजनअनुसार बिक्छ । युवापुस्ता ह्वाइट डायमण्डका अतिरिक्त एमराल्ड, रुबी, सफायरजस्ता मूल्यवान् पत्थरप्रति आकर्षित छ । टोपाज, एमिथिस, अक्वामरिनजस्ता सेमी–प्रेसियस स्टोनमा पनि अहिलेका युवापुस्ताको रुचि छ । यस्ता स्टोनमा ह्वाइट डायमण्ड भरिएको हुन्छ ।

नेपालमा डायमण्डका मिडिल क्लास क्रेता बढी छन् । साउथ अफ्रिका, रुस, इजरायलका हीरा भारतमा प्रोसेसिङ गरेर नेपाल भित्र्याइन्छ । पहिलेको तुलनामा अहिले हीराप्रति नेपालीहरूको रुचि बढिरहेको रविको अनुभव छ ।

एउटै डायमण्ड विभिन्न रेन्जको हुन्छ । नेपालमा अहिले मिडियम रेन्जको हीरा बढी चलिरहेको छ । हीरा अहिलेको ग्रोइङ मार्केट हो । यसलाई पुँजीका रूपमा जोड्ने चलनसमेत बढेको छ । यसलाई जुनसुकै बेला नगदमा परिणत गर्न सकिन्छ । साउथ एसियामा डायमण्डको मार्केट बढ्नुको कारण यसलाई सम्पत्तिका रूपमा राख्ने प्रचलन बढेकाले पनि हो । हीराको मामिलामा कटिङ नै प्रमुख कुरा हो ।

बेस्ट कटिङले यसको मूल्यमा पनि अर्थ राख्छ । १–२ क्यारेट (एउटैको २० लाख, ३० लाख पर्ने) डायमण्डसमेत भारतमै कटिङ हुन्छ । नेपालमा अश्री ज्वेलर्सलगायत अन्य ज्वेलरी सपहरूले एमआरपीमा खरिद–बिक्री गर्छन् । यो प्रणालीअन्तर्गत आफूसँग भएको हीरा बेच्दा थोरै प्रतिशत कटाएर बाइब्याक फेसिलिटी उपलब्ध हुन्छ । एक्सचेन्जमा एक पैसा पनि नकाटी फुल भ्यालुमा एक्सचेन्ज गरिन्छ । विवाहको सिजनमा एउटै परिवारले ३० लाखसम्मको हीरा किन्छन् । कारण हीरा सिम्बोल अफ स्टेटस बनेको छ ।

पद्मश्री ज्वेलर्सकी निर्देशक सन्ध्या पाण्डेलाई हीराको कहिल्यै नष्ट नहुने र जति पुरानो भयो उति नै मूल्यवान् हुँदै जाने विशेषता बुझ्दै गएकाले नेपालीहरू पनि हीरातर्फ आकर्षित हुँदै गएका हुन् भन्ने लाग्छ । नाशवान् नभएकाले हीराको मूल्य अझ बढ्दै जान्छ–सन्ध्याले भनिन्–हीरा मात्र यस्तो रत्न हो जुन ब्रह्माण्ड रहेसम्म टिकिरहन्छ । यसको महत्व बुझ्नेहरूको संख्या बढ्दै जानु नै यसको बजार बिस्तार हुनु हो ।

आर.बी. डायमण्ड ज्वेलर्सकी सिनियर मार्केटिङ एसोसियट सृष्टि महर्जनका अनुसार विशेषत: सहरी क्षेत्रमा लवाइ–खुवाइ एवं फेसनमा आएको परिवर्तित ट्ेरन्डसँगै गहनाप्रतिको सोचमा समेत परिवर्तन आएको छ । त्यसैले अहिले ठूला गहनाभन्दा अमूल्य तर साना गहना नै सौम्य र भद्र मानिन थालिएको छ । सृिष्ट भन्छिन्–सायद त्यसैले अहिले सुनका ठूला गहनाको साटो सानै भए पनि हीरा नै किन्नेहरू बढिरहेका छन् ।   

 Image